नयाँदिल्ली । मण्डला थिएटर नेपालको २५ सदस्यीय कलाकार टोली नाटक 'सुनकेशरी' लिएर भारतको राजधानी नयाँ दिल्ली आउँदैछ । दक्षिण एसियाकै महत्वपूर्ण र प्रतिष्ठित मानिने 'भारत रंग महोत्सव'को १९ औं संस्करणमा सहभागी हुन आउन लागेको यो टोलीले नाटक 'सुनकेशरी'लाई राष्ट्रिय नाट्य विद्यालय (नेसनल स्कुल अफ ड्रामा)को अभिमञ्चमा प्रदर्शन गर्नेछ ।
फेब्रुअरी १, २०१७ मा नयाँ दिल्लीको कमानी रंगमञ्चमा उद्घाटन हुने महोत्सवको सत्रौं दिन मण्डलाले आफ्नो नाटक 'सुनकेशरी' प्रदर्शन गर्नेछ । फागुन ६ गते (फेब्रुअरी १७)मा स्थानीय समयअनुसार साँझ साढे ८ बजे एनएसडी परिसरको अभिमञ्चमा नाटक मञ्चन गरिमेछ । संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित प्रसिद्ध नाटक 'सुनकेशरी'लाई राजन खतिवडाले निर्देशन गरेका हुन् ।
५ वर्षअघि मण्डलामा प्रिमियर गरिएको यो नाटकलाई त्यसयता नेपालमै ७० पटकभन्दा बढी नियमित मञ्चन गरिसकिएको छ । भारत र बंगलादेशका केही प्रतिष्ठित नाटक महोत्सवमा समेत यो नाटक सहभागी भएर चर्चा कमाइसकेको छ ।
टोलीमा मण्डलाका अध्यक्ष दयाहाङ राईसहित निर्देशक खतिवडा, कलाकारहरू सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङ, सोमनाथ खनाल, विकाश जोशी, उमेश तामाङ, रञ्जना वली, विनीता गुरुङ, सुलक्षण भारती, सिर्जना अधिकारी, सरिता गिरी, दिलबन्धु यादव (सुरज), लक्ष्मी बर्देवा, सञ्जीव परियार, मोहम्मद नाजिर हुसेन, आर्जेश रेग्मी, प्रदीपकुमार चौधरी, सिजन दाहाल, देवराज सुनुवार (इँगिहोपो कोइँच), अनुपम शर्मा, सुरज खनाल र बासुदेव खड्का (अंकित) छन् ।
टोली फेब्रुअरी १८ काठमाडौं फर्किनेछ । दयाहाङ राई, बुद्धि तामाङ, सिर्जना सुब्बा र नाजिर हुसेन भने बिहीबारमात्रै दिल्ली पुग्नेछन् ।