site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
खाडल पुर्ने ‘कर्म’
Sarbottam CementSarbottam Cement

पेसाले पत्रकार हुन् उनी, विषयवस्तु खोज्ने र समाचार लेख्ने । उनी १२ वर्षदेखि मूलधारकै मिडियामा छन् । ०५९ मा ‘कान्तिपुर’ दैनिकमार्फत पत्रकारितामा ‘डेब्यु’ गरेका हुन् उनले । उनले कलम चलाउन सुरू गर्दा मुलुक सशस्त्र संघर्षको मुस्लोभित्र थियो । माओवादी युद्ध उत्कर्षमा थियो । मानिस नमरेका समाचार सुन्नै मुस्किल थियो । यतिसम्म कि दुई–चार जनामात्रै हताहती भयो, मरे÷मारिए भने तिनले अखबारको अघिल्लो पानामा स्थान पाउँदैनथे, भित्री पानामा खुम्चिन्थे ।

लमजुङमा बसेर उनले युद्ध रिपोर्टिङ गरे । आँखाअघिल्तिर मानिसले मृत्युवरण गरेका, बालखैमा किरिया बस्न अभिशप्तहरू । उराठ, उजाड सिउँदो लिएर ओठमा काँस फुलाउन बाध्य स्त्रीहरू । वैशाखी भाँचिएका वयोवृद्धहरूका कथा–व्यथा उनका समाचारका शीर्षक बने ।

उनी आफैं पनि युद्धको भुंग्रोमा माछासरह पिल्सिए । युद्धका क्रममा समाचारसँग ठोक्किन आइपुगेका धेरैजसो पात्र उनको मनमस्तिष्कमै लामो समय डेरा जमाएर बसे । उनले ‘एम्बुसमा ६ वर्ष’मा त्यो पोखे । युद्धको मुस्लोबाट प्रताडितहरूको जीवन्त कथा थियो त्यो । चर्चा पनि मनग्य पायो । तत्कालीन समाजमा युद्धले पारेको प्रभावका बारेमा बुझ्न चाहनेहरूका लागि संग्रहणीय दस्तावेज नै हो ‘एम्बुसमा ६ वर्ष ।’ मोफसलमा बसेर ६ वर्ष पत्रकारिता गरेको उपलब्धि पनि थियो त्यो । आमसञ्चार तथा पत्रकारिता पढ्ने विद्यार्थीहरूका लागि उपयोगीसमेत बन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्ला दुई वर्ष उनी ‘कान्तिपुर’कै बाल परिशिष्टाङ्क ‘कोपिला’सँग जोडिए– ०७१ देखि ०७३ सम्म । समाचार खोज्ने क्रममा अनेक पात्र र प्रवृत्तिसँग साक्षात्कार हुने उनी पुनः ठोकिन पुगे बालबालिकासँग । तिनका क्षमता र समस्यासँग । कति पत्रिकामा अटाए, कति आलेखमार्फत पस्किए । तर, उनी त्यत्तिमै सीमित भएनन् । हुटहुटी जाग्यो भन्न खोजेका, चाहेका र नअटेका विषय पुस्तकमै खन्याउने । एक वर्ष अगाडि बालबालिकाको समस्या र समाधान उजागर गरिएको कृति ‘कर्म’ उनले बजारमा ल्याएका छन् । अहिले त्यसको दोस्रो संस्करणसमेत बजारमा आइसकेको छ ।

“कर्म बालबालिकाको अवस्था चिहाउने आँखीझ्याल हो । र यो पढेपछि हामीकहाँ बालबालिका कुन अवस्थामा छन् भन्ने कुरा छर्लंग हुन्छ,” उनले कर्मको अन्तर्य खोतले पनि ।

Global Ime bank

० ० ०

हाम्रा बालबालिकाहरू गम्भीर समस्यामा छन् । हिजो हिंसाको चपेटामा परे । आज अपराधको सिकार भइरहेका छन् । विद्यालयमा पनि सिकाइको मारमा छन् । विभिन्न कुरीति, कुसंस्कार (बालविवाह, बालश्रम) आदिबाट समेत प्रताडित छन् उनीहरू । त्यो उनले ‘कोपिला’मा काम गर्ने सिलसिलामा पहिल्याए । उनले समाचार कक्षमा बसेर बालबालिकासँग सम्बन्धित समाचारहरू सम्पादन गरेमात्रै पुग्थ्यो । तर, आफू काम गरेको क्षेत्रको गहिराइमै पुग्ने मनोवृत्तिका कारण उनले बालबालिकाको विविध क्षेत्रबारे चासो राखे । खोज, अन्वेषण गरे । बालबालिकाको बीचमा पुगेपछि उनको चक्षु उघारिएनन् मात्रै, विषयवस्तुले घोच्न थाले । भन्छन्, “बालसिकाइको अवस्था के रहेछ ? समाजमा बालबालिकालाई कुन रूपमा हेरिँदो रहेछ भन्ने कुरा त्यसपछि मात्रै बुझें,” उनी अहिले सम्झन्छन् ।

कसैले कमजोर समाचार लेख्यो भने ‘के कोपिलामा छाप्नेजस्तो समाचार लेख्या होला ?’ सुन्थे उनी । केही पाठक पनि ‘कान्तिपुरमा छाप्न छाडेर के कोपिलामा छाप्या होला !’ भन्थे । त्यसबाट बालसाहित्य, सिर्जना, सिकाइबारे बुज्रुकहरूको धारणा के छ भन्ने बुझ्न पर्याप्तै हुन्थ्यो । तर, बालबालिकाको त्यो हदसम्म छ भन्ने उनले कल्पना नै गरेका थिएनन् ।

‘कोपिलामा काम गर्नु पर्‍यो’ भनेर सुरुमा मन नकुँडिएको पनि होइन । तर ‘कोपिला’मार्फत जब बालबालिकासँग घुलमिल हुन थाले, तब उनी पुलकित भए– काम गर्नुपर्ने क्षेत्र त यो पो रहेछ !

“बालबालिकाले मेरो आँखा उघारिदिए र उनीहरूबारेको धारणामै फेरबदल आयो,” उनी गौरवान्वित महसुस गर्छन् ।

० ० ०

‘कोपिला’ बालबालिकालक्षित परिशिष्टांक हो । त्यसमा प्रेरणा, बालबालिका रचना, सिर्जनाबाहेक संवेदनशील प्रकृतिका विषयवस्तु छाप्न मिल्दैन, सकिँदैन पनि । त्यस्ता प्रकृतिका विषयले उनको मथिंगल हल्लाइरहन्थ्यो । बालबालिकालाई देशको कर्णाधार भन्ने तर वर्तमानमा उनीहरू खाने, खेल्ने, हुर्कने, शिक्षादीक्षा ग्रहण गर्ने कुनै आधार छैन । भएका पूर्वाधारहरू पनि भत्किइसकेका छन् ।

‘कोपिला’मा काम गर्ने सिलसिलामा उनले धेरै बालबालिकाको मनोदशा बुझे । साहित्यिक चेतनासँग साक्षात्कार गरे । बालबालिकाको मनोविज्ञान खोतले । तिनका भावना, विचारसँग एकाकार भए । भन्छन्, “त्यसक्रममा मैले बुझेँ– बालबालिका भनेर पन्छाउन नहुने रहेछ । उनीहरूका विचार ठूला भनिएका मान्छेभन्दा कम नहुँदो रहेछ । कतिपयको त त्यो भन्दा उम्दा पनि पाएँ ।”

एउटा रोचक प्रसंग रहेछ–

नाम ठ्याक्कै याद रहेनछ उनलाई । सैनिक आवासीय महाविद्यालयमा निम्न माध्यमिक तहमा पढ्ने एक विद्यार्थीको ८० शब्दको निबन्ध ‘कोपिला’मा प्रकाशित भएको थियो । निबन्ध मधुमेय रोगबारे लेखिएको थियो । रोगको परिचय, लक्षण र निदानको उपाय सटिक ढंगले ८० शब्दमा सीमित गरेर लेखेको लेख पढ्दा उनी चित खाएछन् । त्यस्तै थुप्रै उदाहरण छन् । “बालबालिका भनेर कहाँ हुन्छ र ! कहिलेकाहीँ हामीले तिनैसँग सिक्नुपर्छ,” उनले जिब्रो काढे ।

त्यस्तै, केही समयअघि कार्यालयमा दुई भारतीय बालबालिका उनलाई भेट्न आएका थिए । पशुपतिका मूल भट्टसँग आशीर्वाद लिन आएका उनीहरू बाटो पर्दा ‘कान्तिपुर’ छिरेका रहेछन् । तिनीहरूको क्षमता, वाकपटुता, इतिहासचेत देखेर उनी छाँगाबाट खसेजस्तो भए ।

“हामीलाई हाम्रो देशको बारेमा जानकारी छैन होला, उनीहरूले त्यति नेपालका बारेमा अध्ययनन गरेका रहेछन् । नेपालमा राजसंस्थाको उदय र पतन, माओवादी आन्दोलन र गणतन्त्र प्राप्तिसम्मको यावत विषय उनीहरूलाई मुखाग्र थियो,” अनुहारको भाव बदले उनले ।

० ० ०

गुल्मी तुराङको एउटा स्कुलले अभिभावक दिवसमा उनलाई निम्त्याइएको थियो । दूरदराजको ठाउँ भए पनि उनी काठमाडौंबाट त्यहाँ पुगे । ग्रामीण बालबालिकासँग साक्षात्कार हुन पाइने, गाउँमा बालसिकाइको अवस्था बुझ्न सकिने । शिक्षक, अभिभावक र विद्यार्थीबीचका खाडल बुझ्नका लागि महत्त्वपूर्ण अवसर थियो त्यो ।

त्यहाँ गएपछि उनले धेरै कुरा थाहा पाए । दिउँसो विद्यालयको कार्यक्रम थियो । बिहान उनी त्यहाँका विद्यार्थीसँग घुलमिल भए । सिकाइका समस्या बुझे ।

रिडीभन्दा माथिपट्टि पर्छ तुराङ । जलविद्युतबारे किताबमा पढ्नुपर्छ तर त्यहाँ विद्यार्थी आधा घण्टाको दूरीमा रहेको लघुजलविद्युत्मा जान पाएका रहेनछन् । “सरलाई जति अनुरोध गरे पनि लैजानु हुन्न,” कुराकानीको सुरुआतमै विद्यार्थीहरूले एकमुष्ट गुनासो गरे । रिडी, रुरु क्षेत्र धार्मिक पर्यटकीय क्षेत्र हो । विद्यार्थीले शैक्षिक भ्रमण लगिदिनुहोस् भन्दा पनि विद्यालयले अटेर गरेछ । रिडीभन्दा माथिल्लो बेल्ट जडिबुटीको अथाह भण्डार हो । गुल्मी कफी उत्पादनको पकेट क्षेत्र पनि हो । यी बारेमा विद्यार्थी अनभिज्ञ नै थिए । नजिकै रहेका यस्ता ठाउँहरू घुमाएर शिक्षाको दायरा फराकिलो पार्न शिक्षक चुकेको देख्दा उनलाइ उदेक लाग्यो । 

पछि मन्तव्य दिँदा उनले ती कुरालाई जोड दिएछन् । “हामीले यो कुरामा ध्यानै दिएका रहेनछौँ । हाम्रो आँखा उघारियो,” प्रधानाध्यापकले कमजोरी स्वीकार पनि गरे ।

गुल्मीबाहेक उनी दूरदराजका धेरै सरकारी/सामुदायिक विद्यालयहरू पुगेका छन् । त्यहाँका विद्यालयहरू गरिब पढ्ने विद्यालयमा परिणत भएका छन् । “आर्थिक हैसियत राम्रो भएका परिवारको बालबालिका सामुदायिक विद्यालयमा पढाउँदैनन् । विपन्न परिवारलाई आफ्ना बालबच्चा विद्यालय पठाउन पाएमात्रै फुरुंग पर्छन् । विद्यालयमा पढाइ हुने नहुने उनीहरूलाई थाहै हुँदैन, जानकारी नै राख्दैनन्,” उनले ग्रामीण शिक्षाको गुह्य खोतले ।

“सामुदायिक विद्यालयमा सरकारको ठूलो लगानी छ । गाउँको विद्यालयमा राम्रो पढाइ छैन भनेर सहर पस्नुभन्दा गाउँकै विद्यालयलाई राम्रो बनाउने हो भने शिक्षाको स्तर उकास्न सकिन्छ । अभिभावकको थाप्लोमा बोझ पनि बढ्दैन,” सुझाव पनि दिए उनले ।

० ० ०

विद्यार्थीलाई सूचना–प्रविधिको पहुँचमा पुर्‍याउन राज्यको ठूलो लगानी भएको छ तर त्यो बालुवामा पानी हालेसरह छ । केही सरकारी विद्यालयमा कम्प्युटर त पुर्‍याइएको छ तर चल्दै चल्दैनन् । दूरदराजका स्कुलमा मात्र होइन, सहरी क्षेत्रका सामुदायिक विद्यालय पनि कम्प्युटरबाट पर छन् । 

बैंकलगायत केही संघ/संस्थाले सहयोगस्वरूप कम्प्युटर लगेर जोडिदिएका ठाउँको अवस्था पनि उस्तै छ, कम्प्युटर स्कुलको कुनामा थन्किएका छन् । या त टेबलमा धूलोले पुरिएका छन् । विद्यार्थीको सिकाइसँग जोडिएका छ्रैनन् । 

भोजपुरको सानोदुम्मा त्यसबाट अछुतो रहेछ । त्यहाँको विद्यालयमा अर्जुन राई प्रधानाध्यापक रहेछन्– भर्खरका युवा । काठमाडौं बस्दा सूचना–प्रविधिमा पारंगत रहेछन् । उनी स्कुल प्रवेश गर्नेबित्तिकै विद्यालयलाई प्रविधिमैत्री बनाएछन् । स्कुलमा फोटोकपी मेसिन, कम्प्युटर राखेछन् । गाउँलेलाई सस्तोमा सेवा पनि दिन थालेछन् । फेसबुकमा विद्यालयको पेज खोलेछन् । विद्यालयको अवस्था निरन्तर फेसबुकमा पोस्ट गर्न थालेछन् । लाहुर जानेहरूको पुरानो बस्ती थियो त्यो ।

विदेशमा रहेका नेपालीहरू फेसबुकको पेजमा जोडिए । हाम्रा छोराछोरीहरूले राम्रो शिक्षादीक्षा पाऊन् भनेर विद्यालयमा सहयोगको हात फैलाए । तिनैको सहयोगमा पछि विद्यालय माविमा परिणत भयो । पक्की भवन बनाउन सफल भए । अहिले त्यस विद्यालयले विद्यार्थीको नतिजा, पढाइको स्तर, विद्यालयका गतिविधिसम्बन्धी जानकारी मोबाइलमा पठाउँछ । शिक्षक, कर्मचारी विद्युतीय मेसिनमा हाजिरी गर्छन् । भौतिक सुविधा र पढाइको स्तर राजधानीको सुविधासम्पन्न विद्यालयभन्दा कुनै हिसाबले कम छैन । गरे के हुँदो रहेनछ ? एकजना व्यक्तिले ल्याएको अभूतपूर्व परिवर्तन देख्दा उनी चकित भए ।

० ० ०

हाम्रो समाजको बनोट अचम्मको छ । द्वन्द्वको उत्कर्षमा पनि हाम्रो समाज चलेको थियो । हत्याहिंसा, मारकाट चल्दा पनि समाज विशृंखलित भएन । भूकम्पले घर भत्यायो तर समाज भत्काउन सकेन । रोगले मानिस मर्छन् तर हामीकहाँ खान नपाए मानिस मरेको खबर विरलै सुनिन्छ । एक–आपसमा मिलेर बसेको समाज हो यो । समाज बदल्ने नायकहरू समाजभित्रै छन् । राजनीतिक प्रदूषणले तिनलाई खुम्च्याएका छन् । समाजको ऊर्जालाई राज्यले समात्न सकेको छैन । समाजका असल कामहरूलाई राज्यका मूल नीतिले जोड्न सकेको छैन । अहिले पनि गाउँमा कैयौँ आमा समूहले देउसी–भैलो खेलेर, मुठी उठाएर विद्यालय भवन बनाएका छन् । बाटो खनेका छन् । नाचगान गरेर सामुदायिक भवन बनाएका छन्, बिजुली बालेका छन् । “यी मान्छेलाई राज्यको अनुदान जाने हो भने समाज उठ्न बेर लाग्छ र ?” उनको प्रश्न छ ।

‘कर्म’मा यस्ता थुप्रै झिल्काहरूको कथा छ । ती स–साना फिलिङ्गाहरू जोड्ने हो भने परिवर्तनको राँको जगाउन सकिनेमा विश्वस्त पनि छन् उनी । त्यसैले पनि किताब लेख्न मोह जागेको हो उनमा । किताबमा सिकाइको खाडलमात्र छैन, पुर्ने अनेकन उपाय पनि छन्, पुरेका उदाहरण पनि छन् ।

एउटा उदाहरण सुनाए–

काठमाडौं बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास अघिल्तिरको महेन्द्र राष्ट्रिय उच्च माविमा कक्षा ९ मा पढ्ने छात्र राजाराम बस्नेतको पहलमा छात्रामैत्री शौचालय अभियान चलेको छ । बालश्रमिक हुन् उनी । उनी अहिले पनि अर्काको घरमा भाँडा माझेर विद्यालय पढ्न आउँछन् । उनको सानो पहलले छात्राहरू महिनामा चार दिन विद्यालय नआउने अवस्थाको अन्त्य भएको छ ।

त्यो विद्यालयमा अधिकांश बालश्रमिकहरू पढ्छन् । स्यानेटरी प्याड किन्ने पैसा नहुँदा विद्यालयका छात्रा विद्यालय नै आउँदैनथे । महिनावारी भएका बेला उनीहरूको पढाइ छुट्थ्यो । सबै विद्यार्थीसँग हप्तामा एक/एक रुपैयाँ उठाएर प्याडको जोहो गर्न थालेपछि छात्राहरू खुल्न थालेका छन् । समस्या सुनाउन थालेका छन् । रजस्वला हुँदा मुख लुकाएर हिँड्ने छात्राहरू निर्धक्क प्याड माग्न अफिस कोठा पुग्ने गरेका छन् । ९ कक्षामा पढ्ने सामान्य विद्यार्थीले ल्याएको ठूलो परिवर्तन थियो त्यो ।

“त्यहाँका छात्राहरू कपडाको टालो प्रयोग गर्थे,” उनले गम्भीर हुँदै भने, “कतिपय छात्राले विद्यालय आएर स्यानेटरी प्याड देखेका हुन् ।”

० ० ०

आर्थिक अवस्था सुध्रिएपछि आफ्ना बालबच्चा गरिबको संगतमा जालान् भनेर केही अभिभावकले विद्यालय परिवर्तन गर्छन् । विपन्न बालबालिकासँगको संगत छुटाउँछन् । खाडल त्यहीँबाट सुरु हुने उनको बुझाइ छ । उनी प्रश्न गर्छन्, “गरिबको संगतबाट टाढा राख्नुहुन्छ भने तपाईंका छोराछोरीले गरिबी, निर्धनता कसरी बुझ्छन् ? अभाव कसरी थाहा पाउँछन् ? समाजप्रति उसको धारणा कस्तो हुन्छ ?”

अभिभावकले साना कुरामा पनि विचार नपुर्‍याएको देख्दा उनलाई उदेक लाग्छ । 

र ‘कर्म’

समाज बदल्ने स–साना प्रयत्न हो ‘कर्म’ । सिकाइमा खाडल गहिरिँदै गएपछि त्यसलाई पुर्ने यत्न पनि हो ‘कर्म’ । किताब बजारमा आएपछि धेरै विद्यालयले पुस्तक मगाउन थालेका छन् । कतिपयले परिवर्तनको माध्यम पनि बनाएका छन् । छात्रामैत्री शौचालय, स्यानेटरी प्याड प्रयोग, प्रयोगात्मक शिक्षण सिकाइ क्रियाकलाप अवलम्बन त्यसका उदाहरण हुन् । अन्तिममा उनी थप्छन्, “किताब जीवन बदल्ने हतियार हो भने ‘कर्म’ सिकाइ बदल्ने हतियार हो ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३, २०७४  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC