काठमाडौ । भारतको राष्ट्रिय जनता दलका अध्यक्ष एवं विहारका पूर्वमुख्यमन्त्री लालूप्रसाद यादवले आफ्नो पार्टीका कार्यकर्तालाई बूढा र दूध नदिने गाई लगेर भाजपा नेताहरूको ढोकामा बाँधिदिन भनेका छन् ।
बिहीबार राजद कार्यकर्ताहरूको प्रशिक्षण सम्मेलनमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भने, ‘‘भाजपा गोरक्षाको नारा लगाउँछ । तपाईँहरूको आसपासमा जति पनि बूढा गाई छन्, तिनलाई भाजपा नेताहरूको ढोकामा लगेर बाँधिदिनोस् । उनीहरू मारपिट गर्छन्, गर्न दिनोस् । हामी शान्त रहनुपर्छ ।’’
लालूले आफ्नो फेसबुकमा लेखेका छन्, ‘‘मैले आफ्ना कार्यकर्तालाई भनें दूध नदिने गाईहरू भाजपा कार्यालयमा लगेर बाँधिदेऊ । त्यसपछि हेर कुकुर पाल्नेहरू तथाकथित गौमाताका ती हितैषीहरूले त्यस्ता गाईप्रति केकस्तो व्यवहार गर्छन् ।’’
बीबीसीका अनुसार, यसअघि लालूले शंकराचार्यको पदमा भर्ना गर्दा समेत आरक्षण दिइनुपर्ने माग गरेका थिए ।