site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आफ्नो माटो छोएको दिन
Sarbottam CementSarbottam Cement

मन आखिर मन न हो, खुसी हुँदा हाँस्छ र दुःखी हुँदा रुन्छ । निःसृतिले बाटो पाउँदा आँसु त्यसैत्यसै छचल्किन्छ । त्यो खुसीको आँसु, त्यो दुःखको आँसु । आँसु र मानव जीवनको सम्बन्ध ज्यादै पुरानो रहेछ । त्यसैले खुसी हुँदा पनि आँसु बरर र दुःखी हुँदा पनि आँसु बरर । हो, मेरा आँखाबाट पनि आँसु झर्छन् । तर, अफशोच ! म मेरा आँसुको सार्वजनिकीकरण गर्न सक्दिनँ ।

मलाई याद छ– आजभन्दा करिब १८–१९ वर्षअघि म ओशो तपोवनमा केही महिनाका लागि गएको थिएँ । त्यो बसाइँमा मैले ओशो, प्रेम र आँसुलाई आत्मसात् गरेँ । म ओशोको ‘मैं मृत्यु सिखाता हुँ’ पढ्दा यति रोएँ, त्यसको लेखाजोखा मसँग छैन । ‘मैं मृत्यु सिखाता हुँ’का प्रत्येक लाइन पढ्दै जाँदा मनमा एक भिन्दै प्रकारको अनुभूति हुन्छ । एकदमै निजात्मक हुन्छ त्यो अनुभूति । त्यो अनुभूति म अर्थात् स्वयंसँग मात्रै हुन्छ । साधारणीकृत रुनुसँग मेरो यो आलेखको कुनै सम्बन्ध छैन । यानेकि भौतिकताको अप्राप्तिसँगै जन्मिएका दुःखका अवसादहरूको पोको बोकेका मानवीय जीवनहरू साक्षीभावको अभावमा रुन्छन् । आफ्नो कथा रोदनसँग साट्छन् । यो पाटोसँग मेरो लेखको कुनै तादात्म्य छैन ।

म टीएस इलियटका लाइनहरू पढ्दा पनि रुने गरेको छु । Ode to the West wind र ode to an Grecean Urn जतिपटक पढ्छु, त्यत्तिकै रुन्छु । ‘गौरी’ पढ्दा म कमनीय बन्छु । ‘मुनामदन’ पढ्दा मेरा आँसु त्यसै–त्यसै छचल्किन्छन् । हो, Macbeta को Lady walking Seen पढ्दा पनि मेरा आँखाबाट आँसु झर्दैछन् । Lucy Gray का पाइला पहाडीमा हराउँदा म व्याकुल भएर Lucy लाई खोजिरहेको हुन्छु अनि । कालिदासको ‘अभिज्ञान शाकुन्तला’ पढ्दा म थामिनसकिने गरी रोएको छु । आखिर किन रुन्छु म ? यसको उत्तर मसँगै छैन तर कुनै पनि साहित्य, कला, चित्रकला वा मूर्तिकलाले मलाई छुनेबित्तिकै मेरा आँखा त्यसै–त्यसै छचल्किन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

हिजोबाट फेरि मैले ‘मैं मृत्यु सिखाता हुँ’ पढिरहेको छु । ओशोका ठूला–ठूला दुई विस्फारित नेत्रहरूले मलाई घुरी–घुरी हेरिरहेका छन् । यो अनुभूतिले मलाई झन् द्रवित बनाइरहेको छ । मैले प्रत्येक हरफहरूमा मृत्युबोध गर्दैछु । मृत्युबोधसँगै बाँचिरहेको यथार्थ आँखाअगाडि आउँछ । कोही पनि ओशोबाहेक या समृद्ध ठाउँबाहेक कसैले मृत्युलाई यति सहज र यति शालीन पाराले वरण गर्न सक्छ जस्तो मलाई लाग्दैन । जीवनको अन्तिम लक्ष्य हो मृत्यु । तर हामी यो चिरन्तन र शाश्वत मान्यताबाट सधैं भ्रमित भएर भागिरहेका छौं । बाँच्नु एउटा शाश्वत सत्य । मृत्यु त्यस्तै अर्काे शाश्वत सत्य । यही बीचको समयचक्र जीवन, घडीको पेन्डुलम ।

करिब–करिब तीन वर्षको अन्तरालमा म आफ्नो पैतृक स्थल, आफ्नो जन्मभूमि, आफ्नो भावभूमि दाङ बनहरी पुगेँ, छोरालाई साथ लिएर । गाउँको केही तल पुग्दै गर्दा मेरो भावोत्तेजना बढ्यो । म रोएँ । छोराले बुझ्नै सकेन ।

Global Ime bank

छोराले अन्यमनस्क भावमा विस्फारित नेत्रले मलाई टुलुटुलु हेरिरह्यो । मलाई सोधिरह्यो,
“बाबा के भयो ? किन रुनुहुन्छ ?”

मेरो न वाक्य फुट्यो, न रुवाइ कम भयो ।

बसबाट ओर्लिनासाथ देखिने ठूलो पीपलको रुख जहाँको तहीँ थियो । डन्डिराम दाइको रातो माटोले लिपेको सफा आँगन, लहरै फुलेका घरैघर । मेरो मनले मान्दै मानेन । एउटा घरमा छिरेर सोध्ने प्रयत्न गरें, “यो कसको घर हो ?”

उत्तर आयो, “फलानो भुसालको ।” 

“कहाँका भुसाल ? बनहरी, मोहनपुर, खाद्रे, माझाडाँडा, कालाखोला, घुसेरी, बम्नै वा पर्सेनी कहाँका ?”

“हैन, प्युठानबाट आएको हामी,” एउटी महिलाले प्रत्युत्तर दिइन् । 

“तपाईं कहाँबाट आउनुभएको ?”

“आ’को त काठमाडौंबाट हो, तर मेरो घर यहीँ हो ।”

“कहाँ ?” 

“बनहरी,” मैले उत्तर दिएँ । 

ओहो, ‘बनहरी’ शब्द किन यति प्यारो लाग्दैछ मलाई ? मेरो छोरालाई के थाहा ‘बनहरी’ शब्द बोल्दै गर्दा मेरो छातीको धड्कन किन उत्ताउलो हुन्छ !

उनले सोधिन्, “काँ नेर ?”

“दुईटा घर सँगै छन् नि ! दुई ठूला घर । बाटाको पूर्वतिर । कुलाको ढिकैमा । हो, त्यही हो मेरो घर ।” 

म गर्वले फुलेँ, रैथाने नाक ठड्याएर र एकहदसम्म सोचेँ– नेपाली डिस्कोर्समा पहिचानको खोज ।

साँच्चिकै कुनै ठाउँको रैथाने हुनुको मज्जै अर्कै छ । त्यो मेरो छोरालाई के थाहा !

भंैसेपाटी ललितपुरमा हुर्किएको ऊ । उसको हुर्काइको संसार ७ आनामा बनेको हत्केलाजत्रो घरबारी र मेरो हुर्काइ ३ बिगाहामा फैलिएको अनि बगैंचाले घेरिएको छातीजत्रो घरबारी । मेरा परिचितहरू काका, दाइ, फुपू, कान्छाबा, हजुरबा, हजुरआमा, रामलाल दाइ र पानकुमारी । उसका परिचितहरू आफ्ना स्कुले सहपाठी र टोलका १–२ जना भुराभुरी । 

म डाँडामा फुटबल खेल्थें । मैले पहिलोचोटि मोजाभित्र टाला लपेटेर गेंदा बनाएको घरको आँगनतिर जाँदैछु म । मेरो छोराले कसरी महसुस गरोस्, त्यो गेंदा बनाउँदा मैले संसार जितेको थिएँ !

म त्यसै कहाँ रोएको हुँ र छोरा ! यस्ता अनेकौं अव्यक्त अनुभूतिहरू छन् यो गाउँसँग, जसले नरोऊँ भन्दाभन्दै पनि मलाई रुवाउँछन् । बिर्सूं भन्दाभन्दै पनि मलाई सम्झाउँछन् । 

हो, म केहीबेर लाजै नमानेर रोएँ । र, केही बेरपछि अलि सहज बनें । छोराले बुझ्यो, म त नोस्टाल्जिक भएछु ।

बम्नै कट्न लाग्दालाग्दै मलाई आभास भयो, साँच्चिकै बम्नै त स–सानो बजारै भइसकेछ–  प्लास्टिक र चिसो संस्कृतितिर अग्रसर । अटोमा चढेर यताउता हिँड्न सकिने । गाउँको पुरानो रूप कहाँ छ र अब ! कुनै बेला बिहान तुलसीपुर हिँडेका हामी ४ घण्टा लगाएर साँझ फर्किन्थ्यौं । 

त्यही बेला झल्याँस्स भएँ– खोइ त भुँडे पोषणराज बाजे र योगेश्वर काकाका त्यत्रा ठूला–ठूला घर ? बिजौरीबाटै टक्टकी देखिने सेता घर ? कतै नामोनिसान छैन । त्यति ठूलो बगैंचा र फूलबारी खै ? डन्डिराम दाइकी आमाको (निरक्षर भएर पनि) शालीन, भद्र, मृदु, ममतामयी अनुहार मेरा आँखाअगाडि आयो । सजल नेत्रले मैले उहाँलाई खोजिरहेँ । उहाँको वैकुण्ठबास भइसकेको कुरा मलाई हेक्का नै रहेन । मैले त तिनै महिलालाई खोजिरहेँ, जसले म मीनपचासको जाडो काट्न स्कुलको छुट्टीमा घर जाँदा उहाँको कान्छो छोरा (मेरो बालसखा)सँगै बुट्टे काँसको ग्लासभरि चिया अनि फिनी रोटीको थाल राखिदिएर भन्नुहुन्थ्यो, “खाऊ, जनै हाले पनि केही हुन्न ।”

म तृप्त हुन्जेल धित मर्ने गरी खान्थें । उहाँको मातृवात्सल्य छताछुल्ल हुन्थ्यो । म प्रफुल्लित र रोमाञ्चित हुन्थें । बाटैमा थियो त्यो घर । त्यसैले सुटुक्क बाटातिर हेर्थें, कतै मैले खाएको कसैले देख्न त देखेनन् ? र, बाटामा कसैलाई नदेखेपछि ढुक्क हुन्थेँ– मेरो जात गएको कसैले देखेको छैन ।

प्रत्येक मीनपचासको छुट्टीमा म त्यो घर नछिरी छोड्दिनथेँ । मेरो जातभन्दा मलाई उहाँको माया मीठो लाग्थ्यो । म झल्याँस्स वर्तमानमा आएँ । ओहो ! म त विगत, त्यो पनि ३० वर्षअगाडिलाई आगतमा थापिरहेको छु र साथमा छोरो पनि छ । 

त्यो ठाउँमा अहिले पनि एउटा घर खडा छ । तर, डन्डिराम दाइको त्यो घर छैन । न सदाबहार फूल, न त मायाकी खानी उहाँकी आमा । मसँग खाली त्यो सम्झनामात्र छ । पुनः एकपटक मैले त्यो विगतसँग आफूलाई समीकृत गरेर आत्मसात् गरें । यथार्थ मेराअगाडि उभिएको थियो ।

“कसलाई खोज्नु भा’को ?” म झल्यास्स भएँ । छोराले सोध्दैछ मलाई । 

“केही होइन, त्यसै ।”

जीवन सम्झनाहरूको साझा कोलाज त रहेछ । जिन्दगी बुझ्न गाह्रो हुन्छ भन्छन् तर मैले थाहा पाएँ– यो त फगत् एउटा सम्झौटो रहेछ । यो थाहा पाउन अरस्तु या बुद्ध बन्नु पर्दै पर्दैन रहेछ । 

मैले आफूलाई अलि सहज बनाएर आँसु पुछेँ । एउटा लामो निश्वास फेरेँ । 

बाटोका दुबैतिर लटरम्मै चना फल्ने खेतहरू थिए । अहिले तिनको नामोनिसान छैन । योगेश्वर काकाको छोराले पनि मैले पढेकै स्कुलमा पढेको । त्यसैले त्यहाँ जाँदा उहाँहरूको परिवारले राम्रो गथ्र्याे । त्यहाँ लिच्ची चोरेर खाएको घटना सम्भिmएँ । उहाँको छोरा मभन्दा तल्लो कक्षामा । म दाजु । उसले भन्थ्यो, “दाइ, लुकेर जाम् । अहिले बुढीले देखे कराउँछिन् ।” 

उसले हजुरआमालाई ‘बुढी’ भन्थ्यो । लिचीहरू योगेश्वर काकाकहाँ मात्र थिए र राँगो पनि उहाँकै घरमा मात्र । भँैसीले राँगो खोजेका बेला मतउ (मतवा) थारू (कमैया)का साथ लागेर भैँसीलाई बाली लगाउन त्यो ठाउँमा गएको सम्झना आँखाभरि नाचिरह्यो । 

बम्नैमा अहिले आधुनिक मिल रहेछ । तेल पेलाउन अनि पिसानी र कुटानी गर्न उहिले जितपुरमा ऋषिराज काकाको मिल थियो । बम्नैको आधुनिक मिल चलिरहेको थियो । झ्वाट्ट सम्झना आयो, छोरालाई देखाइदिन्छु– खली (पिना), ढुटो र कोदो के हो, तेल कसरी बन्छ । आफ्नो बाल्यकाल सम्झिँदै छोरालाई तोरीबाट तेल र खली निक्लिएको देखाएँ । ऊ रोमाञ्चित भयो । भयो र भन्यो, “बाबा अलिकति लगेर जाम्, नुहाउनु पर्ला ।” उसलाई थाहा छैन, खलीले कसरी नुहाउने !

मेरा दृष्टिविम्बहरूले अतीतको पदचापलाई पछ्याउन खोजे । भोजपाख्या बड्डी (बूढी)को बगैंचा थियो, यहाँनेर । तर, त्यो ठाउँमा ठूलो घर बनिसकेको रहेछ । तिनको बगैंचाका लिची र आँप ढुंगाले हानेर झार्दै खाएको त्यो बालपनका म, यज्ञ, ध्रुवे, हिमालय, विवेक, समर्थन र सधैं पछिपछि लाग्ने मनु काका । हामी बूढीको गालीको नक्कल उतार्दै दगुथ्र्यौं । यज्ञ अब यो संसारमा रहेन । हिमालयलाई भेट्दा आफैंलाई बूढो भएको अनुभूति भयो । अगाडिका दाँत झरेर होला– हिमालय उमेरभन्दा बूढो देखियो । त्यसो त उमेरले ऊ मेरो दाजु हो ।

अलि अगाडि बढेँ । पीताम्बर केसीले धुसरीबाट छुट्टिएर बाटैमा घर बनाएका छन् । भाउजूले टाढैबाट चिन्नुभो । बाटोसम्म आएर कुशलमंगल सोध्नुभो । कुशलमंगलमात्रै होइन, पूरै इतिहास सोध्नुभो । मसँगै उभिएको मेरो (जेरोक्स) फोटोकपीलाई इंगित गर्दै ‘यत्रो बनाल्नु भएच छोरालाई’ भन्नुभो । बाबु गजक्क प¥यो, खिस्स हाँस्यो । “काटीकुटी बाजेको जस्तै अनुहार रहेछ नातिको,” बस्नेत दाइले थप्नुभो । 

हाम्रो खोलो आयो । हातमुख धोएर त्यै पानी तनक्क धीत मर्ने गरी पिएँ । बाबु चकित भयो, भन्यो, “यस्तो खल्लो पानी ! कस्तो फोहोर होला– छिः बाबा नखानुस् ।”

मैले बाल मतलब नगरेर पानी दन्काएँ । अनौठो आनन्दको सञ्चार भयो अंग अंगमा । शायद मनले थाहा पायो होला– पुरानो पानीको स्वाद । 

म त्यै पानी खाएर हुर्किएको बनहरे हुँ । मेरो सिंगो परिचयको परिचायक हो बेतन्ने खोला, जसमा खेल्दै, पौडिँदै, माछा मार्दै र खेतमा पानी लाउन मतउसँग हिँड्दै मैले आफ्नो बालापन बिताएको हुँ । स्मृतिहरू आँखाभरि अटेसमटेस हुन आए ।

खोलासँगै रहेको हाम्रो ठूलो खेत लमतन्न सुतेको थियो । मानौं, मसँग रिसाएको छ र केही भन्न खोजिरहेको छ । मानौं उसले भन्दैछ, “तेरो बाउको पालामा त म शस्य श्यामला हुन्थेँ, हेर् त मेरो अवस्था । विधवाको सिउँदोजस्तो उजाडिएको छु म ।”

खेतले मलाई भित्रैसम्म हल्लायो, तर्सायो र छट्पट बनायो । यसरी भोको पेट भर्ने खेत खाली बगरमा परिणत भएको मेरो मात्र हैन, गाउँ छोडेर सहर पसेका सबैको यस्तै छ । त्यत्रो उत्पादन क्षय भयो । मैले बजारमा पोलिथिनको झोलामा किनेर खान्छु । म गाउँमा हुँदा छिटुवा (बाँसको सामान राख्ने भाँडो)का छिटुवा आलु, प्याज, लसुन चाकी राख्ने कोठाभरि छरिएका हुन्थे । आमाको हस्याङफस्याङ उस्तै हुन्थ्यो । इष्टमित्रलाई तरकारी बाँड्न उहाँलाई भ्याइनभ्याइ हुन्थ्यो ।

आमाको त्यो हँसिलो र दिव्य अनुहार मेरो आँखाअगाडि सजीव भयो । झल्याँस्स भएँ । कतै पढाइ–लेखाइ र जागिरका क्रममा मैले मेरै माटोप्रति अन्याय त गरिनँ ? मनमा अर्काे भावना पलायो । म गाउँमै बसिरहेको भए त्यहीँको सामन्त पनि त हुन सक्थें । आखिर मेरो हुर्काइ त्यस्तै वातावरणमा त भयो । तर अर्को मनले भन्यो– हैन–हैन, म कदापि त्यस्तो हुन्नथेँ । म अरूका लागि जिउज्यानै फाल्ने मान्छे, कसरी त्यस्तो बन्न सक्थें ?

मन हलुका भयो । त्यतिबेरसम्म घरभित्रबाट भक्ति दाइकी दुलही, बस्नेतनी दिदी आए । बस्नेतनी दिदीलाई देख्नेबित्तिकै सोधिहालेँ, “सम्पत्ति खाने कोही धर्म छोराछोरी बनाउनुभयो कि नाइ ?”

मलीन अनुहारले भन्नुभयो, “छैन बाबु ।”

यी शालीन दम्पत्ती निरक्षर भएर पनि आदर्श थिए । गाउँमा सरकारको प्रतिमूर्ति हुनुहुन्छ बस्नेतनी दिदी । यस्ती आमाको कोखमा कुनै सन्तानले बास नपाउनु प्रकृतिकै विभेद हो ।

लौरो टेक्दै गाउँका महतवा खुसीराम बाबा आए । मैले नमस्कार बाबा भनेँ । बूढा खुसी भए । गाउँभरिका थारूहरूका नाइके हुन् उनी । वंशाणुक्रमले पाएको भूमिका । तर, अब उनलाई संकट रहेछ । छोराको जँड्याहा बानी । आफ्नो छोरालाई इंगित गर्दै भने, “का जानम्, कैसिन करथा ।”

उनका आँखामा भविष्यको चिन्ता टड्कारो देख्न पाइन्थ्यो । त्यतिबेर मलाई पहिले नै देखेर भित्र गएर चिया पकाइवरि ठीकठाक पारेकी मौजी आइन् । म हरेक माघीमा त्यहाँ गएर जाँड, ढिक्री र सुँगुरको मासु खान्थँे । मौजीले ‘नखाऊ सुँगुरको मासु, अरू खाऊ’ भन्थिन् । म झन्झन् त्यै खान्थेँ । एक–दुई रात मैले त्यो घरमा बिताएको छु । महतवाकी कान्छी छोरीलाई मेरो वयस्क हुँदै गइरहेको मनले खोज्यो, कतै पाइनँ । सोधें, “भ्वाज कहाँ होइल बा ? (बिहे काँ भा छ ?)”

लामो जमिन छुने कपाल । बठिन्या (तरुनी) हुँदा कम्ती राम्री थिई ! कोही थारूले आँखा लाउन नसक्ने महतवाकी छोरी । मैले साइड हान्थेँ । मेरो मनमा महिलाप्रतिको आकर्षणको पहिलो केन्द्रबिन्दु उही नै हो । लौ जे पर्ला, मैले कुरा खोलें । मन त आखिर मन न हो । यसलाई माया चाहिन्छ । म विगतमा पुगें । 

थारू गाउँभरि घरैघर भएछन् । सबै छुट्टिए होलान् । जनसंख्या बढेको बढ्यै छ । गाउँ पुग्दा नै पहिलो आभास भयो प्रभासलाई– गाउँ युवा÷युवतीविहीन भइसकेछ । श्रम गर्ने पाखुराबिनाको उजाड धर्ती बोकेर सुन फल्ने बेतन्ने, रानीघाट, खोस्ची काखा बाँझै रहेछन् ।

ढाका–टोपी लाएका शम्भु दाइ हाँस्दै उभिनुभा’थ्यो । मैले ठम्याउन सकेको थिइनँ । दाइले परैबाट ठम्याइसक्नु भा’रैछ । उही हाँसो । बिन्दास शम्भु दाइ । उहाँले र मैले यौवन सँगै बिताएका छौं । एक–अर्काप्रति आत्मीयता छ । छुट्टीमा घर गएका बेला र उहाँ भारतबाट नेपाल आएका बेला हामी एक–अर्कालाई भेट्न घरमा पहिले नै पुग्थ्यौं । अरूभन्दा उमेरले दाइ, मभन्दा ७–८ वर्ष जेठो हुनुहुन्थ्यो ।

बाबुको शिरमा आशीर्वादको हात राख्दै सबै गाउँलेले ‘बाबाले जस्तै धेरै पढ्नू’ भने । खुसी लाग्यो । ए मेरो परिचय यस्तो रहेछ गाउँमा भन्ने अनुभूति भयो । वयस्कतातिर लम्किँदै गरेको छोराले पहिलो पटक आफ्नो माटोसँग तन्मयतासाथ खेल्ने अवसर पायो । आजभोलिका केटाकेटीले ढोग्नु, आदर गर्नु, बोल्नु त जान्दै जानेका हुन्नन् भन्ने लाग्थ्यो तर छोराले ठूला–साना, पढे–नपढेका, गाउँले, सहरियाबीचको अन्तर भुलेर आत्मीय गाउँले बन्न सकिरहेको देख्दा गर्व लाग्यो ।

जति–जति घरनजिक गइपुगँे, त्यति–त्यति मन ढकढक गर्दै गयो । भँयेँर देवतालाई थारू गाउँनेर नै आफ्नो आस्था प्रकट गरिसकेको थिएँ । छोराले हलो गाडेको (भँयेँर देवता जोत्ने हलो काठको आकृतिबाट निर्मित गरिएको) देख्न त पहिले पनि देखेको थियो होला तर पहिलोपटक अनुभूत ग¥यो, स्वीका¥यो, नतमस्तक भयो । 

घरैनेर पुग्दा मन खंग्रंग भयो । किन खलियानको आँप काट्न लगाएँ हुँला ? कस्तो उजाड–उजाड लाग्यो । गोठ भत्किएकोले त्यसका ढुंगा यत्रतत्र फैलिएका, झन् दिक्क लाग्यो । आँखामा आँसु रसायो । मलाई भित्रसम्म हल्लायो । आँखा चिम्म गरें । सिधै कुलदेवता पूजा गर्ने ठाउँमा छोरालाई लिएर गएँ । साइँला बाका छोराहरूले भर्खरै गरेको पूजाको अवशेष बनाइरहेको मन्दिर, त्यसको वर यथावत् थियो । आँखा चिम्म गरें । इसारा गर्दै छोरालाई मेरो अनुसरण गर्न लगाएँ । छालाको सामान बाहिर फालेँ । आमाले सानैमा सिकाएका संस्कृतका श्लोक र मन्त्रहरू त्यसै–त्यसै बौरिएर आए । म गाउँदै गएँ । प्रदक्षिणा गर्दै गएँ । म रुँदै गएँ । यो आँसुको सम्बन्ध त अन्तस्करणसँगै हुँदो रहेछ । जब भित्र छोइन्छ, तब–तब म रुन्छु । आँसु र मेरो सम्बन्धमा तादाम्य छ । छोरा पनि भावविह्वल भयो । एकाध श्लोक र मन्त्रका आधा पदसम्म उसलाई पनि आउँदा रहेछन् । मसँगै उच्चारण ग¥यो । 

पूजा गर्ने कोठाको ढोका खोलेँ । भित्र सफा थियो । लिपपोत गरेको भित्तामा कुलदेवताका ध्वजा हल्लिरहेका थिए । सरर्र चिसो बतास आयो र पुनः ध्वजा हल्लिए । म खुसीले ओतप्रोत भएँ । कुलदेवीको निगाह मप्रति रहेछ भन्ने ठूलो आभास भयो र ढाडस पलायो । 

छोडेर हिँडेको घर कहाँ मैले खोजेको जस्तो हुन्छ र ? अनि बस्ने मान्छे हुँदैमा पनि त घर घरजस्तो बन्दैन । घर बन्नलाई भावना चाहिन्छ । एउटा आत्मिक, आध्यात्मिक अनुभूति । पहिलोपल्ट आभास भयो, मैले मेरो रिटायर्ड जीवन यहीँ बिताउनु पर्छ । मेरा बाबाले बसाएको घर । मेरी आमाको संसार । मैले मेरा सन्ततिलाई त्यसैरूपमा हस्तान्तरण गर्न सक्नुपर्छ । 

मेरो उत्तर कोठा, जहाँ म र मेरो संसारको रचना भयो– मानसपटलमा दगु¥यो । कहाँ निद्रा लाग्ने ? रञ्जु (श्रीमती) लाई फकाएर, धम्क्याएर, थर्काएर र मनाएर झ्यालबाट फाल हाल्दै साथीहरूसँग नाच हेर्न गएको ! बजारबाट सोमरस पिएर आएको बेला नकचरो हुँदै त्यै झ्यालबाट माथि चढेको । सबै–सबै रातभरि नै याद आइरह्यो । मेरा आँखा रसाइरहे । अनि प्रण गरेँ– बुढेसकालमा बूढीसँगै बाँकी जीवन यहीँ बिताउँछु । मन फेरि आशावान् भयो ।

श्रीमती बुहारी बनेर आएपछि उसले गरेका सिर्जना आँखाभरि नाचे । आमालाई पछ्याउँदै ऊ यताउती गर्थी । म लुकेर हेर्थँे । खिस्स हाँस्थी । अहिले विचार गरेँ, रञ्जुका सेता दाँत हाँस्दा अति नै सुहाउँछन् । बुढेसकालमा ऊ थोते भएर कसरी हाँस्छे होला ? अनुमान गर्न मन लाग्यो । त्यै बेला चराको चिरबिर, कुदाकुद सुरु भइहाल्यो । मैले ननिदाएरै त्यो रात काटें । 

सम्बन्धको प्रसारण रहेछ आँसु, आत्मीयताको प्रक्षेपण रहेछ आँसु अनि अनुभूतिको उच्छ्वास रहेछ आँसु । त्यसैले खुसी हुँदा पनि आँसु र दुःखी हुँदा पनि आँसु । 

(लेखक ग्रामीण समाजशास्त्री र मानवशास्त्री हुन्) ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०७४  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC