फुटबलर प्रकाश बुढाथोकीको नाम सुन्नासाथ धेरैलाई भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) को सम्झना आउँछ । कारण, नेपालले लामो समयपछि साग खेलकुदमा स्वर्ण पदक दिलाउँदा प्रकाशको भूमिका र फ्रि किक गोल ।
गुवाहाटीस्थित इन्दिरा गान्धी स्टेडियमा भएको फाइनलमा भारतविरुद्ध १ – ० ले पछि परेको अवस्थामा प्रकाशले उत्कृष्ट फ्रि किक गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । त्यसपछि नवयुग श्रेष्ठले गोल गरेपछि नेपालले भारतलाई २–१ ले पराजित गर्दै स्वर्ण पदक जितेको थियो । साग फुटबलमा भारतको दबदबा चिर्दै नेपालले २३ वर्षपछि पहिलो पटक स्वर्ण हात पारेको थियो ।
भारतविरुद्धको उक्त फ्रि किक गोलपछि प्रकाश सारा नेपालीका लागि लोकप्रिय पनि बने । तर, पछिल्लो समय प्रकाश बुढाथोकी राष्ट्रिय टोली बाहिरै छन् । अभ्यासका क्रममा चोट लागेपछि प्रकाश मैदानबाहिर रहेका हुन् ।
नेपाललाई साग खेलकुदमा स्वर्ण दिलाएका महत्वपूर्ण खेलाडी प्रकाश आजभोलि के गर्दै छन् त ? यो नेपाली फुटबल प्रेमीका लागि जिज्ञासाको विषय बनेको छ । यसैबिषयमा बाह्रखरीका लागि सरोज तामाङले प्रकाश बुढाथोकीसँग गरेको कुराकानीः
नेपाली फुटबलमा पछिल्लो समय तपाईँ देखिन छाड्नुभयो, के गर्दै हुनुहुन्छ ?
आजभोली घर (धरान) मै बसिरहेको छु । इन्जुरीको कारण मैदानबाहिर छु, आराम गरिरहेको छु । धरानमै हल्का फुटबल खेल्ने गरेको छु । अहिले दाहिने खुट्टाको इन्जुरीलाई ठिक बनाउनमा आराम गरिरहेको छु ।
तपाईँ कस्तो अवस्थामा घाइते हुनुभएको हो ?
एएफसी सोलिडारिटी कपको तयारीमा थियौँ । अभ्यासको दौरानमै मेरो दाहिने खुट्टामा समस्या भएपछि म टोली बाहिर रहेको हो । त्यतिबेला हामीलाई कोच ग्योटुकु कोजीले दुईपटक कुद्न लगाउनुभएको थियो । कुद्दा कुद्दै मेरो खुट्टामा चोट लाग्न गयो । ठूलो समस्या त थिएन । केहीदिन अघि पुनः मलाई राष्ट्रिय टोलीमा बोलाइएको थियो तर राम्रोसँग फिट भाको छैन । त्यसपछि पुनः ब्याक भएँ । अहिले त म ठीक भईसकेँ ।
अबको तपाईको योजना के छ त ?
सायद यो पटक चोटग्रष्ट भएको कारण मलाई राष्ट्रिय टिममा नबोलाइएको होला । अर्को चोटी भने मलाई बोलाउने कुरामा म ढुक्क छु । देशबाट खेलेर केही गर्नुछ । अब म छिट्टै राष्ट्रिय टोलीमा फर्किनेछु ।
फुटबल करियर धरानबाटै सुरु भएको हो ?
सानोमा धरान मै हामी फुटबल खेल्थ्यौ । धरानमै सिकेँ । त्यतिबेला फुटबलको क्रेज थियो । निकै राम्रा खेलाडीहरू थिए । ए डिभिजन लिगमा धेरै जसो धरान कै खेलाडीको बर्चस्व थियो । २०६७ सालमा म भाग्यमानी सावित भए । धरान क्लबमा नखेली ए डिभिजन लिगको लागि ट्रायलमा धरान फुटबल क्लबका तत्कालिन कप्तान सागर घिमिरे दाईले मलाई काठमाडौं ल्याउनुभयो ।
ट्रायल राम्रो गरेकोले मैले सिधै फ्रेन्ड्स क्लबमा आवद्ध भएँ । त्यतिखेर आफुलाई निकै लक्की मान्छु । किनभने मैले त्यो भन्दाअघि कुनै पनि प्रतियोगिता खेलेको थिइनँ । खेलको सिजनमै ए डिभिजन लिगमा निकै राम्रो गरेँ । १७ बर्षको उमेरमा क्लबमा आबद्ध भएको थिएँ । फ्रेड्स क्लबबाट दुई सिजन खेलेँ । फ्रेन्ड्स क्लबमा आबद्ध भएको दोस्रो सिजनमा म ए डिभिजन लिगको सुपर आठमा सर्वाधिक गोलकर्ता बनेको थिए । त्यसपछि थ्री स्टारबाट खेल्न थाले । अहिलेसम्म म थ्री स्टारमै छु ।
फुटबलमा लाग्ने प्रेरणा चाँहि तपाईलाई कहाँबाट मिल्यो ?
म सानै उमेरदेखि राम्रो फुटबल खेल्थेँ । पढाईमा म पहिलेदेखि नै कमजोर थिएँ । फुटबलकै कारण सबैले मलाई माया गर्नुहुन्थ्यो । म एन्फा एकेडेमीको उत्पादन पनि होइन । धरान कै चोक र चौरमा फुटबल खेलेर हुर्केँ । अरुको मायाले गर्दा मैले आफ्नो खेल निखार्नुपर्छ जस्तो लाग्यो । फुटबलमै लागेर केही गर्नुपर्छ भन्ने लाग्यो त्यसैले म फुटबलमा लागेँ ।
फुटबल सुरुवात गर्दा तपाईँको कुनै आइडल खेलाडी पनि थिए की ?
त्यस्तो आईडल त खासै थिएन । गाउँकै सुमन सुवेदी पुलिस क्लबबाट खेल्नुहुन्थ्यो । दाईले गर्दा पनि हो । दाईले सिकाउनु पनि हुन्थ्यो । तर म फुटबलमा लाग्नुको मुख्य कारण चाँहि मेरो खेल अरुले मन पराएरै हो । गाउँकै ऋषि राई, विकास राई दाईहरूको हौसलाले गर्दा पनि हो म फुटबलमा लागेको ।
तपाईँले राष्ट्रिय टोलीबाट डेब्यु कहिले गर्नुभयो ?
२०१३ मा बराइन र कुवेत टुर गएको थियो । त्यतिबेला मैले बराइनको यू–२२ संग खेलेको थिए । त्यतिबेला हामी ३–१ गोलअन्तरले पराजित भएका थिर्यौं । मैले डेब्यु गरेको चाँहि सन् २०१३ सालमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा अफगानिस्तानसंगको खेलबाट हो । जुन खेलमा नेपाल अफगानिस्तानसँग १–० गोलअनतरले पराजित भएको थियो ।
कतिपय खेलाडी फुटबलमा लागेर पछुताएका पनि छन् । तपाई सन्तुष्ट हुनुहुन्छ ?
खेल जीवनमा मैलै एकपछि अर्को राम्रो प्रदर्शन गर्दै गएँ । त्यसैले नेपालको सबै क्लबबाट पनि अनुबन्धनका लागि प्रस्तावको ओइरो लाग्ने गरेको थियो । फुटबलमा लागेर मलाई पश्चाताप लागेको छैन । सबै थोक छोडेर फुटबलमा लागियो तर, राज्यले खेलकुदलाई प्राथमिकतामा नराख्दा मन कुडिंएर आउछ । २०१६ सम्म मेरो लागि निकै राम्रो भयो तर, अहिले चोटको कारण मलाई निकै हानी गरेको छ ।
नेपालको सन्दर्भमा भन्ने हो भने फुटबलमा लागेर परिवार पाल्न सकिन्छ ?
देशबाट खेल्दा नाम मात्रै छ । किनभने अहिले राष्ट्रिय टिममा पर्ने खेलाडीको तलब १० हजारबाट ५ हजार बढाएर १५ हजार पु¥याएको छ । जो राष्ट्रिय टिममा छ, उसले मात्रै पाउने हो । जस्तो कि अहिले म राष्ट्रिय टोलीमा छैन त्यसैले मैले पाउँदिन । यति तलबले आफैलाई त पाल्न गाह्रो पर्छ परिवार कसरी पाल्ने ? अहिले त लिग पनि छैन । सबै खेलाडी जागिरविहीन भएर बस्नुपरेको छ । यस्तो बेलामा आफै बाँच्न समस्या छ । बेला बेलामा रिर्चाज कार्ड र पेट्रोल हाल्न पनि पैसा हुँदैन ।
तर राष्ट्रिय लिग तथा प्रतियोगिताहरू भएको खण्डमा आम्दामी राम्रै हुन्छ । तर बिडम्बना नै भनौ लामो समय भईसक्यो नेपालमा लिग नभएको ।
नेपाली फुटबलको मुख्य समस्या के हो ?
हामी देशको लागि मरिमेटेर खेल्छौँ तर, फुटबलको सम्बन्धित निकाय र सरकार भने सुतेर बस्छ । सरकारको लगानी नै छैन । राम्रो नतिजा ल्याउनका लागि लगानी पनि हुनु पर्यो ।
अर्को कुरा नेपालले अन्तर्राष्ट्रिय जगतमा राम्रो नतिजा नआउनुको कारण फिजिकल पनि एक हो । नेपालमा सबै होचो कदका खेलाडी छन् । अन्य देशका खेलाडी हामी भन्दा पनि बलिया र अग्लो हुने गर्दछ । त्यसैले पनि हामी गोल गर्न चुकेका हौँ । यसका साथै स्ट्राइक लाइन कम्जोर हुँदा नेपालले सोचेअनुसारको नतिजा नआएको हो ।