काठमाडौं । खेलकुदको माध्यमबाट महिलाको स्तन क्यान्सरविरुद्ध जनचेतना वृद्धि गर्ने उद्देश्यले राजधानीमा आगामी फागुनमा पिङकाथन दौड प्रतियोगिता हुने भएको छ । नेपाल एथलेटिक्स संघ र लेजर पोर्टको सहकार्यमा आगामी फागुन १३ गते पिङकाथन दौड प्रतियोगिता आयोजना हुने भएको हो ।
दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा विभिन्न ४ स्पर्धा राखिएको मंगलबार पत्रकार सम्मेलनबाट आयोजकले जनाएको छ ।
र, करिव ५ हजार महिलाको सहभागिता रहने पिङकाथन दौडमा सबै प्रतिस्पर्धीहरू महिला मात्र रहने आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय एथ्लेटिक्स संघको नियमअनुसार हुने दौड अन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन र १० किलोमिटर दौडमा प्रतिस्पर्धा हुनेछन् भने तीन किलोमिटर, पाँच किलोमिटरको च्यारिटी वाकाथन रहने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको २१ किलोमिटरको हाफ म्याराथन विधातर्फका विजेताले ५० हजार, दोस्रोले २० हजार तथा तेस्रोले १० हजार रुपैयाँ प्रात गर्नेछन् । त्यस्तै २१ किमीको दौडमा पहिलो र दोस्रो हुनेले भारतमा हुने पिङकाथन इन्डिया सहभागिता जनाउन पाउनेछन् । उक्त दौडमा जाने खेलाडीको सम्पूर्ण खर्च आयोजकले बेहोर्ने छन् । यस्तै, १० किलोमिटरतर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् ।
नेपालमा पहिलोपटक हुन् लागेको पिङकाथन दौड पिंकाथन इन्डियाको फ्रेन्चाइजकोरुपमा नेपालमा हुन् लागेको हो । र, दौडको मुख्य उदेश्य खेलकुदको माध्यमबाट महिलाको स्तन क्यान्सर रोगबारे आम महिला तथा जनतालाई जनचेतना फैलाउनु रहेको पिङकाथनको नेपाल च्याप्टर प्रमुख नमराज जोशीले जानकारी दिए ।