site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साउने सत्य
Ghorahi CementGhorahi Cement

साउने झरी सधैँ यस्तै । सधैँ मन रुझ्न मनपराउने, आली, खाल्डा, कुलेसामा कागजको डुङ्गा; कागज नपाएर बासँग गरेको जिद्दि । ओसिएको खरको छानो, कहिँ कतै रसाएको, अनि विस्तारै झरेको थोप्ला, हत्केलाले त्यहि होचो छानोमै पुर्याउँदा कति रमाइलो, यो पनि साउने खेल नै  थियो ।

आमाले उसिनेको–पोलेको मकैको खाजा; सम्झिँदा त्यस्तो मिठो, तर त्यतिबेला, कति सामान्य लाग्थ्यो । 

फेरि आमाले रुझेको दाउरा ल्याइन् । बा पनि पुरानो साइकलमा आए । धुवाँले कटेरो भरियो, निन्द्रा त्यसै लाग्यो ।

Agni Group

त्यही पुरानो सपनामा रम्दै सुतेको । आज विकराल सत्यमा आँखा खुल्यो ।
मोबाइल भाइब्रेट गरिरहेको थियो । अफिसबाट पो रहेछ ।

सुन्दरजी, चाँडै नाला पुग्नुस्, पुल बगाएको छ रे, त्यसपछि हामी प्रत्यक्ष सम्पर्कमा हुन्छौँ ।

Global Ime bank

हतार हतार तयारी भो, मोटरसाइकल चढ्दै म हुइँकिएँ घटनास्थलतर्पm । पानी केही क्षणलाई रोकिएको थियो । एक पललाई भए पनि बादल अलिकति फाटेर घामले भूईं छोएको थियो । भूर्इं त कहाँ थियो र, गोलीगाँठासम्म पानी नै पानी । खरका छानोहरुबाट धुवाँझैं बाफ उडिरहेथ्यो ।
मधुरै भए पनि यो गर्मी अत्यासलाग्दो । अनि मैले मेरो पटक–पटकको एक जना प्रधानमन्त्री सम्झें ।

खुइलिएको जङ्गलको त्यो बाटो । निथ्रुक्क भिजेका रुख, जङ्गली त पकै लुकेका होलान्, भिजेका होलान्, भोकै होलान् । फेरि मैले पटक–पटकको अर्को एक जना प्रधानमन्त्री सम्झें ।

गोलिगाँठाबाट पानी उक्लँदै थियो, अब मोटरसाइकल अगाडि बढ्दिन भन्न थाल्यो । त्यसलाई केही ओभानो कान्लोमा थन्काएर, छत्लाङ्ग–छत्लाङ्ग गर्दै पाइला घटनास्थलतर्फ बढ्यो । त्यसपछि त मैले विगतका दर्जनौँ मन्त्री र प्रधानमन्त्री सम्झें, तीनका भाषण सम्झें, आश्वाशन सम्झें; खै के–के सम्झें, के–के सम्झें तर यही आवेग र रिसले केही सकारात्मक असर गर्यो, त्यो गाह्रो हिँडाइमा केही रफ्तार थप्यो ।

अब अहिलेको गन्तव्य, जाबो १५ मिनेटकै भए पनि, यो सकस हिँडाइमा ४५ मा त पुगिएला जस्तो लाग्यो । 

केही पर अलि हुल देखियो । यस्तो झरी र हिलोमा पनि विपत परेपछि, मान्छे जम्मा हुँदा रहेछन् । थोरै पत्रकार, थोरै स्थानीय र मुख्य केही भर्खरै निर्वाचित स्थानीयहरु ।

पुलको भाग ‘खाली ठाउँ भर’ झैं खाली थियो । पारीसँग भर्खरै सम्बन्ध विच्छेद भएको थियो । त्यहि पारी गाउँमा, अलि पर, धेरै घर डुबानमा छन्  रे ।
उद्धार र राहतका लागि अब आकासमात्र एक विकल्प थियो । क्षतिको पूर्ण विवरणका लागि त झन् यो अविरल पानी सुक्नैपर्यो ।

केही समय अगाडिको जानकारी दिँदै नव निर्वाचित प्रतिनिधि भन्दै थिए, १७ घर डुवानमा, ४ बेपत्ता, पानीको सतह बढ्ने क्रम जारी .......
पानीको सतह बढेको त प्रत्यक्ष नै थियो । फेरि सिमसिमे सुरु भयो ।

ठूला ठूला उद्धारका कुरा, हेलिकप्टर बोलाएको, विभागीय टोली आउँदै, जनशक्ति जुटाईंदै आदि हल्ला चलिरहेथ्यो । यो सानो ठाउँको लागि ठूलो समस्या । पल पलको समाचारमा पूरै क्षेत्र डुबिसक्यो, यहाँको पालो वर्षा सुकेपछि आए पनि धन्य थियो ।

पानी त पहिले पनि पथ्र्यो, बाढी पनि आउँथ्यो, कागजको डुङ्गा बग्थ्यो, तर, घर यथावत हुन्थे, झुलुङ्गे हल्लिन्थे, केही साना कल्भर्ट, साँघु बग्थे तर सबै मैदान ताल बन्दैनथे ।

पारीका बाँधका कारण, डुबान झेल्नु परेको भन्ने सबैलाई ज्ञान छ, सबै मौन छन् । ‘किन’ को प्रश्न, सबै साधारण, स्थानिय र पीडितमा सीमित  छ ।
यसो हेर्दा वर्षायाम भरीका लागि सबै तराई खाली गराएर तालमा रुपान्तरण गर्दै माछा पालन, डुङ्गा सयर आदि गर्दै विकास अगाडि बढाउने दिर्घकालिन योजना छ जस्तो देखिन्छ, हाम्रो आफ्नै सरकारको ।

यस्तैमा मोबाइल बज्छ, उता स्टुडियोबाट, सुन्दरजी पुग्नु भो ? अँ भर्खरै । ल त, एकछिन होल्डमा बस्नुस्, भित्र राधा दिदी अन एयरमा हुनुहुन्छ । हस, भन्दै म चल्दै गरेको साढे ७ को मुख्य समाचार, जहाँ अर्को एक गाउँको हाम्रै सहकर्मी रिपोर्टरसँगको कुराकानी, या भनौं केही वर्ष यताको एकोहोरो, साउने सत्य, सुनिरहेँ ।
मेरो पालो आयो, प्रश्न थियो, वर्तमान अवस्थाको जानकारी गराउनुस् ।

मैले पनि अघिल्ला सहकर्मीझैं सरसर्ती जानकारी गराएँ । ल धन्यवाद फोन काटियो । अनि फेरि फोन आयो स्टुडियोबाट, जानकारी अझै लिँदै गर्नु, सम्पर्कमै रहनु, हामी २४ घण्टै लाइभमा छौँ । हुन्छ भन्दै फोन राखेँ ।

पानी रोकिए डाइभर्सन बनाउने कि भन्दै त्यहाँ रहेका सबै उपाय सोच्दै थिए ।

म भने अर्को समाचारका लागि घर पुगेर आउन पर्यो, बाइक पनि थन्काउनु पर्यो भन्दै केही समयका लागि घरतर्पm लागें । त्यहाँको परिस्थिति, साधनस्रोत हेर्दा हेरेर बस्नु बाहेक अर्को विकल्प छैन भन्ने ध्रुवसत्यझैं थियो । फर्कने क्रममा पानी पर्ने क्रम बढ्दै गयो । झन् झन् जमिनको पानीको सतह बिस्तारै उकालो लाग्दै गरेको जस्तो थियो । जसै तसै बाइकसम्म पुगियो, अनि घर ।

पानी झनै रिसाउँदै गयो । त्यसै बेला साथीको फोन आयो, घर भन्दा करिब ५ किलोमिटर परको खहरेले बाँध भत्कायो रे, भन्दै हतार हतार फोन काट्यो । अनि घरको ढोकाबाट बिस्तारै पानी कोठामा छिरेझैंलाग्यो ।

यसो बत्ती बाल्न खोज्दा लाइन छैन । मोबाइल खोल्दै त्यसमा टर्च बालें, पानीले ढोका ढकढकाउँदै थियो । ढोका खोल्दा झनै पानी भित्र पस्यो अनि बढ्दै गयो ।
हतार–हतार केही लुगा प्लास्टिकको झोलामा हालेँ, अलिकति चिउरा र अस्ति किनेको दुई प्याकेट चाउचाउ पनि लिएर छानोको सानो जस्ताको ओततर्फ लागें ।
तै, भाइ ५ वर्षअघि मलेसिया गएकोले ३ कोठे चुटुक्कको पक्की घर  बन्यो ।
बाले जिन्दगीभरि खेती गरेर पनि खरको छानो जस्तासम्म मात्र पुग्यो ।

अँ, खेती भन्दा फेरि याद आयो । अब सबै बाली बिग्रियो । घरमै त पानी अब विस्तारै घुँडासम्म आइपुग्यो । बढ्दै जाने हो कि, घट्ने, केही टुङ्गो छैन । छानामै मेचमा बसिएको छ । त्यही पुरानो झुपडी भइदिएको भए के हुन्थ्यो होला । अझ, यहाँ भन्दा पनि अन्यत्र झन् प्रभावित छन्, त्यहाँ झन् के भा होला ?
खै ? केन्द्रीय स्टुडियोबाट त फोन नै आएन ।

यसो हेर्दा त, ल.... टावर पनि हराइसकेछ ।

डरले निन्द्रा पनि छैन ।

अविरल वर्षाले जाडो पनि बढिरहेको छ ।

भोलिको उज्यालो कुर्नु बाहेक अर्को उपाय छैन । 

तर खै, भोली उज्यालो हुने हो कि होइन ?

झरेर पानी रित्तिएन बादल ...
पल पलको मृत्युले यो,
मर्ने बानी परिसक्यो ।
अनेक तृष्णाले, रुझ्ने बानी परिसक्यो ।

बेदनाको थैली बोकी,
हल्लाउँदैमा के भो र ।
ढोका ढोका चहार्दै 
गुहार्दैमा के भो र ।
कसको यहाँ कसले सुन्ने ?
जब सबलाई उही परिसक्यो ।
बच्ने की, बचाउने ?
जब पूरै देश डुबिसक्यो ।

पल पलको मृत्युले यो,
मर्ने बानी परिसक्यो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC