यस पटकको बाढीले थुप्रै जनधनको क्षति गर्यो । अनेकौंलाई घरबारविहीन बनायो ।
जीवनभर कमाएको श्रीसम्पत्ति आफ्नै आँखाअगाडि स्वाहा भएको देख्दा पनि विवश बनेर हेरिरहनु पर्दो रहेछ प्रकृतिले रौद्र नर्तन गरेपछि । बाढीमा फसेकाहरूले भोगेको मानसिक व्यथाको पाटो त अलग्गै छ । उता बाढीमा परेर आफन्त गुमाउनेहरूको वेदनाको पीडा भनिसाध्य छैन । यिनै सुस्केरा, वेदना, छट्पटी र वियोग व्यथाले भरिएका छन्, आज समीक्षित सबैजसो पत्रिकाका पृष्ठहरू ।
यिनै व्यथाको चरमोत्कर्ष छ, कान्तिपुरको आज प्रकाशित ब्यानर समाचार ‘बाढीले मृत्यु, बाढीमै सद्गत’ मा । समाचारभन्दा पनि फोटो शक्तिशाली रहेको उक्त खबरमा नरेन्द्र श्रेष्ठका तस्बिर र शब्दहरू युरोपियन प्रेस फोटो एजेन्सीबाट साभार गरिएको छ । उक्त समाचारमा बाढीले तराईका जिल्लाहरू डुबानमा परेलगत्तै सप्तरीको तिलाठी गाउँको विपन्न मुसहर बस्तीमा पुगेका फोटो पत्रकारले खिचेको एउटा तस्बिरसँग जोडिएको मार्मिक तर निकै संक्षिप्त रिपोर्ट प्रस्तुत छ । गत आइतबार दिउँसो तिलाठीका फुदन सदाका ५ वर्षीय छोरा कमलुको बाढीकै कारण मृत्यु भएपछि सबैतिर समुद्रजस्तै पानी नै पानी भएको तराईमा शव गाड्ने ठाउँ नपाएर उनका काका देवकुमार सदाले कमलुको शवलाई कम्बलमा बेरेर कोसी नदीमा बगाउनु परेको दुःखद रिपोर्ट पढ्दा सबैको मुटु निचोरिन्छ । यसपटक बाढीको कहर तराईमा कतिसम्म निर्मम रह्यो भन्ने कुराको जीवन्त उदाहरण हो कमलुको कथा । कमलुको मृत्युको यथार्थ अवधेशकुमार झाले राजविराजबाट पठाएको स्थलगत विवरणले पुष्टि गर्छ ।
मधेसका दलित समुदायमा बालबालिकाको निधन हुँदा गाड्ने परम्परा छ । त्यसका लागि बाटोघाटोबाट अलि टाढा सार्वजनिक स्थल प्रयोग गरिन्छ । त्यस्तो ठाउँ जति खोज्दा पनि नपाएपछि सदा परिवारका लागि शव बगाइदिनुको विकल्प थिएन ।
नदीमा बालकको सद्गत गरेर निस्किएपछि भावविह्वल देवकुमारले भनेको वाक्य छ, ‘‘निमुखालाई सरकारले त हेर्दैन हेर्दैन, भगवान्ले समेत नहेर्दा रहेछन् ।’’
कान्तिपुरको समाचारमा बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या सोमबार साँझसम्म कम्तीमा ९१ पुगेको गृहमन्त्रालयको जानकारी पनि प्रस्तुत छ । समाचारअनुसार ३८ जना अझै बेपत्ता छन् ।
राजधानीमा पनि बाढीको कहरसँग सम्बन्धित समाचार नै मुख्य छ । ‘जथाभावी राहत वितरणमा रोक’ शीर्षक दिइएको उक्त समाचारमा गृहमन्त्रालयले गैरसरकारी संस्थाहरूलाई जथाभावी राहत वितरणमा रोक लगाएको उल्लेख छ । गृहमन्त्रालयमा सोमबार बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले गैरसरकारी संस्थाले दिने नगद तथा जिन्सी सामग्री सरकारी संयन्त्रबाटै वितरण गर्ने गरी व्यवस्था गर्न मुख्य सचिव तथा अन्य सरोकारवाला मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको उल्लेख छ ।
नागरिकमा केपी ढुंगानाले लेखेको ‘बाढीबाट ९१ को मृत्यु’ शीर्षक समाचार मुख्य बनेको छ । सोही समाचारअन्तर्गत ‘सरकारी राहत कोषमा २ अर्ब १२ करोड’ उपशीर्षकको रोशन सेंढाईंले लेखेको समाचारमा सरकारी राहत कोषमा अर्बौं रुपैयाँ जम्मा भएर पनि बाढीपहिरोजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेको उल्लेख छ ।
अन्नपूर्ण पोस्टमा गजेन्द्र बोहराले बाँकेबाट पठाएको ‘सारा सम्पत्ति बिलायो’ शीर्षक समाचार मुख्य छ । समाचारमा बाढीबाट पीडित एकजना प्रतिनिधि पात्र बाँकेकी झुप्पी बूढाथोकीको घर बाढीले भत्केको र सारा सम्पत्ति बगाएको विवरण छ । अन्नपूर्णमै ‘बाढीपीडित भोकभोकै, गोदाममै थन्कियो राहत’ शीर्षक दिएर राजेश वर्माले लेखेको एक अर्को समाचारमा आपूर्ति मन्त्रालयले पीडितका लागि तयार पारेको ‘राहत प्याकेज’ गोदाममै थन्किएको उल्लेख छ ।
डा.केसीको स्वास्थ्यस्थिति अत्यन्त जटिल, किन सुन्दैनन् नेताहरू सत्य आग्रह ?
कुनै बेला थियो, महात्मा गान्धीको सत्याग्रहका अगाडि झुकेर घाम कहिल्यै नअस्ताउने साम्राज्य बनाएका बेलायती शासकहरूले समेत आफ्नो राज त्याग गर्न तयार हुनुपरेको थियो र भारत स्वतन्त्र भएको थियो । संयोगले आज तिनै महात्मा गान्धीलाई सम्झिने अवसर अर्थात् भारतको स्वतन्त्रता दिवस पनि हो । गान्धी भारतका भए पनि उनको सिद्धान्त र विचार कालान्तरमा विश्वव्यापी बन्यो र उनकै सिद्धान्तको अनुसरण गरेर दक्षिण अफ्रिकालगायतका अनेकौं मुलुक अहिंसात्मक सत्याग्रहकै बलमा स्वतन्त्र भए । तर, नेपालमा सत्याग्रहको आवाज सायद निकै कमजोर भैसकेको छ । सत्याग्रहीको आवाज नसुन्नुको अर्थ हो, सत्यको महत्त्व नरहनु र असतीहरूको वर्चस्व हुनु ।
डा.गोविन्द केसी जीवन र मरणको दोसाँधमा पुग्दासमेत मेडिकल कलेजमा लगानी गरेका नेपालका राजनीतिक नेता र मेडिकल माफियाहरूले स्वार्थत्याग गर्न नसकेको देख्दा नेपालमा सत्यको आवाज निकै कमजोर भएको र सर्वत्र स्वार्थी र असतीहरू बिगबिगी रहेको पुष्टि हुन्छ ।
आज समीक्षित केही पत्रिकाले डा.केसीको अनशनको समाचारलाई पनि महत्त्व दिएका छन् । नयाँ पत्रिकामा अर्जुन अधिकारीले ‘केसीको ११ औं अनशनले २२ दिन पार गरे पनि वार्तासमेत हुन छाड्यो’ शीर्षक दिएर लेखेको समाचारमा सरकार उदासीन हुँदा केसी पक्षसँग वार्ता हुन नसकेको उल्लेख छ ।
यही समाचारलाई अन्नपूर्ण पोस्टमा ‘डा.केसीका मागमा मुख्य तीन दल विभाजित, संशोधन विधेयक आज पनि पेस नहुने’ शीर्षक दिइएको छ भने राजधानीमा ‘रेकर्ड तोडियो, माग पूरा भएन’ शीर्षक दिइएको छ । राजधानीको समाचारमा डा.केसीको स्वास्थ्यस्थिति थप गम्भीर बनेको र तत्काल आईसीयुमा राखेर उपचार नगरे दुर्घटना हुने जोखिम रहेको उल्लेख छ ।
तस्बिर समीक्षा
राजधानी र नयाँ पत्रिकामा बाढीमा फसेका झापाका एक जना वृद्धको नेपाली सेनाले उद्धार गर्दै गरेको तस्बिर छ । अन्नपूर्ण पोस्टमा बाँकेको राप्तीपारिको फत्तेपुरमा बिरामी परेकी बाढीपीडित महिलालाई स्ट्रेचरमा बोकेर उपचारका लागि नेपालगञ्ज लैजान लागिएको तस्बिर छ ।
नागरिकमा बाढीले जलमग्न विराटनगर विमानस्थलको रनवे सुरक्षाकर्मीले सफाइ गर्दै गरेको तस्बिर छ । कान्तिपुरमा कमलुको शव कोसीमा बग्दै गरेको मार्मिक तस्बिर छ । गोरखापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितहरूलाई इटहरीमा सम्बोधन गर्दै गरेको तस्बिर छ ।
सम्पादकीय
राजधानीमा ‘महामारी फैलिनबाट जोगाऔं’ शीर्षक सम्पादकीय छ । सम्पादकीयमा तराईको बाढी प्रभावित क्षेत्रमा विभिन्न किसिमका रोग फैलिन थालेको र यसको नियन्त्रणका लागि समयमै सतर्कता एवं सक्रियता आवश्यक रहेको उल्लेख छ ।
अन्नपूर्ण पोस्टमा पनि ‘महामारीपूर्व सजगता’ शीर्षक सम्पादकीय छ ।
नयाँ पत्रिकाको ‘हाम्रो अचम्मको संरचना’ शीर्षक सम्पादकीयमा हाम्रा भौतिक संरचनाहरूको निर्माणशैलीका कारण विपद्का बेला अत्यधिक क्षति हुने गरेको यथार्थको समीक्षा छ ।
नागरिकमा ‘आवागमन सहज बनाउन ध्यान देऊ’ शीर्षक सम्पादकीय लेखिएको छ । कान्तिपुरको ‘सीमावर्ती बाँधलाई कार्यसूचीमा राख’ शीर्षक सम्पादकीयमा भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवासँग सीमावर्ती बाँधको समस्यालाई कूटनीतिक वार्ताको एउटा विषय बनाउन आग्रह गरिएको छ ।
गोरखापत्रमा ‘राहत र उद्धार कार्यमा सबै जुटौं’ शीर्षक सम्पादकीय लेखिएको छ ।