साहित्य र कला

नशा कि पेसा ?

“तपाईंहरू छुपेरुस्तम पत्रकारिता नगर्नुस् । कसले के खान्छ, के लाउँछ भनेर खोइरो पनि नखन्नुस् । बरु, फोक्सुण्डो तालका बारेमा लेख्नुस्,” दुई साताअघि अमेरिकाको भर्जिनियामा आयोजित ‘नेपाल अमेरिका पत्रकार संघ (नेजा)’को अधिवेशनमा गायक प्रेमराजा महतले थुप्रै पत्रकारसामु यस्तो सुझाव दिए । शुभकामना मन्तव्यका लागि निम्त्याइएका महतले अमेरिकाको नेपाली पत्रकारितामाथि आलोचना मात्र गरेनन्, यथेष्ट उपदेश पनि दिन भ्याए । 

सुझावको पंक्ति थप्न अघि सरे एसोसियसन अफ नेपलिज् इन अमेरिका (एएनए)का सभापति मेदिनी अधिकारी । “आफ्नो मात्रै दुःख सञ्चार गर्ने होइन, लोकको हित हेर्नुस् । आफ्नो पेसामा भ्याल्यु थप्नुस्,” उनले उपदेश दिइरहे, पत्रकारले सुनिरहे ।

नेपालमा व्यावसायिक पत्रकारिता गरेका चर्चित अनुहार त्यहाँ थिए । तर, अमेरिकाको नेपाली पत्रकारिताबारे जस्तो आलोचना उब्जियो, त्यसको न कसैले खण्डन गर्याे, न आत्मालोचना । बरु नेजाले प्रदान गरेको ‘सामुदायिक पत्रकारिता पुरस्कार’ थाप्न मञ्चमा पुगेका शिवप्रकाशले मुख खोले । 
“पत्रकारले मान्छेको हैन, खराब प्रवृत्तिका विरुद्ध लेख्छ । त्यस्तो प्रवृत्तिमा मिसिएका मान्छेको असल समाचार कसरी बनाउनू ?”

मञ्च पाएपछि बोल्नै पर्ने, बोल्न पाएपछि ‘उपदेश’ नै दिनुपर्ने स्वभावको निरन्तरता त्यहाँ पनि कम देखिएन । ठोसभन्दा सतही चर्चा गर्ने चलन अझ बढी । नेजाका अतिथिहरूले पनि त्यही गरे । गायक महतले सुझाव दिए तर त्यसको व्यावहारिकता भुले । जस्तोः अमेरिकामा बस्ने पत्रकारले फोक्सुन्डोको कुरा कसरी लेख्नू ! मेदिनीले पत्रकारको ‘भ्याल्यु’ बढाउन सुझाए, आफ्नो संगठनको मूल्य नापेनन् । नेजाले एउटा अधिवेशन पूरा ग¥यो र त्यो सफल भएको ठहर ग¥यो । सकियो । 

नेपाली समुदायका नेताले पत्रकारिताप्रति तिक्तता व्यक्त गरे, व्यावसायिक सम्भावनाको चर्चा गरेनन् । पत्रकारले ‘कार्यक्रम’ सम्पन्न गरे, आफ्नो भूमिकाको समीक्षा गरेनन् । 

अमेरिकामा ‘बामे सर्दै गरेको’ भनिने नेपाली पत्रकारिता ठम्ठमी हिँड्न सक्ने कहिले हुन्छ ? नेजाको अधिवेशनमा यसबारे गहिरो छलफल भएन ।

के अमेरिकामा व्यावसायिक नेपाली पत्रकारिता सम्भव छ ?

यो प्रश्नमा अधिकांश अनुभवीहरूको जवाफ आयो, “तत्काल छैन ।”

जमाना अनलाइनको छ । नेपाली अनलाइन पत्रकारितामा हेक्का गरिने नाम हो, गिरीश पोखरेल । नेपालमा इन्टरनेट पहुँच सहज नहुँदै उनले नेपाली भाषाको अनलाइन सुरु गरे ‘नेपालीपोस्ट.कम’ । पोखरेलले १६ वर्षअघि सुरु गरेको अनलाइनलाई उही गतिमा निरन्तरता दिन सकेनन् । 

“त्यतिबेला माओवादी युद्ध चरम अवस्थामा थियो । नेपालमा पत्रकारितामाथि बन्देज थियो । जनताको मौलिक हक गुमेका बेला हामीले सबैका विचारलाई स्थान दिन बडो मुस्किलसँग अनलाइन सुरु गरेका थियौं,” उनले ती दिन सम्झिए, “युनिकोड आएकै थिएन । प्रीति फन्ट प्रयोग गरेर चलाएका थियौं । पढ्नेले पनि त्यही फन्ट डाउनलोड गर्नुपथ्र्यो ।” 

त्यतिबेलाको अनलाइन पत्रकारिता झन्झटिलो थियो, असजिलो थियो । परिणाम– उनीहरू लोकप्रिय थिए । अहिले प्रविधि सजिलो छ । तर, अनलाइन पत्रकारिताको मूल प्रवाहमा ‘नेपाली पोस्ट’ हराएको छ । 

“हो, हामी पहिलेजस्तो प्रभावकारी छैनौं,” पोखरेल स्वीकार गर्छन् । त्यसको कारण पनि छ उनीसँग । “आफू पूरै खट्न भ्याइँदैन । नेपालमा केही मान्छे राखेर चलाउन खोजेको कपी पेस्ट गरेरै हैरान पारे । त्यसपछि रोकिदिएँ,” उनी भन्छन् । 

उनी नेजाका संस्थापक अध्यक्ष पनि हुन् । उनले खोलेको अनलाइन र उनले अगुवाइ गरेको संगठन दुवै प्रभावशाली नभएको गुनासो छ । उनी त्यसको पनि ‘डिफेन्स’ गर्दैनन् । प्रवासमा पत्रकारिता अरूको जस्तै उनकोे पनि पेसा हैन, नशा हो । नशाले गरेको काम व्यावसायिक नहुनु उनको विचारमा गलत होइन । 

अमेरिकामा रहेका दोस्रो पुस्तालाई लक्षित नगरी व्यावसायिक पत्रकारिता अघि नबढ्ने उनको धारणा छ ।

खै त नशाको रमरम ?

नेजाले तयार पारेको मञ्च प्रमुख अतिथि, विशेष अतिथि, सभापति यस्तै–यस्तै औपचरिक ढाँचाले भरिएको थियो । ‘फ्लोर’मा थिए नेपालको व्यावसायिक ‘पत्रकारिता मञ्च’का चर्चित व्यक्ति योगेश उपाध्याय । ‘कान्तिपुर’ र ‘काठमान्डू पोस्ट’का प्रधान सम्पादक भएर लामो समय काम गरेका उपाध्याय मुसुमुसु हाँसेर अतिथिहरूका तर्क सुनिरहेका थिए ।

नेपालमा व्यावसायिक पत्रकारिताको जरो गाड्ने व्यक्तिका रूपमा उपाध्यायको चर्चा हुन्छ । पछिल्लो समय च्यानल नेपाल टेलिभिजनका प्रधान सम्पादक रहेका उपाध्याय १० वर्षदेखि अमेरिकामा छन् । यस अर्थमा अमेरिकाबाट हुने नेपाली पत्रकारितामाथि उनको अनुभव सुन्न मन थियो तर कार्यक्रममा उनी वक्ता थिएनन् । कार्यक्रमपछि आफैं कुरा उप्काएँ, “नेजामा १४८ सदस्य रहेछन् । कार्यक्रममा पनि यति धेरै पत्रकार देखिन्छन् । यो संगठन नशाको हो कि पेसाको दाइ ?”

“जहाँ गुजाराका लागि अरू नै काम गरेर फुर्सदमा पत्रकारिता गर्न खोजिन्छ, त्यहाँ विशुद्ध नशामात्रै हो,” उनले जवाफ दिए । 

पत्रकारितालाई पेसा बनाउँदा विभिन्न ‘प्रेसर’ हुन्छ । मुख्य त ‘डेडलाइन’को । उपाध्यायले भनेजस्तो पत्रकारिता नशाका लागि मात्र भएको हो भने दुईवटा ‘प्रेसर’बाट पत्रकार मुक्त छ– ‘डेडलाइन’ र ‘गुजारा’का लागि किबोर्डमा औंला खेलाउनु पर्ने बाध्यता ।

“अनि, नशामा हुने पत्रकारिता झन् कडा हुनुपर्ने किन होला, रमरम पनि छैन त !” उपाध्यायले उत्तर खोजे, “नेपालमा राम्रो भूमिका निर्वाह गरेका मान्छेहरू अमेरिका आएका छन् । पत्रकारिता व्यावसायिक छैन, तैपनि संगठनमा रहने बानी छ । बेलाबेला भेटघाट गर्ने एउटा क्लब हो यो ।”

नेपाली मिडियाले अमेरिकामा पूर्णकालीन संवाददाता राख्न सकेको छैन । यहाँको नेपाली समुदाय पत्रकारिताको बजार बन्ने आकारको छैन । पत्रकारले पनि भूगोल फेरिए जसरी आफ्नो क्षमता बढाउन सकेका छैनन् । उपाध्याय हात उठाउँछन्, “नेपालमा कान्तिपुर खोल्ने बेला चारैतिर सम्भावना देखेको थिएँ । यहाँ त्यस्तै जिम्मेवारी कसैले दिन खोजे पनि म लिन सक्दिनँ ।”

यस्तै नशागत रोगबाट आफूलाई संक्रमित बताउँछन् गायक एवं पत्रकार रामप्रसाद खनाल । सामाजिक सञ्जालमा उनी आफ्नो ‘संक्रमण’ पोखिरहन्छन् । कहिले लेखेर, कहिले नाचेर, कहिले गाएर ।

१० वर्षअघि अमेरिका आएका खनालले सुरुमा पत्रकारितालाई पेसा बनाउने सम्भावना खोजे । जब यसमा सम्भावना देखेनन् अनि व्यापार थाले । तर, नशाका रूपमा उनको अभिव्यक्ति घटेको छैन ।

मिसन पत्रकारिता 

बसाइँ सर्याे, क्षमता सर्न समय लाग्छ । नेपालबाट आउनेबित्तिकै सोखकै लागि पनि पत्रकारितामा आबद्ध हुन्छन् धेरै । नेपालमा गरेको पत्रकारिताको तलतलले हतपती छोड्दैन । त्यही पुरानो कामको लगावबाट सुरु हुन्छ, प्रवासको पत्रकारिता । “तर यहाँ यसलाई पेसा बनाउन सकिँदैन,” कार्यक्रम ‘साझा सवाल’का चर्चित सञ्चालक नारायण श्रेष्ठको अनुभव ताजा भए पनि भिन्न छैन । 

अमेरिकाको मूलधारमा प्रवेश गर्न भाषा, शिक्षा र विषयगत ज्ञानले मात्र पुग्दैन । ‘सोसल कम्युनिकेसन’ उत्तिकै कठिन हुन्छ । उनी भन्छन्, “रहरै रहरमा भए पनि प्रत्येक ठूला सहरमा बस्नेले नेपाली अनलाइन चलाएका छन्, जसले नेपाली जनतालाई सुसूचित गराउने काम गरेको छ ।”

अमेरिकामा पनि पत्रकार संगठित छन् । तर, दलगत विचारका आधारमा विभाजित पनि छन् । पत्रकारिताको विस्तारभन्दा संस्थामा प्रवेश गर्ने, पदमा पहुँच पुर्याउने, खादा लाएर मञ्चमा बस्ने रोग यता पनि छ । “यस्तो परिपाटीले भने व्यावसायिक पत्रकारिताको विकासमा सघाउ पुर्याउँदैन,” श्रेष्ठ थप्छन् । 

कुनै बेला बिहान प्रधानमन्त्रीसँग भेटेर बेलुकी पिछडिएको अनकन्टार गाउँ पुग्थे श्रेष्ठ । नीति बनाउनेदेखि त्यसलाई बिगार्ने र नीति बिग्रिएपछि प्रभावित हुनेलाई एउटै मञ्चमा उभ्याउन सक्थे उनी । पत्रकार हुँदा मिलेको त्यो ‘प्रिभिलेज’ उनी खुब मिस गर्छन् । त्यही तलतल पूरा गर्न उनी कहिले नेपाल फर्किने सोच्छन्, कहिले यसैबाट रहर पूरा गर्न तम्सिन्छन् । 

“उता गएँ भनें भिजुअल मिडियामै काम गर्छु । कुरा भइरहेको छ, ठोस निष्कर्षमा पुगेको छैन । नेपालबाहिर रहनुप¥यो भने पनि पत्रकारिताबाट अलग हुन्न । रचनात्मक अभिव्यक्तिमार्फत पाठकसँग जोडिन्छु,” उनी दोधारमा छन् । 

पत्रकारमात्र होइन, हरेक नेपालीमा नशा देख्छन् नेजाका उपाध्यक्ष गुणराज लुइँटेल । उनी पत्रकारको कार्यशैली चित्तबुझ्दो नभएको स्वीकार्न तयार छन् । तर, आरोप लगाउनेकै संस्थामा पनि समस्याको खात देख्छन् । “यहाँको एनआरएनले उमेदवार तयार पार्न सकेको छैन । पत्रकारबारे टिप्पणी गरेर के फाइदा ?” लुइँटेलको प्रश्न छ ।

नेपालीलाई जति धेरै सहयोग नेपालीबाट हुन्छ, त्यति नै ठगी पनि नेपालीबाटै हुन्छ र भइरहेको छ । नेपालीबाट हुने यस्तै ठगीको पर्दाफास गरे पत्रकार शिवप्रकाश, दिनेश कार्की र मनोज अधिकारीले । त्यससम्बन्धी समाचारले उनीहरूलाई ‘सामुदायिक पत्रकारिता पुरस्कार’ दिलायो । 

अमेरिकामा पत्रकारिता पेसा बनोस् वा नबनोस्, नेपाली समुदायको सुरक्षाकै लागि भए पनि निरन्तर समाचार लेख्नुपर्ने पक्षमा छन् अधिकारी । 

अधिकारीसँग सहमति जनाउँदै कार्की थप्छन्, “हाम्रा लागि पत्रकारिता पेसा र नशा दुबै हैन । प्यासन हो । समाजमा बसेपछि त्यसप्रति सबैको दायित्व हुन्छ, पत्रकारको पनि । लामो समय पत्रकारिता गरेको अनुभव हामीसँग छ । यही कामबाट सामाजिक उत्तरदायित्व पूरा गर्छौं,” उनी भन्छन् । 

अमेरिकामा ४ लाख जनसंख्या रहेको बताइए पनि नेपाली समुदाय अल्पसंख्यक नै हो । त्यसमाथि विभिन्न बहानामा उनीहरू विभक्त छन् । समुदाय बलियो नभएको ठाउँमा पत्रकारिता कसरी व्यावसायिक हुनू ! 

“हो, यहीँनेर पत्रकारिताको भूमिका छ,” खरो टिप्पणी र चुस्त शैलीका कारण चर्चित पत्रकार राजेश मिश्र औंल्याउँछन्, “पत्रकारिताले मात्रै नेपाली समुदायलाई परिवर्तन गर्न सक्छ । त्यसका लागि मिसन पत्रकारिता गर्नेको खाँचो छ ।”

अमेरिकामा बस्दै आएका मिश्र ‘पर्लस्ट्रिल जर्नल’ नामक अनलाइन चलाउँछन् । पत्रकारको सानो टिम, थोरै लगानी, थोरै परिश्रम र विशाल उत्प्रेरणाबाट यो काम सम्भव हुने उनको ठहर छ । “यसो गर्न सके आफ्नो जमानामा नदेखिए पनि भावी पुस्ताका लागि ठूलो देन हुन्छ भन्ने विशाल हृदयका साथ तयार हुनुपर्छ,” नशाका लागि पत्रकारिता गर्न चाहनेसँग उनको आग्रह छ ।
 

तपाईंको मत