साहित्य र कला

अशान्त प्रशान्त

अशान्त प्रशान्त

सिपी अर्याल


नाममा केही त पक्कै छ !

नामको कुरा एकछिनमा गरौंला । पहिलो फोन संवाद यस्तो थियो–

– सर नमस्कार । यसपालि ‘म पत्रकार’मा तपाईंबारे लेख्ने सल्लाह भो । कहिले भेटौं ?

– ओहो ! प्रस्तावका लागि धन्यवाद । म यसका लागि योग्य छैन जस्तो लाग्छ ।

– यो योग्य र अयोग्य भन्ने कुराचाहिँ आफूभन्दा अरुलाई थाहा हुँदो रहेछ सर । बुधबार बेलुकी कहाँ भेटौं ?

निधो भयो– ७ बजे थापाथली चोकको कुनै क्याफेमा बसेर गफ गर्ने ।

उनी बेलुकी ७ बजे ‘नेपाल’ म्यागेजिनको अफिसबाट भुइँतलामा झरेर पर्खिए । आधा घण्टासम्म फोन नबजेपछि उनी आफैंले कल गरे ।

– म त कुरेको कुर्‍यै भएँ । के गर्ने ?

– सर, कलंकीको जाममा परियो । आधा घण्टा पर्खिनुपर्‍यो ।

त्यसपछि लगातार उनले अफिसको तलमाथि गर्दै अरु डेढ घण्टा कुरे । दोस्रो घण्टाको मिनेट सुइँ १० मा पुग्दा पनि उनी हाँसिरहेका देखिन्थे । उनी एकदम कुल थिए । सधैंझैं फ्रेस । भर्खरै नुहाएर निस्किएका जस्ता । उनले लगाइरहेको पहिरनले पनि उनको ‘लुक्स’लाई तन्नेरी देखाइरहेको थियो, खैरो बुट, नीलो जिन्स पाइन्ट र चेक सर्ट ।

लेनिन र मैले सल्लाह गर्‍यौं, “एकजना गनिने सम्पादक २ घण्टा पर्खिंदा पनि उत्तिकै शान्त देखिए । ‘म पत्रकार’को शीर्षक ‘शान्त प्रशान्त’ राखौं ।”

तर, मैले बुझेसम्म उनी शान्त होइनन् । समाचार कक्षमा सबैभन्दा बढी अशान्त उनै हुन्छन् ।

नामको ‘प्रशान्त’ले उनलाई शान्त बुझाउँछ या अशान्त ? महासागर शान्त हुन्छ या अशान्त ?

नाममा केही छ र केही छैन पनि ।

त्यसपछि फेरि सल्लाह गर्‍यौं, “शीर्षक त ‘अशान्त प्रशान्त’ राख्नुपर्छ ।”

यसका केही कारण थिए ।

० ० ०

अपियरेन्समा त्यति ‘कुल’ देखिने प्रशान्त पत्रकारितामा भने आक्रामक देखिन्छन् बेलाबेला । किनभने, कहिले उनले कभर स्टोरीमार्फत् कांग्रेस सभापति शेरबहादुर देउवाको सुरूवाल फुस्काइदिएर नांगो पारिदिन्छन्, कहिले मुड्की सोझ्याउँदै देखिएका पूर्व प्रम केपी ओलीलाई ‘मैमत्त ओली’ भनिदिन्छन् । कहिले तमाम पदमा आसेपासेलाई मात्रै नियुक्त गरेको कुकर्ममाथि प्रहार गर्दै प्रचण्डमाथि कडा कभर स्टोरी लेख्छन् । त्यसको स्केच बनाउन पठाउँछन्, बडेमानका प्रचण्डका काख र काँधभरि आसेपासे र आफन्त झुन्डिएका । त्यस्तै, सुशीला कार्की प्रधानन्यायाधीशबाट सेवानिवृत्त हुनेबित्तिकै पहिलोपल्ट विशेष अन्तर्वार्ता छापेर तमाम राजनीतिक वृत्तमा खैलाबैला पनि पारिदिन सक्छन् अर्यालले ।

केही महिनाअघि ‘नेपाल’मा देउवाका कमजोरी केलाउँदै कभर स्टोरी आएको थियो । कार्टुनिस्ट रवीन्द्र मानन्धरले त्यसका लागि दौरा–सुरुवाल लगाएका देउवाको स्केच कोरे । र, सम्पादकलाई देखाए ।

स्केच हेरेर प्रशान्त एकछिन घोरिए । उनको दिमागमा केही क्लिक भयो ।

औँला नचाउँदै रवीन्द्रलगायत साथीहरूलाई तत्कालै भने, “यो लुगा लगाइदिएर भएन देउवालाई, कथाले त देउवाको सुरुवाल खुस्काएको स्केच पो माग्छ ।” गजब भैहाल्यो ।

पछिल्ला केही अंकमा प्रशान्तको आक्रामक पत्रकारिता बजारमा खुब जमिरहेको छ । डेक्समा राम्ररी काम गर्न सक्ने ल्याकतका छन् उनी । पत्रकारितामा केही स्कुप मारेका उनी सम्पादक भएपछि अल्छी भए शायद । त्यसैले लेख्ने काम एकदम विरलै गर्छन् ।

आफू एकदम चाँडो रिसाएर कसैलाई झ्वाट्टै केही भनी पनि दिन्छन् तर मनमा पाप भने हुँदैन । त्यसैले, सहकर्मीहरू प्रायः उनको मुड हेरेर उनीअघि प्रस्तुत हुन्छन् ।

सफलतासँग सफलताको कथा मात्रै जोडिएको हुँदैन । त्यससँगै आउने तमाम बेचैनी, कष्ट, संघर्ष, उत्साह र उत्सवहरू जोडिन आउँछन् र बन्छ यौटा सिंगो जीवन–माला ।

प्रधानसम्पादकको खुड्किलोसम्म पुग्न अर्यालले थुप्रै त्यस्ता शृंखलाहरू पार गरिसकेका छन् । कुनै दिन थिए उनका, अफिसका सबै स्टाफले कम्प्युटरमा लेख्न सक्ने हुँदा उनी कुनामा बसेर कापीमा कलम दगुराइरहेका हुन्थे, कुटुरकुटुर । संघर्षकालका कुनै दिन थिए, कामविशेषले अफिससँग २० रुपियाँ माग्दा नपाएको झोँकमा जागिरै छोडी हिँडिदिएको ।

० ० ०

प्रशान्तको पुख्र्यौली घर खासमा काठमाडौँको चाबहिलमा हो । बाआमाको जागिरको सिलसिलामा यताको बेचबिखन गरेर परिवारै कैलाली सर्‍यो । उनी कैलालीमा जन्मिए, पढे, हुर्किए । त्यहीँको स्कुलमा पढे । थोमस बर्गिज प्रधानाध्यापक थिए । तिनै बर्गिज, जो कुनै बेला डा. बाबुराम भट्टराईका प्रधानाध्यापक हुने गर्थे ।

बुबा–आमा दुवै बैंकमै जागिरे थिए । राम्रो लाउन खान समस्या थिएन । आफूलाई उनी ‘तल्लो मध्यमवर्गीय’ परिवारमा हुर्केको भन्छन् । म्याथमेटिक्स बडो गाह्रो लाग्थ्यो । ०४१ सालको एसएलसीमा उनी गुल्टिए । छोरोले डिभिजन ल्याओस् भन्ने बाको इच्छा पूरा भएन । छोरो फेरि उता जाँचमा गुल्टुङ–मुल्टुङ । तैपनि, अर्को वर्ष आंशिक परीक्षा दिएनन् । पूरै परीक्षा दिँदा सेकेन्ड डिभिजनमा पास भए ।

एभरेज विद्यार्थी भएर फेल–पास हुँदै हुँदै स्कुल सकेपछि उनी काठमाडौँ आए, आईए पढ्न । जर्नलिजम जोइन गरे । खास त उनलाई वकिल बन्न मन थियो, आईएलमा भर्ना हुने इच्छा राखेका थिए ।

तर, उनको बुवालाई लाग्दो रहेछ, “धत् ! वकिल पनि बन्ने हो ? त्यो त लाइसेन्स प्राप्त फटाहाहरूको पेसा हो ।”

बुवाले हुँदैन भनेपछि उनको के लागोस् ? रासन–पानी पठाइदिने उनै । फारम–सारम भरेर सबैथोक तयार थियो । आईएल पढ्न उनको नाम पनि निस्केको थियो । भर्नाचाहिँ भैहालेका थिएनन् । बाले वकिल नबन्न मुड्की देखाएपछि पत्रकारिता जोइन गरे ।

रहर त उतिबेलैबाट उनलाई गीत–संगीत सुन्न, यताउता रमाइलो गर्न मन लाग्ने रै’छ । अहिले पनि त्यो बानी उस्तै हो कि झैँ लाग्छ ।

सानोमा उनी बीबीसी सुन्न अति रहर गर्ने । ओमकार श्रीवास्तव, अचला नागर, पंकज पचौरीहरू उनका फेबरेट । ‘आजकल’ भन्ने कार्यक्रम उनलाई खुब मन पर्ने ।

ईश्वर आचार्य उनका भिनाजु । उनैले पत्रकारिता पढ्न सुझाए । भिनाजु आफैं पत्रिकामा काम गर्ने । शरच्चन्द्र वस्तीसँग भिनाजुले ‘परिमल’ भन्ने पत्रिका निकाल्ने । भिनाजुको सल्लाह ठीक लागेपछि आरआर कलेजमा पत्रकारिता पढ्न थाले उनले । भिनाजु आदिको सल्लाहपछि पत्रकारिता गर्छु भनेरै पढ्न लागे । उतिबेला खास चार्म त थिएन पेसामा । तर, करिअर बनाउनै भनेर सुरु गरिहालेका थिएनन् । पढ्दापढ्दै चाहिँ करिअर बनाउनुपर्छ भन्ने लागेको भने थियो ।

०४९ सालमा जब प्रशान्तले ब्याचलर सके, इन्टर्नसिप गर्नुपर्ने थियो । त्यसैले उनी ‘सुरुचि’मा गए । ‘देशान्तर’ र ‘सुरुचि’ छुट्टिएपछिको अवस्था थियो त्यो । राजेश मिश्रको लेखाइ बेजोड लाग्थ्यो उनलाई । गजब लेख्ने, प्रस्तुति पनि एकदम राम्रो ।

काम थालेपछि, ‘ब्लड बैंकमा रगतको अभाव’ शीर्षकमा उनको पहिलोपटक समाचार आयो । समाचारको पुछारमा लेखिएको थियो, ‘प्रशान्त अर्याल (प्रशिक्षार्थी पत्रकार)’ । त्यसपछि पुगिहाल्यो ! आफ्नो नाम पत्रिकामा आएपछि उनी झन् तानिए । त्यसले इनर्जी पनि दियो । राजेश मिश्रको लेखाइ खुब मन पर्ने भएकाले त्यस्तै लेख्छु भन्ने जोशले तानिएका पनि थिए ।

“तर त्यस्तो हुन चाहिँ सकिएन,” हाँसे उनी ।

आरआरमा पढ्दा जोशिला प्रशान्तले अलिअलि राजनीति पनि गरे– नेविसंघसँग आबद्ध भएर । ०४३ सालमा कलेज छिर्दा उनी अखिल पाँचौँमा थिए तर त्यसअघि राजनीतिबारे उनलाई केही ज्ञान थिएन । त्यसमा लागेको खास कारण त केही छैन, साथीहरू सबै त्यसमै । गीतसंगीत गाउने, प्यारोडी गर्ने, रमाइलो गर्ने देखेपछि उनी यसै कम्युनिस्टतिर तानिए । रमाइलोमै भुल्ने भएपछि दुःख कसले अँगालोस् !

पछि, संगठनका मान्छेले ‘जिन्स पाइन्ट लगाउन पाइँदैन, मोडर्न हुन पाइँदैन’ भने । चिरिच्याट्ट पर्न मन गर्ने प्रशान्त त्यहाँ अल्झिन सकेनन् । अखिल छाडेपछि उनी नेविसंघमा आबद्ध भए । तर, एक्टिभ भएर चाहिँ होइन । गुणराज लोहनीहरू उनका साथी थिए । लोहनी अहिले विप्लव माओवादीतिर छन् । ‘सेतोपाटी’का प्रधानसम्पादक अमित ढकाल त्यतिबेला नेविसंघमा आबद्ध थिए । दुवै क्लासमेट ।

‘सुरुचि’मा उनले तीन महिना सित्तैमा काम गरे । पछि, प्रकाशक उज्ज्वल शर्माले १५ सय दिन्छु भनेपछि त चकाचक हुने भो लाइफ । त्यतिबेला त्यो रकम ठूलै थियो । त्यसमा २ वर्ष काम गरे ।

कुनै दिन, पुतलीसडकबाट जाउलाखेल जान बस भाडा भएन । त्यो पत्रिकाका अकाउन्टेन्टसँग उनले २० रुपैयाँ मागे । अकाउन्टेन्टले ‘दिन मिल्दैन, सरले नदिन भन्नुभाछ’ भनिदिए । कर गर्दा पनि दिएनन् । प्रशान्त पनि के कम ! भनिदिए, “ल त्यसोभए म पनि भोलिबाट आउँदिन भन्दिनू ।”

त्यहाँ आबद्ध हुँदा फोहोरमैलादेखि रगत अभावसम्मका रिपोर्टिङ गरे उनले । नेपाल एयरलाइन्समाथि पनि केही रिपोर्ट लेखे । त्यसमा राम्रै नाम पाए ।

०५१ मा ‘सुरुचि’ छोडेपछि त्रिविमा समाजशास्त्र पढ्न थाले । त्यहीबीचमा ‘महानगर’ पत्रिकामा उनलाई सुशील शर्माले सिफारिस गरे । त्यसमा चाहिँ उनले धित मरुन्जेल काम गरे । सन् १९९४ को विश्वकप फुटबल रातभरि टिभीमा हेर्ने अनि पत्रिकामा समाचार लेख्न काम थियो । ‘साधना’ पत्रिकामा चित्तबुझ्दो रिपोर्टिङ गरे । सम्पादकीयमा पनि प्रशान्तको नाम लेखियो, रिपोर्टिङ गर्नेको रूपमा । विश्वकपपछि उनको काम सकियो । त्यसपछि ‘अभिलेख’मा २–३ महिना काम गरे, छोडे ।

०४९ सालमा ‘सुरुचि’मा काम गर्दागर्दै ‘कान्तिपुर’ भन्ने पत्रिका खुल्दै छ भन्ने खबर आयो । त्यो गजबको खबर थियो । “स्टाफहरूले कार्डसार्ड भिरेर हिँडेको देख्दा ओहो, यो पत्रिका त गजबै रै’छ क्या हो जस्तो लाग्थ्यो हामी साप्ताहिकमा काम गर्नेलाई,” धमिलो स्मृति छ उनको ।

त्यसै बेला दिनेश सत्याल (सौरभ)ले पत्रिका खोल्ने भएछन् । प्रशान्त उतै गए । पत्रिकाको नाम ‘अविरल दैनिक’ । एक वर्ष काम गरेर डमी निस्क्यो तर पत्रिका निस्केन ! त्यसमा काम गर्दा तलब ५–६ हजार थियो । आबद्धहरू केदार कोइराला, खेम भण्डारी आदि थिए । नियमित तलब लिने ३–४ जना मात्रै ।

‘कान्तिपुर’ यात्रा

०५३ सालतिर ‘कान्तिपुर’ले पत्रकार माग्यो । प्रशान्तले आवेदन दिए । योगेश उपाध्यायले उनलाई सब–एडिटरका रूपमा राखे । तलब ८ हजारजति थियो । सुरुमै उनी डेक्समा बसे, जिल्लाको काम थियो । गिरीश गिरी (अहिले सेतोपाटी.कमका प्रमुख संवाददाता) उनका बोस ।

केही समयपछि उनलाई नाइट डेक्समा सारियो । त्यसमा उनले स्पोर्टस्, फ्रन्ट पेज र लास्ट पेज हेर्नुपर्ने हुन्थ्यो । ‘गोरखापत्र’का सबैजसो मान्छे गएका थिए । त्यसैले ‘कान्तिपुर’मा पनि त्यही पत्रिकाको ‘फ्लेभर’ आउँथ्यो । पछि, परिवर्तन हुँदै आयो । पेज फाइनल गर्न उनलाई ‘स्टोन’ पनि बस्नुपथ्र्यो, राति अबेरसम्म । त्यतिन्जेल उनले उड्डयन, जलस्रोत, भ्रष्टाचार आदिका रिपोर्टिङ गरे । धेरै लेख्दैनथे, जुन क्रम अझै पनि जारी छ । त्यसको कारण पनि थियो– उनी अल्छी थिए । उनी हातले लेख्थे। सबैजसो साथी कम्प्युटरमा लेख्थे ।

त्यतिबेलाका चिफ रिपोर्टर नारायण वाग्लेले प्रशान्तलाई उर्दी जारी गरे, “अबदेखि हातले लेख्न पाउँदैनौ । लेख्यौ भने तिम्रो समाचारै छाप्दिनँ ।”

त्यो चेतावनीले काम गरिहाल्यो । नारायण वाग्ले नै हुन् उनलाई कम्प्युटरमा लेख्न सिकाउने ।

यतिन्जेल पत्रकारितमा मस्त भइसकेका थिए प्रशान्त । कामबाहेक उनको रुचिको क्षेत्र थियो, नयाँ–नयाँ लुगा लगाउने, फेसन गर्ने, फिल्म हेर्ने ।

घरबाट मासिक खर्च आएपछि उनी कमलाक्षी गएर ‘मःमको टोकन’ लिन्थे । खाने पालो आउँथ्यो, ४५ मिनटमा ! त्यतिन्जेल उनी मार्केट डुल्ने, चलेको फेसनदार जिन्स पाइन्ट किन्ने, घुम्ने गरेर फिर्थे । घरबाट आएको पैसा धेरै नै हुन्थ्यो तर फुमाईस गर्ने प्रशान्तलाई पुग्दैनथ्यो । एकखालको अभावमै हुन्थे उनी । 

“एकपटक मलाई ११० रुपियाँको सर्ट असाध्यै मन पर्‍यो । काकाकोमा गएर ५०० सापट मागेर त्यो मन परेको र अर्को सर्ट, पाइन्ट, जुत्ता लुगा किनेर घर फर्कें,” उनी मच्चिएर हाँसे ।

चार वर्ष काम गरेपछि ‘मोनोटोनस’ हुन थाल्यो । त्यसपछि ‘कान्तिपुर’ छोडे । अनि पुगे ‘स्पेसटाइम’ । तर, त्यहाँ पनि चित्त नबुझेपछि ‘हिमाल’ साप्ताहिकतिर लागे । त्यहाँचाहिँ उनले धेरै काम गर्न सकेनन् । किनभने, उनी दैनिक पत्रिकाको ‘स्कुलिङ’बाट हुर्किएका थिए । म्यागेजिनको शैलीमा उनी अभ्यस्त हुनै सकेनन् ।

दरबार हत्याकाण्ड

‘हिमाल’ गएपछि उनले सुधीर शर्मासँग मिलेर दरबार हत्याकाण्डको स्टोरी गरे । त्यो रिपोर्टले बडो सनसनी मच्चायो । त्यो रिपोर्टिङ गर्दा बडो गजबका सूचना पाएका थिए दुबैले । घटना ताजा थियो । आममान्छे आत्तिएका थिए सूचना पाउन । त्यसैले दरबार हत्याकाण्डबारे किताब लेख्दा ठीक हुने लाग्यो दुवैलाई । अवस्था कस्तो थियो भने, आइरहेका सूचनाले ‘दरबार हत्याकाण्ड दीपेन्द्रले मच्चाएका हुन्’ भन्थे तर जनता त्यो मान्न पटक्कै तयार थिएनन् ।

“हामीसँगका प्रमाणले हत्यारा दीपेन्द्रलाई देखाउँथ्यो,” उनी भन्दै थिए, “उनले गरेको होइन भन्नलाई हामीसँग प्रमाण पनि थिएन । दीपेन्द्रलाई दोषी देखाउँदा जनताले नपत्याउने डर उस्तै थियो । दीपेन्द्रलाई हत्यारा मान्ने हो भने उनको हत्या कसले गर्‍यो त ?”

‘शाही संहार :षड्यन्त्र कि सनक ?’ शीर्षकमा सुधीर र उनको संयुक्त बाइलाइनमा खबरमात्रै आयो । किताब लेख्ने योजनै तुहियो ।

दरबार हत्याकाण्डबारे सम्झिँदा मात्रै पनि उनको दिमाग टनटनी हुन्छ ।

फेरि ‘कान्तिपुर’

‘हिमाल’का लागि केही समय काम गरेपछि उनी प्रो–पब्लिकमा गए । त्यहाँ डेढ वर्षजति काम गरे, केदार खड्कासँग । त्यो एनजीओ थियो । “हल्लेर खाइराखेको पेसामा थिएँ म । त्यहाँ भने ९–५ बजाउनु पर्ने । मलाई सकस लाग्यो । अनि, त्यहाँ पनि छोडें,” उनले सुनाए ।

कुनै बेला प्रशान्तले ‘अप्टिमिस्ट क्लब’ पनि खोलेका थिए । त्यो लायन्स क्लबजस्तै सामाजिक हर्ताकर्ता समूह थियो । अमेरिकामा क्लब दर्ता गरेर ग्रान्ड होटलमा भव्य कार्यक्रम पनि भयो । “पछि त्यसलाई निरन्तरता दिन सकेनौं,” उनी सुनाउँछन्, “विदेश जाने, बस्ने, पैसा कमाउने उद्देश्य कहिल्यै थिएन मेरो । यहीँ जे सकिन्छ, त्यही काम गर्ने सोच थियो । अप्टिमिस्ट क्लब अमेरिका जान खोलिएको संस्था थिएन ।”

प्रशान्तको सबैभन्दा बलियो कुरा भनेको उनको साथीहरूको सर्कल हो । उनको पेसै यस्तो हो, जहाँ धेरै मान्छे भेट्नुपर्छ, गफिनुपर्छ, हिँड्नुपर्छ, डुल्नुपर्छ । अहिलेको ठाउँमा पुग्न पनि उनले साथीहरूको दह्रो साथ पाएका छन् । ‘कान्तिपुर’सँग जोडिन सहयोग गर्ने तारानाथ दाहाल थिए । सुधीर शर्मा ‘नेपाल’को सम्पादक भएपछि उनलाई पनि ‘हिमाल’बाट त्यहीँ बोलाए । उनी ‘नेपाल’ साप्ताहिकको सहायक सम्पादक भएर काम थाले ।

सम्बन्धलाई राम्ररी ‘मेन्टेन’ राख्न जानेका छन् प्रशान्तले । आफ्ना कमजोरीमध्ये घोत्लिँदा उनी आफैँलाई एकदम छिटो रिसाउने ठान्छन् । अरूले देख्दाचाहिँ उनी कुशल सम्पादक हुन् । तर, आफूलाई ‘ब्याड म्यानेजर’ ठान्छन् उनी ।

समाज एकदमै ध्रुवीकृत भएको हुँदा उनले माओवादीलाई गाली गर्दै लेख्दा कांग्रेस खुसी हुने, कांग्रेसलाई गाली गरेर लेख्दा एमाले र माओवादी खुसी हुने प्रवृत्ति छ । भन्छन्, “हामी केही कुरालाई एकदम स्वतन्त्र भएर लिनै सक्दैनौँ, पत्रकारिता एब्सोलुट टर्ममा हुँदैन । तटस्थ पत्रकारिता हुँदैन, पक्ष पत्रकारिता हुन्छ । हामीले सही कुरा बोल्दा एक न एकको पक्ष त लिनै पर्‍यो नि !”

सफल मान्छेको पछाडि मेहनेती टिमको खुब ठूलो भूमिका हुन्छ । प्रशान्तका लागि पनि उनको टिम गजबको छ । उनी आफूलाई ‘एज अ म्यानेजर’ राम्रो मान्दैनन् । आफ्नो नराम्रो बानीको कुरा गर्दा उनले सुनाए, “अहिले भर्खरै म झडङ्गै रिसाइदिन्छु । केही कसैलाई ड्याङ्गै भनिदिन्छु । तर, मनमा पाप पालेर भन्दिनँ ।”

उनीसँग काम गरेका सहकर्मीलाई पनि हाकिमको यो कुरा सही लाग्छ । अफिसमा मात्रै होइन, घरमा पनि उनी एकदम ‘रियाक्टिभ’ हुन्छन् ।

पाठकहरूले कहिलेकाहीँ भनिदिन्छन्, ‘नेपाल’ म्यागजिनले कहिलेकाहीँ साह्रै कडा लेख्छ । यस्तो कडा विषय उनले एक्लैले उठाउने निर्णय गर्दैनन् पनि ।

यद्यपि, देशकै निकै गम्भीर खालका इस्यु उठाउनु पर्दा प्रकाशकसँग सल्लाह हुन्छ कि हुँदैन ? वा दबाब आउँछ कि आउँदैन ?

“गम्भीर इस्युमा सल्लाह त पक्कै हुन्छ । तर दबाबैचाहिँ प्रकाशकबाट आउँदैन,” भन्छन्, “इस्यु रोज्ने काममा म रिपोर्टर र डेक्सका साथीहरूसँग पनि सल्लाह गर्छु । कभर बनाउँदा, हेडलाइन राख्दा गफगाफ हुन्छ नै ।”

सम्पादकहरू भिटो प्रयोग गर्छन्, तर सधैँ होइन । प्रशान्तले पनि त्यो गरेका छन्, एकदम कम । जस्तै, कुनै विषयमा आफैँ मज्जाले ‘कन्भिन्स’ हुँदा तर साथीहरू असहमत हुँदा । यद्यपि, रिपोर्टरलाई स्टोरी ‘असाइन’ गराउँदा चाहिँ ऊ कन्भिन्स हुनैपर्ने कुरामा जोड त छ यी सम्पादकको ।

स्कुप

प्रशान्तले आफ्नो करिअरमा गरेको गज्जबको रिपोर्टिङ एउटा थियो । ग्लासगो नामक अमेरिकी औषधि कम्पनीले औषधि बनाएपछि नेपालमा परीक्षण गर्ने मनशायसाथ आयो । त्यसमा अमेरिकी सेना पनि सम्बद्ध थियो । ललितपुरमा उक्त परीक्षण गर्ने पक्का भएछ । तर, पछि स्थानीयले कताकताबाट थाहा पाएर विरोध गरेपछि ऊ पछि हट्यो । तर, अवस्था यस्तो गम्भीर आयो भने तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर राणामार्फत् नेपाली सेनामा परीक्षण गर्ने पक्का भएछ । त्यो गम्भीर कुरा थियो । प्रज्ज्वलले बदमासी गरेको थाहा भयो । आफूलाई डिस्टिल वाटरको खोप लगाएर नाटक उनले सैनिकलाई आश्वस्त पारेछन् । राष्ट्रको सेनाध्यक्षले गरेको त्यस्तो बदमासी सैनिकहरूलाई थाहा हुने कुरा पनि भएन । गुपचुप रूपमा सेनालाई खोप त लगाइएछ तर भाग्यवश् कसैलाई केही भएनछ । मेडिकल जर्नलबाट समाचार पढेपछि त्यसैलाई पछ्याउँदै गए र त्यस्तो स्कुप मारे उनले । 

सम्पादक भएर पनि लेख्न मनै नगर्ने कमै सम्पादकमध्येका एक हुन् उनी । कम्तीमा सम्पादकीय त लेख्नु नि, होइन ?

उनी भन्छन्, “अखबारै एउटा विचार हो, सम्पादकीय जरुरी नलागेर नलेख्ने गरेको हो ।” 

अहिलेको पत्रकारिता

०६० चैतबाट ‘नेपाल’मा काम थालेका हुन् प्रशान्तले । यतिन्जेल प्रिन्ट मार्केटलाई अनलाइनले धक्का पक्कै दिएको छ । पाठकको पहिलो प्राथमिकतामा म्यागजिन अवश्य पनि पर्दैन । दोस्रो रोजाइमा पर्ने म्यागजिन भए पनि जबसम्म अनलाइनले दिने कन्टेन्टभन्दा फरक दिन सकिन्छ, तबसम्म यो बजारमा केही धक्का नलाग्ने विश्वास प्रशान्तको छ । आफू आबद्ध म्यागजिन विज्ञापनमा कमजोर भएको स्वीकारोक्ति पनि छ उनको । नेपाली पत्रकारिता राम्ररी बुझेका छन् उनले । त्यसैले यिनलाई पत्रकारिताको ‘प्रोज् एन्ड कन्स’ राम्ररी थाहा छ । यिनी पत्रकारितामा आबद्ध हुँदा यो क्षेत्रले राम्ररी पुग्ने गरी, जीवन धान्ने गरी दिँदैन जस्तो लाग्थ्यो ।

“त्यस्तो अवस्था अहिले छैन । मलाई पत्रकारिताले धेरै दियो । कैलालीबाट आएको मान्छे मलाई काठमाडौँमा जीवीकोपार्जन गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो । तर, मैले पाएँ । अवस्था परिवर्तन भएको छ,” उनले आफ्नो अवस्था सुनाए । नेपाली प्रेसले राष्ट्रलाई ठूला–ठूला जोखिमबाट जोगाएको जस्तो पनि लाग्छ प्रशान्तलाई । 

“नेपाली प्रेसको कमजोरी पनि छ । जस्तैः हामी धेरै सहरिया पो भयौँ कि ? सहरलाई मात्रै छोयौँ कि ?” उनी भन्छन्, “नेपाली पत्रकारिताले ‘तरकारीवाली’को फोटो छाप्ने हो भने अरू गम्भीर इस्यू कता जान्छन् ? कसले लेखिदिने ? यो उत्ताउलोपन हो ।”

तर, प्रशान्तलाई लाग्छ– अहिलेको पत्रकारिता ‘रिसोर्स सेन्ट्रिक’ छ । त्यसैले पनि होला प्रशान्तहरू सहर–केन्द्रित भएका ।

सामाजिक सञ्जाल

अन्य सम्पादकहरू प्रायः सामाजिक सञ्जालमा गमक्क परेर बस्ने, औपचारिक मात्रै हुने गरेको भेटिन्छ । तर, प्रशान्त भने अनौपचारिक हुन कत्ति पनि धक मान्दैनन् । उनले आफ्नो ट्विटर अकाउन्टबाट विरक्तलाग्दो गरी आफ्नै म्यागजिनको मात्रै ट्विट ठेल्दैनन् । बेलाबेला अनौपचारिक गफ गर्ने, नेतालाई मज्जाले छेड हान्दै ट्विट गर्ने गर्छन् । साथीभाइसँग खुलेर हाँसीमजाक गर्छन् ।

र, फेरि सम्पादक

पत्रकारितामा जमेर काम गर्ने जोकोहीलाई जीवनमा एक न एकफेर दैनिक पत्रिकाको प्रधानसम्पादक हुने रहर त मनको नेपथ्यमा हुन्छ नै । प्रशान्त देशकै प्रतिष्ठित म्यागजिनका प्रधानसम्पादक त भइसके । अब, दैनिकको प्रधानसम्पादक हुने रहर के छ ?

प्रश्नले उनलाई अकमक्क पार्‍यो एकछिन ।

उनले उत्तर भने । उत्तर सकिएपछि थपे, “प्लिज यसलाई अफ दि रेकर्ड राखिदिनु होला है ।”

Twitter @CPAryal
 

तपाईंको मत