site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

पहिरो गएर वा बाढीले पुल बगाएर सडक अवरुद्ध हुँदा प्रकृतिलाई दोष दिएरमात्र पुग्दैन । त्यस विपत्तिको मानवीय पक्षलाई बेवास्ता गरुन्जेल सडक वा अन्य भौतिक संरचनाको दुरवस्थामा केही फरक हुनेछैन । यो सडक विस्तार सुरु भएपछि कतिपटक अवरुद्ध भयो वा कति जनधनको क्षति भयो भन्ने अब हिसाबै राख्न छाडिएको हुनसक्छ । पछिल्लो पटक गत बिहीबार पहिरोले अवरुद्ध गरेको सडक बल्लतल्ल खुलेको छ तर कहिले पुनः बन्द हुन्छ कसैले भन्न सक्तैन । सडकमा आएको पहिरोले बाटो अवरूद्व गरेको थाहा पाएपछि उद्धारका लागि गएका प्रहरीको गाडीसमेत अर्को ट्रकसँगै पहिरोमा पर्‍यो । कर्तव्य पालनाका क्रमम ज्यान गुमाएका दुई जना प्रहरीको शव फेला परेको छ अरू दुई जना बेपत्ता नै छन् । घटनास्थलमा दुई जना हराइरहेकाले पहिरोले थुपारेको ढुंगामाटो अन्तै लगेर फाल्नु पर्दा सडक खुलाउन धेरै समय लागेको सम्बन्धित अधिकारीले बताएका छन् । 

जसोतसो सडक खुलेपछि सबैले यसको दुरवस्था र जोखिम बिर्सन्छन् । नबिर्सनेले पनि बिर्सेको बहाना गर्छन् । तर, अहिले सडक खुले पनि पहिरोको जोखिम भने कायमै छ । त्यही ठाउँमा गएन भने पनि अर्को ठाउँमा झन् डरलाग्दो पहिरो जानसक्छ । नारायणगढ—मुगलिङ राजमार्ग सम्भवतः नेपालकै सबैभन्दा व्यस्त सडक हो । पूर्व र पश्चिम तराईका साथै पश्चिम पहाडबाट पनि काठमाडौं प्रवेश गर्ने सबैभन्दा बढी चल्तीको सडक भएकाले केही घन्टा बन्द हुँदा पनि सडकमा त्यति बेला यात्रा गर्नेहरू र तिनका परिवारजनका साथै सिंगै मुलुकमा र विशेषगरी काठमाडौं उपत्यकामा त्यसको प्रभाव पर्छ । हुनत, पूर्वी तराईबाट काठमाडौं भित्रिनका लागि बीपी राजमार्गका साथै त्रिभुवन राजपथ र हेटौँडाबाट दक्षिणकाली निस्केर पनि यात्रा गर्न सकिन्छ । तर, त्रिभुवन राजपथबाहेक अरू ठूला सवारीका लागि उपयुक्त छैनन् । त्रिभुवन राजपथको बनोटका कारण ट्रक चालकमात्र  हैन यात्रुवाहक सवारी चालकको पनि छनोट मुगलिङ—नारायणगढ नै हुनेगरेको छ । तर, यति धेरै रोजाइ र महत्त्वको सडक भए पनि सरकारले त्यसको विस्तार कार्य सम्पन्न गराउन आवश्यक ध्यान दिएको भने देखिँदैन ।  

Agni Group

 मुगलिङ नारायणगढ सडकको रणनीतिक महत्वका तुलनामा यसको मर्मतसम्भारमा ध्यान नदिनु वा यसको भारवहन क्षमताको अध्ययनविना निर्बाध सवारी आवागमन गराउनु वा सडक विस्तार गर्दा अपनाउनु पर्ने सावधानी र गम्भीरता नअपनाइनुका कारण अहिलेको अवस्था उत्पन्न भएको हो । यसैले जनधनको क्षति र यात्रुको सास्तीका निम्ति सम्बन्धित अधिकारी र सडक निर्माणमा संलग्न ठेकेदार जिम्मेवार देखिन्छ । मुगलिङ—नारायणगढ सडक निर्माण हुँदा यसको भौतिक वातावरण र त्यसको भारवहन क्षमताको विषयमा कति ध्यान दिइएको थियो भन्ने प्रश्नको उत्तर पनि अब पाउन सकिँदैन होला । तर, कम्तीमा सडक विस्तार गर्दा भौगर्भिक अवस्थाको अध्ययन राम्ररी गरिनुपथ्र्यो । सडकमा पहिरो खस्ने क्रम हेर्दा यसको प्राविधिक पक्षमा कतै न कतै गम्भीर त्रुटि वा लापरबाही भएको सन्देह हुन्छ । सरकारले यस पक्षको तत्काल उच्चस्तरीय अध्ययन गर्नु आवश्यक देखिन्छ ।

यसैगरी सडक निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले काममा गरेको ढिलासुस्ती र हेलचेक्य्राइँले पनि सडकलाई थप जोखिमपूर्ण बनाएको हो । सरकारले यस पक्षमा पनि छानबिन गरेर जनतालाई जानकारी गराउनु आवश्यक छ । संसदीय समितिहरूले अधिकार क्षेत्रबाहिरका विषयमा हस्तक्षेप गर्नुभन्दा यस्ता मामिलामा ध्यान दिँदा जनता लाभान्वित हुनेछन् । तत्कालका लागि एकातिर ठेकेदारलाई काम छिटो सक्न र प्राविधिक त्रुटि गर्न नदिन निगरानी तथा दबाब बढाउनु आवश्यक देखिन्छ भने अर्कातिर यात्रु र मालबाहक ठूला गाडीलाई अरू बाटाहरू विशेषगरी त्रिभुवन राजपथको बाटो हिँडाउने प्रबन्ध मिलाउनु आवश्यक देखिन्छ । जनधनको क्षति कम गर्न र सडक विस्तार कार्य सम्पन्न गर्नका लागि आवश्यक भएमा केही समय असुविधा सहन यात्रु र ढुवानी व्यवसायी पनि तयार हुनुपर्छ । 

Global Ime bank

अन्त्यमा, पहिरोले पुरेको सवारी साधन र यात्रुको उद्धारका लागि आधारातमा घटनास्थलमा पुग्ने प्रहरी स्वयं दुर्घटनामा परे । उनीहरूलाई सरकारले कदर गर्नुपर्छ र तिनको कर्तव्यनिष्ठाको समाजले पनि सम्मान गर्नुपर्छ । प्रहरीको बहादुरी गोली हान्दा र खाँदामात्र देखिने हैन । कर्तव्य पालनाका क्रममा ज्यान गुमाउने प्रहरीलाई हार्दिक श्रद्धाञ्जली ! 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १०, २०७४  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC