site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पारिजातका किस्सा
Sarbottam CementSarbottam Cement

दार्जिलिङको स्वच्छन्द हावाले उनलाई वायुपंखी बनाएको थियो । सानैदेखि खुब उटपट्यांग गर्नु पर्ने । भीरपाखा, सल्लाघारी चहार्नुपर्ने । गुराँसरको पत्रदल र भोटेपान खोजीखोजी खानु पर्ने । उनको बदमासीले सम्पूर्ण परिवारलाई आजित थियो ।

नेपाली साहित्यको सर्वकालीन नाम पारिजातका उट्पट्याङबारे सोध्ने हो भने बहिनी (सुकन्या बाइवा)ले दसौं ‘किस्सा’ सुनाउँछिन् । हामीलाई पनि सुन्न मन भयो, गयौं । कुराकानीको सुरुवातमै सुकन्याले भनिन्, “उनी स्वच्छन्द स्वभावकी थिइन् । एड्भेन्चरस काम जे पनि गर्नुपर्ने । आजभोलि त्यस्तो हर्कत गर्नेलाई ‘टमब्वाइ’ भनिन्छ ।”

त्यसपछि उनी बुढ्यौली मुजा पार्दै हाँसिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हुन त ‘धूपी सल्ला’ र ‘लालीगुराँसको फेदमा’ भन्ने आत्मकथात्मक निबन्धमा पारिजात स्वयम्ले आफ्ना बाल्यकालका उट्पट्यागंहरूको कलात्मक चर्चा गरेकी छन् । सुकन्याले समेत दिदीका बदमासीहरूको चर्चा आलेखहरूमार्फत गरेकी छन् ।

सुकन्यासँग विगतका अनेक किस्सा छन् । दिदीका उटपट्यांगका कथा हालिरहँदा त उनी झन् बाल्यकालमै पुगेझैं चञ्चल हुन्छिन् । उनको अनुहारको भंगिमा र लयले हामीलाई आकर्षित गर्छ । भाका पनि उही दार्जिलिङे । हामी फेरि पनि दौतरीझैं गफिन्छौं ।

Global Ime bank

“दिदी हठी थिइन् । हतपत कसैसँग नमिल्ने । उनलाई छुच्छी, घमण्डी भन्थे सबैले । सानोमा धेरै बोल्दैनथिन्...”

सुकन्या एकछिन टोलाइन् । विगतले उनको प्रौढ अनुहार कुतकुतायो र निमेषमै मुस्कुराइन् । उनको मनमा पारिजातले गाँजा तानेको दृश्यचित्र घुमिरहेको थियो । आफ्नै लवजमा सुनाइन्–

० ० ०

हाम्रा टोलका दाइहरू र काकाका छोराहरू बसेर गाँजा खान्थे । दिदीले पनि एकचोटि गाँजा खाइदिइछन् । नशा लागेपछि आएर बङ्लङ्ग ओच्छयानमा लडिछन् । के गरेको भनेर सोध्दा त गाँजा तानेको पो भन्छिन् । स्वाँस्वाँ गर्दै सास माथिमाथि तान्छिन् । म एक्लै थिएँ घरमा । एकछिन साह्रै डराएँ । पछि आफैं भन्छिन् ‘जा, बट्टु दाजुलाई बोलाएर ल्याओ ।’ बट्टु दाजु हाम्रो दाइको साथी । उनी हामीभन्दा निकै तल बस्थे । म दौडेर उलाई बोलाउन गएँ । के भएको भनेर सोधे । दिदीले गाँजा खाएको भनें । उनी त मुसुक्क पो हाँसे । मलाई घर पठाए । पछि आएर गालेको कागती खुवाइदिए । मलाई हिजैजस्तो लाग्छ । बट्टु दाजुको बांगो मुस्कानले मलाई अझै पनि एक्लैमा हँसाउँछ ।

पाँच वर्षको उमेरमै दिदीलाई छिमेकीले कोदोको जाँड खुवाइदिएको थियो । म सानै थिएँ त्यतिबेला । दिदीको हाउभाउ अलिअलि सम्झिन्छु । उनी जाँड खाएर आएपछि मरीमरी हाँसिन् र बुंग खाटबाट लडिन् । त्यो घटनालाई लिएर बुवा र दिदीबीच भयंकर झगडा पर्‍यो । म यो घटना कहिल्यै बिर्सन्नँ ।

० ० ०

आफूले भनेको कुरा कसैले मानेन एकदमै रिसाउने बानी थियो दिदीमा । ठाडै बाझ्थिन् । कसैले हामीलाई पिट्यो भने बुवाले उल्टै हामीलाई नै पिट्नुहुन्थ्यो । पिटाइ खाने ठाउँमा किन गएको भनेर बुवाले हाम्रै गालामा चड्कन लगाउनुहुन्थ्यो । त्यही भएर पनि होला– दिदीमा आफ्नो लागि आफैं लड्ने क्षमता विकास भएको ।

अर्काको घरमा काम गर्नेलाई साथी बनाइहाल्ने र घरमालिकले अलि अत्याचार ग¥यो भने उनीहरूलाई भगाएर अर्को ठाउँमा लैजाने गर्थिन् दिदी । सबै बन्दोबस्त मिलाउँथिन् । पहिलेभन्दा राम्रो तलबमा काम लगाइदिन्थिन् । यो विद्रोही स्वभावले नै उनलाई साहित्यमा पनि विद्रोही भनेर चिनायो ।

हामी बस्ने बंगलाको ट्वाइलेट अलि बाहिर टाढा थियो । अनकन्टार जंगलमा भन्दा पनि हुन्छ । राति राति दाजु र म शौचालय जान डराए पनि दिदी त एक्लै गइहाल्ने । केहीसँग, कोहीसँग नडराउने ।

० ० ०

दिदी स्कुल पढ्दा पनि धेरै बोल्दैनथिन् । गम्भीर स्वभावकी थिइन् । विद्यार्थीमा पनि तगडा थिइन् । उनले पढेको देख्न पूर्णिमा कुर्नुपथ्र्यो । कक्षाका किताब पढ्नमा साह्रै अल्छी थिइन् तर त्यसबाहेकका सबथोक पढ्थिन् । पाएसम्मका उपन्यास र किताब पढ्ने तर कोर्स बुक नपढेरै पनि पास हुने गुण थियो उनमा । मिसिनरी स्कुल (जहाँ पारिजातले विद्यालय शिक्षा आर्जन गरिन्)लाई नेपाली गल्र्स हाई स्कुल भन्थे । दिदी ७ कक्षा फेल भएपछि पढाइ छोलिहालिन् । त्यसअघि उनले खुब स्कुल फेरिन्, थुप्रै स्कुल चहारिन् ।

पढाइलाई छाड्ने हो भने हरेक कुरामा उनको मन बस्थ्यो । नाचगान, गीत खुब मनपथ्र्यो । २ कक्षामा पढ्दा एकजना गुरुआमा थिइन् । उनको नामै ‘श्रीमती क्रिश्चियन थियो । साह्रै पिट्थिन् । दिदीले र मैले उनको हातबाट खुब पिटाइ खायौं । 

दिदी भने कडा अनुशासन मन नपराउने । उनी त हावाजस्तै स्वच्छन्द । चित्त नबुझेको कुरा मुखमै भनिदिने । उनीसँग मान्छेहरू खुब डराउँथे । घुम्न पनि एकदमै सोखिन थिइन् । सानै हुँदा कवितामा संगीत हालेर हामीलाई सुनाउँथिन् ।

बुबाले सबैभन्दा धेरै माया दिदीलाई नै गर्थे । उनी सानैदेखि एकदमै रोगी थिइन् । गाउँमा पखाला, आऊँ, आँखा पाक्ने रोग जे चले पनि उनैलाई पहिले छोप्थ्यो । त्यही भएर पनि उनलाई सबैले माया गर्थे । उनले जे भने पनि पुर्‍याइदिने । शानका साथ हुर्कायो परिवारले । दशैं या अन्य महत्वपूर्ण चाडमा पनि उनले त्यागेका लुगा लगाउनुपथ्र्यो । बुवाले लुगा ठूलो सिलाइदिनुहुथ्यो । भन्नुहुन्थ्यो, “पछि सुकन्याको लुगा विष्णुले लगाउँछे, अनि विष्णुको लुगा सुकन्याले ।” दिदी अग्ली थिइन्, उनलाई मेरो लुगा ठिकै हुन्थ्यो तर उनको लुगा मलाई कसरी ठीक हुनू ?

बुवा भने ब्रिटिसजस्तै कडा हुनुहुन्थ्यो । साह्रै अनुशासन खोज्नुहुन्थ्यो । दिदीलाई डाक्टर बनाउने ठूलो इक्छा थियो उहाँको । तर, दिदीलाई सानैदेखि पढ्ने र पत्रिका निकाल्ने रहर थियो ।

० ० ०

दार्जिलिङमै हुँदा बुवाले काकाका छोरा (दाजु) र भाउजूलाई हामीसँग राखिदिनुभएको थियो । ती दाइ–भाउजू भने स्वार्थी थिए । हामीलाई भोक लागेको बेला कहिल्यै खान दिँदैनथे । आफूलाई भने बजारबाट खाजा ल्याउँथे । 

एकपटक दिदीलाई रिस उठेछ । भनिहालिन्, “तिमीहरूले हमीलाई भोक लागेको बेला खाना पनि नदिने अनि हाम्रै बुवाको पैसामा मोज गर्ने ? जाऊ गइहाल ।” 

त्यसपछि दाइ–भाउजूलाई उनले घरबाटै निकालिन् । अनि आफूले सकिनसकी खाना पकाएर हामीलाई खुवाइन् ।

० ० ०

त्यतिबेला मितीनी लगाउने रमाइलो चलन थियो । दिदी र मैले पनि मितीनी लगायौं । उनका र मेरा मितीनी सबै एकै हुल ।

आईए हामीले सँगै पढयेौ । उनी पास भएपछि बुवाले पत्याउनै सक्नुभएन । उहाँले दोहोर्‍याएर रिजल्ट हेर्न पठाउनुभएछ । दिदी कत्ति पनि नपढ्ने । बुवालाई अचम्म लागेछ । रिजल्ट हेर्ने मान्छेलाई भन्नुभएछ, “मुला, सुकन्याको रिजल्ट हेरेर आइस् ।”

पछि ‘क्रस भेरिफाई’ भयो । दिदी पास भएकै रहिछन् । बुवा लाजले पानीपानी हुनुभयो ।

० ० ०

एकपटक जाडोमा बुवाले हामीलाई कश्मिराको नीलो आकोश रंगको फ्रक बनाइदिनुभयो । लगाएर धेरै पुरानो पनि भएको थिएन । त्यो बेला हामी दिनभरि पुतली खेल्ने । पुतली खेल्नलाई दिदीले त्यो फ्रक च्यात्न अह्राइन् । मैले च्यातिनँ । त्यसपछि उनले घ्यार्र च्यातिन् । मैले पनि आफ्नो त्यति राम्रो फ्रक च्यातें । हामी दुवैले पुतली बनाएर खेल्यौं । पछि त्यो फ्रकको टुक्रा कहाँ–कहाँ पुगेछ । बुवाले देख्नुभएछ । अनि रिसाएर सोध्नुभयो, “तिमीहरुलाई सिलाइदिएको कश्मिराको जामा खोई ? एकएक टुक्रा टिपेर ल्याओ ।”

त्यसपछि बिहानै म र दिदी सिस्नुघारी, भीरतिर कताकताबाट बटुलेर ल्यायौं । त्यो क्षण खुब सम्झाना आउँछ मलाई ।

० ० ०

९ कक्षातिर पढ्दै दिदीले उपन्यास लेखेकी थिइन् । उनले त्यतिबेला लेखेको उपन्यासको नायकको नाम धवल राखेको मलाई सम्झना छ । त्यतिबेला हामीले तिलश्मी खालको डिटेक्टिभ किताब त १०—१५ वटा साटासाट गथ्र्यौं । लभ सिरिज सोहनी—महिवाल, लैला—मजनू टाइपका खुब पढियो । साथीहरू पनि त्यस्तै थिए । पछि दिदीले अलि स्तरीय साहित्य पढ्न र लेख्न थालिन् ।

खुब पढ्थिन् तिनी । मैले पनि उनको लहैलहैमा खुब उपन्यासहरू पढें । कुशवाकान्त, प्यारेलल आवारा, ससधर, गोविन्द सिंह... कति हो कति पढियो । कुशवाकान्तको किताब त टोलमा आउनै नहुने, खोसाखोस गरेर पढिन्थ्यो । बुवाले पिट्नुहुन्छ भनेर बाहिर गएर किताबमा लुकाएर पढ्थ्यौं ।

दिदीले थुप्रैको लभलेटर लेखिदिन्थिन् । त्यतिबेला केटाहरूले लभलेटर पहिलेदेखि लेखिएका रेडिमेडै राख्थे । यसो केटी मन प¥यो कि चिठी दिइहाल्ने । दिदी राम्री थिइन् । दार्जिलिङमा त्यतिबेला सानैदेखि लभ गर्ने चलन थियो । ३–४ कक्षा पढ्दा मन पराउने, लभ गर्ने चलन थियो । बरु आजभोलि त्यो चलन बल्ल यता सुरु भएको छ ।

एकपटक काठको खराउ किन्न एउटा मुसलमानसँग गयौं । खराउ लिएपछि पौसा सोध्यौं । उसले भन्यो, “मैले कहिल्यै तिमीहरूसँग पैसा मागेको छु ?”

पछि त उसैले दिदीलाई चिठी पढाएछ । 

दिदीलाई थुप्रैले चिठी पठाउँथे । उनले एउटा टिनको बाकसमा सबै लभलेटर जम्मा गरेर राख्थिन् । बेलाबेला निकालेर हामी पढ्थ्यौ । चिठी पढ्दै रातभर िहाँस्थ्यौं ।

एकदिन दाजुले सबै चिठी देख्नुभएछ, च्यातिदिनुभयो ।

० ० ०

एकपटक दिदीले लेखेको रचना ‘बीसौं शताब्दी एउटा गल्लीमा’ जापानी भाषामा अनुवाद भएर छापिएछ । जापानीले सबै लेखकलाई २–२ हजार दिएको छ भनेर कसले सुनाएछ । त्यसपछि त दिदीले तुरुन्तै फोन उठाएर सम्बन्धित व्यक्तिलाई फोन गरेर सोधिछन्, “सबैलाई दिनु भयो रे पारिश्रमिक, मेरो खोइ ?”

उताबाट उनी पनि जंगिएछन् क्या रे, दिदीले भनिन्, “धेरै नकराउनुस् । खुरुक्क मेरो पैसा लिएर आउनुस्, नभए भोलि छापामा जान्छ यो कुरा ।”

त्यसपछि दिदीले लेखको पारिश्रमिक पाइन् ।

० ० ०

साहित्यकारहरूसँग मिटिङ हुँदा कतिबेला चर्काचर्की हुने गथ्र्यो । म ढोकामा उभिएर बस्थें– कसैले हानिदियो भने बचाउनु त पर्‍यो नि भनेर । मिटिङबाट सबै रिसाएर हिँड्थे । उनीचाहिँ खाटमा बसेको बस्यै गर्ने । दिदी भन्थिन्, “उस्तै पर्‍यो भने एक खुर्पा त कसो नहानुँला र यो हातले ।” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १०, २०७४  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC