site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘गाउँ नछोडौँ बाढीले लान्छ, छोडौँ भारतले खान्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौँ । भारदहबाट दक्षिणतिर झरेपछि सप्तरी जिल्लाको पुरानो बजार आउँछ, हनुमाननगर । हनुमानगरबाट दक्षिणतर्फ नियाल्दा धमिलो पानीबाहेक केही देखिँदैन, आँखाले भ्याएसम्म । 

धमिलो सागरमा परिणत भएको भू–भाग गोबरगाढा हो । सप्तरी सदरमुकामबाट १२ किलोमिटर पर रहे पनि कोसौँ टाढा प्रतीत हुन्छ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातलगायत विकासका न्यूनतम पूर्वाधारसमेत छैनन् गाउँमा । 

बाढीले चारैतिरबाट घेरेपछि दुई सय गोबरगाढाबासी स्कुल र स्वास्थ्यचौकीको शरणमा छन् भने उनीहरूको अवस्था बुझ्न राज्य पुग्न सकिराखेको छैन । ‘राज्यविहीन’को टीठलाग्दो अवस्था छ त्यहाँ ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

चारैतिर हरियाली घाँसे मैदान । उर्वरायुक्त जमिन । कोसी किनारमा अवस्थित सीमावर्ती गाउँको मनोरम दृष्य अक्षरमा अटाउन निकै गाह्रो छ । त्यति नै गाह्रो छ अहिले त्यहाँको कहर शब्दमा समेट्न ।

Global Ime bank

शुक्रबारदेखि परेको पानीले कोसीको भँगालो बढेको छ । दर्जन भँगालोले अँगालो मारेको गोबरगाढाको भूभाग जलमग्न मात्रै छैन, पानी सुकेपछि भग्न बगरमा परिणत हुने पक्कापक्की छ ।

२ वर्षअघि हनुमाननगर योगिनीमाई नगरपालिकामा समेटिएको गोबरगाढा नयाँ पुनर्संरचनाअनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा गाभिएको छ । फराकिलो अस्तित्व बोकेको गोबरगाढा पहिला सिंगै गाउँ विकास समिति थियो । अहिले एउटा वडामा समेटिएको छ । ठीक त्यस्तै भय छ– गोबरगाढा सिंगैलाई कहिले कोसीले निलिदिने हो, पाँगोले पुरेर निमट्यान्न बनाइदिने हो ।

० ० ०

“बर्सेनि कोसीको सतह बढ्ने र नदीले धार परिवर्तन गर्दै जाने हो भने एक दिन गोबरगाढाको अस्तित्व नामटे हुनेछ । र, इतिहासमा मात्रै सीमित हुनेछ,” स्थानीय हरिनारायण यादव सुनाउँदै थिए, “हामी त राज्यको उपेक्षाको सिकार भएका छौँ ।”

\"\"

भर्खरैको बाढीले २५० वटा गोरु बगायो । तिनै थिए गोबरगाढाबासीको हातमुख जोर्ने माध्यम । भएका वस्तुभाउ लगेर मृगकुञ्जमा बाँधेका छन् । मुस्किल छ बाढी छिचोलेर स्याहारसुसार गर्न जान पनि । खेती गरेको जमिन जलासयमा परिणत भएका छन् । “खेत डुबाए त केही थिएन मध्यरात कतिबेला बाढी आउने हो र जीवनलीला नै समाप्त पारिदिने हो, भयले कुँजो बनाएको छ हामीलाई,” पीडा पोख्दै थिए उनी ।

बाढीले विद्यालय बन्द छन् । त्यसो त हिँउदमा पनि कहाँ स्कुल खुल्ला थियो र ? सात कक्षासम्म पढाइ हुने शारदा निम्न माध्यामिक विद्यालय छ, गाउँको मध्य भागमा । तर, शिक्षक छन् तीन जना । त्यो पनि हिँउदमा मात्रै मुख देखाउन आउँछन् ।

शिक्षक स्कुलमा पढाउन नआउने भएपछि त्यहाँका पढ्ने उमेरका बालबालिकाको दैनिकी दिनभर डुँगा खियाउँदै, कोसीको भेलले बगाएर ल्याएका दाउरा बटुल्दै र माछा मार्दै व्यतीत भइरहेको छ । 

“तीन शिक्षकको दरबन्दी छ तर प्रधानाध्यापकमात्रै विद्यालय आउँछन्,” हरिनारायण त्यहाँको शैक्षिक स्थिति प्रकाश पार्दै थिए, “दुई–तीन कक्षाका विद्यार्थी एकै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता छ ।

\"\"

सुरक्षाको अवस्था झनै डरलाग्दो भएको उनको भनाइ थियो । “कहिले कोसीटप्पुबाट आएको हात्तीले बितन्डा मच्चाउँछ । अन्य जंगली जन्तुको भय त्यतिकै छ । बालिनाली विनास गरे त केही थिएन, मान्छेकै ज्यान जाने भयले रातभर जागै बस्छन् गोबरगाढाबासी ।”

त्यस्तै अर्को भय छ– भारतीय अपराधीहरूको । भारतीय सीमा क्षेत्र भएकाले तस्करीहरूको लुक्ने ठाउँ त बन्दैछैन भन्ने डरले लुगलुगी कँपाएको छ गोबरगाढाबासीलाई ।

कोसीका दर्जन भँगालो छिचोलेर गोरबगाढा पुग्नुपर्ने भएकाले सुरक्षाकर्मीको उपस्थिति शून्यप्रायः छ । “रित्तो प्रहरीचौकीको सुरक्षा होर्डिङ बोर्डले गरिरहेको छ, गाउँको सुरक्षामा कसले ध्यान पुर्‍याउनु,” अर्का स्थानीय भागवत यादव सुनाउँदै थिए ।

गोबरगाढामा हुनसक्ने आपराधिक चलखेलका बारेमा सुरक्षा निकाय चनाखो रहे पनि कागजमै सीमित भएको ठानेका छन् स्थानीयले । “भारतीयले गर्ने ज्यादती र नेपाल सरकारले गरेको हेला सम्झँदा हामीलाई बेग्लै देशको जस्तो लाग्छ,” आँसु झारौँलाझैँ गरे हरिनारायणले ।

\"\"

० ० ०

गोबरगाढाको अर्को नाम हो श्रीलङ्कन टापु । चारैतिर कोसीले घेरिएकाले आवतजावत गर्न डुंगाकै सहायता चाहिन्छ । कोसीको सतह बढ्दै गएपछि र दुई महिना वर्षा झिमिक्क आँखा पार्न नपाएपछि त्यहाँका हुनेखाने योगिनियातिर बसाइँ सरिसकेका छन् ।

तर कुर्मी, तेली, राम, पासवान, रजकलगायत दलित, विपन्नहरू रात–दिन नभनी आउने बाढीसँग सिँगौरी खेलेरै त्यहाँ बसिरहेका छन् । 

“गोबरगाढाबासी त्यहाँबाट सर्ने हो भने देशै सिमाना सर्छ । भारतले गोबरगाढा तुरुन्तै हडप्छ । समय–समयमा हाम्रो भूमिमा बाली लगाउन आउने भारतलाई कतिखेर निलुँ भएको छ यो भूभाग,” मुख बिगारे भागवतले ।

कोसीले गोबरगाढामात्रै डुबाएको छैन । देशको सिमानासमेत निलिरहेको छ । यसपटकको डुबानमा देशका दशवटा सीमास्तम्भ गायव भए । त्यसो त वर्षेनी त्यहाँबाट जंगेपिलर हराउँछन् । तर, कसलाई दुख्ने ?

देशको सीमा मिचिएको घाउ पनि गोबरगाढाबासीलाई मात्रै दुखेकाले उनीहरूको मन कुँडिएको छ ।

“बरु कोसीमै विलय हुन मञ्जुर छौँ । गोबरगाढाको एकमुठी माटो पनि भारतको पोल्टामा पर्न दिँदैनौँ,” कसम नै खाएका छन् उनीहरूले । र त, गोबरगाढाबासीले देशको सिमानामा काँडेतार लगाएजसरी दशगजासँगै टाँसेर घर बनाएका छन् । सीमाको रक्षक बनेका छन् ।

सिंहदरबारको सरकारले त बिर्सियो–बिर्सियो, गाउँकै सरकारले टाढाको आँखाले हेर्दा रिसले आगो भएका छन् उनीहरू । “गोबरगाढाबासीलाई आवतजावत गर्न कठिनाइ भएकाले गाविसकै पालादेखि डुंगा दिने निर्णय भएको थियो । अहिले नगरपालिकाले पनि दिन्छु भनेको छ । तर समयमा रकम कहिल्यै निकासा हुँदैन । बर्सेनि ढिलागरी दुईवटा डुंगालाई पुग्ने रकम त दिन्छ । तर, आवतजावत गर्न त्यसले पुग्दैन । सक्ने बसाइँ सरे, नसक्ने त्यहीँ मरून् भनेजस्तै गरेका छन्,” आक्रोश पोख्छन् स्थानीय ।

० ० ०

त्यहाँको स्वास्थ्यको अवस्था झनै दर्दनाक छ । ‘गोठ’जस्तो स्वास्थ्यचौकीका स्वास्थ्य सहायक कहिल्यै भेटिँदैनन् । हनुमाननगरतिर डेरा लिएर बसेका अहेव दिनभर उतै बरालिन्छन्, गोबरगाढा जाँदैनन् । पखाला चलेको बेला जीवनजलसमेत हुँदैन । प्रसूति व्यथाले छटपटाएका महिलालाई बोकेर हनुमाननगरसम्म पुर्‍याउनुपर्छ,” भागवत भन्दै थिए । गोबरगाढाकी महिला स्वास्थ्य स्वयम् सेविका सुशीलादेवि रजकका अनुसार अहेब कहिल्यै स्वास्थ्यचौकीमा हुँदैनन् । सामान्य ज्वरो आउँदा दिने सिटामोलसमेत छैन । सदरमुकामबाट नजिकै रहेको ठाउँ पनि अति विकट अबस्थाबाट बाँचिरहेको छ,” पीडा पोखिन् उनले ।

\"\"

चारैतिर नदीले घेरिएकाले गोबरगाढा अब मानचित्रमा मात्रै सीमित हुने दिन धेरै टाढा छैन । त्यसैले होला स्थानीयबासी भन्छन्, “बाढी आइरहन्छ । सरकारले हेर्दैन त्यसैले हामी जतिबेलै भेलमा बग्न सक्छौँ । हामी बगे पनि देशको सिमाना नबगोस् ।”

नोट : राहत सामग्री लिन हनुमाननगरस्थित इलाका प्रहरी कार्यालय आएका गोबरगाढाबासीसँगको कुराकानीमा आधारित । प्रस्तुत तस्बिर गत साल डुवानमा पर्दा पंक्तिकारले गोबरगाढा पुगेर खिचेको हो ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC