site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विहारको राजनीतिमा उथलपुथल, एकदिनमै उल्टियो सत्तासमीकरण
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्ता राजनीतिले कुन बेला कस्तो मोड लिन्छ भन्न सकिँदैन किनभने सत्ता सधैं स्वार्थबाट सञ्चालित हुन्छ र स्वार्थ फरक हुँदाबित्तिकै मेलमिलाप टुक्रिन्छ । यस्तै भएको छ, नेपालको छिमेकी मुलुक भारतको विहार राज्यमा । यद्यपि यस्ता घटनाहरू कुनै नयाँ र अनौठा होइनन् । योभन्दा अझै चख्ख पार्ने घटनाहरू हाम्रै नेपालमा अनेकौं पटक घटिसकेका छन् । विहारमा अहिले भएको घटना त नेपालमा हुने गरेका सत्तापरिवर्तनका अनेकौं खेलभन्दा धेरै अर्थमा नैतिक र तर्कपूर्ण छ ।
अनेकौं अड्कल र अनुमानका बीच विहारका मुख्यमन्त्री नीतीशकुमारले आफ्नो पदबाट राजीनामा दिएपछि विहारसँगै सम्पूर्ण भारतको राजनीति तरंगित भएको छ । उनले यसरी आफै राजीनामा देलान् भनेर कसैले अनुमान गरेका थिएनन् । उनको राजीनामाले विहारको सत्तासमीकरण बदलिने कुरा त निश्चितप्रायः नै छ, सँगै राष्ट्रिय राजनीतिमा समेत गम्भीर प्रभाव पर्ने देखिएको छ । विहारमा सत्तासमीकरणको बदलिँदो परिदृश्यबारे टिप्पणी गर्दै हिन्दूस्तान डट कममा लेखिएको छ, ‘‘राजनीतिक सरगर्मीबीच केवल तीन घण्टाको बीचमा विहारको राजनीतिक समीकरण उल्टोपाल्टो भएको छ । बुधबार साँझ ६ बजेसम्म महागठबन्धनका नेताका रूपमा मुख्यमन्त्री पदमा रहेका नीतीशकुमारले ६.३० बजे पदबाट राजीनामा दिए र राति नौ बज्दा नबज्दै उनी राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का नेता घोषित भए ।’’ 


नयाँ गठबन्धन भाजपासँग 
भारतीय सञ्चार माध्यमका अनुसार आज (बिहीबार) बिहान १० बजे नीतीशकुमारले राष्ट्रिय जनतान्त्रिक गठबन्धनको नेताका रूपमा मुख्यमन्त्री पदको छैंटौं पटक शपथग्रहण गरेका छन् । उनको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री नरेन्द्र मोदीसमेत विहार आउन सक्ने बताइएको भए पनि उनी आएनन् । नयाँ सरकारमा भाजपा विधानसभाका नेता सुशील मोदीले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् । यसबाहेक भाजपाको कोटाबाट एक दर्जन जति विधायकहरू मन्त्री बन्न लागेका छन् । नयाँ गठबन्धनले विधानसभाका कूल २४३ सदस्यमध्ये आफूहरूलाई १३२ जनाको समर्थन रहेको दाबी गरेको छ ।

Agni Group


नीतीशको चुनौतीपूर्ण नयाँ यात्रा 
नीतीशकुमार यस्ता व्यक्ति हुन्, जसलाई भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको नेतृत्वमा बनेको भाजपाविरोधी महागठबन्धनले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको विकल्पमा भविष्यको प्रधानमन्त्री भनेर प्रचारित गर्दै आएको थियो । हुन पनि नीतीशकुमारबाहेक उमेर, परिपक्वता, लोकप्रियता, अन्तर्राष्ट्रिय पहिचान र निष्कलंकताको दृढ छविसहित नरेन्द्र मोदीको विकल्पमा उनलाई टक्कर दिने गरी खडा गर्न सकिने उपयुक्त पात्र विपक्षीसँग छैन भन्दा हुन्छ । यस्तो बेलामा सबैको आशावादी दृष्टि नीतीशकुमारतिरै थियो । तर मुद्दा र नेतृत्व दुवै दृष्टिले सीमान्त संकटबाट गुज्रिरहेको भारतीय प्रतिपक्षी पार्टीहरूको गठबन्धन विहारमा लालूप्रसाद यादवको राष्ट्रिय जनता दलसँग नीतीशकुमारको पटरी नखाएपछि थप संकटमा परेको छ र यसले उनीहरूलाई सम्भवतः किंकर्तव्यविमूढ नै बनाएको छ । यो घटना कति महत्त्वपूर्ण छ भन्ने कुरा नीतीशकुमारले राजीनामा दिँदाबित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएको र हर्ष प्रकट गरेको सन्दर्भबाट पनि स्पष्ट हुन्छ ।
लालूका छोरा उपमुख्यमन्त्री तेजस्वी यादवमाथि भ्रष्टाचारको आरोप लागेपछि केही दिनयता विहारको राजनीतिमा नैतिकताको संकट पैदा भएको थियो । नीतीशकुमार तुलनात्मक रूपमा नैतिकताका पक्षपाती नेताकै रूपमा देखिएका छन् । उनी भ्रष्टाचारको आरोप लागिसकेपछि तेजस्वीले राजीनामा दिनुपर्छ भन्ने पक्षमा थिए । तर तेजस्वीले राजीनामा दिन मानेनन् र उचित सफाइ पनि दिन सकेनन् । उनी लालू यादवकै शैलीमा पेलेरै अघि बढ्न खोजे । यस्तो स्थितिमा नीतीशसामु या त तेजस्वीलाई हटाउने या आफैले राजीनामा दिएर मन्त्रिमण्डल विघटन गर्ने दुई उपायमात्र बाँकी थिए । स्वाभाविकै छ, भोलि फेरि राष्ट्रिय जनता दलसँगै सहकार्य गर्नुपर्ने अवस्था आउन सक्ने परिस्थितिलाई हेरेर र तेजस्वीको राजनीतिक साखसमेत बचाइराख्ने गरी नीतीशकुमारले स्वयं राजीनामाको बाटो लिए । संसदीय राजनीतिमा यस्ता नाटकहरू स्वाभाविकै हुन्छन् । यो काम उनले लालूप्रसादसँगको परामर्श र सहमतिमै गरेका पनि हुन सक्छन् । जे भए पनि यसबाट महागठबन्धनले नीतीशकुमारसँग राखेको आशा र अपेक्षामाथि तुषारापात भएको छ र सायद महागठबन्धनको नजरमा नीतीशकुमारको उचाइ घटेको छ । जेहोस्, यो घटना मोदीको भाग्य चम्केकाले घटेको हो कि नीतीशकुमारको साढेसाती सुरु भएकाले हो, त्यो त भविष्यमै थाहा होला । अहिलेका लागि चाहिँ विहारमा नीतीशकुमारको कायापलट भएको छ र उनी अब भाजपासँगको गठबन्धनमा सत्ताको नयाँ यात्रा सुरु गर्नतिर लागेका छन् ।


राजद विरोधमा, ‘विश्वासघात दिवस’ को घोषणा 
उता राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले आफ्नो दल राज्यको सबैभन्दा ठूलो पार्टी भएकाले सरकार बनाउने पहिलो मौका आफूहरूले पाउनुपर्ने भन्दै राज्यपाल केशरीनाथ त्रिपाठीसँग समय मागेको समाचारमा जनाइएको छ । नीतीशले गरेको आकस्मिक निर्णयबाट जेडीयुका शरद् यादवलगायतका नेताहरू असन्तुष्ट रहेको र उनीहरूले आफूलाई साथ दिने तेजस्वीको दाबी छ ।
नीतीशकुमारले राजीनामा दिँदाबित्तिकै हिजोको सहयात्री राजद उनको विरोधमा उत्रिएको छ । तेजस्वी यादवको नेतृत्वमा राजदका नेताहरूले रातभरि सडकमा विरोध प्रदर्शनका साथै धर्ना दिएका छन् । उनीहरूले वैशालीमा रहेको महात्मा गान्धी पुललाई ठप्प पारेको समाचारमा उल्लेख छ । राजदले नीतीशविरुद्ध ‘विश्वासघात दिवस’ मनाउने घोषणाका साथै सम्पूर्ण विहारमा विरोधमार्च गर्ने भएको छ । नीतीशको राजीनामाबारे प्रतिक्रिया दिँदै लालू यादवले भनेका छन्, ‘‘यो सबै षड्यन्त्र पहिले नै सेट थियो । नीतीशले हामीलाई धोका दिएका छन् ।’’  
 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७४  ००:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC