ललितपुर । मुलुकको परराष्ट्रनीति, आर्थिक कूटनीति सञ्चालन र विकास बहसका विषयबाहेक तिनलाई व्यवहारमा अनुवाद गर्ने इमान्दार प्रयास नहुनु राष्ट्रका निम्ति दुर्भाग्य भएको टिप्पणी कूटनीतिक एवम् आर्थिक क्षेत्रका जानकारहरूले गरेका छन् ।
नेपाल विश्व सम्बन्ध परिषद्ले ललितपुरमा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीति, आर्थिक कूटनीति र विकास’ विषयक कार्यक्रममा उनीहरूले राजनीतिक स्थायित्व र राष्ट्रप्रतिको बेवास्ताका कारण त्यस्तो अवस्था आएको बताए ।
नेपालको समग्र विकासका ढाँचा, आवधिक योजना, आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालन र आर्थिक उन्नयनका नीति र कार्यक्रम प्रचुर मात्रामा तर्जुमा गरिएका भए पनि तिनको इमानदारीपूर्वक कार्यान्वयन नहुँदा मुलुक अत्यन्त कमजोर बनेको उनीहरूको कथन थियो ।
प्रत्यक्ष वैदेशिक लगानी, संयुक्त लगानीमा कलकारखानाको स्थापना, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन, मुलुकमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोगका निम्ति कुशल ढङ्गले आर्थिक कूटनीति सञ्चालन हुन नसक्दा वैदेशिक सीप, ज्ञान र प्रविधिसहितको सहायता मुलुकलाई प्राप्त नभएको उनीहरूले बताए ।
पूर्व अर्थ एवम् परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको अर्थतन्त्र विप्रेषणले धानेको र त्यो दिगो नहुने बताउँदै तुलनात्मक लाभका क्षेत्र र वस्तुको आधिकारिक उपयोग गरी व्यापार विस्तार एवम् बजारीकरण बढाउनुपर्ने सुझाव दिए ।
दलीय स्वार्थका कारण देशको विकास रसातलमा पुगेको टिप्पणी गर्दैं उनले मुलुकको विकास, परराष्ट्रनीति सञ्चालन, आर्थिक क्षेत्रको समृद्धिलगायत राष्ट्र निर्माणका लागि पारित योजना, नीति र ऐन– कानुन कार्यान्वयन नभएसम्म विकास असम्भव हुने बताए ।
अर्का पूर्व अर्थ एवम् परराष्ट्रमन्त्री प्रकाशशरण महतले सूचना प्रविधि र ज्ञानको वर्तमान प्रविधिमा प्राकृतिक स्रोत र साधनको उपयोगमा तिनको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै सुशासनमा केन्द्रित नभएसम्म आर्थिक विकास, आर्थिक कूटनीति सञ्चालन र सुझबुझपूर्ण परराष्ट्रनीतिको कुनै अर्थ नहुने बताए।
उनले दक्षिण एसियाली देशको प्राथमिकता राजनीति भएकाले यस क्षेत्रको विकास हुन नसकेको अर्थतन्त्रलाई सधैँ बढावा दिँदै आएका दक्षिण पूर्वी एसियाली देशले प्रगति हासिल गरेका दृष्टान्त प्रस्तुत गरे ।
अर्थशास्त्री प्राध्यापक विश्वम्भर प्याकु¥यालले परराष्ट्रनीति र आर्थिक कूटनीतिमा सामन्जस्य कायम हुन नसकेमा अर्थतन्त्र प्रभावित हुने तर्क गर्दै जलविद्युत् उत्पादनमा विदेशी लगानी भित्र्याउन आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालनमा जोड दिए । रासस