site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
के गर्दैछन् महानगरका वडाध्यक्ष ? : सडक फराकिलो बनाउन रोक्नेदेखि व्यवस्थित ढल निकाससम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनले विगत १५ वर्षदेखि रिक्त रहेको स्थानीय जनप्रतिनिधिहरुको पदपूर्ति मात्र गरेको छैन, गणतन्त्रात्मक संविधानको प्रभावाकारी कार्यान्वयनको ढोकासमेत खोलेको छ । 

स्थानीय तहका जनताहरुको हक, हित र अधिकारका सवालमा आवाज उठाई आफ्नो क्षेत्रको समग्र विकास गर्दैै लैजान जनप्रतिनिधिहरु कटिवद्ध रहँदा–रहँदै पनि स्थानीय तह सञ्चालन ऐन संसदबाट पारित हुन नसकेका कारण जनप्रतिनिधिहरुलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्न अप्ठ्यारो भइरहेको छ । 

स्थानीय तह सञ्चालन ऐन निर्माणाधिन रहेको अवस्थाका बाबजुद पनि काठमाडौंका ३२ वडाका वडाध्यक्षका आगामी कार्ययोजनाहरु यस्ता छन् :

Prabhu Bank
Agni Group
NIC Asia

वडा नं. १ भरतलाल श्रेष्ठ

मेरो एउटै महत्वपूर्ण योजना भनेको नक्साल क्षेत्रलाई संस्कृतिक र पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्दै लैजानु हो । 

Global Ime bank

हाल यहाँको चरम समस्या भनेको सडकको दूरावस्था नै हो । यसको निराकरणका लागि कमलपोखरी सममार्गदेखि सिंहदोबाटो सम्मको सडकको स्तरोन्नतिका लागि होमवर्क गरिरहेको छु । हालसालै बजेट निकासा भएको र प्रविधिक रुपमा सम्पूर्ण जनशक्ति तयारी अवस्थामा रहेकाले काम काम गर्न कुनै अफ्ठयारो छैन । यसो भनिरहँदा म यहाँका स्थानीयबासीहरुलाई स्पष्ट पार्न चाहन्छु कि सडक स्तरोन्नतिका नाममा यहाँका कुनै पनि भौतिक संरचना (घर, मठ, मन्दिर, देवालय, शिवालय, शालिक आदि) मा क्षति पुर्याउने छैन । म सरकारसँग आग्रह गर्न चाहन्छु कि यहाँका कुनै पनि सडक फराकिलो बनाउने बहानामा जथाभावी डोजर चलाउन पाइने छैन । यसो गरे यहाँका स्थानीय यस कार्यविरुद्ध उत्रनेछन् । यसका साथै यहाँको फोहोर र ढल व्यवस्थापनका साथै भूकम्पले क्षति पुर्याएको नन्दकिशोर महादेव मन्दिरको जीर्णेद्वारका लागि मैले योजना बनाएको छु ।  

वडा नं. २ राजेन्द्रकुमार श्रेष्ठ

यस क्षेत्रमा पर्ने ६ सय मिटर टुकुचा खोलाले यहाँका स्थानीयलाई सताउँदै आएको छ । मेरो पहिलो प्राथमिक योजना टुकुचा खोलाको उक्त लम्बाइलाई व्यवस्थित बनाई यहाँका बासिन्दाको बसोबासलाई वर्खाको समयमा पनि जोखिमरहित र व्यवस्थित बनाउनु हो ।

शिक्षा, स्वास्थ्यको सहज उपलब्धतामा यो क्षेत्र सुव्यवस्थित र अग्रणी नै रहेकाले यी विषयमा मेरो खासै योजना छैन । 

अर्को योजना भनेको यहाँका भित्री सडकहरुको स्तरोन्नतिका साथै कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि प्रत्येक घरघरमै फोहोर वर्गिकरणको आवश्यक तालिम र प्रशिक्षण प्रदान गरी उक्त फोहोरबाट मल उत्पादन गराउने योजना अब चाँडै नै कार्यान्वन गर्नेछु ।  

वडा नं. ३ दीपक केसी
 

यस वडालाई स्वस्थ वडाका रुपमा चिनाउनु मेरो पहिलो योजना हो । पूर्वराजाको दरबार संग्रहालय पनि यहीँ, राष्ट्रपति कार्यालय पनि यहीँ, सार्क राष्ट्रका अधिकांशसहित अष्ट्रेलिया र विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको राजदूतावास पनि यही वडामा रहेकाले मेरो वडा अन्य वडाभन्दा राजनीतिक र कूटनीतिक हिसाबले महत्वपूर्ण छ । भयरहित वातावरणको स्थायित्वका साथै शान्तिसुरक्षा, विजुलीबत्ती, स्वच्छ हावा, शुद्ध खानेपानीको निरन्तरता र व्यवस्थापन नै मेरो योजना हो ।  

वडा नं. ४ मोहन विष्ट

सडक, शुद्ध खानेपानी, सरसफाइ, ढल व्यवस्थापन, स्वच्छ हावा र हरियालीसहित वडाबासीहरुलाई न्यूनतम आवश्यकताको परिपूर्ति गराउनु मेरो मुख्य योजना छन् र यी सुविधाहरुको परिष्कृत सेवा प्रदान गराउँदै पनि आएको छु । 

भाटभटेनी–विशालनगर–चण्डोल–चक्रपथ सडक खण्डमा सोलारबत्ती जडान गराउने योजना भदौको पहिलो साताबाट कार्यान्वयन गर्दै छु । यसका साथै गोपीकृष्ण सिनेमा हल आसपासको सार्वजनिक जग्गा भूमाफियाहरुको चङ्गुलबाट सुरक्षित पार्नु मेरो योजना रहेको छ । 

वडा नं. ५ रमेश डंगोल
 

लिच्छिबिकालीन इतिहास बोकेको यस वडाको यो गरिमा बचाउँदै यहाँका मठमन्दिर र पाटीपौवाको निर्माण र जीर्णेद्धार गर्नु नै मेरो प्रमुख योजना रहेको छ । वडाका सांस्कृतिक अगुवा र विज्ञहरुसँगको छलफलपश्चात भदौ पहिलो साताबाटै यस योजनालाई साकार पार्न निरन्तर रुपले लाग्नेछु । 

यसका साथै सडक, शिक्षा, खानेपानी, सार्वजनिक यातायातको सहजता, महिला अभिमुखिकरण शिक्षालाई मैले प्राथमिकताका साथ योजनामा राखेको छु ।  

वडा नं. ६ दीपेन्द्र लामा
 

आरुबारीबाट ल्याइएको केयुकेएलको रिजर्भ ट्याङ्की बौद्धमा राखिए पनि त्यहीँका स्थानीयले उक्त खानेपानी उपभोग गर्न पाइरहेका छैनन् । केयुकेएलको यस्तो अवैज्ञानिक खानेपानी वितरणलाइ हटाएर उक्त खानेपानीको पहिलो उपभोक्ता यहीँका स्थानीयलाई बनाउनु मेरो पहिलो प्राथमिकता हो । 

सडकमा रहेका खाल्डा यथासक्य चाँडो पुरिसक्न सडक विभागलाई र सडक विस्तारका लागि उपत्यका विकास प्राधिकरणले भत्काएका यहाँका घरधनीहरुले अदालतमा दायर गर्नुभएको मुद्दाको छिनोफानोमा लाग्नेछु । 

वडा नं. ७ शुद्ध डंगोल
 

रातोपुल, गौरीघाट, बुलबुले, सिफल, कुमारीगाल, मैजुबहालमा रहेका साँघुरा सडकहरु स्तरोन्नति नै मेरो प्रथमिक योजना हो । स्थानीयको सहमतिमा यहाँका केही साँघुरा सडकहरुलाई फराकिलो बनाउने पनि मेरो योजना छ । साथै हाल अव्यवस्थित रहेको गणेशस्थानदेखि लामापोखरीसम्मको ढलको पाइपलाई व्यवस्थित र गुरुङबस्तीलाई वर्खाको समयमा डुबानको जोखिमबाट बचाउने दीर्घकालीन योजना पनि बनाएको छु ।  

वडा नं. ८ दिनेशकुमार डंगोल
 

यहाँका व्यस्त गल्लीहरुमा ब्लक बिछ्याउने मेरो योजना रहे पनि महानगरपालिकाले छुट्याएको सीमित बजेटका कारण टुक्राटुक्रामा काम गरिरहनु परेको छ । अर्को महत्वपूर्ण कुरा हाल पशुपति क्षेत्र विकास कोषमा सचिवको पद रिक्त रहेकाले कोषसँग मिलेर काम गर्न अप्ठ््यारो रहँदै आएको छ । 
भदौ १ गतेबाटै स्थानीय युवा क्लब, संघसंस्थासँग मिलेर यहाँको फोहोर संकलन र व्यवस्थापनको योजना बनाएको छु ।  

वडा नं. ९ रामकृष्ण जयखु श्रेष्ठ

सडकबाट फोहोर उठाउने भन्दा पनि सडकमा फोहोर आउनै नदिन स्थानीयमा सूचनासँगै जनचेतना फैलाउनु मेरो तत्कालको योजना छ । स्थानीयसँगको गहन छलफलबाट आएका सल्लाह–सुझावको आत्मसात गर्दै वहाँहरुका आवश्यकताअनुसार काम गर्ने नै छु । यसका साथै सार्वजनिक जग्गाको संरक्षण र पाटीपौवाहरुको जीर्णेद्धार गर्नु मेरा योजना छन् ।  

वडा नं. १० रामकुमार केसी
 

आफ्नो वडाका ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्यमा विशेष ध्यान दिँदै वहाँहरुलाई घरमै गएर स्वास्थ्योपचारसेवा प्रदान गर्ने व्यवस्था मिलाएको छु ।

कुमालेधारामा जेष्ठ नागरिक क्लब गठन गर्ने योजना छ । यसका साथै सडक आसपासमा रहेका बिजुलीका पोलमा असरल्ल रहेका बिजुली, इन्टरनेट र टेलिफोनका तारको व्यवस्थापन गर्दै यहाँका भित्री सडकहरुमा १ सय थान सोलारबत्ती जडान गर्नेछु । यसैगरी वडा कार्यालय परिसरमै रहेको २ रोपनी जग्गामा १ करोड ५० लाख लागतमा रमणीय पार्क निर्माणको योजना पनि बनाएको छु ।

वडा नं. ११ हिरालाल तण्डुकार
 

निर्वाचित भएर आएको अढाई महिना बितिसक्दा पनि महानगरपालिकाको बजेटबाट केही काम गर्न पाएको छैन । हाल संसदीय कोषको बजेटले बबरमहल र थापाथलीका सडकमा सोलार बत्ती जडान गराइरहेको छु । यिनै सडकहरुको स्तरोन्नति गर्ने मेरो योजना छ र काम पनि गराइरहेको छु । यसका साथै यहाँका सडकको धुलो र धुँवा नियन्त्रण, ढल निकासी र शुद्ध खानेपानीको व्यवस्थापन मेरो तत्कालका योजना हुन् । 

वडा नं. १२ विकास डंगोल
 

यहाँको मुख्य चुनौति ढल व्यवस्थापनमा छ । मिलनचोक, जम्मटोल, १२ वर्षे इनार, मयलबारी, टेकु, ह्युमतमा अव्यवस्थित ढल निकासीलाई व्यवस्थित बनाउने मेरो योजना छ । मेरो व्यक्तिगत खर्चबाटै यहाँका बासिन्दाका घरघरमा ५ हजारका लिटरका ट्याङ्गी प्रदान गरी ट्याङ्करको खानेपानी खुवाउँदै आएको छु । मेरो अर्को महत्वपूर्ण योजना भनेको यहाँका अस्तव्यस्त सडकहरु मर्मत गराउनु हो ।    

वडा नं. १३ ध्रुवनारायण मानन्धर
 

सर्वप्रथम यहाँको सडकका खाल्डाखुल्डी पुर्दै सडकको स्तरोन्नति गराउनु नै मेरो प्राथमिक योजना हो । 

यसका साथै अब बन्ने भौतिक संरचनाहरु पूर्णरुपमा अपाङ्गमैत्री बनाउन जोड दिँदै आएको छु । यसका साथै वडा कार्यालयबाट सम्पादन हुने प्रशासनिकलगायत सम्पूर्ण काम कारबाहीलाई प्रभावकारी र सेवाग्राहीमुखी बनाउनु मेरो योजना हो र यसैअनुरुप काम गर्दै आएको छु ।  

वडा नं. १४ शोभा सापकोटा
 

काकाकूल वडा भनेर चिनिँदै आएको यस क्षेत्रमा मेलम्चीले पनि पाइप बिछ्याउनमा पक्षपात गर्यो । त्यसैले मेलम्चीको मुख नताकी नै यस वडामा खानेपानीको दीर्घकालीन समाधान नै मेरो प्रमुख योजना हो । यसका साथै कलंकी चोकको फुटपाथ व्यवस्थापन, हात्तीगल्ली, खड्कागाउँ, मगरगाउँका सडकहरुको स्तरन्नोति गर्दै ढलको व्यवस्थित निकास मेरो योजना छ ।

वडा नं. १५ ईश्वरमान डंगोल
 

स्वयम्भुनाथ जाने बाटोमा थप ढुङ्गाहरु बिछ्याई स्तुपालाई थप आकर्षक बनाई छेवैमा एउटा सुन्दर पार्क बनाउने योजना छ ।
हाल रहँदै आएको वडा कार्यालयको भवनको पर्खाल तत्काल व्यवस्थित व्यवस्थित गर्नुका साथै वडालाई स्वस्थ, सफा र हरियालीयुक्त बनाउने मेरो योजना रहेको छ । 

वडा नं. १६ मुकुन्द रिजाल
 

मेरो वडा नेपालकै औद्योगिक क्षेत्रको गौरवशाली इतिहास बोकेको वडा भएकाले मेरो प्रमुख योजना भनेकै यसको संरक्षण र निरन्तरता हो । 

सोह्रखुट्टेदेखि बालाजुसम्म हामीले सोलारबत्ती जडान गराइरहेका छौं । बालाजु, बनस्थली, माछापोखरी, बाइसधाराका मुख्य चोक र गल्लीमा ६४ वटा सिसि क्यामेरा जडान गर्ने मेरो योजना छ । भत्किएको रानीबारीको ग्रेटवालले यहाँका स्थानीयलाई सताइरहेको छ । यसको समाधान, विष्णुमती किनारका सुकुम्बासीहरुको व्यवस्थित बसोबासका लागि सरकारसँग पहल गर्ने योजना पनि बनाएको छु । ०६८ सालको जनगणनाअनुसार ८४ हजार ४ सय ४८ जनसंख्या, २५ हजार घरधुरी र १९ हजार मतदाता बसोबास गर्ने यत्रो ठूलो वडामा महानगरपालिकाले मात्र २ करोड २५ लाख बजेट छुट्याएको हुँदा थप योजनाका साथ काम गर्न अप्ठ्यारो हुने सम्भावना घामझैं छर्लंङ छ । 

वडा नं. १७ नवीन मानन्धर
 

मेलम्चीले बिगारेका सडक मर्मत र सडकका खाल्डाखुल्डी पुर्याउनु मेरो तत्कालको योजना छ । यहाँ उत्पादित ७५ प्रतिशत फोहोर निजी फर्महरुले उठाउँदै आएकाले वडा कार्यालयका १२ जना कामदारहरुले बाँकी २५ प्रतिशत फोहोर उठाउँदै आएका छन् । अव्यवस्थित रुपमा रहेका यहाँका पाटीपौवाहरुलाई वडा कार्यालयको मातहतमा ल्याउन पहल गरिरहेको छु ।
 
वडा नं. १८ न्हुच्छेकाजी महर्जन
 

विष्णुमती किनारमा पार्क निर्माण गर्ने, गुर्जमार्गमा ढुङ्गा बिछ्याउने, भुरुङखेल चउरमा एकीकृत विकास कार्यक्रमअन्तर्गत १ करोड ५० लाख लागतमा बालउद्यान निर्माण गर्ने मेरो योजना रहेको छ । 

मेरै योजनापछि टेकोगल्ली, तुम्छेगल्ली, लोःगल्लीमा २२ लाख लागतमा ब्लक छाप्ने, इँटा र ढुङ्गा बिछ्याउने काम भइरहेको छ । यहाँका इनार, सडकपेटी र गल्लीको मर्मत सम्भार साथै सरसफाइका कार्यक्रम योजनाअनुसार नै गर्दै आएको छु ।  

वडा नं. १९ शशिलाल श्रेष्ठ 
 

हाल यहाँ अधिकारसम्पन्न बाग्मती योजनाले विष्णुमती खोला भीमसेनथानदेखि बालाजु पुलसम्म ढल निकासका लागि ह्युपाइप बिछ्याउने काम गरिरहेको छ । उसले काम सक्नेबित्तिकै त्यसस्थानमा हरियाली अभिवृद्धिका लागि वृक्षारोपण गर्ने योजना बनाएको छु । मेरो वडामा शुद्ध खानेपानीको सहजताका लागि मेलम्ची आयोजनालाई नै पर्खनुको विकल्प छैन । मेलम्चीले खनेका सडकहरुमा पाइप बिछ्याइसकेकाले सडकको स्तरोन्नतिका लागि मेलम्ची र सडक विभागको ध्यानाकर्षण गराउने छु ।  

वडा नं. २० राजेन्द्र मानन्धर
 

केयुकेएलले वीरसमशेरका पालादेखि निरन्तर प्रयोग गर्दै आएको खानेपानीको पाइपका कारण यहाँका सडकहरुमा बारम्बार समस्या देखिइरहन्छ । यी पाइपहरुको समस्याबाट वडालाई मुक्ति दिलाउनु मेरो पहिलो प्राथमिकता रहेको छ । यसका साथै सडकको धुलो, धुवा नियन्त्रणको दीर्घकालीन व्यवस्थापनलाई मैले प्राथमिकताका साथ योजनामा राखेको छु । सीमित बजेटका कारण वडाको समग्र विकासका लागि काम गर्न अप्ठ्यारो छ ।   

वडा नं. २१ उदयचुडामणि बज्राचार्य 
 

यस वडामा व्यवस्थित ढल निकासी रहँदै आएको छ । सडकहरु पनि साँघुरा र व्यस्त रहेकाले हरियाली अभिवृद्धिका उल्लेख्य योजनाहरु छैनन् । बरु कौसीखेतीका लागि वडा कार्यालयले प्रेरणात्मक छलफलका कार्यक्रम गर्दै आएको छ । बर्खाका कारण केही बिग्रिएको सडक मर्मत, खानेपानीको नियमित वितरण र प्रहरीहरुको सहकार्यमा शान्ति सुरक्षा कायम राख्नमा पहल गरिरहेकै छु । एउटा वडाध्यक्षले गर्नुपर्ने नियमित कामहरु गर्दै आएको छु, केही पनि महत्वाकांक्षी योजनाहरु छैनन् ।  

वडा नं. २२ चिनीकाजी महर्जन
 

भूकम्पले क्षति पुर्याएका यहाँका धार्मिक, संस्कृतिक र ऐतिहासिक महत्वका सम्पदाहरुको जीर्णेद्धारका योजनाहरु बनाएको छु । यस वडाको सुन्दरता, स्वच्छता र हराभरा कायम राख्नका लागि फोहोर व्यवस्थापन, ढलको उचित निकासका साथै हरियाली अभिवृद्धिमा जोड दिनुपर्छ नै त्यसैले यिनै योजनाका साथ अगाडि बढिरहेको छु ।  

वडा नं. २३ मचाराजा महर्जन
 

धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणलाई नै मैले प्रमुख योजनाका रुपमा सारेको छु । खानेपानीको चरम समस्या नरहेको तर अव्यवस्थित ढल निकासले स्थानीयबासिन्दाले सास्ती बेहोर्दै आउनु भएको छ तसर्थ व्यवस्थित ढल निकास मेरो योजना छ । 

वडा नं. २४ बालकृष्ण श्रेष्ठ
 

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका मक्खन बिहार, कृष्णबहाल आदि सम्पदाहरुको जीर्णेद्धार र पुनर्निर्माणलाई मैले प्राथमिकताका साथ मुख्य योजना बनाएको छु । आफ्नो कार्यकालभरिमा यसवडाका सम्पूर्ण सम्पदाहरुको जीर्णेद्धार गरिसक्नेछु । हालको योजना भनेको नरदेवी हस्पिटल–नरदेवी चोक–भेडासिंह–इन्द्रचोक–रञ्जना गल्लीहुँदै न्युरोडसम्मका सडकमा सडकबत्ती जडान गर्ने योजना लिएको छु ।

वडा नं. २५ नीलकाजी शाक्य
 

वडाको समग्र विकासका लागि सर्वप्रथम १५३ वर्षदेखि अव्यवस्थित भई गन्हाउँदै आएको ढलको व्यवस्थापलाई नै मैले मेरो पहिलो योजना बनाएको छु । र यसैअनुरुप काम गरिरहेको पनि छु । सम्पदै सम्पदा रहेको यस वडामा तिनको संरक्षण र जीर्णेद्धारका विशेष योजना छन् । महानगरपालिकाको ‘कोर एरिया’ रहेको यो सम्वेदनशील वडामा शुद्ध खानेपानीको व्यवस्था र शान्ति, सुरक्षा कायम राख्दै यहाँको युवावर्गलाई रोजगारीका क्षेत्रमा अग्रसर गराउनु मेरो योजना छ ।  

वडा नं. २६ ख्यामराज तिवारी
 

मेरो वडामा ठमेल र नयाँ बसपार्क दुई संवेदनशील क्षेत्रहरु रहेकाले यी क्षेत्रमा शान्ति, सुरक्षा कायम राख्नु मेरो पहिलो प्राथमिक योजना रहेको छ । 
सार्वजनिक जग्गामा भूमाफियाको छाडातन्त्रलाई नियन्त्रण गर्दै जेष्ठ नागरिक बसेर गफ गर्ने गोलघर निर्माणका लागि पायक पर्ने स्थानमा खाली जग्गाको खोजी, नयाँ बसपार्कमा अव्यवस्थित रहेका टहराहरुको व्यवस्थापन र ठमेलका थप केही स्थानमा सिसिक्यामेरा जडान गर्ने योजना पनि बनाएको छु । अबको ३ महिनापछि यी योजनाले साकार रुप लिइसक्नेछन् । यहाँका गल्लीहरुमा फ्याँकिने फोहोर साथै ढलको व्यवस्थापन गर्दै वडा क्षेत्रभित्र पर्ने सम्पूर्ण आकार–प्रकारका सडकको स्तरोन्नति गर्नु पनि मेरा योजना छन् ।  
 
वडा नं. २७ चिनियाँमान बज्राचार्य
 

महावौद्धका बिजुलीका पोलमा लगाइएका इन्टरनेट, केबल र टेलिफोनका तारहरुको व्यवस्थापन गर्नु चुनौति रहे पनि विद्युत प्राधिकरण र नेपाल टेलिकमलाई खबर गरी यो समस्या सुल्झाउनु मेरो योजना रहेको छ । यसका साथै मेलम्चीले सडक खन्दा केयुकेएलका पाइप फुटाएकाले पानी लिकेज भई वीर हस्पिटल र महाबौद्ध अगाडिका स्थानीयले सास्ती बोहेरिरहनु परेको छ । यसको व्यवस्थापन र ढल निकसी, फोहोरको नियमित संकलन साथै दीर्घकालीन व्यवस्थापन नै मेरो योजना हो । 

वडा नं. २८ भाइराम खड्गी
 

निर्वाचित हुनुअघि नै मैले यहाँका गल्लीका सडकको स्तरोन्नतिको योजना बनाएको थिएँ । यसैअन्तर्गत हालै धर्मचक्र गल्ली, नुनागल्लीमा काम सकिसकिएको अवस्था छ । त्यसैगरी अब त्रिनाथ गल्ली, ह्याकुमा गल्ली, तु गल्ली, फटिङनली गल्ली र वज्रवीर गल्लीका सडकमा नापीको काम भइरहेको छ । यी गल्लीमा अबको १ महिनामै काम सकिनेछ । पुतलीसडकका सडकमा संसदकै बजेटबाट सोलारबत्ती जडान गरिसकिएकाले यसमा मेरो केही योजना छैन ।

मेलम्ची खानेपानीको आवश्यक तयारी अन्तिम अवस्थामा पुगेकाले खानेपानीका लागि वडाका तर्फबाट मैले कुनै योजना बनाएको छैन । व्यवस्थित ढल निकासीका लागि काम गराइरहेको छु । एउटा आधुनिक पार्क निर्माणको योजना भएकाले पायक पर्ने स्थानमा सार्वजनिक खाली जग्गाको खोजी गरिरहेको छु । 

वडा नं. २९ कुश ढकाल

यस वडालाई हिलोमुक्त बनाउनु मेरो प्रमुख र पहिलो योजना हो । वर्खाको समय भएकाले यहाँका सडकहरु भनेजसरी मर्मत गराउन सकिरहेको छुैन । भदौ दोस्रो साताबाटै सडकको स्तारोन्नतिमा लाग्नेछु । सम्पूर्ण वडावासीहरुलाई करको दायरामा ल्याई सेवाग्राहीहरुका कामहरुलाई चुस्त, दुरुस्त, पारदर्शी र अत्याधुनिक ढङ्गबाट कार्यसम्पादन गर्नु र गराउनु मेरो योजना रहँदै आएको छ ।

वडामा विद्युतीय उज्यालो कायम गर्दै ढल र  फोहोर व्यवस्थापन गर्दै महानगरपालिकासँग विशेष छलफल गरी हाल ८८ वर्ष माथिका जेष्ठ नागरिकले पाउँदै आएको वार्षिक १२ हजारको उमेर दायरा घटाएर ७० वर्षसम्ममा ल्याउनु मेरो योजना रहेको छ । यसका साथै स्तरीय पार्कको निर्माण र युवाहरुको खेलकुद मोह र आवश्यकतालाई ध्यान दिँदै फुटसल, बास्केटबल कोट, ब्याडमिर्टन कोट निर्माण तत्कालै थाल्नेछु । यसैगरी सार्वजनिक शौचालय, क्रियापुत्री भवन निर्माण गर्ने पनि योजना रहेका छन् ।  

वडा नं. ३०  दलबहादुर कार्की

काठमाडौंको महानगरपालिकाको केन्द्रमा रहेकाले यस वडाको शान्ति, सुरक्षा कायम राखी भयरहित वातावरण सिर्जना नै प्रमुख योजना हो र यो योजना त्यती चुनौतिपूर्ण पनि छैन । मेलम्चीले ठाउँठाउँमा सडक बिगारेको छ । यसको मर्मतका लागि सडक विभागमा पहल गर्नुका साथै यहाँको ढल व्यवस्थापन, वर्खामा जलमग्न हुने यहाँका सडकहरुको स्तरोन्नतिका लागि योजना बनाएको छु । 

वडा नं. ३१ नारायणप्रसाद भण्डारी

यस वडालाई उज्यलो वडाका रुपमा चिनाउने मेरो योजना रहेको छ । यसका लागि हाम्रो टिम अत्याधुनिक सोलारसहितका सडकबत्तीहरु जडान गर्ने तयारीमा छ । वडालाई सरसफाइयुक्त राख्नु, बिग्रिएका र भत्किएका सडकहरुको स्तरोन्नतिका साथै लायन्स क्लब र सिद्धेश्वरी मावि आसपास रहेको सार्वजनिक जग्गाको संरक्षणका साथै जेष्ठ नागरिक भवन निर्माण र आफ्नै वडा कार्यलय पनि व्यवस्थित नभएकाले यतातर्फ पनि सोच्नुपर्ने अवस्था छ । अब बन्ने भौतिक संरचनाहरु अपाङ्गमैत्री हुनुपर्छ यसलाई पनि मैले प्राथमिक योजनामै राख्दै आएको छु । 

वडा नं. ३२ नवराज पराजुली

महादेवस्थान जाने सडक कालोपत्रे गराइसक्नु नै मेरो पहिलो प्राथमिक योजना हो । यहाँको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग मिलेर हामीले सफ्टवेयर बनाइरहेका छौं जसले कुन ठाउँमा कति फोहोर छ सजिलै पत्ता लाग्नेछ । वर्खाको समयले तीनकुने, कोटेश्वर, बालकुमारी र गैरीगाउँ आसपासमा रहेको अत्यधिक फोहोरको व्यवस्थापन केही चुनौतिपूर्ण बनिरहेको छ । वर्खा सकिएलगत्तै काम अगाडि बढाउने योजना छ ।

  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC