site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हीरा हरि
Sarbottam CementSarbottam Cement

बन्द अर्थतन्त्र थियो । त्यसको प्रत्यक्ष असर जनतामा थियो । रोजगारका लागि पर्याप्त अवसरहरू थिएनन् । सीमित कलकारखाना, ती पनि आकर्षक थिएनन् । पढेलेखेका शिक्षितहरूका लागि एउटै समस्या अनि उही प्रश्न थियो– पढेर के गर्ने ?

सबैका लागि एउटै विकल्प थियो, सरकारी जागिर । हरिबहादुर थापाले पनि सरकारी जागिरको विकल्प देखेका थिएनन् । उच्च शिक्षा अध्ययन गर्छु र सरकारी जागिर खान्छु भन्ने थियो मनमा । तर, ‘अफिसर’ नै हुन्छु र सचिव भएर कर्मचारीतन्त्रको उच्च ओहोदामा पुग्छु भन्ने महत्त्वाकांक्षा भने उनले कहिल्यै पालेनन् ! 

“हामी साधारण जनताका त्यत्रा ठूला सपना कहाँ हुन्छन् र ? अरूले देख्छन् भने मलाई थाहा छैन । तर, ठूलो सपना देख्न पनि त्यहीअनुसारको पारिवारिक पृष्ठभूमि हुनुपर्छ जस्तो लाग्छ,” हरि आफ्नो किशोरावस्थातर्फ फर्किदै भन्छन्, “लोकसेवा लडेर सरकारी जागिर खानुपर्छ भन्ने मनमा थियो तर सचिव नै हुन्छु भन्ने ठूलो सपना भने मैले कहिल्यै देखिनँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

०४६ मा एसएलसी पास गरेका हरिले त्यही वर्षदेखि लोकसेवाको आन्तरिक तयार सुरु गरे । ‘अन्तर्राष्ट्रिय मञ्च’ त्यो बेलाको लोकसेवा तयारीको भरपर्दो स्रोत थियो । उनी कुनै पनि अंक नछुटाई किन्थे र सुगारटान गर्थे । उनलाई अझै पनि त्यो बेला पढेका तिथिमिति कण्ठस्थ छन् ! अहिले पनि ‘कान्तिपुर’ दैनिकमा सहकर्मीहरूलाई कुनै तिथिमिति ‘कन्फ्युज’ भयो भने हरि नै त्यसका स्रोत हुन्छन् ।

आईए पास गरेर लोकसेवा दिने उनको तयारी थियो । त्यसका लागि पढेनन् मात्रै, भर्खर नेपाल भित्रिएको कम्प्युटर पनि सिक्न थाले । प्रजातन्त्र पुनर्बहालीसँगै नेपाल भित्रिएको कम्प्युटर सिकिरहेका हरि केही नयाँ गर्नुपर्छ भन्ने मानसिकताबाट प्रेरित थिए । पत्रकारिताको अध्ययन सुरु भयो । उनले आरआर कलेजमा पत्रकारिता पढ्न थाले । पत्रकारिता पढ्ने ब्याच उनकै पहिलो थियो । 

Global Ime bank

महत्त्वाकांक्षी राजाहरू प्रजातन्त्रसँग लुकामारी खेलिरहेका थिए । निर्दलीय पञ्चायती व्यवस्था थियो । बहुदलीय व्यवस्था आउने/नआउने ठेगान थिएन– पत्रकारिताको भविष्यबारे त कुरै भएन । गोरखापत्र, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिबाहेक पत्रकारिता गर्ने ठाउँ अन्त थिएन । भएका तीनवटा सरकारी सञ्चार माध्यम सरकारी भजनकीर्तनमै मस्त थिए । तिनमा पत्रकारिता गर्नु भनेको राजामहाराजा र नोकरशाहको चाकडी गर्नु थियो । 

भएका केही साप्ताहिक पनि कि लेफ्ट कि राइट (कम्युनिस्ट र कांग्रेस) विचारधाराबाट निर्देशित थिए । तिनमा पत्रकारिता गरेर जीवन निर्वाह हुनेवाला थिएन । साप्ताहिक पत्रकारिता सिक्ने र समाचारको स्रोत बनाउनेबाहेक थप केही काम लाग्दैनथे ।

त्यो समय व्यावसायिक पत्रकारिताको रंगीन सपना देख्नु प्रेमी/प्रेमिकालाई आकाशको तारा खसाइदिन्छु भन्नुसरह हुन्थ्यो । त्यसैले उनी ०४६ देखि ०४९ सम्म ‘अन्तर्राष्ट्रिय मञ्च’का तिथिमिति कण्ठ गरेरै बसे । 


‘कान्तिपुर’ प्रवेश

आईए दोस्रो वर्षको परीक्षा दिएर बसेका थिए । नतिजा आउन बाँकी थियो । उनी त्यतिबेला प्रजातान्त्रिक धारको प्रतिनिधित्व गर्ने चर्चित साप्ताहिक ‘देशान्तर’मा काम गर्थे । उनी त्यहाँ समाचारमात्रै लेख्दैनथे, प्राविधिक काम पनि गर्थे ।

त्यही समय नेपालमा पहिलोपटक ठूलो लगानीमा ब्रोडसिट पत्रिका ‘कान्तिपुर’ दैनिक प्रकाशन हुने भयो । उनलाई त्यहाँ अफर आयो । केही नौलो काम गर्नुपर्छ भनेर पत्रकारिता पढिरहेका हरिलाई त्यो अफर अवसर पनि थियो । नाइँ भन्ने कुरै भएन । 

त्यही समय गिरिजाप्रसाद कोइरालाका परराष्ट्र सल्लाहकार जयराज आचार्य र हरि शर्माले ‘बाबु, सरकारी जागिर राम्रो हुन्न, त्यतातर्फ ध्यानै नदिनू’ भन्थे । उनी जयराजलाई सम्झँदै भन्छन्, “उहाँले मलाई भन्नुभएको आजै जस्तो लाग्छ, सरकारी जागिरको कुरा कल्पनामा पनि नराख्नू ।”

‘हेभीवेट’ व्यक्तित्वहरूको यस्तो सुझाव ! त्यसमाथि सरकारी अफिसरको भन्दा आकर्षक पारिश्रमिक पाउने भएपछि पछि हट्ने कुरै भएन । ‘कान्तिपुर’ दैनिक ०४९ फागुन ७ बाट प्रकाशन आरम्भ भयो । हरि भने मंसिर ४ गते नै ‘कान्तिपुर’ छिरेका थिए । पहिलो दिनको पहिलो पेज उनैले डिजाइन गरे । 


गिरिजाबाबु र हरिबहादुर

०४८ असारको पहिलो साता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । बालुवाटारमा कम्प्युटरमा काम गर्न सक्ने मान्छेको खोजी भयो । फेला परे हरि । कोइराला प्रधानमन्त्री भएको तेस्रो दिन नै उनी बालुवाटार पुगे । उनले त्यहाँ कोइरालाले संसद्मा गर्ने भाषण, संसद्लाई दिने जवाफ टाइप गर्थे । किचेन क्याबिनेटबाट भाषण तयार हुन्थ्यो, हरि त्यसलाई टाइप गर्थे ।

कांगे्रस भर्खर सरकारमा आएको थियो । बाहिरका मान्छेसँग गिरिजाको त्यति घुलमिल थिएन । कर्मचारीको पनि कांगे्रससँग हेलमेल थिएन । कांग्रेस र कम्युनिस्ट नेताहरू हात मिलाउन पनि अनकनाउँथे । 

संक्रमणकाल जस्तो थियो । एकले अर्कोप्रति शंकाले हेर्थे । कर्मचारीलाई कांगे्रसले ‘हामीलाई सहयोग नगर्ने हो कि’ भन्ने थियो । कांग्रेसलाई ‘कर्मचारीहरूले सहयोग नगर्ने हुन् कि’ भन्ने शंका थियो । कांगे्रसका नेताहरूबीच कर्मचारीले पार्टीलाई नै असफल बनाइदिने हुन् कि भन्नेबारेमा छलफल हुन्थ्यो । अधिकांश सीडीओ भएर नेताहरूलाई थुन्ने र गाली गर्नेहरू नै उच्च ओहदामा भएकाले तिनले सहयोग नगर्ने हुन् कि भन्ने कांग्रेसीहरूको मनमा शंका थियो । 

“त्यो बेलाका गिरिजाबाबु पछि जस्तो भनेर चिनिनुभयो, त्यो खालको हुनुहुन्नथ्यो । एकदिन सचिवालयमा एकजनाले आधा चिया खाएर आधा कप त्यत्तिकै छाडी हिँडेछन् । उहाँ निकै रिसाउनुभयो । ‘यो सरकारी पैसा परेको चिया कसले फालेको ?’ भन्दै सबैसँग कराउनुभयो,” उनले सम्झिए, “संसद्लाई सम्बोधन गर्ने अघिल्लो रात हामी रातभर सँगै काम गथ्र्याैं । हाइफाइ केही हुँदैनथ्यो । सामान्य नागरिकको घरमा जस्तो खाना बन्थ्यो, त्यस्तै पाक्थ्यो उहाँका लागि पनि । बिहान काम सकेर हामी सँगै खाना खान्थ्यौं । सबैलाई चिया खाने बेलामा ‘चिया खायौ कि खाएनौ ?’ भनेर सोध्नुहुन्थ्यो । खाना खाने बेलामा एकएकलाई सोध्नुहुन्थ्यो । अहिले उहाँलाई धेरैले भ्रष्ट भन्छन् तर मसँगै हुँदा त्यस्तो लाग्दैनथ्यो उहाँको व्यवहार । प्रारम्भका दुई वर्ष त उहाँलाई घुलमिल हुनै लाग्यो । पछि परिवार र बाहिरी पक्षबाट प्रेरित भएर भ्रष्टाचारमा संलग्न हुनुभएको हो भने मलाई थाहा छैन । तर, सुरुका दुई वर्ष सादा जीवन बिताएको दृश्य मैले देखेको हुँ । त्यो बेला सरकारलाई सफल बनाएर कांग्रेसको छवि कसरी राम्रो बनाउने भन्नेमा केन्द्रित हुनुहुन्थ्यो ।”

कोइरालाका बारेमा नकारात्मक समाचारहरू पनि छापिन्थे । त्यस्ता समाचार पढेर आफ्नो आलोचना पनि थाहा पाऊन् भनेर उनी गिरिजाबाबुका बारेमा नराम्रो लेखिएका समाचार टेबुलमा सबैभन्दा माथि राखिदिन्थे । उनका सल्लाहकारहरू आएर त्यस्ता पत्रिका सबैभन्दा तल लुकाएर राखिदिन्थे । 


डिजाइनरदेखि रिपोर्टर  

योगेश उपाध्याय गिरिजाबाबुको अंग्रेजी भाषण तयार पार्थे र  सम्पादन गरिदिन्थे । त्यहीँ उनको चिनजान हरिसँग भयो । पछि उनै व्यक्ति ‘कान्तिपुर’मा सम्पादक हुने भए । योगेशले हरिलाई ‘हिँड जाऊँ कान्तिपुर’ भने । पत्रकारिता नै पढिरहेका हरिलाई पनि प्रस्ताव नराम्रो लागेन । हाम्फाले ‘कान्तिपुर’ ।

लेआउट हेर्ने र टाइप गर्ने उनको जिम्मेवारी थियो । ०५१ सम्म ‘कान्तिपुर’मा प्राविधिक फाँटमै काम गरे । पत्रकारिताको पढाइ पनि सकियो । उनले प्राविधिक कामसँगै निरन्तर समाचार पनि लेखिरहेका थिए । सम्पादकीय टिमलाई विश्वास भएपछि उनी समाचार कक्षमा तानिए । प्राविधिकबाट समाचार कक्षमा जाने उनी पहिलो व्यक्तिसमेत थिए । 

समाचार सम्पादक भएर किशोर नेपाल आएका थिए । उनको निगरानीमा रहेर हरिले कसलाई के समाचार असाइन गर्ने जिम्मेवारी बहन गरे । समाचार व्यवस्थापनमा चार महिना काम गरेपछि उनले संसद्को रिपोर्टिङ थाले । राजनीतिमा जानकारी राख्ने र रुचिसमेत भएकाले उनी संसद् जान थाले । 

संसद् भवन सिंहदरबारमा थियो । ‘कान्तिपुर’को कार्यालय शान्तिनगरमा थियो । उनको कोठा बानेश्वरमा थियो । राति अबेरसम्म संसद् बैठक सञ्चालन हुन्थे । बैठक साढे १–२ बजेसम्म चल्थे । त्यसपछि कार्यालय पुगेर समाचार लेख्नुपथ्र्यो । अहिलेको जस्तो समाचार टिपाउने त्यति धेरै चलन थिएन ।

०५३ को मध्य पुस थियो । काठमाडौंमा कठ्याङ्ग्रिँदो जाडो थियो । संसद्मा शेरबहादुर देउवाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यसैलाई लिएर बिहान ११ बजेदेखि समाचार संकलनका लागि पत्रकारहरू सिंहदरबार पुगेका थिए । संसद्मा हुलदंगा भइरहेको थियो । राति साढे १ बजेसम्म बैठक चल्यो । हरि बैठक सकेर शान्तिनगर पुगेर समाचार लेखेर छोडे ।

०५४ सालमा लोकेन्द्रबहादुर चन्दविरुद्ध अविश्वासको प्रस्तावबारेको भोटिङ मात्रै दिउँसो भएको उनलाई याद छ । नत्र अधिकांश भोटिङ मध्यरातमा हुन्थे । त्यसको सकस पत्रकारलाई पथ्र्यो । उनी आफैं टाइपिङ गर्ने भएकाले अफिसका लागि सहज मानिन्थे ।


हरिबहादुर र गुणराज लुइँटेल

‘कान्तिपुर’मा आफैं समाचार टाइप गर्ने रिपोर्टर दुई जनामात्रै थिए– हरि र गुणराज लुइँटेल । उनीहरूका समाचार टाइप गर्नु नपर्ने हुँदा सहकर्मीहरू उनीहरूलाई एपी र एएफपी भनेर जिस्काउँथे । ०५६ सालदेखि मात्रै ‘कान्तिपुर’मा रिपोर्टरले कम्प्युटरमा समाचार टाइप गर्न थालेको उनी सम्झिन्छन् । “अहिले हातले लेख्यो भने आश्चर्य मानिन्छ, त्यो बेला आफैं टाइप गर्ने पत्रकारलाई आश्चर्य मानिन्थ्यो,” उनले सुनाए ।


जिम्मेवारीको भारी

०५९ सालसम्म संसद्को रिपोर्टिङ गरेका हरिको कलम अहिले सुशासन र भ्रष्टाचारमा अब्बल मानिन्छ । अहिले एक जनाले एउटा बिट हेर्छ । त्यो बेला एउटै व्यक्तिले तीन÷चारवटा बिटका समाचार हेर्नुपथ्र्यो ।

भ्रष्टाचार र सुशासनबारे लेखा समिति र राज्यव्यवस्था समितिमा  सुनुवाइ हुन्थ्यो । संसद् हेर्ने नाताले संसदीय समितिहरूको समाचार पनि हरि आफैं हेर्थे । त्यही बेला उनले भ्रष्टाचार र सुशासनबारे तथ्य संकलन गरेर राख्थे । त्यही समय उनले हाइड्रो पावरको समाचार पनि लेखे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समाचार पनि लेखे । ‘यसले गर्न सक्छ’ भनेर हरिलाई संसद्, संसदीय समिति, संवैधानिक अंग तथा नेपाली कांगे्रसको रिपोर्टिङ जिम्मेवारी दिइयो ।


केही गल्ती भए

पत्रकारिता हतारको साहित्य हो । प्राप्त समाचारबारे पर्याप्त समय लिएर र छलफल गरेर छाप्न सधैं समय हुँदैन । ‘लेट आवर’मा आइपुग्ने समाचार हतारमै छापिन्छन् । हतारको काम सधैं राम्रो हुँदैन । यसको मारमा ‘कान्तिपुर’ पनि परेको छ । समाचार जसले लेखे पनि नेतृत्वमा रहेकाले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ । हरिबहादुर सधैं तयार हुन्छन् नैतिक जिम्मेवारी लिन ।

“कहिलेकाहीँ ह्युमन एरर हुन्छन् । त्यो स्वाभाविक हो । पत्रिका प्रेसमा जाने बेलामा आएका समाचारमा कहिलेकाहीँ यस्तो हुन्छ । तर, कोही बेला नियतवश कमजोरी गर्नेहरूलाई भने हामीले कारबाही पनि गरेका छौं । नेतृत्वमा बसेपछि त्यस्ता साथीहरूलाई छाँट्दै जानुपर्ने हुँदो रहेछ,” उनी भन्छन्, “रसेन्द्र भट्टराई र अनुजा बानियाँ काण्डमा हामी चुकेकै हौं । स्रोतलाई सहजै विश्वास गर्दा यस्ता समाचार प्रकाशन भए । अनुजा बानियाँको समाचारमा हाम्रो साथीको कमजोरी हो भने ढिलो गरेर आइपुगेकाले पनि यो समाचारमा एडिटोरियल रुमले क्रस चेक गर्ने अवसर पाएन ।”


लोकमान, ‘कान्तिपुर’ र हरिबहादुर

‘कान्तिपुर’ मिडिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले गरेका गलत कामको विरोधमा निरन्तर लाग्यो । कति पत्रपत्रिकाले लोकमान बलियो देखिँदा आफूलाई लोकमानकै पक्षमा समाहित गराए । उनी कमजोर हुँदा विपक्षमा उभ्याए । तर, ‘कान्तिपुर’ले भने लोकमान अख्तियारमा जाने चर्चा चलेकै दिनदेखि उनको विगत खोतलेर प्रस्तुत गरिदिएको थियो । यसमा हरिको ठूलो भूमिका छ । एउटा पक्ष समाचार सम्पादकको हैसियतले, अर्को पक्ष लोकमानबारे उनको ज्ञानका कारण । 

“भ्रष्टाचार नियन्त्रण गर्ने संस्थामा इमान्दार, नैतिकवान्, दक्ष र उसले विगतमा गरेका काममा कसैले प्रश्नचिन्ह उठाउन नसक्ने व्यक्ति हुनुपर्छ भन्ने थियो । अर्धन्यायिक निकाय भएकाले उसले अभियोग लगाउनेबित्तिकै कसैको जागिर निलम्बनमा पर्ने भएकाले त्यस्तो निकायको प्रमुख पदमा जाने व्यक्ति इमान्दार हुनुपर्छ र उसले गरेका अनि गर्ने काममा प्रश्नचिन्ह उठ्नु हुन्न । त्यसैले उनले विगतमा गरेका कार्य बाहिर ल्याइदिँदा संवैधानिक परिषद्का सदस्यहरूले त्यसको अध्ययन गर्छन् र उनलाई आयोगमा नियुक्त गर्दैनन् भन्ने मनशाय थियो,” हरि भन्छन्, “नेपाली जनताको कर खाएर बस्ने मान्छे त्यो संस्थाको प्रकृतिअनुसारको हुनुपर्छ भनेर हामीले उनी उपयुक्त पात्र नभएको लेखेका हौं । अदालतमा डेढ महिना उनीविरुद्ध मुद्दा पर्दा पनि हामीले हुँदैन भनेरै दर्जनौं समाचार लेखेका हौं । पछि उनले जे–जस्ता काम गरे, ती सबै हामीले सुरुमै भविष्यवाणी गरिसकेका थियौं । तर, शासकहरूको दम्भी प्रवृत्ति, स्वार्थ र कसैको चित्त बुझाउने नाममा उनी नियुक्त भए । ०७० चैत १ देखि वैशाख २५ गतेसम्मका पत्रिका हेर्ने हो भने कुनै दिन त्यस्तो छैन, जुन दिन हामीले लोकमानबारे समाचार नलेखेको होस् ।”

आफू एउटा बलियो शक्तिको आडमा बसेर कमजोर शक्तिलाई दुःख दिने लोकमानको प्रवृत्ति हरिलाई थाहा थियो । त्यसैले उनी भन्छन्, “उनले फलानो फलानो व्यक्तिलाई पक्रन सक्छन् भनेर पनि भनेका थियौं ।”


राजनीति र हरिबहादुर

यदाकदा ‘कान्तिपुर’ छोडेर हरि पत्रकार महासंघको सभापतिमा उठ्ने रे भन्ने हल्ला चल्छ । कहिले संसद्को निर्वाचनमा लड्ने रे भन्ने हावा चल्छ । उनी भने अहिले तत्काल राजनीतिप्रति मोह नरहेको स्पष्ट पार्छन् ।

पत्रकार महासंघको चुनाव जित्न ठूला पार्टीले धाप मार्नुपर्छ । यो सत्य हरिलाई सुरुदेखि नै थाहा छ । उनी राजनीतिक दलको छत्रछायामा बसेर पत्रकारिता गर्न रुचाउँदैनन् । रहर नलागेको होइन तर पत्रकारिताभित्रै बसेर पार्टीको टिकट लिई चुनाव लड्नु हुँदैन भनेर त्यतातर्फ उनी ढल्किएका छैनन् । 


मल काण्ड

०५३ मा कृषिमन्त्री पद्मसुन्दर लावती थिए । रासायनिक मलको टेन्डर बढी मूल्यमा दिने चलखेल भएको उनले थाहा पाए । स्कुप समाचार थियो, उनले लेखे । सूर्यबहादुर थापा शेरबहादुर देउवालाई र लोकेन्द्रबहादुर चन्द एमालेलाई समर्थन गर्ने पक्षमा रहेका कारण लावती र थापाबीच दिनहुँ झगडा भइरहेको थियो । दूरी बढिरहेको थियो । यसैकारण हरिबहादुर सूर्यबहादुरका भतिजो भएको र सूर्यबहादुरले समाचार लेख्न लगाएको अफवाह फैलाइयो । तर, वास्तवमा न सूर्यबहादुर उनका काका नै थिए, न उनले समाचार लेख्न नै लगाएका थिए । 

हरिलाई खोज्न लावती ‘कान्तिपुर’ नै पुगे, उनका मान्छेमार्फत । “तर, उहाँ स्वयंले भने मलाई फोन गरेर धम्क्याउनु भएन । पछि भेट हुँदा ‘केही बढी नै लेख्नुभयो, नभएका कुरा पनि भन्नुभयो’ भनेर गुनासो गर्नुभयो । मैले तथ्यका आधारमा समाचार लेखेको हुँ, लेखा समितिले अध्ययन गरिरहेको छ । समाचारमा सत्यता थियो वा थिएन थाहा भइहाल्छ भनें,” हरिले सम्झिए ।

पत्रकारिता छुच्चो हुन्छ, देखेको सत्य कुरा लेख्न नसक्ने व्यक्तिले पत्रकारिताको धर्म निभाउन सक्दैन । उनी पनि बेथितिविरुद्ध ‘छुच्चा’ छन् । संसद्मा रिपोर्टिङका लागि गएका बेला समितिका सदस्यहरूलाई कृषि मन्त्रालयका कर्मचारीले क्यान्टिनमा ब्रिफ गरिरहँदा हरिले मल काण्डको विषयमा सुनेका थिए । त्यसैका आधारमा उनले कृषि मन्त्रालयको स्रोत प्रयोग गरेर समाचार लेखे । घटना लेखा समिति हुँदै अख्तियारसम्म पुग्यो । ६ करोडको भ्रष्टाचार मुद्दा लाग्यो । लावती सरकारबाट अपदस्थ भए । प्रजातन्त्र पुनःस्थापनापछिको यो सबैभन्दा ठूलो घोटाला थियो । 


पुस्तक मोह

पत्रकारिता उनका लागि रोजगारमात्रै भएन, सूचना संकलन गर्ने माध्यम पनि भयो । भ्याएसम्म सूचना संकलन गर्न थाले । त्यही सूचनाको विकसित रूप हो, उनले ०५८ सालमा निकालेको पुस्तक ‘भ्रष्टाचारको शल्यक्रिया’ । 

०६१ मा उनले ‘विदेशी सहायताका विसंगति’ नामक पुस्तक प्रकाशन गरे । ०६५ मा ‘राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र’ पुस्तक निकालेका हरिले संसद्का गतिविधि समेटेर ०६९ मा ‘दलीय द्वन्द्व’ नामक पुस्तक ल्याए । अहिले पनि उनको नयाँ पुस्तक प्रकाशनको चरणमा छ ।
उनी फुर्सदको समयलाई पुस्तक लेखनमा उपयोग गर्छन् । बेलुका उनको कलम खासै चल्दैन । बिहान सबेरै उठ्छन्– साढे ५ बजे । रेडियोमा समाचार सुन्छन् । आधा घण्टा दैनिक पत्रपत्रिका पढ्छन् । ८ बज्दा कम्प्युटरमा बसिसक्छन् । बिहान ११ बजेसम्म उनी लेखनमा सक्रिय हुन्छन् । र, अफिसतिर लाग्छन् । 

सोधें, “रिटायर्ड लाइफमा के गर्नुहुन्छ ?”

उनले फेहरिस्त सुनाए ।

नेपालमा जागिरे जीवन सकिएपछि मान्छेहरू निष्क्रिय भइदिन्छन् । ऊर्जाशील समयमा सँगालेका अनुभवलाई सदुपयोग गर्न राज्यले त चासो दिँदैन दिँदैन, व्यक्ति स्वयम्ले पनि त्यता सोच्दैन । हरिलाई यो विषय खड्किएको रहेछ ! विश्वका धेरै देशमा ‘रिटायर्ड लाइफ’ अनुसन्धानमा खर्चिने र पुस्तक लेख्ने चलनबाट उनी लोभिएका रहेछन् । उनको मोह पनि यस्तै छ । निवृत्त जीवनलाई अनुसन्धान र पुस्तक लेखनतिरै डो¥याउने लक्ष्य छ ।


गणेशमान सिंह 

हरि संसद् र कांग्रेसको रिपोर्टिङ गर्थे । गणेशमान सिंह र कोइराला परिवारबीच द्वन्द्व थियो । ०५१/५२ मा गणेशमान र गिरिजाबीचको झगडा उत्कर्षमा थियो । गणेशमानसँग हरिको राम्रो चिनजान थियो । हरेक कार्यक्रममा उनलाई निम्ता आउँथ्यो । ‘जनजागरण अभियान’ भनेर गणेशमानले कांग्रेसमा शुद्धीकरणको अभियान चलाएका थिए ।

०४८ पुस १५ बाट कांगे्रसभित्र गुटबन्दीको लडाइँ सुरु भयो । गिरिजाले आफ्नो विरोधमा रहेका किसुनजीनजिकका मन्त्री फिर्ता गरिदिए । ०५० माघमा कांग्रेसभित्र अन्तरघात भयो । सातदोबाटो नजिकै रहेको एक घरमा गणेशमानले कांगे्रस छोडेको घोषणा गरे । यी प्रत्येक घटनाको समाचार हरिले नै संकलन गरेका थिए । 


किसुनजीको असन्तुष्टि

किसुनजीसँग पनि हरिको सम्बन्ध राम्रो थियो । तर, व्यक्तिगत रूपमै भने भेटघाट खासै हुँदैनथ्यो । काभ्रेका कांग्रेस नेता राजेन्द्र खरेलले उनलाई किसुनजीसँग चिनाइदिए । किसुनजीले खरेललाई भने, “यी बाबुलाई लिएर भोलि मेरो घर आउनू ।” 

बिहान सबेरै हरि र राजेन्द्र भैंसेपाटीनजिकै शरतसिंह भण्डारीको घर पुगे, जहाँ कृष्णप्रसाद भट्टराई बस्थे ।

“किसुनजी त ‘काठमान्डू पोस्ट’को शब्द संरचनामा भएका गल्ती, शब्दमा रहेका गल्ती र सूचनामा रहेका गल्ती रातो पेनले अन्डरलाइन गरेर बस्नुभएको रहेछ । उहाँले सूचना सम्प्रेषणमा जहाँ गल्ती छ, त्यसको छेउमा सही सूचना पनि लेख्नुभएको थियो,” हरि भन्छन्, “उहाँलाई मैले किन दुःख गर्नुभएको भनेर सोधेँ । उहाँले ‘बाबु यो योगेश बाबु (योगेश उपाध्याय अर्थात् ‘कान्तिपुर र काठमान्डू पोस्ट’का सम्पादक)लाई लगेर दिनुस् है भन्नुभयो । र, यस्तो अंग्रेजीले चल्दैन, मेरोमा आउने पत्रिकामा गल्ती नगरी छापेर पठाउनू रे भन्दिनू !” 


सम्पादकको रहर

२५ वर्ष भयो हरिले पत्रकारिता गरेको । एक दशक भयो, ‘कान्तिपुर’मा समाचार सम्पादक भएको । अनुभव र उमेरले पनि अब परिपक्व भइसके उनी पत्रकारितामा । हामीले उनलाई सोध्यौं, “सम्पादक हुने रहर छैन ?”

“क्यूमा छु, पालो आउला नि !” हाँसेरै उनको जवाफ आयो । 

उनलाई केही समयअघि सोधिएको पनि रहेछ, सम्पादकका लागि । उनले ‘उमेर भएको छैन’ भन्ने जवाफ फर्काएछन् ।

“मलाई लाग्छ– लामो अनुभव सँगालेपछि सम्पादक भयो भने राम्रो हुन्छ । लामो समय सम्पादक भयो भने आफूले सिकेका कुरा लागू गर्न पनि सजिलो हुन्छ,” उनी भन्छन्, “मैले धेरै विदेशी समाचार एजेन्सीहरू हेरेँ । त्यहाँ ६० वर्ष उमेर नकटेका व्यक्ति सम्पादक हुँदैनन् भन्दा पनि हुन्छ । हाम्रो देशमा सम्पादक भएर छोडिसकेका व्यक्तिहरूको जति अनुभव त बाहिरका रिपोर्टरमै देखिन्छ । आफूभन्दा कम वा समान उमेर र पत्रकारिताको लामो अनुभव नभएको व्यक्ति आफूभन्दा सिनियर भयो भने उसको निर्देशनसमेत जुनियरहरूले मान्न हिच्किचाउँछन् । त्यो अवस्था नरहोस् भन्ने मेरो चाहना हो ।”


पत्रकारिताका चुनौती

सामाजिक सञ्जाल र अनलाइन पत्रकारिता पत्रिकाका चुनौती रहेको उनको विश्लेषण छ । आज र अहिल्यै अनलाइनमा समाचार आउन थालेपछि पत्रिकालाई तनाव भएको उनको बुझाइ छ । यो चुनौतीको सामना गर्न पत्रिका र पत्रकार तयार नभए धेरै पछि पर्ने उनी ठान्छन् । भन्छन्, “अब पत्रिकाहरूले केही फरक तरिकाबाट समाचार तथा समाचार सामग्री दिन नसके पछि पर्ने निश्चित छ ।” 

अनलाइनले दिएको चुनौती सामना गर्नेबारे उनको समाचार कक्षमा सघन छलफल पनि सुरु भइसकेको छ रे ! “तर, हामी जुन स्कुलिङबाट आयौं, त्यसलाई परिमार्जन गर्दै अगाडि बढ्न केही समय लाग्छ । पत्रकार आफैं त्यसका लागि तयार हुनुपर्ने भएकाले पनि समय लाग्छ । तर हामी त्यसतर्फ जान्छौं । नजानुको विकल्प छैन । त्यसका लागि तयार भइरहेका छौं,” हरिबहादुर भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०७४  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC