site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

असारे झरी, टन्टलापुर घाम र खेतीको चापाचाप  भए पनि मतदानमा देखिएको उत्साहले लोकतन्त्रप्रति नेपाली जनताको प्रतिबद्धता पुनः पुष्टि गरेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदा एउटा माओवादी समूह नेपाल कम्युनिस्ट पार्टीमात्र विरोधमा थियो । दोस्रो चरणको निर्वाचन बिथोल्न माओवादीको त्यही समूहका साथै राष्ट्रिय जनता पार्टी पनि लागेको थियो । तर, प्रदेश नम्बर ३, ४ र ६ जनताले पहिलो चरणमा देखाएजस्तै उत्साह दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशमा पनि देखियो । लगभग पशिलो चरणामा जत्तिकै ७० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान छ । हुनत, केही अप्रिय घटना पनि भए । विस्फोटक पदार्थ प्रयोग गरेर मतदातालाई तर्साउने प्रयासमा लागेका एक जनाको त आफैँले बोकेको बम विस्फोट भएर मृत्यु पनि भयो । सोलुखुम्बुको एउटा वडामा उमेदवारी नै परेन । यति सबै भएर पनि छिनमै चर्को घाम र छिनमै झम्के झरी हुँदा पनि मतदाताको उत्साहलाई शिथिल भएन । हिँडडुल गर्न नसक्नेहरूले बोकिएरै गएर पनि मतदान गरिछाडे । यसैले ‘कुनै पनि हालतमा चुनाव हुन दिन्नौ’ भन्ने राजपाका नेताहरूले पनि ‘निर्वाचन सकियोस् आन्दोलन गर्दै गरौँला‘ भन्नुपरेको होला । यतिमात्र हैन अब त नेपालीलाई लोकतन्त्रको अर्ती दिने विकसित मुलुकका दूतहरूको पनि चित्त बुझ्नुपर्ने हो ।

अब प्रदेश नम्बर २ का ८ जिल्लामा मात्र स्थानीय तहको निर्वाचन हुन बाँकी छ । पक्कै पनि त्यहाँ अब घोषित मितिमा निर्वाचन हुने नै छ । पहिलो र दोस्रो चरणमा नेपाली मतदाताले देखाएको उत्साहजनक सहभागिता हेर्दा स्थानीय तहको तेस्रो चरणको निर्वाचन पनि निर्बाध हुनसक्ने देखिन्छ । यसबीच सरकारसँग केही समय पनि छ व्यवस्थापनका लागि । शान्तिसुरक्षाका विषयमा पनि सरकारले यस अवधिमा गर्ने कामले आगामी निर्वाचनहरूलाई प्रभावित गर्नेछ । एकातिर सार्वजनिक स्थान र व्यक्तिको घरघरमा बम राखेर र विस्फोट गराएर आतंक मच्चाउने समूह देखा परेको छ भने अर्कातिर आफ्ना कार्यकर्तालाई शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा पनि सार्वजनिक अपराधमा मुद्दा चलाइएको गुनासो राजपाका नेताहरूले गरेका छन् । समाजमा अराजकता मच्चाउनेमाथि कानुनबमोजिम कारबाही गर्न सरकार हिचकिचाउनु हुँदैन तर सरकारले पनि कानुनको दुरुपयोग गर्नु हुँदैन । यसैले आतंककारी गतिविधिमा संलग्न समूहमाथि सोहीअनुसारको कारबाही गर्नुपर्छ भने राजनीतिक कार्यकर्ताले सार्वजनिक अपराधै गरेकोमा बाहेक अरू कारणले सार्वजनिक अपराध ऐन प्रयोग गर्नु बेइमानी हो । सार्वजनिक स्थलमा सर्वसाधारण जनतालार्इ लक्षित गरेर घातक हतियार प्रयोग गरेर अातंकित बनाउनु नेपालको प्रचलित एेनअनुसार पनि अातंककारी क्रियाकलाप नै हो । यसैले बम विस्फोटमा संलग्नमाथिको कारबाही वर्तमान सरकारको मात्र हैन गृह मन्त्रीको व्यक्तिगत इमानदारीको कसी पनि हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

सार्वभौम नेपाली जनताले चुनेका प्रतिनिधिको ८० प्रतिशतभन्दा बढीको समर्थनमा निर्माण भएको नेपालको संविधान, २०७२ कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन पहिलो खुड्किलो हो । संविधानतः आगामी माघ महिनाभित्रै प्रदेश र संघको निर्वाचन हुनुपर्छ । राजपाका मागहरू सम्बोधन गर्ने क्रममा प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन असोज ४ गते मतदान हुने गरी स्थगित राखिएको छ । यसैले अब सरकारको ध्यान प्रदेश नम्बर २ को निर्वाचनमा केन्द्रित हुनुपर्छ । यसबीच सरकारले राजपासँग गरेको सहमति कार्यान्वयनका लागि इमानदार प्रयास पनि गर्नुपर्छ । अरू मागका हकमा सरकारले रकमी प्रवृत्ति देखाउनु हुँदैन तर संविधान संशोधनका लागि प्रमुख विपक्षीको सहमति नभई दुईतिहाइ बहुमत पुग्दैन भन्ने चाहिँ राजपाका नेताहरूले पनि हेक्का राख्नुपर्छ । सरकारले इमानदार प्रयास गर्दा पनि राजपाका सबै माग पूरा हुन मुस्किल छ । संवैधानिक र कानुनी अप्ठेराहरू लोकतन्त्रमा निश्चित विधि र प्रक्रियाबाट मात्र हटाउन सकिन्छ भन्ने राजपाका नेताहरूलाई पनि पक्कै अवगतै छ । निर्वाचनबाट पन्छनु कति प्रत्युत्पादक हुनेरहेछ भन्ने त निर्वाचन भएका प्रदेशमा विशेषगरी ५ नम्बर प्रदेशका कार्यकर्ताले गरेको विद्रोहबाट पनि स्पष्टै भएको हुनुपर्छ । स्थानीय निकायको तेस्रो चरणको निर्वाचनलगत्तै सरकारले प्रदेश र संघको निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्छ । दुवै तहको निर्वाचन एकै दिन र एकै चरणमा गर्न सके साधन, स्रोत र समयको बचत हुनेछ । सरकारले त्यस्तो सम्भावनामा पनि व्यापक विमर्श गरोस् ।

स्थानीय निर्वाचनकाे दोस्रो चरणमा पनि मतदाताले अाफूलार्इ अब्बल सिद्ध गरेका छन् । लोकतान्त्रिक अभ्यासप्रतिको नेपाली मतदाताको प्रतिबद्धता संसारका कुनै भेगका जनताको भन्दा कमजोर छैन । यसमा नेपालीले गर्व गर्नुपर्छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १४, २०७४  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC