दोस्रो चरणको निर्वाचनमा मतदानका लागि एक दिनमात्र बाँकी छ । निर्वाचन आयोगले यसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश १, ५ र ७ गरी ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा तीनै प्रदेशका गरी ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिन पाउनेछन् । मतदाताहरू आतुरताका साथ मतदान गर्ने समयको प्रतीक्षा गरिरहेका छन् । आज समीक्षित अधिकांश पत्रिकामा भोलि हुने निर्वाचनको तयारीसम्बन्धी समाचारलाई प्राथमिकता दिइएको छ ।
उता स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले गाउँपालिका र नगरपालिकास्तरका आफ्ना योजना र कार्यक्रमहरू धमाधम सार्वजनिक गर्दैछन् ।
यस क्रममा उनीहरूले आफूले नेतृत्व गरेको निकायको नीतिगत तह र विकास प्रक्रियालाई प्रभावित गर्ने केही महत्त्वपूर्ण निर्णयसमेत गरेका छन् ।
नयाँ पत्रिकाले ‘जनप्रतिनिधिका यस्ता निर्णय’ शीर्षक दिएर यससम्बन्धी समाचार लेखेको छ । समाचारअनुसार पहिलो चरणमा निर्वाचित धेरै नगरपालिकाका जनप्रतिनिधिले पहिलो निर्णयको रूपमा वृद्धभत्ता घरघरमा पुर्याउने र नगरपालिका सफा बनाउने घोषणा गरेका छन् । तर, थोरैले मात्र फरक निर्णय गरेका छन् ।
समाचारमा उल्लेख भएअनुसार काठमाडौं महानगरपालिकाको पहिलो बैठकले ‘क्लिन द सिटी’ देखि नेवारीलाई कामकाजी भाषा बनाउनेसहितका केही महत्त्वपूर्ण निर्णय गरेको छ । त्यसैगरी ललितपुर महानगरपालिकाको पहिलो बैठकले पुल्चोकदेखि कुपन्डोलसम्म फ्लाइओभर बनाउने, विज्ञहरूको रोस्टर संकलन गर्ने र ग्वार्को, सातदोबाटो साथै एकान्तकुनामा अन्डरपास बनाउने विषयमा सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ ।
पोखरा लेखनाथ महानगरको पहिलो बैठकले आन्तरिक स्रोतबाट वृद्धभत्ता १० प्रतिशत बढाउने निर्णय गरेको छ । त्यस्तै कीर्तिपुर नगरपालिकाको पहिलो बैठकले नेवारीलाई कामकाजको भाषा बनाउने निर्णय गरेको छ भने चन्दननाथ नगरपालिका जुम्लाको पहिलो बैठकले आधारभूत सुविधाबाट वञ्चित विकट कर्णालीको चन्दननाथलाई एकैपटक स्मार्ट सिटी बनाउने निर्णय गरेको छ ।
समाचारमा बाग्लुङ नगरपालिकाले गरेको धौलागिरि क्याम्पसभित्र रुख काट्ने र रंगाउने क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई जीवनबीमास्वरूप रु.दुई दुई लाख उपलब्ध गराउने निर्णय गरेको र महालक्ष्मी नगरपालिका ललितपुरले आन्तरिक स्रोतबाट ज्येष्ठ नागरिकलाई वर्षमा १५ सय भत्ता थप गर्ने निर्णय गरेको कुरा पनि उल्लेख छ ।
नयाँ पत्रिकामा माथिल्लो समाचारको पूरकका रूपमा पुष्प ढुंगानाले ‘जनप्रतिनिधिले गर्न हुने र नहुने काम’ शीर्षक दिएर स्थानीय विकास मन्त्रालयले जारी गरेको आचारसंहितामा उल्लिखित प्रावधानहरूको विवरण उल्लेख गरी अर्को समाचार लेखेका छन् ।
अहिले पनि ‘पञ्चेती’ ?
कान्तिपुरमा अखण्ड भण्डारी र जनक नेपालले ‘भोट हाल्न पञ्चेती’ शीर्षक दिएर बाँके जानकी गाउँको एउटा समाचार लेखेका छन् । समाचारको शीर्षक हेर्दा कतै लोकतान्त्रिक युगमा समेत पञ्चायती भूत ब्युँझिएको त होइन भन्ने जिज्ञासा उत्पन्न भए पनि यो समाचारले पिछडिएको समुदायका जनतामा अहिले बढ्दै गएको सचेतता र राजनीतिक चासोलाई खोतलेको छ ।
बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरको लोपोन्मुख कुचबधिया समुदायमा रहेको सांगठनिक एकता, लोकतान्त्रिक निर्णय प्रक्रिया र परम्परागत चालचलनको संरक्षण गर्ने दायित्वप्रतिको सचेततालाई यो समाचारले उजागर गरेको छ । समाचार सबैका लागि प्रेरणादायक छ ।
तस्बिर समीक्षा
कान्तिपुरमा ‘रेटेर वृद्धको हत्या’ शीर्षक समाचारसँग सान्दर्भिक हुने गरी मोरङको दर्बेसामा घाँटी रेटी हत्या गरिएका पहाडचन राजवंशीको फोटोसहित उनको घरमा शोकाकुल परिवारलाई आफन्तले सम्हाल्दै गरेको दृश्यलाई मुख्य तस्बिर बनाइएको छ । मुखपृष्ठमै बाँकेको कुचबधिया समुदायले चुनावमा कसलाई भोट दिने भनेर सामूहिक छलफल गरिरहेको एक अर्को परिदृश्य पनि छ ।
अन्नपूर्णमा ‘केन्द्रमा पहुँच खोज्दै धरान–इटहरी’ शीर्षक मुख्य समाचारमा धरान र इटहरीको सांकेतिक तस्बिर दिइएको छ भने ‘मुलुकको अखण्डता सुरक्षित :
प्रधानसेनापति’ शीर्षक अर्को समाचारमा कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालाई रुक्मांगद कटवाल ट्रस्टले सम्मान गरेपछि प्रधानसेनापतिसहित खिचिएको तस्बिर छ ।
नागरिक दैनिक, राजधानी, हिमालय टाइम्स र गोरखापत्रमा इद उल फित्रका अवसरमा सोमबार काठमाडौंस्थित जामे मस्जिदमा प्रार्थना गर्दै गरेका र आपसमा खुसी साटासाट गरिरहेका मुस्लिम समुदायको दृश्य छ ।
सम्पादकीय
कान्तिपुरमा ‘अत्यावश्यकीय वस्तुको वितरण नरोक’ शीर्षक सम्पादकीय लेखिएको छ । सम्पादकीयमा आफ्नो स्वार्थपूर्तिका लागि अत्यावश्यकीय वस्तु पेट्रोलियम पदार्थ बिक्री–वितरण नगर्ने भनी व्यवसायीले सार्वजनिक जानकारी गराएपछि सर्वसाधारण त्रसित बनेको र त्यसो गर्नु अत्यावश्यक सेवा सञ्चालन ऐनको अवज्ञा गरेको ठहरिने उल्लेख छ ।
अन्नपूर्ण पोस्टको ‘आफ्नैबारे’ शीर्षक सम्पादकीयमा कान्तिपुर दैनिकका संवाददाता उजिर मगरद्वारा लिखित ‘अंश’ पुस्तकमा उल्लिखित एउटा प्रसङ्गलाई उद्धृत गर्दै उनले कान्तिपुरमा १२ वर्षअगाडि लेखेको एउटा समाचार तथ्यमा आधारित नरहेको साथै एउटा प्रोपोगान्डा या रणनीतिका रूपमा आफूले उक्त समाचार लेखेको स्वीकार गरे पनि त्यसबारे आत्मालोचना नगरेको प्रसङ्ग उठाइएको छ । यस्तै खाले घटनाका कारण पत्रकारितामा ‘एथिक्स’ को सवाल उठ्ने गरेको सम्पादकीयमा उल्लेख छ ।
नागरिकको ‘अकर्मण्यताका २० वर्ष’ शीर्षक सम्पादकीयमा मुलुकको मुख्यालय सिंहदरबारको नाकैमुनि रहेको ११ किलोमिटर लामो करिडोर निर्माण २० वर्षमा पनि पूरा नभएको सन्दर्भ उठाउँदै यो समाचार पढ्दा त्यहाँभित्रका नीतिनिर्मातालाई कस्तो हुँदो हो भन्ने प्रश्न गरिएको छ ।
नयाँ पत्रिकाले ‘मतपत्रको सुरक्षा’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीयमा मतपत्रको सुरक्षाको जिम्मेवारी मतदान अधिकृत या खटिएका कर्मचारी र सुरक्षा अधिकारीको मात्र होइन, उमेदवार र तिनका प्रतिनिधिले पनि जिम्मेवारी बहन गर्नुपर्छ भनिएको छ ।
राजधानीले ‘सामाजिक शोषणको हद’ शीर्षक सम्पादकीयमा बाजुरास्थित स्वामीकार्तिक–३ कडारबाडाका हलियाले मताधिकारसमेत साहूलाई सुम्पिने गरेको यथार्थलाई सामाजिक शोषणको घिनलाग्दो नमुनाका रूपमा चित्रण गरेको छ ।
हिमालय टाइम्सले ‘मतदानमा सुरक्षा प्रत्याभूति’ शीर्षक सम्पादकीय लेखेको छ भने गोरखापत्रको सम्पादकीयको शीर्षक ‘चुरे क्षेत्रको दुर्गति’ छ ।