site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
\'सभ्यता र संस्कृतिभित्र बसेर गीत गाउनुपर्छ\' 
Sarbottam CementSarbottam Cement

लोकदोहोरी गायिका देवी घर्तीमगरले गीत गाउन थालेको १३ वर्ष भयो । एक दशकयता गीत गाउनु नै उनको दैनिकी हो । गीत रेकर्ड नगरेको दिन उनका लागि कमै होलान् । १३ वर्षमा उनले पाँच हजार गीत गाइसकेकी छन् । उनी कला–संस्कृतिलाई असर गर्ने गीत आफूले नगाएको दाबी गर्छिन् ।  घर्ती आफूलाई चित्त नबुझे नराम्रा गीत नगाउन पनि कलाकार स्वतन्त्र रहेको बताउँछिन् । गायिका घर्तीसँग तिजको अवसर पारेर गरिएको कुराकानीः   

तिजमा कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त छु । केही दिन अगाडिमात्रै तिजको कार्यक्रमका लागि अष्ट्रेलिया गएको थिएँ । उताबाट फर्किएपछि पनि नेपालमा पनि कार्यक्रमहरु भइरहेका छन् । बोलाउनुभएको ठाउँमा सकेसम्म गइरहेको छु । 

यो वर्ष तिजका गीत कतिगाउनुभयो ?
जम्मा २८ वटा गाएँ । यसमा केहीबाहेक अधिकांश बजारमा आइसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नोचाहिँ कति वटा गाउनुभयो ?
आफ्नो त एउटामात्रै हो । एउटै त हो आफूले आफ्नो एल्बममा गाउने । मेरो मात्रै होइन सबैले एउटै गाउँछन् जस्तो लाग्छ । आफूलाई मन पर्ने एउटामात्र निकाल्दा पनि हुन्छ जस्तो लाग्छ । 

पछिल्ला वर्षहरुमा आफ्नो भन्दा अरुका गीत गाउने चलन बढेर गयो, किन ?
आफ्नो पनि गाइरहेका हुन्छौं । हामी व्यावसायिक कलाकार भएकाले यस्तो भएको हो । व्यवसाय नै गाउने भएपछि गाउनु  पर्छ । नयाँ भाइबहिनीहरुले आफ्नो एल्बममा हाम्रो पनि स्वर रहेको गीत राख्न चाहनुहुन्छ । त्यही भएर पनि होला, आफ्नोभन्दा अरुका गीत बढी भएको । हाम्रो पेशा नै यही भएपछि अरुको गीत गाउँदिन भन्ने कुरा पनि भएन । 

Global Ime bank

तपाईंहरु अरुका गीत गाउँदा जस्तो शब्द र लय छ, त्यस्तै गाइदिनुहुन्छ हैन ? यो बाध्यता हो ?
बाध्यता पनि हो । तर शब्द र लय साह्रै नराम्रो छ भने त्यसलाई केही तलमाथि भने गर्न सकिन्छ । त्यस्तो भएको पनि छ । कैयौं त्यस्ता गीतमा हामीले शब्द परिवर्तन गरेर पनि गाएका छौं । कसैले अफर गरिहाल्यो भनेर गाउनैपर्छ भन्ने पनि छैन । नगाउन पनि सकिन्छ, त्यो त हाम्रो इच्छा हो । यसमा हामी स्वतन्त्र छौं । 

तिजका गीत भड्किला भए भन्दा अग्रज कलाकारनै अरुका गीत गाउनैपर्ने बाध्यता छ भन्नुहुन्छ । यस्ता गीत आउनुमा  गलत को हो ?
अरुका गीत गाउनैपर्छ भन्ने बाध्यता छैन । नराम्रो भयो भने नगाउन पनि हामी सबै स्वतन्त्र छौं मात्र भनेकी हुँ । गायन हाम्रो पेशा भएकाले पनि केहीले सम्झौता गर्नुभएको हो कि जस्तो पनि लाग्छ । तर, व्यक्तिगत रूपमा भन्नुपर्दा मलै त्यस्ता नराम्रा गीत गाएको छैन । फिल्टर गरेर नै गाउँछु । तपाईंहरु आफैं पनि खोजी गर्न सक्नुहुन्छ ।

तपाईंले व्यावसायिकताको कुरा गर्नुभयो । तिज त हाम्रो संस्कार, संस्कृति र सभ्यता हो । मौलिकतालाई चुनौती दिँदैकिन व्यावसायिक बनाउनु राम्रो हो र ?
यो गम्भीर प्रश्न हो । हरेक कुराको सिजन हुन्छ । विभिन्न चाडवर्पजस्तै यो पनि हाम्रा लागि गीत गाउने अवसर हो । गायन पेशा भइसकेपछि हामीले तिजमा गीत नगाउने भन्ने त भएन । कस्ता सम्मका गीत गाउन सकिन्छ भनेर कलाकार स्वयंले सोच्नुपर्छ । 

३६२ दिनलाई व्यावसायिक बनाएर तीन दिन गाइने तिजका गीतलाई संस्कृतिसँग मात्रै जोड्न सकिँदैन ?
हुन्छ । त्यसका लागि हामी तयार पनि छौं । तर, संस्कृतिलाई ध्यान दिने र व्यवसायलाई छोड्ने हो भने राज्यले कलाकारलाई तलब दिनुपर्छ । राज्यले यस्तो व्यवस्था गर्न सक्छ ? राज्य तयार छ भने हामी पनि संस्कृतिसँग मात्रै सम्बन्धित गीत गाउन तयार छौं । कलाकारको पनि परिवार हुन्छ । उनीहरुले पनि बाँच्नुपर्छ भन्ने यथार्थलाई त भुल्न हुँदैन कसैले पनि । गीतसंगीतमा लगानी गर्नेले पनि आफ्नो लगानी गुमाउन चाहँदैन । यो सत्यलाई पनि भुल्न हुँदैन । 

त्यसो भए संस्कृति रक्षाका लागि सरकारको केही जिम्मेवारी छैन ?
मैले त्यसो भन्न खोजेको होइन । हाम्रो पनि दायित्व हुन्छ र निभाई पनि रहेका छौं । मेरो गुनासो कतिमात्रै हो भने तिजका गीतमा लगानी हुन्छ भने त्यस्ता गीत केही व्यावसायिक पनि हुन्छन् भन्ने हो । यसको मतलब संस्कार र संस्कृतिलाई नै भुलेर अगाडि बढ्नुपर्छ भन्ने होइन । म पनि त्यस्तो पक्षमा छैन । त्यही भएर त मैले पनि त्यस्ता गीत गाएको छैन । जुन गीतले हाम्रो मौलिकता माथि नै प्रश्न चिन्ह उठाओस् । संस्कृति बोकेको गीतलाई नराम्रो बनाउन पाइँदैन तर राम्रोलाई त व्यावसायिक रूपमा अगाडि बढाउन पाइन्छ भन्ने मेरो धारणा हो । 

तपाईं त अग्रज गायिका, नयाँ आउनेहरुलाई परम्परालाई नै चूनौती दिने गीत गाउनु हुँदैन भन्नुहुन्न ?
मैले मेरो साथीसर्कलमा रहेकाहरुलाई भनिरहेकी हुन्छु । तर, सबैले हामीले भनेको मान्छन् भन्ने पनि छैन । गायक/गायिकाहरुको यत्रो ठूलो भीड छ । हामीले हाम्रो टाउकोमा आएको जिम्मेवारीलाई निभाएका छौं । रेडियो/टेलिभिजनमा आएपछिमात्रै थाहा हुन्छ धेरैजसो त । यस्तो अवस्थामा त हामीले के नै गर्न सक्छौं र ?

हाम्रो दोहोरी गीत प्रतिष्ठान र संगठनमा आबद्ध नहुनेहरु पनि धेरै हुनुहुन्छ, जसले गीत गाउनुहुन्छ । उहाँहरुले आफ्नै हिसाबले जस्ता पनि गीत गाउनुहुन्छ । अहिले धेरै विरोध भइरहेको उहाँहरुकै कारण पनि हो । शब्द तथा लयबारे सेन्सर गर्ने कुनै आधिकारिक निकाय पनि छैन । 

गीतसंगीतलाई सभ्य बनाउन सेन्सर बोर्डको आवश्यकता औंल्याउनुभएको हो ?
कतिले यस्तो धारणालाई विरोध पनि गर्नुहोला, तर विकृति भित्रिन नदिने हो भने सेन्सर बोर्डको आवश्यकता पर्नेरहेछ । सेन्सर बोर्ड भन्नाले स्वतन्त्रतामाथि हस्तक्षेप नै गर्ने खालको भने होइन । त्यसले छाडापन र चरित्रलाई भने रोक्न सक्छ ।  

अहिलेको स्वतन्त्र समाजमा सेन्सर बोर्डको आवश्यकता देख्नु कत्तिको उचित हो ?
जस्ता गीतलाई पनि लोकगीत भन्न त पाइएन नि, होइन र ? हरेक गीतको आ–आफ्नै लय हुन्छ । गीत नगाउनुस् भनेको होइन, इन्टरटेन्मेन्टको हिसाबले गाए हुन्छ । तर पर्व विशेषका गीतमा भने व्यक्ति स्वयम्ले ध्यान दिनुपर्छ । यदी व्यक्ति गैरजिम्मेवार हुन्छ भने उसलाई मर्यादित पनि बनाउनुपर्छ भन्ने धारणा हो मेरो ।

तिजका गीतमा चेली र माइतीका कुरा हुन छाडेको महसुस कत्तिको गर्नु भएको छ ?
केही हदसम्म तपाईंले भनेको सत्य हो । समय परिवर्तन हुँदै गयो । पहिलेको जस्ता समस्या गाउँघरमा अहिले छैनन् भनेर पनि होला, मायाप्रेमका कुरा बढी तिज गीतमा समेटिएको । कुन राम्रा छन्, कुन गीत नराम्रा हुन्, समाज र संस्कृति कुन गीतले बोलेको छ र कुनले त्यसलाई लत्याएको छ, त्यो स्रोतादर्शकले छुट्याएर सुनिदिनुभयो र सञ्चार माध्यमले पनि यसबारे सचेत भइदिनुभयो भने नियन्त्रण हुँदै जान्छ । यसो हुने हो भने अहिले भएका समस्याको समाधान आफैं हुन्छ । 

किन हामी सस्तो लोकप्रियताका लागि गीत गाउन थाल्यौं ?
केहीले तपाईंले भने जस्ता गीत पनि गाएका होलान् । तर सबैले यस्ता गीत पनि गाएका छैनन् । त्यसैले सामान्यीकरण नगर्दा उचित्र हुन्छ होला । धेरै भए ठाउँमा केही नराम्रा पनि हुन्छन् । राम्रो भन्दा नराम्रो कुरा छिटो नोटिस हुने भएर पनि यस्तो लागेको होला । 

महिनौंदेखि तिजको माहोल हुन्छ नि आजकाल, यो सही हो कि गलत ?
यो त मलाई त्यति धेरै नराम्रो लाग्दैन । हामीले व्यावसायिक रूपमा गीत गाउने भएपछि रेकर्डिङ अगाडि हुने नै भयो । गीत गाएपछि प्रचारप्रसार पनि गर्नुपर्छ । आफ्नो गीतको विज्ञापन गर्ने यो एउटा माध्यम पनि हो । विदेशमा बस्ने नेपालीलाई पनि यो चाड मनाउन मन लाग्छ । उहाँहरुले मनाउन त पहिला नै मनाउनुपर्छ कलाकारसँग मनाउने हो भने । तडकभडक गर्नुभएन तर, सभ्यता र संस्कृतिभित्र बसेर मनाउन पाइन्छ ।

अहिलेसम्म कति गीत गाइसक्नुभयो ?
१३ वर्ष भयो लगातार गीत गाएको । बिरलैमात्रै हुन्छ, गीत रेकर्ड नगरेको दिन । पाँच हजारभन्दा बढी गाइसकें । त्यसमा तिजका पनि सयौं छन् ।  

अन्तिममा केही भन्नु छ ?
तिज पर्वको सबैलाई शुभकमना । सभ्यता र संस्कृतिभित्र बसेर रमाइलोसँग तिज मनाउनुस् । देशका विभिन्न ठाउँमा बाढीपहिरो गइरहेको छ । धेरै धनजनको क्षति भइरहेको छ । यस्तो अवस्थामा सकेको सहयोग गरौं र सचेत बनौं ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC