site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

नेपालको कूटनीतिक सफलताभन्दा पनि बाह्य परिस्थितिका कारण बेलाबखत नेपालको महत्त्व बढ्ने गरेकोछ । अहिले भारत र चीनबीच तनाव बढ्दै गएकाले दुवै छिमेकी मुलुकले नेपाललाई महत्त्व दिएको देखाउन थालेका छन् । साता दिनका बीचमा भारतकी विदेश मन्त्री सुष्मा स्वराज र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले नेपाल भ्रमण गरेका छन् । विदेश मन्त्री स्वराज बिमस्टेकको बैठकमा भाग लिन नेपाल आएकी थिइन् भने उपप्रधानमन्त्री वाङ पाकिस्तानको स्वतन्त्रता दिवसमा सहभागी भएर स्वदेश फर्कने क्रममा नेपाल रोकिएका थिए । उपप्रधानमन्त्री वाङ र विदेश मन्त्री स्वराज दुवैले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका साथै विभिन्न दलका नेताहरूलाई पनि भेटे । उपप्रधानमन्त्री वाङले केही दिनपछि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमणको निम्ता दिए । उपप्रधानमन्त्री वाङको भ्रमणका अवसरमा नेपाल र चीनबीच सहयोगका विभिन्न सम्झौता पनि भएका छन् । यसबाट यस सरकारमाथि लगाइने 'भारतमुखी'को आरोप पनि केही मत्थर पक्कै भएको हुनुपर्छ ।

नेपाल भ्रमणमा रहेकै बेला उपप्रधानमन्त्री वाङले चीनले बाढीपीडितको सहयोगार्थ एक करोड अमेरिकी डलर सहयोग गर्ने पनि घोषणा गरिएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणका अवसरमा पनि सहयोगको यस्तै घोषणाहरू पक्कै हुनेछन् । यस्ता सहयोग नेपालको विकासका लागि आवश्यक र महत्त्वपूर्ण हुनेमा विवाद हुँदैन । तर, कुनै सहयोगले भन्दा सद्भाव र पारस्परिक  सम्मानले नेपाली जनताको मन जित्न सक्छ । भारतसँगको सम्बन्धमा जनस्तरमा देखिएको कटुता र चिसोपनले यही धारणाको पुष्टि हुन्छ । नेपालका छिमेकीहरूसँगको सम्बन्ध बिस्तारै भारतपट्टि झुक्नुको साटो सन्तुलित हुन थालेको भान हुन्छ । यद्यपि, नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध चीनसँग कायम हुन सक्तैन । यस्तै खुला सीमा र भौगोलिक अवस्थितिले पनि नेपाललाई भारतकै निकट बनाएको छ । तर, यति थाहा पाउँदापाउँदै र सांस्कृतिकरूपमा भारतसँग अत्यन्त निकट रहँदारहँदै पनि नेपाली समाजको ठूलो समूह भारत सरकारको व्यवहारप्रति सधैँ नै असन्तुष्ट रहिआएको छ । र, भारतको मिचाहा र ’ठूल्दाइ’ प्रवृत्ति यसको मूल कारण हो । 

Agni Group

नेपालमा भारत विरोधी भावना बढेको गुनासो गरेर नथाक्ने भारतीय पक्षले भन्दा त्यसको कारण भने चीनले बुझेको देखिने गरेको छ । चीनले नेपालीको चित्त दुख्ने गरी आन्तरिक मामिलामा टिप्पणीसमेत गर्दैन । यसको अर्थ नेपालको घटनाक्रममा चीन निस्पृह रहन्छ भन्ने पक्कै हैन । तर, साझा हितमात्र हैन पारस्परिक सद्भाव र सम्मान पनि चिनियाँ कूटनीतिको अभिन्न अंग रहिआएको देखिएको छ । यसैले नेपाली जनमानसमा पनि चीनप्रति सद्भाव र विश्वास छ । भारतीय विदेश मन्त्री विपक्षी दलका नेतासँग एक्लाएक्लै वार्तालाप गरेकी भए सम्भवतः नेपालमा ठूलै हंगामा हुन्थ्यो । तर, चीनका उपप्रधानमन्त्रीले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग करिब आधाघन्टा एक्लै भेटवार्ता गरेको विषयलाई पनि खासै अविश्वासका दृष्टिले हेरिएन । यद्यपि, पूर्वप्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयको प्रतिनिधिसँगै राखेरमात्र भेट गर्नु कूटनीतिक आचारण हुन्थ्यो ।
उपप्रधानमन्त्री वाङ सन्तुष्ट भएर फर्केको समाचार सम्प्रेषण भएको छ । नेपालका लागि यो खुसीकै विषय हो । 

नेपालले राम्ररी तयारी गर्न सकेको भए सम्भवतः पारस्परिक हितका अरू विषयमा पनि महत्त्वपूर्ण वार्ता र सहमति हुने सम्भावना थियो । विशेषगरी रेलवेसम्बन्धी विषयमा नेपाल स्पष्ट हुन नसकेका कारण अवसर गुमेको छ । यद्यपि, नेपालले चीनका केही महत्त्वाकांक्षी योजनामा भारतको असहमति हुँदाहुँदै पनि साथ दिएको छ । यसले बदलिँदो विश्व राजनीतिक परिदृश्यमा चीनको बढ्दो भूमिकाबारे नेपाल स्पष्ट हुँदैगएको संकेत गरेको छ । तर, सानो गल्तीले पनि सन्तुलन र विश्वासको वातावरण भने खलबलिन सक्छ । प्रधानमन्त्री देउवा अत्यन्त अप्ठेरो समयमा भारत जान लागेका छन् । दोक्लाम विवादको छिटा नेपालको दुवै छिमेकीसँगको सम्बन्धमा पर्न दिनु हुँदैन । भारतको सेनामा ठूलो संख्यामा नेपालीहरू कार्यरत छन् । भारतले उनीहरूलाई युद्ध मोर्चामा पठाउन सक्छ । यस्तो स्थितिमा आफ्ना नागरिकप्रतिको जिम्मेवारीप्रति सरकार विमुख हुनसक्तैन भने चीनको चित्त दुखाउने काम पनि गर्नुहुँदैन । भारत भ्रमणमा अवसरमा प्रधानमन्त्री देउवालाई प्रत्यक्ष वा परोक्षरूपमा भारतका पक्षमा बोलाउने प्रयत्न हुनसक्छ । तर, नेपालले चीनको मनमा चिसो पस्ने अभिव्यक्ति दिनु प्रत्युत्पादक हुनेछ । भारतले पनि चीनले जस्तै नेपाली मानसिकता बुझेर व्यवहार गर्नु भारतको हितमा हुनेछ । नेपालले अब कतैपट्टि झुक्ने वा एउटा छिमेकीविरुद्ध अर्कोलाई प्रयोग गर्ने शीतयुद्धकालीन रणनीति अपनाउनु सक्तैन । भूगोल नबदलिए पनि विश्व राजनीति परिदृश्यमा ठूलो परिवर्तन जो भइसकेको छ । वाङको भ्रमणले दिएको सन्देश यही हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC