नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको २५ औं साधारणसभा यही भदौ ४ र ५ गते हुँदैछ । साधारणसभाले आगामी नयाँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ कार्यकालका लागि अध्यक्ष पदका लागि प्रेस चौतारीले पत्रकार तीर्थ कोइरालालाई अगाडि सारेको छ भने प्रेस युनियन र प्रेस सेन्टरले महासंघका वर्तमान उपाध्यक्ष गोविन्द आचार्यलाई प्रस्ताव गरेका छन् ।
यसै सन्दर्भमा ३४ वर्षदेखि नेपाली पत्रकारितामा सक्रिय कोइरालासँग उनका चुनावी एजेण्डासँगै नेपालको पत्रकारिता तथा महासंघको निर्वाचनमा दलीय हस्तक्षेपलगायत विषयमा केन्द्रित रहेर बाह्रखरीका लागि गरिएको कुराकानीः
० ० ०
अध्यक्षमा उमेदवारी घोषणा गर्नुभएको छ । केके छन् तपाईंका मुख्य चुनावी एजेण्डा ?
पत्रकारितामा पछिल्लो समय आकर्षण बढेको छ । त्यसैले यसको उत्थान गर्नुपर्ने आहिलेको आवश्यकता हो । पत्रकारिता पेशा र उद्योगका रुपमा विकास हुँदै गएको छ । यसलाई अझै व्यवस्थित र मर्यादित बनाउँदै लैजानु पर्नेछ । राजनीतिक एजेण्डालाई क्रमशः विट मार्दै पत्रकारका पेशागत हकहित र सुरक्षाका कुराहरुमा जोड दिनुपर्नेछ । पत्रकारलाई दक्ष बनाउँदै लैजाने र पत्रकारितामा आएको लगानीलाई फर्किन नदिने नै हाम्रो मुख्य एजेण्डा हुन् ।
यी एजेण्डा कार्यान्वयन गर्न त तपाईंले जित्नुपर्ने हुन्छ । जित्ने आधार केके हुन् ?
मैले अगाडि सारेका एजेण्डाप्रति पत्रकार साथीहरुले गर्नुभएको विश्वास र उहाँहरुले दिनुभएको प्रतिक्रिया नै मैले चुनाव जित्ने मुख्य आधार हुन् ।
तपाईंलाई प्रेस चौतारीकै एउटा खेमाले असहयोग गरिरहेको छ पनि भनिन्छ नि, हो ?
त्यो मैले महसुस गरिरहेको छैन । सामान्यतयाः म चौतारीमा दैनिक गएर संगठनभित्र बसेर काम गरेको मान्छे होइन । तर सबै संगठन एक भएर अगाडि बढ्नुपर्छ भनेर भनिरहेको हुँदा चौतारीका साथीहरुले मसँग विमति राख्नुपर्ने अवस्था छैन । र, राख्नुभएको पनि छैन ।
तपाईंले प्रेस युनियन र प्रेस सेन्टरबाट टिकट नपाएपछि प्रेस चौतारीतर्फ लाग्नुभएको भनेर पनि टिप्पणी भइरहेको छ । के भन्नुहुन्छ यसमा ?
त्यस्तो होइन । यो बीचमा म युनियन, चौतारी, सेन्टर र अन्य संगठनमा पनि वार्तामा गएको थिएँ आफ्नै पहलमा । तर, टिकटका लागि होइन । पत्रकार महासंघलाई साझा संगठन बनाऊँ र सर्वसम्मत नेतृत्व चयन गरौं भनेर पहल गरेको हुँ । पार्टीको निकट रहेर काम गर्ने संगठन भन्दा फरक व्यावसायिक बनाऊँ भन्ने मेरो आग्रह थियो । महासंघले राष्ट्रिय राजनीतिमा रोल प्ले गर्न सकोस्, अन्तर्राष्ट्रिय विषयमा भूमिका खेल्न सकोस्, दलहरुबीच तिक्तता भयो भयो भने मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न सकोस् भनेर म सबै संठनसँग कुरा गर्न गएको हुँ ।
चौतारीका साथीहरु र चौतारीको माउ पार्टीका नेताहरुसँग मेरो कुराकानी भइरहेको थियो । तर अचानक युनियन र सेन्टरबीच कार्यगत एकताको कुराले म निराश भइसकेको थिएँ । यही सिलसिलामा एमालेका नेताहरु आएर तपाईंका एजेण्डामा हामी सहमत भयौं, हामीलाई साथ दिने कि नदिने भन्नुभयो । मेरो एजेण्डामा कोही सहमत हुन्छ भने म किन नजाने भन्ने मलाई लाग्यो र म गएँ । चौतारी बाहेकका साथीहरु नेतृत्वले जता जे निर्णय गरे पनि मलाई मत हाल्न तयार हुनुहुन्छ भन्ने मेरो विश्वास हो ।
तपाईं कहिले पनि खुलेर कुनै एउटा संगठनमा लाग्नु भएन । त्यसको असर यो निर्वाचनमा देखिने हो कि ?
म त्यति धेरै निरपेक्ष पनि होइन । विद्यार्थी राजनीतिमा म खुलेर काम गरेकै हो । तर पत्रकारितामा आइसकेपछि पत्रकारले राजनीतिक दलको दैनिक गतिविधिमा सहभागी हुनुपर्छ भनेर म दलको नियमित काम गर्नतर्फ लागिन । पत्रकार र पत्रकार महासंघले पत्रकार, बृहत राजनीतिक, सामाजिक हितका। सांस्कृतिक, समावेशी, राज्य पुनर्संरचनाका कुरा उठाउनुपर्छ भन्ने हो । यसलाई साथीहरुले बुझिदिनुहुनेछ । राजनीति त राजनीतिक दल र नेताहरुले गर्ने हो ।
दल र तिनका नेताहरुको आशिर्वाद र निगाहले टिकट पाएको व्यक्तिले कसरी व्यावसायिक पत्रकारिता गर्न सक्छ र महासंघ एक ढिक्का भएर अगाडि बढ्छ भनेर विश्वास गर्न सकिन्छ ?
एकैचोटी परिवर्तन, विकास सम्भव पनि छैन । विस्तारै विकास हुँदै जाने हो । नेपाली पत्रकारिताको इतिहास लामो छैन । लामो भए पनि धेरै समय राजनीतिक लडाइँमा बिताउनुपर्यो । पेशागत विकासको कुरा गर्दा हामी त्यो बाटोमा हिँड्न थालेका छौं । सँगै मैले नेतृत्वसँग के भनेको छु भने मलाई उपाध्यक्ष, सचिव, महासचिव, कोषाध्यष दिँदा काम गर्ने इच्छाशक्ति भएको व्यक्ति दिनुस्, नत्र काम गर्न सकिँदैन । महासंघले पुरानै आरोप खेप्नुपर्ने पुरानै घाउ सम्हाल्नुपर्ने अवस्था आउँछ भनेको छु । र अरुले पनि यसमा ध्यान दिनुहुन्छ भन्ने लाग्छ ।
महासंघको चुनावमा पार्टीका नेताले खल्तीबाट उमेदवार दिने र हामी पनि माग्दै हिँड्ने यो प्रवृत्तिले नेपाली पत्रकारितालाई कहाँ पुर्याउँछ ?
विगतको पृष्ठभूमिले हामी अहिले यो अवस्थामा छौं । यो परिपाटी अब धेरै समय रहिरहन्छ र यसलाई राख्नुपर्छ भन्ने पनि मलाई लाग्दैन । यो अधिवेशनमा अलि फरक भयो भने क्रमशः यसलाई ब्रेकअप गर्दै कही वर्षपछि पेशागत संगठनका रुपमा स्वतन्त्र भएर अगाडि बढ्छौं जस्तो लाग्छ ।
यो अवसर र चलखेलका लागि रातो कार्पेट विच्छ्याइदिने त हामी पत्रकार नै हो नि ! हैन ?
पत्रकारको पृष्ठभूमिले पनि यो भएको हो । म अहिले प्रचारका क्रममा विभिन्न मिडिया हाउसहरुमा हिँडिरहेको छु । उहाँहरुले पनि यसमा रियलाइज गर्न थाल्नु भएको छ । लिगेसी र पृष्ठभूमिको बाध्यता भए पनि अहिले यो खराव प्रवृत्ति हो भनेर महसुस गर्न थाल्नुभएको छ । यसको अर्थ अब यो हट्दै जान्छ भन्ने हो ।
सञ्चारमाध्यले न्यूनतम पारिश्रमिक लागु नगरेको भन्ने गुनासाहरु आइरहेका छन् । तर अहिलेसम्म महासंघले यसमा खासै सकारात्मक काम गर्न सकेको छैन भन्ने लाग्दैन तपाईंलाई ?
सबै सञ्चारमाध्यमहरुलाई एउटै बाकसमा राखेर हेर्नु हुँदैन । केही कमाउने सञ्चारमाध्यम पनि छन् र केही टाट पल्टेका सञ्चारमाध्यम पनि छन् । यी दुई खालका मिडिया हाउसहरुलाई वर्गिकरण गरेर कुनले कति दिन सक्ने भनेर बचनबद्ध हुनुपर्छ । हाम्रो आफ्नै कमजोरी पनि छ । हामी आफंै ठगिँदा पनि नबोल्ने परिपाटी छ । पत्रकारले पनि मेरो श्रम शोषण भयो । मैले राज्यले तोकेको पारिश्रमिक पनि पाइन भनेर भन्न सक्नुपर्छ । आफैं फलानो कम्पनीले तलब दिएन भनेर समाचार लेख्ने तर त्यही समाचार लेख्ने पत्रकार भने चुप लागेर बस्ने अवस्था छ ।
उनीहरुले भनेको खण्डमा पत्रकार महासंघले समस्याको समाधान खोज्छ । पत्रकार नै मौन बस्नाले मिडिया हाउसहरुले टाउको उठाउने ठाउँ पाइरहेका छन् ।
पत्रकार महासंघ आफैं अस्तव्यस्त छ । यस्तो अवस्थामा नेतृत्वमा पुगेको खण्डमा कसरी पत्रकारको हकहितका लागि काम गर्न सक्छ ?
पत्रकार महासंघले सुरुमा आफ्नो कम के हो भनेर स्पष्ट हुनुपर्छ । प्राथमिकताका क्षेत्रहरु छुट्याउनु पर्छ । र, त्यही अनुसार काम गरेको खण्डमा नयाँ भिजन लागु गर्न सकिन्छ ।
विगतको नेतृत्वले काम गर्न सकेन भन्न खोज्नु भएको हो ?
सकेन भन्दा पनि काम गर्दै सिक्दै जाने हो । पत्रकारका पक्षमा काम भएकै छैन भन्ने मलाई लाग्दैन । पत्रकार महासंघको भनव निर्माण भयो । पत्रकारको बिमा भएको छ । पत्रकारले औषधी उपचारको सुविधा पाए । पत्रकार कल्यायाण कोष बन्यो । वृद्ध पत्रकारलाई केही नभए पनि पेन्सन दिने भन्ने व्यवस्था भयो । तर, पनि केही गञ्जागोल छ । राजनीति धेरै भयो भन्ने गुनासो पनि छ । त्यसलाई भने चिर्नुपर्नेछ । तर, अब यस्ता कुरामा अलमलिनु पर्ने अवस्था छैन । राम्रो टिम बन्यो भने काम गर्न सजिलो पनि हुन्छ ।
जो नेतृत्वमा पुग्छ, त्यो लगानीकर्ताको पक्षमा उभिन्छ भन्ने टिप्पणी पनि हुँदै आएको छ नि !
लगानीकर्ताको सुरक्षा पनि गर्नुपर्छ, किनभने हम्रो रोजीरोटी नै उनीहरुसँग हुन्छ । तर श्रमजिवीको कुरा आउँदा पत्रकारको पक्षमा उभिनुपर्छ । सरकारबाट लिने कुरामा हामी दुवै एक हुनुपर्छ । हाम्रा अडियन्सलाई सूचना दिने अवस्थामा सबै एक ठाउँमा हुनुपर्छ । तर यहाँ साहु, पत्रकार र सरकार अलग्गै हो भन्ने मानसिकता छ । तर, त्यो सत्य होइन । आवश्यकता अनुसार छुट्एिर पनि र एकै ठाउँमा मिसिएर पनि अगाडि बढ्नुपर्छ ।
अन्तिममा केही भन्नु छ ?
म चुनावी मैदानमा छु । मेरो एजेण्डा मन पराउने साथीहरुले मलाई भोट दिनुहुन्छ भन्ने विश्वास लिएको छु । मौखिक आश्वासन र सहमति हैन, मतको सहमति चाहिन्छ । पत्रकारले पत्रकारलाई मत दिनुपर्छ । राजनीतिक एजेण्डालाई भन्दा पनि पत्रकारका एजेण्डालाई अगाडि बढाउन सहयोग गर्न मतदाता साथीहरुलाई मेरो आग्रह छ ।
तपार्इंसँग जो प्रतिस्पर्धा गर्दैहुनुहुन्छ, उहाँ पत्रकार भन्दा पनि बढी राजनीतिक व्यक्ति हो भन्न खोज्नु भएको हो ?
मेरो भनाइको आशय त्यो होइन । कम्तिमा व्यावसायिक हिसाबले कुरा गर्ने वातावरण बनाऔं भन्ने हो । मेरो कसैप्रति आग्रह वा पूर्वाग्रह छैन । राजनीतिक र गैरराजनीतिक भन्ने भन्दा पनि पत्रकार हामी उस्तै हुँ । मलै अघि पनि भने, म डे टु डे राजनीतिमा छैन र कोही छ भने त्यसले कस्तो असर गर्छ त्यो मतदाताले विचार गर्ने हो ।