site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मेरो जीवनमा असफलता नै असफलता छ
Sarbottam CementSarbottam Cement

– अक्षर काका 


आधा शताब्दीदेखि मदनकृष्ण श्रेष्ठ कलाकारिता क्षेत्रमा सक्रिय छन् । गायक,  हास्यकलाकारलगायत आधा दर्जन पेसामा हात हालेका श्रेष्ठ मह जोडीका महत्वपूर्ण खम्बा हुन् । त्यसो त उनी लेखक पनि हुन् । ०७३ सालमा ‘साझा पृथ्वी’ प्रबन्धात्मक कृति निकालिसकेका श्रेष्ठ विगत पाँच वर्षदेखि आत्मकथा लेखिरहेका छन् । भदौ २० गते आफ्नो विवाहको ४४ औँ वर्षगाँठ पारेर उनले आत्मकथा सार्वजनिक गर्न लागेका छन् । पत्नी यशोदा क्यान्सरसँग लड्दै गर्दा उनी पार्किन्सन्ससँग पौँठेजोरी खेलिरहेका छन् । यहीबीचमा लेखेका हुन् उनले पुस्तक । यिनै प्रसंगमा आधारित रहेर उनीसँग गरिएको कुराकानीः

पुस्तक प्रकाशनको तयारी कहाँ पुग्यो ?
– म र प्रकाशन संस्था फाइन प्रिन्टबीच सम्झौतामा हस्ताक्षर भएर हामीले पुस्तक सार्वजनिक गर्ने मितिसमेत तय गरिसकेका छौँ । भदौ २० गते पुस्तक सार्वजनिक तिथि तोकिइसकेको छ । भदौ २० गते मेरो विवाहको वर्षगाँठ पनि हो । ४४ वर्ष भयो हामीबीच बिहे भएको । हाल म पुस्तकको पाण्डुलिपि अन्तिम पटक पढिरहेको छु । यसपछि प्रेसमा जानेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

तपाईं आधा शताब्दीदेखि कलाकारितामा हुनुहुन्छ, स्रोता÷दर्शकले थाहा पाउन बाँकी विषय के थियो र यहाँले पुस्तकैमार्फत भन्नुपर्‍यो ?
– जीवनको सिंहावलोकन पनि हो । जीवनमा राम्रा काममात्र गरिएनन्, राम्रो गर्न खोज्दाखोज्दै केही नराम्रा काम पनि हुन गए । असल मानिससँग मात्र सम्पर्क, संगत भएन, नराम्रा पनि फेला परे । किताबमार्फत म मुखरितमात्र भएको छैन, जिन्दगीका पुराना दिनहरूमा फर्किएको छु । पाठकहरूले मेरो इतिवृत्तान्त पढ्न पाउनुहुनेछ ।

हिजोआज आत्मकथा लेख्ने बाढी नै आएको छ । केही वर्षअघि तपाईंका सहकर्मी हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ बेस्टसेलर नै बन्यो । त्यही लोकप्रियताबाट हौसिनुभएको हो ?
– यसलाई त्यसरी नबुझौँ । मैले आफ्नो जिन्दगीलाई आफैँले नियालको हुँ । हरिवंशजीको आफ्नै कथा छ, मेरो आफ्नै कथा छ । मह जोडी टिम हो । ‘चिना हराएको मान्छे’मा उहाँले आफ्नो जीवनलाई हेर्नुभएको छ । मेरो आत्मकथामा मैले आफूलाई फर्किएर हेरेको छु ।

Global Ime bank

फेरि यो मेरो पहिलो कृति पनि होइन, यस भन्दाअघि मैले ‘साझा पृथ्वी’ भन्ने पुस्तक निकालिसकेको छु । पृथ्वी हामी मानिसहरूको मात्र होइन, सबै जीवजन्तु, कीटपतंग, वोटविरुवाको पनि हो, उनीहरूले हामीलाई बाँच्न दिइरहेका छन् । उनीहरूलाई बचाउनुपर्छ भन्ने त्यो किताबको आशय छ ।

आत्मकथा नलेखौँ कि क्या हो भन्ने पनि लाग्यो रे नि !
– त्योचाहिँ अवश्य हो । आत्मकथा लेख्न बस्दा म कयौँ पटक घोत्लिन्थेँ– मेरो केही पनि कथा छैनन्, के लेख्ने होला ? ठुल्ठूला मानिसको पो आत्मकथा हुन्छ । क्रूर, चिन्तक, विचारक शासक, राष्ट्र र समाजका लागि विशिष्ट योगदान भएका मानिसहरूको पो आत्मकथा हुन्छ, मेरो त त्यस्तो केही पनि छैन । आ ऽऽऽ नलेखौँ कि क्या हो भनेर कलम बन्द पनि गरेको छु ।

तर, त्यस्तो होइन रहेछ । मभित्र यतिधेरै कथा रहेछन्– लेखेरै सकिँदैन जस्तो लाग्यो लेख्न थालेपछि । १ लाख ४० हजार शब्दमा पनि सबै कथा–व्यथा समेट्न सकिनँ । कहिलेकाहीँ छोरोले हँसाउँछ, “बाबा, तपाईंको जिन्दगी कहाँ ३ सय पेजमा अटाउँछ त ? तपाईं त अनगिन्ती पानाको किताब पो हो !”

लेखनमा शारीरिक अस्वस्थता कत्तिको बाधक बन्यो ?
– क्यान्सर भए लुकाउन सकिन्थ्यो तर पार्किन्सन्स लुकाउन नसकिँदो रहेछ । हिँड्दाहिँड्दै हातगोडा लुगलुग काँपिदिन्छन् । ओठबाट अनायासै र्‍यालै फुत्किन्छ । न हाँस्न नसिकन्छ, न धित मरुन्जेल रुन पाइन्छ । सामान्य अवस्थामा अरूको अनुहारले जिरो एक्सप्रेसन एक्सपोज गर्छ भने म माइनसतिर झरिसकेको हुन्छु । यस्तो मानिसले निकै लामो समयसम्म लेखिरहन सक्दैन, सकिनँ पनि । विज्ञानको चमत्कारले भनौँ, म अहिलेसम्म हातगोडा चलाइरहेको छु । मस्तिष्कमा ‘पेसमेकर’ राखिएको छ, जसको आयु १० वर्ष हो । १५–१५ दिनमा चार्ज गरिरहनुपर्छ । यसले मेरो दैनिकी सजिलो भएको छ ।

मेरो समस्या त छँदै थियो । बीचमा श्रीमतीलाई क्यान्सर भयो । त्यतिबेला १५–२० च्याप्टर लेखेको थिएँ । उनको उपचारमा ध्यान दिनुप¥यो । लेखनमा पूर्णविराम नै लाग्यो । दुई वर्ष लेख्नै सकिनँ ।

श्रीमतीको उपचारपछि कैयौँपटक लेख्न खोजेँ, उसको निन्याउरो अनुहारमा आँखा पुगिहाल्थ्यो । आ ऽऽ होस् भनेर कैयौँपल्ट पाण्डुलिपि मिल्काएको छु मैले । तर, दुई वर्षपछि लेख्न थालिहालेँ, अब पूरा गर्छु भनेर पुनः सुरु गरें ।

सहयोगी राखेर आत्मकथा लेखाउने चलन पनि आएको छ, त्यो विकल्प तपाईंलाई किन सुविधायुक्त बनेन ?
– तेरो आत्मकथा लेख्दिन्छु भनेर घरमै नआएका होइनन् । त्यसो गर्नु मलाई उचित लागेन । टेलिचलचित्रका लागि स्क्रिप्ट लेखिरहेको मलाई लेख्नु कुनै गाह्रो विषय थिएन । फेरि आफैँले लेखेजस्तो अरूले लेखेको हुँदैन पनि । आफैँले लेख्दा हृदयको ध्वनि हातले उतारेजस्तो लाग्छ । कलमले होइन, मुटुले लेखेको भान हुन्छ । अरूले आफ्नो जीवनी उतार्न नै कहाँ सक्छन् र ! त्यसैले आत्मकथामा आफू गुमाउन मन लागेन मलाई । 

तपाईंलाई अलि अस्थिर व्यक्ति पनि भनेर चित्रित गरेको पाइन्छ । किताब लेखनको क्रममा कति धेरै ठाउँमा हात हालेको रहेछु जस्तो लाग्यो ?
– अस्थिरताकै आरोप त लागेको छैन । मेरो बारेका कसले के भन्छ, त्यो मेरो चासोको विषय पनि होइन । तर, किताब लेखनका क्रममा पछाडि फर्किंदा धेरै ठाउँमा हात हालेको रहेछु भन्नेचाहिँ लाग्यो । करिब आधा दर्जन ठाउँमा हात हालेको रहेछु मैले । तर, कला क्षेत्रमा जति म अरू ठाउँमा जम्न सकेको रहेनछु ।

हरिवंश र मैले संयुक्त रूपमै काम गरेको ३७ वर्ष बित्यो । कलाकारिता सुरू गरेको आधा शताब्दीभन्दा बढी भएछ । ०२१ सालको अन्तिमतिरै रेडियो नेपालमा पहिलोपल्ट गीत गाएको रहेछु । ०१५ सालतिर राजा महेन्द्र पश्चिम सवारी हुँदा स्कुलबाट प्रतिनिधित्व गर्दै गायनमा सहभागी भएको थिएँ । उमेरको यो उचाइबाट ती फेदीहरू नियाल्दा अत्यास लाग्यो आफैंलाई । 

कतिपय आत्मकथाकारहरूले आफूलाई केन्द्रमा राखेर किताब लेखेको, आफूलाई अत्यन्त सफल पात्र सावित गरेका उदाहरण भेटिन्छन् । तपाईंको आत्मकथा पनि त्यसैको निरन्तरता त होला नि !
– त्यसमा म अत्यन्त सचेत भएको छु । मबाट अहंकार पोखिन्छ कि भनेर अन्तिम पानासम्म पनि आफूलाई कुँज्याइराखेँ । लेखकभन्दा धेरै विद्धान छन् पाठक । आजको दुनियाँमा लेखकलाई नचिन्ने को पाठक हुन्छ र ? पाठक पारदर्शी ऐनाजस्तै हुन्– छयांगै देखाइदिन्छन् । आत्मकथामा मैले मलाई होइन, महलाई गर्व गरेको छु । म अहंकारको प्रतिविम्ब हो । महले टिमलाई जनाउँछ । शक्तिलाई जनाउँछ ।

भनेपछि कमीकमजोरी पनि उतार्नुभएको छ ?
– कमीकमजोरीमात्र होइन, आफूले गर्न नसकेका, गर्न चाहेका, पूरा नभएका सबै कुराको फाँटबारी किताबमा छ ।

जीवनका अधिकांश समय कलाकारितामा व्यतीत गर्नुभयो । उतराद्र्धचाहिँ लेखेरै बिताउँछु भन्ने रहर चलेको हो ?
– लेख्न त म सधैँ लेखी नै रहन्थे । कलाकारितामा पनि स्क्रिप्ट लेख्नै पथ्र्यो । ०७३ सालमा पुस्तक लेखेँ भने ०७४ सालमा आत्मकथा आउँदैछ । चार–पाँच महिनापछि हरिवंश र मेरो संयुक्त हस्ताक्षरमा कथासंग्रह निकाल्दैछौँ । तपाईंले लेखनमा सक्रिय हुन्छस् त भन्नुभयो तर मेरो रुचि कलाकारितामै छ ।

प्रसंग बदलौँ । तपाईं करूणाप्रधान मानिस हुनुहुन्छ, यहाँसम्म कि कसैले तपाईंको पैसा खाइदिए भने पनि ‘विचरा तिर्न सकेन होला, गर्जो टारोस् न’ भन्नुहुन्छ रे ! हो ?
– केही–केही ठाउँमा त्यस्तो भएको छ । बलजफ्ती गरेर उठाउन सक्दिनँ । बारम्बार ताकेता पनि गर्न सक्दिनँ । समाजमा सबै राम्रा मानिस हुन्छ भन्ने पनि छैन । दादागिरी देखाउने मानिसले खाएका छन् । मलाई पुगेकै छ ।

करुणाले मात्रै जिन्दगी चल्छ र ?
– चल्दैन । तर, मेरो चलेको छ ।

पछिल्लो समय तपाईंहरू व्यवसायिक विज्ञापनमा ज्यादा देखिन थाल्नुभयो । व्यावसायिक हुनुभएको कि सामाजिक दायित्वबाट पन्छिनुभएको ?
हामीले वर्षौंसम्म कमर्सियल विज्ञापन खेल्दै खेलेनौँ । चेतना अभिवृद्धि गर्ने सामाजिक सन्देशहरू मात्रै दियौँ । रंगमञ्च, रेडियो, टेलिभिजन समाजमा चेतना छर्ने माध्यम बनेका थिए हाम्रा । इमेज नै त्यसरी बनाएका हौँ हामीले । यस्तो लाग्थ्यो– व्यावसायिक विज्ञानपन खेल्दा हामीलाई सुहाउँदैन । कर्पोरेट हाउसहरूले व्यावसायिक विज्ञापनका लागि हामीलाई खोज्दै आउँथे, हामी मुन्टो लुकाउँदै हिँड्थ्यौँ ।

तर, धेरै पटक प्रस्ताव आएपछि हामीले सोच्यौँ– मुलुक आर्थिक समृद्धिको बाटोमा नगएसम्म नागरिक सक्षम हुँदैनन् । बाहिरबाट सामान झिकाएको भरमा आर्थिक उन्नति हुँदैन । प्रचार–प्रसार अनिवार्य कुरा हो । पैसा नकमाउने, सामाजिक काम मात्रै गर्ने गर्दा कतिन्जेल दिगो हुन्छ ? बरु व्यावसायिक काम गरेर कमाएको केही पैसा समाजसेवामा लगाए पो दिगो हुन्छ ।

जहाँ हामी ब्रान्ड एम्बेसडर बनेका छौँ, राम्रो भएको छ । सानिमा बैंक, अम्बे स्टिल, डिसहोम, शिखर इन्सोरेन्स त्यसका उदाहरण हुन् । व्यावसायिकताका नाममा हामीले गलत सन्देश दिएका छैनौँ । कमसल चिजको व्यापार प्रवद्र्धन गरेका छैनौँ । अबगाल आउन सक्ने, खराब चिजले बजार पाउने अवस्था बन्नेतर्फ हामी सुरूदेखि नै सचेत थियौँ र आज पनि छौँ ।

तपाईंको पुख्र्यौली थलो जितपुरफेदीमा तपाईंहरूले नै सुरू गरेको ‘मह एग्रिकल्चर’को हाल नामै सुनिँदैन । त्यहाँ तपाईंहरूको लगानी डुब्यो रे हो ?
– ५५ लाख लगानीमा हामीले त्यहाँ परियोजना सुरु गरेका हौँ । योजनामुताविक परियोजना चल्न नसकेपछि हामीले त्यसलाई बिर्सजनको तयारी थालेका छौँ ।

कामविशेषले इजरायल जाँदा त्यहाँको खेती गर्ने प्रणाली देखेर हामी कल्पिएका थियौँ– यो त निकै राम्रो कुरा हो । एउटै बोटमा ८० किलोसम्म गोलभेँडा फलाउन सकिने ! नेपालमा पनि यसको प्रयोग गर्नुपर्छ । थोपा सिँचाइ पद्धतिले लोभ्याएको थियो मलाई ।

मैले जग्गासमेत उपलब्ध गराएको थिएँ । दुई–तीन वर्षकै अवधिमा देश–विदेशबाट मानिसहरूले फार्म अवलोकन पनि गरे । मलाई त लागेको थियो– ११ जना साझेदार राखेर व्यवसाय अघि बढाउन सकिँदैन । भयो त्यस्तै । मिटिङमै सकियो परियोजना । तथापि परियोजना असफल भए पनि त्यसले बोकेको उद्देश्य सफल भयो । परियोजना सुरू गर्ने योजना बनेपछि महको नामबाट फार्म खोल्न मैले नै भनेको थिएँ । गरियो पनि । महले के गर्न लागेछन् भनेर धेरैले चासो व्यक्त गरे । धेरैले देखासिकी गरून् भन्ने हामीलाई लागेको थियो, गरे पनि । ‘मह एग्रिकल्चर’ असफल भए पनि त्यसले धेरैलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना त जागृत गरायो नि ।

असफल हुनुको प्रमुख कारण के हो ?
– प्रमुख कारण आर्थिक अपारदर्शिता नै हो । हरिवंश र म सँगै काम गर्न थालेको ३७ वर्ष भयो । हामी आजसम्म सँगै रहेको पनि आर्थिक पारदर्शिताले नै हो । तर, त्यहाँ त आर्थिक हेर्ने मानिसले हरहिसाब नै देखाएन, के–के गरे, गरे ।

करिअर उत्कर्षतिर पुगेको बखत तपाईंहरू विदेश जाँदा केही कलाकार उतै लुकाएको आरोप पनि बेलाबखत लाग्छ नि !
– आरोप त के–के लाग्छ तर हामीले त्यसो गरेका छैनौँ । उतै लुक्छन् भन्ने भयले सोचविचार गरेर मात्रै कलाकार लैजान्थ्यौँ ।

आधा दर्जन काममा हात हाल्नु भयो कलाकारिता क्षेत्रमामात्रै सफल देखिनुभयो, किन ?
– कलाकारितमा मेरो तीक्ष्ण लगाव थियो । मेरो जीवनमा असफलता नै असफलता छ । कलाकारिता क्षेत्रकै सफलताले ती असफलतालाई हटाइदिएको छ । फेरि असफलताले नै आजको मदनकृष्ण बनाएको हो ।

(तस्बिर: किशोर कायस्थ/बुकवर्म फाउन्डेसन)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १४, २०७४  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC