site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जोहोरबारु एक्सप्रेस–२
Ghorahi CementGhorahi Cement

बसले घ्याँच्च ब्रेक लगाउँदा सबैजना ब्युँझियौं ।

“लु होस्टेल आइपुगेजस्तो छ, झरौं,” कसैले अड्कल काट्यो ।

“एकछिन, एकछिन गाडी पूरै रोक्किइसकेको छैन,” कसैले सावधानी दर्शायो ।

Agni Group

मैले गोजीबाट मोबाइल निकालेर समय हेरँे– रातिको १० बजेर केही मिनेट गएको थियो । हामी सबै लाइन लागेर बसबाट उत्रिँदै डिक्कीबाट आ–आफ्ना झोला निकाल्न थाल्यौं ।

पीटीपी होस्टेल परिसरमा बलेका चहकिला बत्तीहरू, लोडसेडिङको चरम मारले थिचेको नेपालको अर्धउज्यालो तिहारलाई जिस्क्याउन तल्लीन देखिन्थे ।

Global Ime bank

“तिररर्र्र...., तिर्रर्रर्र....!” कसैले बजाएको सिठीको आवाज हाम्रा कानमा ठोक्किएपछि आँखा चनाखा पार्दै त्यो आवाज आएतिर हे¥यौं । 

“कस्तो यार भाइ तिमेरु, एउटा झोला निकाल्न नि यत्रो बेर लाग्छ ?” 

त्यो पराई भूमिमा कोही नेपालीले होस्टेलको गेटतिर देखाउँदै हामीलाई अह्रायो, “छिटो निकालेर त्यो गेटबाट भित्र पसेर ऊ त्याँ पर लाइन लागेर बस ।” 

झोला बोकेर सबैजना होस्टेलको ‘इमर्जेन्सी एसेम्ली’मा लाइन लाग्यौं । हामी सबै करिब दश पङ्क्तिमा मिलेर लाइन लाग्यौं । 

आर्मी कट कपाल काटेको, औसत उचाइँ र खिरिलो ज्यानको ऊ हामीले झोला निकाल्न ढिलो गरेको निहुँमा अझै मुर्मुरिइरहेको थियो । उसले कटराइजको खैरो पाइन्ट र देब्रे छातीतिर लोगोसहित ‘फ्लाक्सट्रोनिक्स’ लेखिएको रातो टिसर्ट लगाएको थियो । त्यही कम्पनीको नामाङ्कित फितासहित गलामा भिरेको परिचयपत्रमा अंग्रेजीमा उसको नाम लेखिएको थियो– विजय शर्मा ।

होस्टेलको सम्पूर्ण आचारसंहिताबारे प्रस्ट्याइसकेपछि विजयले सुझाए, “आजको रात सबैले यही डन्लपमा कटाउने, भोलि बिहान भएपछि म आएर सबै बन्दोबस्त मिलाउँछु ।” 

हामी पातलो प्लास्टिकले मोडिएको एक–एकवटा डन्लप र झोला बोकेर विजयको आदेशअनुसार आ–आफ्ना कोठातिर लाग्यौं । हाम्रो भागमा परेको पाँच तलामाथिको कोठाभित्र आएर स्विच खोल्यौं । झप्याक–झुपुक नगरी एकैपटकमा ट्युबलाइट बल्यो । ट्युबलाइटको उज्यालामा देख्यौं– हामीमध्ये केही साथीहरू होस्टेलका फरक–फरक ब्लकमा विभाजित भइसकेछौं ।

“कस्तो भोक लागो यार,” कसैले सोध्यो, “याँ होटल कता होला हँ ?” 

“तलतिर होला,” जम्मा चारवटामध्ये फराकिलो कोठामा डन्लप बिछ्याउँदै कसैले भन्यो, “एकछिन पख न पहिला यो डन्लप त बिछ्याई सकौं ।”

केही बेरमा हामी कोठा तलतिर लाग्यौं ।

करिब १२ बजेको मध्यरातमा पनि सारा संसार सुतिसकेको नहुँदो रहेछ भन्ने गजबका उदाहरण थिए, त्यहाँका क्यान्टिन र पसल । पसलको अग्रभागमा देखिन्थे, निकै मेहनतसाथ पुछेर राखिएका ताजा फलफूल र तरकारीहरू ।

हामी क्यान्टिनमा खाना खान पस्यौं । खाना अर्डर गर्दा इन्डोनेसियन साहुनीले सोधिन्, “आज दीपावली होइन ? खान पाएनौ कि क्या हो तिमीहरूले ?”

उनलाई हामी भर्खरैमात्र यहाँ आइपुगेको बताउँदै शायद हामी सबैले सम्झियौं– केही घण्टा अगाडिमात्र यहाँ आइपुग्न सकेको भए मलेसियामा पनि तिहारको झिलिमिली देख्न पाइने रहेछ !

क्यान्टिनमा हामीसँगै यहाँ आएका र अरू नेपालीहरू पनि बाक्लै देखिन्थे । उनीहरूमध्ये केही दिउँसो भएको सांस्कृतिक कार्यक्रममा फलानाको डान्स र ढिस्कानाको गजलको प्रशंसा गरिरहेका सुनिन्थे ।

गफगाफका क्रममा यहाँका लागि हामी नयाँ भएको र ऊ पुरानो भएको गर्वबोधले कोहीकोहीको अनुहार उज्यालो देखिन्थ्यो भने कोहीकोहीको मुस्कानमा ओभरटाइम नचल्ने डिपार्टमा आफूले गर्नुपरेको काम र आउने तलबको लघुताभास झल्किन्थ्यो । त्यहाँ बसेको केहीबेरमै हामीलाई नेपालका विभिन्न जिल्लाका साथी/दाइहरूले धेरै कुरा सम्झाइबुझाइ गरे । धेरैको सुझाव प्रायः एउटै हुन्थ्यो– मलेसियामा सबैथोक गर्नू तर लभ गर्ने काम नगर्नू ।

कसैले भन्नै भ्यायो, “बैंक कार्ड नै केटीले बोक्न माग्छन्, आफ्नो स्यालरी आउँदा उनैले नै खटाई–खटाई पैसा दिन्छन् ।”

अर्कोले थप्यो, “अनि केले खानु, के घर पठाउनु ?”

समग्रमा सबैको सारांश थियो– मलेसियामा केटीसँग लभ परे त्यो छुट्नै नसक्ने किसिमको हुन्छ र त्यसले १२–१५ वर्ष अल्झाएर यतै राख्छ ।

खाना खाइसकेपछि दिउँसो विमानस्थलमा मुस्ताफाले दिएको सय–सय रिङिटबाट पैसा तिरेर हामी सबैजना कोठामा आएर सुत्यौं ।

मध्यरातको अर्धसन्नाटामा सिलिङ फेनको एकतमासको घुमाइ र ओल्टेकोल्टे फर्किंदा प्लास्टिकले मोरेको डन्लपबाट निस्किएको चट्याक–चुटुक आवाजबीच हामी निदायौं ।

“अहिले १० बजे सबैजना हिजो राति लाइन लागेको ठाउँमा आउने ।”

उज्यालो भइसक्दा पनि हाम्रा आँखा उघ्रिन सकेका थिएनन् । कामदार परिचयपत्रका लागि फोटो खिचाउने कारण बताउँदै विजयले थपे, “ब्याच कार्डका लागि फोटो खिच्नुपर्छ, ठिक्क १० बजे तल आइपुग्ने ।”

केही बेरमा हामी उठ्यौं । राति खाएको छ भन्दैमा भोकले एकाबिहानैदेखि सताउन कहाँ छोड्थ्यो र ! उसले हाम्रा पेटमा नियमी पण्डितझैं आफ्नो धर्म सम्हालिरहेको थियो ।

तयार भएर क्यान्टिन निस्किई खाजा खाइवरी विजयले तोकेकै समयमा हामी फोटो खिच्न पुग्यौं । 

“क्यामेराको लेन्सतिर सीधा हेर्ने है !” विजयले सचेत गराए, “यताउति हेर्दा फोटो बाङ्गो आउँछ ।”

सबै जनाले एकएक गर्दै फोटो खिचियो । ब्याचकार्ड तयार भएर भरे साँझ आउने र योबिना कम्पनीमा पस्न नपाइने नियम रहेको बताउँदै हामीलाई विमानस्थलसम्म लिन आउने केटीले आफ्नो ब्यागबाट झिकेर एक–एक थान कागज थमाउँदै भनिन्, “सबैले यसमा हस्ताक्षर गर ।” 

अंग्रेजीसाथै उल्था गरिएको त्यो सहमतिपत्रमा नेपाली अक्षरमा लेखिएको थियो ः
– नर्मल स्यालरी बेसिक ६ सय रिङिट हुनेछ । 
– कम्पनीमा सम्बन्धित लिडर, सुपरभाइजरले अह्राएअनुसार काम गर्नुपर्नेछ ।
– होस्टेलभित्र मादक पदार्थ ओसार–पसार तथा सेवन गर्न पाइनेछैन । 
– सबै धर्मप्रति समान भाव राख्नुपर्नेछ ।
– महिलालाई गर्भाधान गराउन पाइनेछैन ।
– कम्पनी, होस्टेलमा कुनै किसिमको टे«ड युनियन गठन गर्न पाइनेछैन । 

सहमतिपत्रमा हामी सहमत हुन सकेनौं । किनकि, त्यहाँ लेखिएको थियो– नर्मल स्लालरी बेसिक ६ सय रिङिट हुनेछ !

काठमाडौंको म्यानपावरले १२ सय बेसिक स्यालरी तोकेर यहाँसम्म ल्याइपु¥याएको हामीलाई अहिले आएर ६ सय बेसिक स्यालरी भन्ने थाहा दिनु अचम्ममात्र नभएर अवाञ्छनीय पनि थियो ।

हामीले हस्ताक्षर गर्न आनाकानी गरेको देखेपछि केटीले भनिन्, “नेपालमा भनेर हुन्छ ? म्यानपावरले त जे पनि भन्छ नि, म्यानपावरलाई भनेर स्यालरी बढ्छ भने नेपाल गएर म्यानपावरलाई नै भन !”

उसको उच्चाटलाग्दो प्रतिक्रियाले हामी अलमल्लमा प¥यौं । किनकि, तीन वर्षको करारमा जोहोरबारु पुगेका हामी पहिलो बिहानमै नेपाल फर्किएर म्यानपावरसमक्ष गुनासो पोख्ने मनस्थितिमा थिएनौं ।

हामीले सहमतिपत्रमा हस्ताक्षर गर्न ढिलाइ गरेकोमा विजयको अनुहारमा आक्रोश देखियो ।

“ए भाइ, यो कम्पनीले काम भए पनि नभए पनि दिने नर्मल बेसिक स्यालरी हो, बेसिक स्यालरी होइन,” रिसाएको स्वरमा विजयले बुझाए, “जनवरीदेखि मलेसियाभरि नै बेसिक स्यालरी ९ सय रिङिट हुँदैछ, थाहा छैन तिमेर्लाई ?”

यसपछि हामी सबैले सहमतिपत्रमा हस्ताक्षर ग¥यौं । 

खिचिएका हाम्रा अनुहार क्यामेरामा र हस्ताक्षर गरिएका सहमतिपत्र झोलामा राखी उनीहरू जिप चढे । एकदमै बुलन्द आवाज निकाल्ने र एकैपटकमा ह्वात्तै पिकअप लिन सक्ने शक्तिशाली जिपमा उनीहरू कतै लागे ।

“ताल परो भने २० हजार त म नेपालमै कमाउँथेँ नि । मलेसिया आ’र नि त्यत्ति नै कमाउँदा के फाइदा भो र !” हामीमध्ये कसैले भित्रैदेखिको रिस पोख्यो, “कस्ता चोर हुँदा र’छन् यी म्यानपावरहरू । साला नेपालमा चैं १५ सय, २ हजार कमाइ हुन्छ भन्यो । याँ चैं त्यै ६ सय अरे ! साला अर्कालाई ठगेर खान पल्केका ब्वाँसाहरू !”

हामी त्यही छेउँको चउरीमा थचक्क बस्यौं । कसैले अघि चुरोट किन्न भ्याइसकेछ । कलेजी रंगको बट्टामा सेतो अक्षरले चुरोटको नाम लेखिएको थियो– क्यानयोन । बसेकै ठाउँमा केही बट्टा चुरोट सल्किए, तानिए । हामीभित्रको असन्तुुष्टि उसैगरी हावामा उड्यो शायद ! र, बादल बनेर आकाशसम्मै पुग्यो । एकैछिनमा बादल कालो भएर आयो ।

“पानी पर्न आँटेजस्तो छ यार, रुमतिर जाऔं,” कसैले कसैको अनुभूति सुनायो, “मलेसियामा त पानी नपरेको दिनै हुन्न रे !” नभन्दै झररर्र झरी बर्सियो । हामी सबै भोलि भेट्ने वाचाका साथ कोठातिर लाग्यौं ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १०, २०७४  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC