यस कारण डुब्छन् नेपाली चलचित्र

यस कारण डुब्छन् नेपाली चलचित्र
काठमाडौं । पछिल्ला केही वर्ष नेपालमा चलचित्र निर्माणको संख्या ह्वात्तै बढेको छ । वार्षिक दुई सयको हाराहारीमा सिनेमा बन्न थलेका छन्, जसमा झण्डै डेढ अर्ब रुपैयाँ लगानी हुँदै आएको छ । तर, लगानी उठाउने चलचित्रको संख्या भने निकै न्यून छ ।

सयमा चारदेखि पाँचवटा चलचित्रले राम्रो व्यापार गर्दै आएका छन् भने आठदेखि १० वटाले लगानी उठाउँदै आएका छन् । बाँकी ८५ प्रतिशतले लगानी उठाउन नै नसक्ने स्वयं निर्माता नै बताउँछन् । चलचित्रले लगानी नै गुमाउनुका पछाडि पनि  चलचित्रकर्मीकै कमजोरी रहेको लगानीकर्ताहरू स्वीकार्छन् । 

“चलचित्र के हो भनेर नबुझेर बनाउने प्रवृत्ति बढेर गयो, चलचित्र डुब्नुको मुख्य कारण यही हो,” चलचित्र निर्माता छविराज ओझा भन्छन्, “म तीन दशकदेखि हरेक वर्ष चलचित्र बनाउँदै आएको छु, जसले जति गफ लगाए पनि नाफा हुँदा एक/दुई लाखमात्रै हुने हो । यहाँ चलचित्र नै नबुझेको मान्छे लहडमा आएर बनाउँछन् ।”

चलचित्र नबुझेका निर्माता तथा निर्देशककै कारण चलचित्र राम्रो बन्न नसकेको र त्यस्ता चलचित्रको लगानी डुब्ने गरेको ओझाको तर्क छ ।

चलचित्र निर्देशक तुलसी घिमिरे चलचित्रको बजारिकरण गर्न नसक्नु नै नेपाली चलचित्रको व्यापार कमजोर हुनुको मुख्य कारण भएको  बताउँछन् । 

“हामीले राम्रो चलचित्र बनाए पनि त्यसको बजारीकरण गर्र्न सकेका छैनौं, चलचित्र बनाएर मात्रै पनि हुँदैन त्यसलाई बेच्न पनि जान्नु पर्छ,” निर्देशक घिमिरे भन्छन्, “यसका लागि व्यापारिक घरानाहरुको प्रवेश पनि हुनु पर्छ ।”

व्यापारीहरुलाई चलचित्र उद्योगमा प्रवेश गराउन सके नेपाली चलचित्र उद्योगले व्यावसायिकता ग्रहण गर्ने उनको तर्क छ । “बिनोद चौधरीलाई कसरी चाउचाउ बेच्न सकिन्छ भन्ने आइडा छ त्यो हामीसँगै छैन,” घिमिरे भन्छन्,“हामी त चलचित्र बनाउने मात्रै हो, बेच्न जान्दैनौं । चलचित्र सिर्जनात्मक उत्पादन हो यसलाई व्यापारीहरुले बेच्न सक्छन् ।”

चलचित्र निर्माता अर्जुन कुमारको धारणा पनि ओझाको जस्तै छ । “यहाँ आकर्षण र लोभकै भरमा चलचित्र बनाउनेको जमात ठूलो छ । चलचित्र भनेको क्रिएसन र टेक्निक हो भनेर बुझ्नेले भन्दा नबुझ्नेले धेरै बनाइरहेका छन्,” अर्जुन कुमार भन्छन्, “आफैँ चलचित्र बनाएर आफैं निर्देशन गर्ने र आफैं खेल्ने परिपाटी मौलाएर गएको छ, यो नै चलचित्रले राम्रो व्यापार नगर्नुको मुख्य कारण हो ।”

आफ्नै बहिनी, छोरी तथा साला–सालीलाई हिरो–हिरोइन बनाउने परिपाटीको अन्त्य नभएसम्म राम्रो चलचित्र नबन्ने उनको भनाइ छ । 

“अहिले प्रदर्शनमा रहेको एउटा चलचित्रमा करोडमाथि लगानी छ रे,” अजुर्नकुमार अगाडि थप्छन्, “त्यसमा आफ्नै लगानी, आफ्नै निर्देशन मात्रै होइन, आफैँले अभियनसमेत गरेका छन् । यो नौटंकीको अन्त्य नभएसम्म कसरी व्यापारिक रूपमा सफल चलचित्र बन्छन् ? ।” नेपाली बजार सानो नभए पनि निर्माणमा कमजोरी रहेका कारण चलचित्र उद्योग धरासायी भएको उनको तर्क छ । 

अर्का निर्माता माओत्से गुरुङ चलचित्र निर्माणसँगै विषयवस्तुमै कमजोरी रहेको बताउँछन् । “मौलिक विषयवस्तुमा चलचित्र बने त्यसले लगानीको प्रतिफलका लागि चिन्ता गर्नुपर्दैन,” गुरुङ भन्छन्, “हामी ‘अवतार’ हेरेर त्यस्तै चलचित्र निर्माण गर्न खोज्छौं तर त्यसको एक छेउमा पनि पुग्दैनौं । हाम्रो कमजोरी यही हो ।”

नेपाली दशर्कको मनोविज्ञान बुझेर नेपाली मौलिक विषयवस्तु उठाउन नसक्नु नै नेपाली चलचित्रको बजार बढ्न नसक्नुको कारण रहेको उनको भनाइ छ । “बजेट ठूलो भएर मात्रै पनि हुँदैन, आधुनिक क्यामेरा र प्रविधि प्रयोग गर्दैमा व्यावसायिक र राम्रो चलचित्र बन्छ भन्ने भ्रम पालेर हुँदैन, दर्शकको मनोविज्ञान र मौलिकताबीच तालमेल पनि मिल्नु पर्छ,” गुरुङ भन्छन्, “अर्को कुरा, सञ्चार माध्यम पनि एउटा कारण हो, विज्ञापन छपाएकै भरमा राम्रो भनेर समीक्षा गर्ने परिपाटीले दर्शक झुक्किरहेका छन् । राम्रो भनेर हल पुगेका दर्शक यस्तै चलचित्र बन्दारहेछन् भनेर दोहोर्याएर हल जाँदैनन् ।”

चलचित्र वितरक गोपाल कायस्थ पनि ८५ प्रतिशत नेपाली चलचित्रको लगानी बालुवामा पानी सरह भएको स्वीकार्छन् । “यहाँ बाहिर एउटा भित्र अर्कै खेल हुन्छ, चलचित्र डुब्नुको कारण पनि यही हो,” कायस्थ भन्छन्, “पोस्टरमा एउटा निर्माता देखिन्छ, तर त्यो चलचित्रमा पर्दापछाडि ८÷९ जनासम्म लगानीकर्ता हुन्छन् । पोष्टरमा देखिने निर्माताले चलचित्र चल्नुअगाडि नै लगानी उठाइसकेको हुन्छ । उसलाई चलचित्र चलोस्÷नचलोस् मतलव हुँदैन ।”

विदेशमा रहेका नेपालीलाई करोडौंको सपना देखाएर लगानी गराएका निर्माताहरूबाट ठगिएकाहरू प्रत्यक महिना आफूसँग दशौं जना आउने गरेको कायस्थ बताउँछन् । बजार राम्रो हुँदै गए पनि निर्माणमा तालमेल नमिल्नु र एकले अर्कोलाई ठगी गर्ने प्रवृत्ति नै नेपाली चलचित्रको व्यापार धराशायी हुनुको मुख्य कारण रहेको उनको भनाइ छ ।

नरेश फुयाँल

प्रतिकृया दिनुहोस
ad