site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एउटा (अ)सफल विद्रोह !
Ghorahi CementGhorahi Cement

“इतिहास उधिन्न जरुरी छैन, किनभने त्यहाँ अब केही छैन ।” यो रुसी भनाइ हो ।

तर, हाम्रो परिस्थिति अलिक फरक छ ।

इतिहास कोट्याइरहन जरुरी छ किनकि धेरै त्यहाँ धेरै कुरा लुप्त छन्, थुप्रै कुराहरू गुप्त छन् अझै ।

Agni Group

यसर्थ सपनाको भारी बोकाएर परिवर्तनको यात्रामा लिएर हिँडेकाहरू आज कहाँ छन् ? बेलाबखत तिनको खोजतलास हुनुपर्छ ।

मथिंगलमा सपाट सपना बोकेर हिँडेकाहरू क्रान्तिको बक्ररेखामा कहाँ अल्झिए ? समयक्रमसँगै तिनको उत्खनन् गर्नुपर्छ ।

Global Ime bank

तत्कालीन सत्ताविरुद्ध संघर्षको जेहाद छेड्ने कतिपय ‘क्रान्तिवीर’हरूले ‘यु टर्न’ लिएका छन् । परिवर्तनको वायुपंखी चेतले क्रान्तिको डढेलो सल्काउनेहरू जुन शक्तिको घाँटी निमोठ्न हिँडेका थिए, अन्ततः तिनैसँग घाँटी जोड्न किन पुगे ? यसको निरुपण हुन बाँकी छ ।

हिजो जुन घरमा ओत लागेर परिवर्तनको विगुल फुके, आज त्यो थातथलो छोडेर अन्यत्रै आश्रय लिनुपर्ने तिक्ततायुक्त बाध्यता पनि आइलागेको छ कतिपयलाई । 

त्यहीमध्येका हुन्– महेश कोर्मोचा ।

१ पुस । यो दिन सम्झनेबित्तिकै धेरैको मस्तिष्कमा सियोले घोच्छ– तत्कालीन राजा महेन्द्रले जननिर्वाचित विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारलाई अपदस्त गरेर शासन सत्ता आफ्नो हातमा लिएको दिन । महेन्द्रको शाही ‘कू’ अर्थात् प्रजातन्त्र हरण भएको कालो दिन ।

इतिहासमा त्यही दिन अर्को त्रासदीयुक्त घटना पनि घटेको थियो । धेरैलाई थाहा नहुन सक्छ, या कतिपयले बिर्सिसके । ‘टिम्बुरबोटे काण्ड’ले परिचित उक्त घटना इतिहासको ‘असफल विद्रोह’ हो । कांग्रेसका तत्कालीन लडाकुहरूले सोलुखुम्बुको ब्यारेक आक्रमण गर्न जाँदा बाटैमा सरकारी सेनाको घेराबन्दीमा परी हत्या भएको कहालीलाग्दो बिहानी हो त्यो ।

त्यही त्राशदीपूर्ण घटनाबाट बाँचेका ‘युद्धवीर’ हुन् कोर्मोचा ।

० ० ०

ओखलढुंगाको खिजी गाविसमा जन्मिएका हुन् उनी । हुनेखानेकै सन्तान अर्थात् द्वारेका नाति हुन् उनी, नपुग्दो केही थिएन । गाउँको कूत उठाउनेदेखि मुद्दमामिला फैसला गर्नेसम्म अधिकार राख्ने ‘राजसी’ खलकै हुन् उनी । उनी सम्झन्छन्– उतिबेला तीन गोठ हुने मान्छे असाध्यै धनी कहलिन्थ्यो । गाई गोठ, भेडा गोठ, भैँसी गोठ आदि । 

७५–८० वटा भैँसी, गाई १८० वटा र १५–१६ सय भेडा थिए उनीहरूका । आय आर्जनको बलियो माध्यम थियो त्यो । २२–२५ जना हेरालु थिए, तिनैले बस्तुभाउको रेखदेख गर्थे । चार सन्तानमध्ये उनी कान्छा हुन् । बाल्यकालमा उनको काम तिनै गोठ धाउने र वस्तुभाउको हेरविचार गर्ने हुन्थ्यो ।

खेतीपाती पनि प्रशस्तै थियो, त्यस्तै ५२ पाथी तीन मुरीको हाराहारीमा मकै छर्थे उनीहरू ।

बडाबाउ भारतका तत्कालीन सुवेदार मेजर थिए । बडाबाउले महेशका हजुरबुबालाई तत्कालीन समयमा भारत लिएर गए । सन् १९३८ को कुरा हो यो । तीनताक भारतमा क्रान्तिको सूत्रपात हुँदैथियो । भारत कांग्रेसका तत्कालीन अध्यक्ष गोख्लेसँग भेट गराइदिएछन् । महेशलाई सम्झना भएसम्म महात्मा गान्धी, सुवासचन्द्र बोस आदिसँग पनि हजुरबाको भेट भएको थियो ।

गाउँको द्वारे, राणाको कारिन्दा ! भारतमा क्रान्तिबारे प्रशिक्षण पाएपछि हजुरबुबाको मथिंगलमा क्रान्तिको पुष्प गुम्फित भयो । भारत जानुअघि नै हजुरबुबाले द्वारेको पगरी फुकालेर मुखिया बनाउँदै खिजी फलाटे र खिजी चन्डेश्वरीलाई जिम्मा दिइसकेका थिए ।

हजुरबुबा १९३८–४२ सम्म भारतमै बसे र ‘भारत छोडो आन्दोलन’मा सरिक भए । त्यसपछि उनी नेपाल फर्किए । तत्कालीन समयमा नेपालमा कांग्रेस पार्टीको स्थापना भइसकेको थिएन । १९४६ मा नेपाली कांग्रेस स्थापनामा उनका हजुरबाले राम्रै योगदान गरे । त्यहीबेला जन्मिएका हुन् उनी ।

० ० ०

२००७ सालको क्रान्ति उनलाई घुर्मैलो सम्झनामात्रै छ । उनी लँघौटीमा चिट्ठीपत्र बोकेर एक गाउँबाट अर्को गाउँ जान्थे र सूचना साटफेर गर्थे । भन्छन्, “हजुरबाले यो चिठ्ठी पल्लो गाउँ, तल्लो गाउँ पुर्‍याएर आइजो भन्नुहुन्थ्यो । म एकाध बिहान हिँडेर चिट्ठी पुर्‍याउन जान्थेँ ।”

बाटाभरि खुट्टामा जुत्ता नलगाएका, घँगारु, बाँसको लट्ठी बोकेका, नीलो पोशाक लगाएका मानिस उभिएका हुन्थे । उनको मुटुमा ढ्यांग्रो बज्थ्यो– को होलान् यिनीहरू ? ठूला मानिसहरूलाई खानतलासी गर्थे तर बालबालिकालाई खासै वास्ता गर्दैनथे ‘जाओ जाओ’ भन्दै हात हल्लाउँथे । पछि बुझ्दा तिनीहरू प्रहरी पो रहेछन् !

“खानतलासी गर्ने भयले हजुरबाले मलाई लँघौटीमा चिट्ठी हालेर पठाउनुहुँदो रहेछ, म पल्लो गाउँमा भनेकै ठाउँमा पुर्‍याएर फर्कन्थेँ । बीचमा मलाई गाइड गर्ने, ‘यहाँबाट त्यहाँ जा भन्ने’ आधा घण्टा अगाडि–पछाडि आउँथे । सुरुसुरुमा मीठो खान पाइने लोभमै त्यसरी चिट्ठीपत्र ओसारेँ । प्रकारान्तरले त्यो क्रान्तिप्रतिको चेतनामा विकास भयो !” उनको ओठमा ह्रस्व हाँसो छायो, कोठाको धूमिल प्रकाश छिचोलेर पर पुगेर निस्तेज भयो ।

बेलुका घरमा गाउँभरिका मानिस जम्मा हुन्थे । हजुरबाले उनीहरूलाई के–के भन्थे । हतियार बोक्ने । लडाइँ लड्ने । सेना–प्रहरीसँग भिड्ने । गोप्य रूपमा आवत–जावत गर्ने– घुर्मैलो सम्झनामात्रै छ उनलाई ।

२००७ सालको क्रान्तिताका उनले थुप्रै चिट्ठीपत्र ओसारे । बालखै भएकाले सुराकी, प्रहरीको आँखामा पनि नपर्ने र छिटो छरितो भएकाले सजिलो नै भयो भनौँ ।

“एक गाउँबाट अर्को गाउँमा गयो । चिट्ठीपत्र पुर्‍यायो । फेरि त्यहाँको मानिसले जवाफ लेख्थे । पुरानो काजगमा निगालो, बाँसको, मालिंगोको ठूटोमा धैँसो, तितेपातीको झोल चोपेर एउटा अक्षर लेख्न एक मिनेटभन्दा लामो समय लगाउँथे,” उनी अहिले सम्झन्छन् ।

००७ सालको क्रान्ति उनकै घरबाट सुरु भयो
घरभन्दा मुनि ठूलो चौर छ, फुटबलै खेल्न सकिने । २००७ साल कात्तिक ७ गते ४९ वटा जनावर (सात वटा बोका, सात वटा भेडा, सात वटा राँगा, सात वटा भाले, सात वटा परेवा सात÷सात वटा हाँस, कुखुराको अण्डा आदि) बलि चढाएर क्रान्तिको थालनी गरेका हुन् । सँगै सात नाल बन्दुकसमेत पड्काइएको थियो ।

कसरी क्रान्ति लडे, कतिबेला विजय हासिल गरे, खासै सम्झना छैन । खालि लडाइँ सुरु भएको मात्रै सम्झना छ उनलाई ।

०१५ सालको चुनावमा नेपाली कांग्रेसको तर्फबाट पूर्व ३ नम्बरमा पेशलकुमार पोखरेल उठेका थिए । उनले जित हासिल गरे । 

०१७ सालमा निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरी जेल हालिसकेपछि खबर डढेलो लागेजसरी गाउँघरमा फैलियो । गाउँघरतिर हल्ला चल्न थाल्यो– तिमीहरूको राजाले बीपीलाई जेल हालिसक्यो, उनको पछि लाग्ने सबैलाई सेनाले घर–घर खोजेर मार्छ अब, ज्यान बचाउने भए भाग !

गाउँका बुज्रुक र महिलाहरूले ज्यान जोगाउने भए बेलायती सेनामा भर्ती हुन धरान जाओ भनेर सम्झाइबुझाइ गर्न थाले । त्यसपछि उनी ब्रिटिस सेनामा भर्ती हुन धरान हान्निए । उनीसँग ०१५ सालमा चुनावमा खटिएका युवा पनि थिए । समूहमा १२ जना सुनुवार र तीन जना तामाङ केटा थिए । तीमध्ये १४ जना भर्ती भए, एक जना भर्ती हुन असमर्थ भए ।

ब्रिटिस सेनामा उनले आठ वर्ष सेवा गरे । उच्च शिक्षा अध्ययन उनले त्यहीँ गरे । ब्रिटिस सेनामा कार्यरत रहँदा उनले सिभिल इन्जिनियरिङ पूरा गरे । ०२४ सालमा सेना कटौतीमा पर्‍यो, उनले ब्रिटिस सेनाको जागिर छाड्नुपर्‍यो । जागिरबाट सेवानिवृत्त त भए तर समय नपुगेकाले पेन्सनको सुविधा भने लिन पाएनन् ।

जागिर छाडेर घर फर्किएपछि गाउँका बाँकी युवाले भन्न थाले, “तिमी आइहाल्यौ, अब पुनः कांग्रेस जगाउनुपर्छ, चुप लागेर कहाँ हुन्छ ?”

त्यसपछि भूमिगत रूपमा कांग्रेसका गतिविधि सञ्चालन गर्न थाले ।

त्यहीबीचमा उनी काठमाडौँ आएर शंकरदेव क्याम्पस भर्ना भए । भूमिगत गतिविधि सञ्चालन गरेको भनेर बागमती, नारायणी, कोसी र सगरमाथा गरी चारवटा अञ्चलमा वारेन्ट जारी भयो ।

०२५ सालमा बीपी जेलबाट छुटेपछि सशस्त्र क्रान्तिको आह्वान गरे । बीपीको आह्वानमा साथ दिन महेशसहितका केही उत्साहित युवाहरू बनारस गए र प्रशिक्षण लिए । क्रान्तिको नयाँ अभिभारा पूरा गर्ने र मुक्तिको लक्ष्य हासिल गर्ने कसम खाए । “पूर्वाञ्चलको विशेष जिम्मेवारी सम्हाल्नू, क्रान्ति पूरा गर्नू,” बीपीले उनलाई विशेष जिम्मा दिए ।

उनले केही समय धरानमा पार्टी संगठन विस्तार गरे र क्रान्तिको आधारशीला तयार पार्न थाले । संगठनले बृहत् आकार लिन थालेपछि प्रशासनले उनीमाथि निगरानी बढायो र त्यहाँ पनि वारेन्ट जारी गर्‍यो । फेरि बनारसै फर्किए, बीपीकै सान्निध्यमा पुगे उनी । बिहार पश्चिम बंगालको सीमानामा नै उनीहरूले धेरैजसो समय व्यतीत गरे ।

टिम्बुरबोटे काण्ड
सहयोद्धाहरूकै धोका र असावधानीको परिणती हो टिम्बुरबोटे काण्ड । नेपाली इतिहासमा असफल विद्रोहको युगीन अध्याय ! जसमा क्याप्टेन यज्ञबहादुर थापा, श्याम गुरुङ, पदम प्रकाशसहित १८ जनाले शहादत प्राप्त गरे ।

कसरी बनाइयो विद्रोहको योजना ?

तत्कालीन समयमा संयुक्त राष्ट्रसंघको बडापत्र अनुसार कुनै पनि भू–भाग स्वतन्त्र बनाउन ६० स्क्वायर किलोमिटर क्षेत्र आवश्यक पथ्र्यो । पूर्वमा धरान, विराटनगर र पश्चिममा पोखरा, दाङसमेतको क्षेत्रमा उनीहरूले रेकी गरेका हुन् । भू–भाग स्वतन्त्र बनाउन ब्यारेक कब्जा गर्नै पथ्र्यो । ठूलो ठाउँमा शक्ति केन्द्रित हुने र कब्जा गर्न ठूलो सामथ्र्य चाहिने हुनाले सोलुखुम्बु र ओखलढुंगा नै उनीहरूको रोजाइमा प¥यो । ओखलढुंगा आफ्नै जिल्ला भएकाले सबैजसो भू–भागसँग उनी परिचित थिए । हातहतियार चलाउन पोख्त, सैनिक र सिभिल दुवै ज्ञान भएकाले विद्रोहको नायकत्व उनैले निर्वाह गरेका थिए । ०२८–०३१ मा झन्डै चार वर्ष लगाएर विद्रोहको आधार तयार पारेका हुन् उनीहरूले । भूतपूर्व सैनिककरू, केही गाउँलेसमेतलाई गरी २७ जनालाई उनीहरूले फारबीसगन्ज, बथान, वीरपुर र बनारसमा तालिम दिएर लडाइँको योजना बनाएका थिए ।

ओखलढुंगाको ब्यारेक कब्जा गर्ने उनीहरूको प्रारम्भिक योजना थियो । तर, परिस्थिति सोचेअनुरूप भएन । जो–जो मार्गदर्शक खटाइएका थिए, उनीहरूले ठीक समयमा वस्तुगत जानकारी नै ल्याउन सकेनन्, न ब्यारेक आक्रमणको खाका नै बुझाउन सके ।

ब्यारेकको सम्पूर्ण सूचना र आक्रमणको योजना नै तिनै मार्गदर्शकसँग भएकाले उनीहरूले ओखलढुंगा ब्यारेक आक्रमण गर्न सक्ने अवस्था भएन । त्यसपछि उनीहरूले त्यो मनशाय परित्याग गरे ।

आक्रमण गरी भू–भाग कब्जा गर्ने योजना बनाइसकेकाले उद्देश्यबाट फर्कने अवस्था थिएन । ओखलढुंगा ब्यारेक हान्न नसकिने निष्कर्षमा पुगिसकेपछि अर्को कुन आक्रमण गर्ने त ? उनीहरू रनभुल्लमा थिए । हठात् सोचाइ आयो– सोलुखुम्बको ब्यारेक हान्ने !
एउटा सुवेदारको नेतृत्वमा १३–१४ जनाको टुकडी थियो त्यहाँ । महेशले सोचे– त्यति सानो समूहलाई निमेषभरमै कब्जामा लिन सकिहालिन्छ । चुट्कीकै भरमा काम फत्ते हुन्छ । राज्यसत्तालाई ठूलो सवक हुन्छ त्यो ।

ओखलढुंगा पुग्न तीन दिन लाग्थ्यो भने सोलु पुग्न १३ दिन समय खर्चनुपथ्र्यो । मंसिर ३० गते सोलुखुम्बुको तिङ्ला भन्ने गाविसको टिम्बुरबोटे जंगल पुग्दा झमक्क रात परिहाल्यो । जंगल छिचोल्न सक्ने अवस्था थिएन । खाद्यान्न बोकेकाहरू आइपुगिसकेका पनि थिएनन् । वरिपरि नभएकाले त्यही जंगलको सानो ओढारमा उनीहरू बास बसे । आक्रमण गर्न गएकै समूहमध्येकै केही साथीहरू बाटोमै अलमलिए । ओढारभन्दा बाहिर रहेकाहरू सेनाको फन्दामा परिसकेछन् र आफ्ना सहयोद्धाहरूको सूचना दिन बाध्य बनाइएछन् ।

सरकारी सेनाले विद्रोही बसेको ठाउँ खोज्दै आयो र ओढारमा लुकेर बसेको चाल पाएपछि ग्रिनेट र हतियारसहितले आक्रमण गर्न थाल्यो । कतिलाई त्यही स्थानमा त कतिलाई नियन्त्रणपछि हत्या गर्‍यो ।

“सेनाले ग्रिनेट बर्साउन थालेपछि म आगोको फिलिंगोजस्तो बम छल्दै त्यहाँबाट भागेँ । बाँँच्छुजस्तो त लागेको थिएन, खै कसरी बाँचिएछ, कति साथी ऐया... आत्था गर्दै थिए । कति निस्चेष्ठ भइसकेका थिए । सेनाले एकाहोरो गोला बर्साइरहेको थियो,” उनी अहिले सम्झन्छन् ।

१ पुस राजाले शासनसत्ता आफ्नो हातमा लिएर प्रजातन्त्र अपहरण गरेको दिन, ब्यारेक आक्रमण गरी जनअधिकार फिर्ता गराउने दाउमा लागेका क्रान्तिकारीहरू अन्ततः टिम्बुरबोटेको ओढारमा बम र बारुदको भुंग्रोमा शेष भए ।

त्यसो त त्यो विद्रोह फलित क्रान्ति हुन सकेन, तथापि अहिलेको गणतन्त्रको ‘जग’ भएको उनी बताउँछन् । यदि टिम्बुरबोटे जंगलमा १८ योद्धाको चिहान खडा हुँदैनथ्यो भने मुलुकमा सायदै गणतन्त्रको बिहान आउँथ्यो । क्रान्ति डढेलो होइन, टिम्बुरबोटे जस्तै स–साना फिलिंगो हो– यति भनेर उनले लामो श्वास लिए ।

निःसन्देह– टिम्बुरबोटे काण्ड नेपाली क्रान्तिको अतीतद्योतक हो ।

० ० ० 

विद्रोहमा सामेल ३५ जनामध्ये १८ जना एकै चिहान भए । केही पक्राउ परेपछि मारिएका हुन् भने केही तत्क्षण नै निर्जीव तुल्याइए । महेश कोर्मोचा, क्याप्टेन यज्ञबहादुर थापा र केही योद्धा भने आक्रमणमा बाँच्न सफल भए ।

भाग्दै उनीहरू गाउँमा शरण लिन पुगे । उनी भाग्दै भारत पुगे र बाँचे  । तर, क्याप्टेन थापा आफ्नो पुरोहितको घरमा आश्रय लिने हुँदा सरकारी सेनाको फन्दामा परे । उनी स्मरण गर्छन्– क्याप्टेन थापा भाग्दै ‘यहाँ त बाँचिएला’ भन्ने सोचेर पुरोहितको घरमा गएछन् र बिहानको खाना खाएछन् । खाना खाएपछि पुरोहित लाखापाखा लागे । थापालाई शंका लागेछ– कतै यिनी सेना बोलाउन त गएनन् ! त्यसपछि उनी नजिकैको परालको माचमुनि लुकेर बसेछन् । लुकेर बसेको बेला अचानक खोकी चल्दा सेनाले थाहा पायो र उनी तत्कालै पक्राउ परे । 

पक्राउ परेपछि उनलाई काठमाडौं जेल चलान गरिएको थियो । पछि जेलबाट लगेर हत्या गरियो । उनको हत्या कहाँ गरियो, कसरी गरियो भन्नेमा पनि मतैक्य छैन । कसैले कमला खोँचमा भन्छन्, कसैले कोसी टप्पुमा । 

“छोरालाई लाश बुझाउँदा पनि यहाँ मारेका हौँ नभनेर डेथ बडी मात्र बुझाएकाले यहीँ सिध्याएका हुन् भन्न सकिन्न !” उनको अनुहारमा प्रतीयमान पीडा झल्कियो ।

क्याप्टेन थापा ०१८ सालताका नेपाली सेनाका क्याप्टेन थिए र जानकारहरू उनी कांग्रेस दबाउन सक्रिय थिए भन्छन् । तर, बढुवाको बेला कांग्रेसलाई सघाउन लागिपरेको आरोपमा कोपभाजनमा परे । बीपीले ०२५ सालमा सशस्त्र क्रान्तिको हुँकार गरेपछि थापा कांग्रेसको सशस्त्र विद्रोहको नेतृत्व गरे, हतियारबन्द आन्दोलनको अगुवाइ गर्ने ठाउँमा पुगे ।

सोलुखुम्बु आक्रमणमा जाँदा उनीहरूसँग त्यतिबेलाका अत्याधुनिक हतियार थिए । आक्रमण गर्न गएका लडाकु र मिलिसियासमेत गरी ३५ जनामा प्रत्येकसँग दुईवटा जसो हतियार थिए । स्ट्यान्ड गन, ब्रेन गन, पेस्तोलमात्र होइन, एके–४७ समेत थियो । तर, एके–४७ बोक्ने अमरबहादुर खड्काचाहिँ बाटैमा छुटे । सेनाले सर्च तीव्र पारेपछि उनी हतियार खोलामा फ्याँकेर भागेछन् । उक्त हतियार पछि गाउँलेले फेला पारेर राखेका थिए ।

०३३ सालमा बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएपछि महेश मंसिरमा भारतबाट नेपाल फर्किए तर त्यही महिना पक्राउ परे । १४ पटक पक्राउ र ८ वर्षभन्दा बढी जेल जीवन बिताए उनले । ०३३ सालमा पक्राउ पर्दा उनीविरुद्ध ओखलढुंगा सशस्त्र विद्रोहको नायिके (राज्य विप्लव), सरकारी ढुकुटी हाइज्याक, सुनसरी हरिपुर काण्ड आदिमा मुद्दा चलाइएको थियो र फाँसीको माग गरिएको थियो । अभियोग पुष्टि नभएकाले उनी बाँचे । र, ०३६ सालको जनमत संग्रहताका उनी जेलबाट रिहा भए ।

० ० ०

०४६ सालको बहुदलीय व्यवस्थापश्चात् उनी ओखलढुंगाको खिजी गाविसको दुई पटक गाविस अध्यक्ष र दुई पटक (०४९ र ०५४) जिल्ला विकास सभापति निर्वाचित भए । दुईपटक कांग्रेसको जिल्ला सभापति बने । ०५९ सालमा पार्टी विभाजन हुँदा उनी देउवा पक्षधर भए । त्यसबीचमा आदिवासी जनजाति विकास समितिको उपाध्यक्षसमेत भएर लाभको पद धारण गरे उनले ।

क्रान्ति पारायण गर्नुपर्ने कांग्रेस जब नगदनारायणमा बदलियो
क्रान्तिप्रतिको रुमानी सपना मथिंगलमा बोकेका महेशलाई कांग्रेसप्रति चरम वितृष्णा जाग्न थाल्यो । पद पाइएन भन्ने गुनासो होइन, क्रान्तिलाई ठट्टा हाँसोमा उठाएको देख्दा उनको चित्त काढिन्थ्यो । क्रान्तिका लागि जिउ ज्यान र सिंगो जीवन अर्पण गरेका गणेशमान, कृष्णप्रसाद भट्टराई लत्याइए होइन, गलहत्याइए नै । भन्छन्, “गिरिजाप्रसाद कोइरालाको हातमा पार्टी नेतृत्व पुगेपछि त पार्टी ‘नगदे’ पो हुन थाल्यो । कताको क्रान्ति, कताको परिवर्तन, वास्तै हुन छाड्यो ।”

उनी जन्मैदेखि लागेको पार्टी बरु स्वतन्त्र बस्छु भनेर चुपचाप थिए तर मनले मानेन । १३ औँ महाधिवेशनमा उनले शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवै पार्टी मूलधारबाट बाहिरिएको भन्दै पाकाहरूलाई उचित सम्मान दिन आग्रह गरे । तर, सुनुवाइ भएन ।

अनि कांग्रेस छाडे
परिवर्तनको राजमार्गबाट नगद मार्गतर्फ पार्टी ओरालो लागेपछि अन्ततः कांग्रेस छाडेँ भन्छन् उनी । पार्टी छाडेपछि उनी स्वतन्त्रजस्तै थिए । त्यसैबीचमा ‘अबको निकास आर्थिक विकास’ मूल नारा लिएर डा. बाबुराम भट्टराई नयाँ शक्तिको सुकिलो झन्डा बोकेर राजनीतिक मैदानमा देखा परे । पढेलेखेको, भिजिनरी र देशका लागि केही गर्छु भन्ने भट्टराईको उत्साहबाट उनी चीर आह्लादित थिए र उनको योजनाप्रति उनको चक्षुगोचर पनि भइरहन्थ्यो । भट्टराईसँग उनको चरण–चरणमा कुराकानी भयो र अन्तिममा उनी नयाँ शक्तिको पार्टी घोषणामा सहसंयोजक चुनिए ।

राणा, राजा फाल्न आफूले र गणतन्त्र ल्याउन भट्टराईले हतियार उठाएको बताउँदै उनी भन्छन्, “नयाँ शक्तिले अब गरिबीको जरोमुरो उखेलेर फ्याँक्छ ।”

स्वास्थ्यमा सुधार
बिहीबार हामीसँगको कुराकानी हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा भएको हो । यसर्थ कि उनी प्रोस्टेटको उपचार गर्न फागुन ३ गतेदेखि त्यहाँ भर्ना भएका छन् । स्वास्थ्य अवस्था प्रगतिजन्य छ । ढाडको नसा च्यापिने रोगबाटसमेत थला परेका उनी क्रमशः निको हुँदैछन् । 

“अरु नेता ज्वरो आउँदा पनि विदेश धाउँछन्, स्वदेशमा आफूले छात्रवृत्तिमा पढाएका चिकित्सकसँग पनि विश्वास छैन । स्वदेशप्रति भरोसा नै छैन तिनलाई ! म त जस्तै असाध्यै रोग लागे पनि उपचार स्वदेशमै गराउँछु । अहिले पनि यहीँ उपचार गराएँ । रोगको निदान हुँदैछ,” यति भनेर अट्टहास छोडे उनले । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC