site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सहिदमार्गमा दिलकुमारी
Ghorahi CementGhorahi Cement

दायाँ हात टाउकोभन्दा माथि लगेर मुठी उठाइन् अनि भनिन्, “सलाम ।”

बाटो काटेर बाँङ्ङेबाँङ्ङे लागेका कमरेड लालसिंह ‘चोर पक्रा’ परेपछि फरक्क फर्के । त्यसपछि हात मिलाए ।

“कम्रेट तपईंले नि बाटो काट्न थाले’सि के होला ?” पिठ्युँमा घोँगाले भरिएको डोको र घोँगामाथि भुरा बोकी घर फर्किरहेकी दिलकुमारीले भनिन् ।

Agni Group

भारी बोक्दा झुकेर हिँडिरहेको बेला देखेकी छैनन् भनी लालसिंहले बाटो काटेर जान लागेका थिए । दिलकुमारीको घरतिर लाग्दा टाढैबाट लालसिंहको आँखा ठोकियो—

फु गरे नि ढल्लाजस्तो खरले छाएको दुब्लो घर । भकारामा एउटा गोरु, एउटा बाच्छो, एउटा गाई र अर्को अलि ठूलो बहर बाँधिएको । झिँगाले आक्रमण गर्न थालेपछि प्रतिकारस्वरूप वस्तुभाउले पुच्छरको गति बढाएका । 

Global Ime bank

घरभन्दा दुई किलोमिटर तलबाट चुनबाङखोला आफ्नै सुरमा दाङ झर्दै थियो । 

आँगनमा स–साना भुरा मुखले ‘भुटुुटु’ गोली निकाल्दै एक–अर्कालाई ढाल्दै थिए । एकथरी गोलीले ढलेको अभिनय गर्थे भने एकथरीले हानेको । एकथरी सरकारी सेना बनेका थिए त अर्कोथरी लालसेना । 

टालेको कट्टु र टाँक फुस्किएको खैरो कमिज लगाएका भुराले बेलाबेला कासन गर्थे, “हतियार बुझाएर आत्मसमर्पण गर । तिमीहरू जनसेनाको घेरामा छौ ।” 

लालसिंह र दिलकुमारीले चुपचाप उभिएर हेरे । पतिलाई सम्झिइन् क्यार, दिलकुमारीले असजिलो अनुभूत गरिन् ।

बक्क परी हेर्दाहेर्दै लालसिंहको मुखबाट प्रश्न खस्यो, “लरै कोले जितो ?” 

“हाम्रो सेनाले,” एउटा भुराले भने ।

“हाम्रो सेना भनेको शाही सेना हो ?”

“तो ता राजाको सेना हो । हाम्रो त जनसेना हो ।” 

घोँगा भरेको डोको राखेपछि यसअघि खेलिरहेका भुराभुरीले दिलकुमारीलाई घेरे । कतिले गुन्यू समाए त कतिले गादो । र, डोकोमा घोँगासँगै आएको भुराले दूध खान कोसेकोसे गरे । 
भुराहरूले भन्दा अघि वस्तुभाउले टाउको माथिमाथि उठाएर माग राखे— घाँस खान पाउनुपर्ने र झिँगा आक्रमणबाट बच्न गोठभित्र जान पाउनुपर्ने ।

तिनका माग पूरा भए ।

सहिद, बेपत्ता, घाइते र तिनका परिवारलाई दिने जवाफ नभएपछि लालसिंह जस्ता कार्यकर्ता बाटो काट्दै हिँड्थे । तर, कहिलेकाहीँ फेला परिहाल्थे ।

नेताले त काठमाडौं र अन्य सहरमा आँखाकान लुकाइसकेका थिए । छक्कापञ्जावाल साना काँटीकै नेता पनि लिबाङ, घोराही, बुटवल, पोखरा, काठमाडौंतिर घर–घडेरी जोडेर हाइसोके भइसकेका थिए ।

उसो त उनले नै मनराजलाई कमरेड ‘राँको’ बनाएका थिए । धेरैलाई माओवादी कार्यकर्ता बनाएका थिए । तीमध्ये राँकोजस्तै धेरै त सहिद भइसकेका थिए । कति अंगभंग भएर झिँगा धपाइरहेका थिए त कति बेपत्ता ।

केही समयपछि घाँस बोकेर भर्खरकी एउटी केटी पुगिन् । उनै थिइन्, मनराजपुत्री ।

राँको सहिद हुँदा यिनी चार वर्षकी थिइन् भने यसअघि कासन गर्ने कमान्डर डेढ वर्षका । अहिले छोरी १३ पुगिन्, छोरो १० ।

“यिन्लई स्कुल पठान नि सकिनँ । यिन्सतका पाँच कलासमा गइसके भन्चन्,” पढाउन नसकेकोमा थक्थक् मान्दै उनले भनिन्, “आँखा देख्ने मात्रै बनान पाए नि हुन्थो । आफूजस्तै हुने भए भनेर निदभोक लाग्दैन ।”

लालसिंह अप्ठेरोमा पर्ने क्रम सुरु भयो । 

बिहे भएको महिना नपुग्दै स्थानीय सरकारी पार्टी नेतासहित घरमा पुलिस पस्यो । त्यसपछि त उनका पति घरमा बस्न पाएनन् । आँखा छलेर कहिलेकाहीँ मात्र घरमा आए ।

“दुश्मन आईकन चारो ब । ... घर खोल्न आया आयै हो के र । तेरो पोइ काँ लगिस् भनेर हाने, पिटे,” रोल्पाली लवजमा आफूलाई पुलिसले पिटेका कहानी लालसिंहलाई स्मरण गराउँदै दिलकुमारीले भनिन् ।

“जनयुद्ध सुरु भए’सि त झन् कैलीकैली मात्र आन्भो । घर बस्न नदेने प फटाले ।” घटनाबारे लालसिंह जानकार भए पनि दिलकुमारीले सुनाइरहिन् । 

पछिल्लोपालि तीन महिना पुग्दा पनि राँकोको चिठी र खबर आएन । त्यसपछि दिलकुमारीको मन चस्क्यो ।

“मंसिर निकल्दा सहिद भया हुन् । खबर भने पुसको आधाआधीमा पाइम्,” समयमै खबर नगरेको भनी पार्टीप्रति फेरि गुनासो गरिन् ।

पछिल्लोपालि राँको घर पुग्दा दिलकुमारी माइत जान लागेकी थिइन् । त्यो नै पतिसितको उनको अन्तिम भेट थियो ।

अन्य बेला जसरी राँकोले ‘कि मृत्यु छ कि मुक्ति, छोराछोरीको जिम्मा तिम्रो’ भनेनन् ।

“उत्बेलाको चेतना प । लाग्नुपर्छ भन्ने भाव भएको मेरो पनि,” राजनीतिक चेतना नछिप्पिए नि आफूले पतिलाई कहिल्यै अवरोध नगरेको जानकारी गराउँदै भनिन्, “तर, मैले रोक्ने÷छेक्ने गरिनँ ।”

पहिलो पति गुमाउँदा दिलकुमारी २० टेक्दै थिइन् । समय त यसै पनि बिते, विछोडको पीडा र घाउमा दुख्दै । र, अभावसित लडिबडी गर्दै समय आफ्नो बाटो लाग्यो ।

नेता र कार्यकर्ताहरूले उनलाई भन्न थाले– एउटा सहिदको चिन्ता गरी कति बस्नु ! यत्रो उमेर छ । 

पटकपटक सबैले भनेपछि उनलाई पनि ‘हो’ जस्तो लाग्यो ।

“सहिदको बदला लेन्छु भनेर भ्या पनि जनसेनासत गरेँ,” दोस्रो बिहे पनि छापामारसित गर्नुको कारण खुलाउँदै भनिन् ।

मंगलसिंह उर्फ कमरेड बताससति बिहे गर्दा पहिलो पति सहिद भएको ६ वर्ष भएको थियो । राजीमान दोस्रो पतिका छोरा थिए । उनी बाबा सहिद भएको आठ महिनापछि जन्मेका । 

पहिलो पति मारिएपछि भने दिलकुमारी आफैँ पनि माओवादी भइन् । मूल एकाइ हुँदै महिलाको एसीएम (क्षेत्रीय समिति सदस्य) भइन् ।

त्यसपछि ?

पूर्णकालीन माओवादीबाट फर्किइन्, पहिलो पतिको घरमा । दुई दिनअघि मात्र अरबबाट फर्केका थिए, उनका छिमेकी । चहलपहल थियो । केटाकेटी नयाँ लुगा लगाएर रमाइरहेका थिए ।

“केराटीले अरुका घर्मा मीठो खाए पनि नइय भोटी लाएको हेर्चन् । थुक निल्चन् । हाम्लई नि लेऊ ता भन्दैनन् ब । तैपनि आमा–मन ता भैगो,” यति भनेर दिलकुमारीले बाटो लागेका आँसुलाई रोक्न टाढाटाढा हेरिन् । आफ्ना पति पनि बाँचेको भए घरमा खुसी छाउँथ्यो होला भनेर कल्पँदै दायाँ हातको औंलाले भुइँ कोट्याउन थालिन् ।

लामो अन्तरालपछि भेट भए नि लालसिंह छिटो भाग्न चाहन्थे भने दिलकुमारीले भए जति पीडा सुनाएर मन हलुको बनाउन । लालसिंह यसकारण भाग्न चाहन्थे कि जति सुन्थे, उति नै उनलाई ‘अपराधबोध’ जस्तो हुन्थ्यो । जति सुने उति नै सहिद, बेपत्ता, घाइते र कार्यकर्ताका रगतले काठमाडौंमा मस्ती गरिरहेका आफ्नै नेताप्रति रिस उठ्थ्यो । नेतालाई पनि ‘प्रश्न गर्ने’ भएकाले उनी कार्यकर्ता र जनतामाझ लोकप्रिय थिए भने नेताका आँखामा भने कसिंगर ।

उठेको रिस पैतलामुनि जबर्जस्त दबाएर लालसिंहले चुपचाप सुने । “हाम्रो पार्टी ता पाटी भैगो नि,” दिलकुमारीले ‘पार्टीले माया मारेको’ भनेपछि लालसिंह झन् खक्रक्कै परे ।

‘हुनेखाने’ नभए पनि दिलकुमारीको दैनिकी माइतीबाट नै चलेको थियो ।

“उई जे गरे माइती हो ब । डोका÷राङ्ङे पनि, खान–लाउन नपुग्दा नि माइत नगई निबाजा हुन्न,” संसार बदल्न हिँडेका सहिदपत्नीले साँझ–बिहानको अल्झनमा कसरी लडिबडी गर्दै दिन धकेलेकी छन् भन्ने कुराको पोयो फुकाउँदै भनिन्, “एक बालीले अर्को बाली भेट्दैन । कम्द थोरै छ । त्यै कम्द पनि मात्थि दाजु र पर्ति माइलाको बल्दसित हमेल गर्चम् ब ।” 

बारी थोरै थियो । त्यो पनि अरुका गोरुसित हल मिलाएर लाउँथिन् ।

“जैलै थैला बोक्ने । कैले काँ कैले काँ बेसाउन जानपर्च,” बाबाले ऋण गरिदिएको पैसाले बेसाहा खेपेको सुनाउँदै भनिन्, “बाबैले कार्दिए भने खाने हो । नत्र ता काँपाइ ।”

१२ हजार ऋण पुग्यो । कसरी तिर्ने ? अप्ठेरोमा थिइन् । 

० ० ०

दिलकुमारीको घरभन्दा सय मिटर तल थियो, अधकल्चो सहिदमार्ग । घरि उनले आफूलाई हेर्थिन् त घरि बेवारिसे सहिदमार्गलाई ।

भूमिगत हुँदा राँको सारा गाउँ सुतेपछि घर आउँथे । हावाले जसरी ढोका खोलेर भित्र पस्थे । र, सीधै बुइगलमा जान्थे, आफ्ना कमरेडहरूसित । अनि, गाउँ नउठ्दै निस्कन्थे ।

बालाई भेट्न छोरी जागाराम बस्थिन् ।

(उसो त राँको हर रातमा आउँदैन थिए ।)

अहिले पनि रातमा कोही आए बा नै आएजसरी छोरीले हेर्थिन् । अरु सानै भएकाले थाहै पाएनन् ।

त्यस दिनको घटना सुनाइन्, जुन दिन उनका पतिका लुगा बोकेर छापामारहरू घरमा पुगे ।

“कम्रेटहरू अस्बाबैको बर्की र कमेज ल्याएर आए । तित्बेला बाबै आए भन्कन उपल्नुताल गई । बाबै लुकेका छन् कि भनी यताउति हेरी,” त्यस रातको घटना सुनाउँदा सुनाउँदै उनको बोली आँसुले भिज्यो ।

त्यसबेला लुगा मात्र लिएर आए ।

“...अस्बाबैको सामान आए”सि बाबै पनि आनन् भनी पर्खी, रोई,” उनले भनिन् ।

लुगा पु¥याएको केही महिनापछि एक रात फेरि छापामार पुगे । त्यस रात राँको सहिद भएको खबर दिए । 

“तिम्रो बालाई त दुश्मनले मा¥यो नानी,” भन्दा रोटा खानाखाँदै रोई । मलई झन् रुवाई,” सुनाउँदा सुनाउँदै उनले लामो सास फेरिन् । त्यसपछि पछिसम्म पनि दिलकुमारीलाई त ‘सहिट भनेको के हो’ भनी सोधेको सोध्यै गरिन् ।

(छोरी अहिले पनि बुइगलमा जान्छिन् । राति आएर लुक्ने बुइगलका कुनाकानीमा बाबालाई खोज्छिन् । र, बाबाको लुगा हेर्दै रुन्छिन् ।)

“हावाले ढेला (ढोका) ढक्काए नि उठेर जान्थी, ढेला खोल्न । भन्थी, ‘बाबै सुस्तरी, दुश्मनले था पाला’ भन्थी ब,” दिलकुमारीले भनिन् । 

नेता, कार्यकर्ता र पूर्व छापामारले उनको घर भुलिसकेका थिए । 

“कम्रेटहरू पैलेपैले ता आन्थे । भन्थे, सहिटका रगत खेर जान दिन्नम् । यी केराटीका भविष्य पार्टीले अँध्यारो बनाने छैन । यिन्का लालनपालन र सिक्छेदिक्छे पार्टीले गर्छ,” सुरुका दिनमा आएका नेता तथा कमान्डरले भनेको सम्झँदै उनले यताउता हेरिन्, “अइल ता पार्टीले माया मारो । जनसेना आन छारे । कम्रेट आन छारे । आफन्त नि परपर गए । जोराले छारेपछि सप्पैले छार्ने रैचन् ।”

हेरिन् । उनको छेउमा त स्वाँक्कस्वाँक्क गर्दै उनलाई सुनिरहेका आफ्नै भुुराभुरी मात्र थिए । र, अर्को छेउमा कमरेड लालसिंह । 

“म ता कोइ नि नहर्ने बाटो भयाचु ।”

हिजोसम्म ‘सहिद’ र ‘बलिदान’ भन्दा गर्व गर्ने मन किन हो कुन्नि ? अचेल भने उनलाई ‘व्यर्थ’ जस्तो लाग्न थालेको थियो । उनका वरपर न कमरेड न पार्टी, कोही पनि छन्जस्तो लाग्दैन । नितान्त एक्लो महसुस गर्न थालेकी थिइन् ।

“सहिट भन्ने र बलिदान भन्ने बलै रै’च । सहिट त आफ्नो घरको मात्रै रैच । हाम्ले प कस्तरी भुल्न सकम्ला र आफ्नो जोरालई,” यति भनेर लालसिंहतिर हेर्दै दिलकुमारीले सोधिन्, “हुन्तो कम्रेट ?”

लालसिंहले दिलकुमारीको अनुहारमा हेर्न सकेनन् । लालसिंहले नेतालाई सम्झिए । नेताका परिवार सम्झिए । हुन पनि नेता न घाइते थिए न त तिनले परिवारका सदस्य गुमाएका थिए । दिलकुमारीले त कसरी भुल्न सक्थिन् दुदुई वटा पतिलाई ?

लामो समय सन्नाटा छायो । न बोलिन् दिलकुमारी, न त केही भने लालसिंह कमरेडले ।

“तित्बेला ता कम्रेटले नि सहिटको रगत खेर जाने छैन भन्नुहुन्थो । कि मेर् पोइहर्ले बगाएका रगत नभएर मुत हो र ?”

सन्नाटा चिर्दै यति भनेपछि दिलकुमारी भक्कानिइन् । लालसिंहले दिलकुमारीका पतिहरूले बगाएको न ‘रगत’ हो भन्न सके न त ‘मुत’ । चुपचाप सुनिरहेका लालसिंह त आफैँ रुन थाले । 

“बलै प रैच कम्रेट । सप्पै बलै । नत्र यस्तो हुनो त मलई,” दिलकुमारीको बोली र आँसुसित लालसिंहको आँसु पनि झर्न थाल्यो । 

अब लालसिंहमा थप सुन्ने धैर्य थिएन । त्यसपछि चुपचाप बाटो लाग्न उठे । र, बिदावारी नगरी अधकल्चो सहिदमार्गमा पुगे, जुन सहिदमार्ग काटेर दिलकुमारीको घर पुगिन्थ्योे । 

दिलकुमारीको भिजेका आँखा घरछेउमा उभिएको मुख्लीको बोटमा अल्झिए, जुन मुख्लीको पात हल्लिरहेका थिए ।

“कम्रेट, हावा त अइल नि चल्छ । त्यै हावाले बल्झान्छ के र । अइल पनि हावाले ढेला खोल्च । कहिलीकसो कुकुरले पनि ढेला खोल्च । तर, आन्नन् रञ्जितको बाबै । कम्ब्याट ड्रेस लगाएका हाम्रा लालसेना आन्नन् । सप्पैले माया मारे नि हावाले माया मा¥या चैन,” यति भनेर रुँदै दिलकुमारी मुख्लीको बोटनेर गइन् । खुबै सुन्लाजसरी मुख्लीको बोटका पातलाई ‘नहल्ले’ भनिन् । हल्लाउने हावालाई ‘नचल्’ भनिन् ।

“भयो, तँ हावा पनि नआइज,” यति भनेर लालसिंहको पछिपछि गइन् । र, दिलकुमारीलाई छोराछोरीले पछ्याए ।

उनका भिजेका आँखा घरी बगिरहेको चुनबाङ खोलामा उनिए त घरी कमरेड लालसिंहमा । 

“के सधैँ यस्तै होइरला तो कम्रेट ? कुनै दिन ता जुलुस आला के र, अलपत्र यिन्का बाबैहर्का धोका पुरान,” अधकल्चो सहिदमार्गमा उभिएर वारिपारि हेरिन् । उनको मनले भनेजस्तो लागिरह्यो, “कहिले बन्ला सहिदमार्ग र गुड्लान् सहिदका सपना ?”

के सम्झेर कुन्नि ? जरुरी कुरा भुलेजसरी लालसिंहलाई सोधिन्, “कम्रेट, के सीएम पर्चन्न पर्धानमन्तरी भया हुन् ?” 

परिबन्दमा परे लालसिंह । 

‘हो’ भनून् त प्रधानमन्त्री भएको अनुभूति दिलकुमारीलाई थिएन । ‘होइन’ भनून् त प्रधानमन्त्री भएको साँचो थियो । 

दिलकुमारीले सोधेको एकपालि भए नि त्यो प्रश्न प्रतिध्वनि भएर लालसिंहको कानमा ठोक्किरह्यो, एकपालि होइन, सयौँपालि । त्यसपछि सुने पनि नसुने जसरी दगुरे फर्केर पनि नहेरी । फर्केर हेर्ने बलसमेत उनले गुमाइसकेका थिए । 

लालसिंहले चुनबाङखोला तर्दासमेत दिलकुमारीले जवाफ पर्खिरहेकी थिइन्, उभिएर अधकल्चो सहिदमार्गमा ।

'रोल्पा सुइना' कथासंग्रहबाट 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १०, २०७४  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC