काठमाडौँ । कतारको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अमिर, विदेश र श्रममन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
भेटका क्रममा उनले कतारमा रहेका साढे तीन लाखभन्दा भन्दी बढी नेपाली श्रमिकहरूको सेवा, सुविधा र सुरक्षाका बारेमा चासो राखेका थिए ।
मन्त्री डा महतले नेपाली श्रमिकको सेवा सुविधाका लागि कतार सरकार गम्भीर रहेको भन्दै यहाँ समस्यामा परेकाको सुविधाका लागि सुरक्षित आवास गृहको स्थापना गर्ने र मजदुरले पाउनुपर्ने सुविधा नपाई कानुनी समस्या झेल्नुपरेको अवस्थामा अदालतसम्म पुग्दा झन्झटिलो हुने भएकोले श्रम मन्त्रालयअन्तर्गत नै एक संयन्त्र स्थापना गरी त्यहीँबाट समस्या समाधान गर्ने बिषयमा छलफल भएको उनका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।
नेपालमा एक पोलिटेक्निकल कलेज स्थापना गरी दक्ष जनशक्ति उत्पादन गर्न र नेपालको पर्यटन, हाइड्रोपावर तथा टेलिकममा कतारले लगानी गर्ने विषयमा पनि छलफल भएको प्रेस संयोजक पाठकले बताए ।
भेटमा नेपालले आगामी चैतमा गर्न लागेको लगानी समिटमा कतारले एक अनुसन्धान टोली पठाउने र त्यसले नेपालका कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारेमा दिएको सुझावका आधारमा कतारले नेपालमा लगानी गर्ने बारेमासमेत छलफल भएको थियो ।
छलफलका क्रममा कतारमा रहेका ठूलो संख्याका नेपालीको हकहित तथा उनीहरूले पाउनुपर्ने सुविधा र सुरक्षामा नेपालले राखेको चासोप्रति कतार अत्यन्तै सकारात्मक भएको बताइएको छ । अन्तर्राष्ट्रिय मापदण्ड तथा परिवर्तित सन्दर्भमा कतारको श्रम कानुनमा गरिएको सुधारलाई मन्त्री डा महतले खुलेर स्वागत गरेको प्रेस संयोजक पाठकले जनाएको छ । रासस