site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिरोलाई भन्दा प्रोडुसरलाई प्रेसर
Ghorahi CementGhorahi Cement

‘पराइघर’ बाट चलचित्रमा डेब्यू गरेका नायक रमेश उप्रेती नेपाली रजतपटका लोकप्रिय नायक हुन् । दर्जनौं चलचित्रमा अभिनय गरेका रमेश उप्रेती कुनै समय नेपाली सिने नगरीका लागि गर्वीलो नाम थियो । दर्जनौं चलचित्रमा अभिनय गरेका उनी ७ वर्ष अमेरिकामा बसे । उतै हराउने हुन् कि भन्ने अड्कलबाजीका बीच रमेश फर्किए । अमेरिकाबाट फर्किएर अघिल्लो वर्ष ‘ब्रासलेट’ मा अभिनय गरेका रमेश अहिले आफैं निर्माणमा होमिएका छन् । उनको निर्माण रहेको चलचित्र ‘ऐश्वर्य’ यही कात्तिक ९ गते अलनेपाल रिलिज हुँदैछ । आफूले चलचित्र बनाउँदा आफैंले चाहे जस्तो राम्रो चलचित्र बनाउन सकिने धारणा राख्ने उनी बलिउड कलाकार सलमान, शारुख, आमिर खान पनि यही कारण आफैं चलचित्र निर्माण गर्दै आएको बताउँछन् । रमेशसँग चलचित्र क्षेत्रसँगै प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐश्वर्य’ का विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

केमा व्यस्त हुनुहुन्छ ? ।
चलचित्र रिलिजको पूर्वसन्ध्यामा छु । आफ्नै निर्माणको चलचित्र ‘ऐश्वर्य’ प्रोडक्सनको अन्तिम चरणमा छ । चलचित्र रिलिजको मिति कात्तिक ९ आउन पनि अब धेरै दिन छैन । चलचित्रको प्रचारप्रसारकै प्रेसरमा छु । कलाकार त पहिले नै थिएँ । यो चलचित्रबाट प्रोडुसरको रुपमा पनि आएको छु । प्रोडुसरको रूपमा स्वीकार गर्नु हुन्छ कि हुन्न भन्ने द्विविधामा छु । 

कलाकार हुँदा र निर्माता हुँदा कुन बढी प्रेसर फिल हुँदोरहेछ ?
एकदम ठूलो प्रेसर हुँदोरहेछ निर्माता हुँदा । कलाकार भएर ढुक्कसँग काम गरिरहेको मान्छे । अहिले सबै प्रोडक्सनको जिम्मा लिएर काम गर्दा ठूलो प्रेसर फिल हुँदोरहेछ । मलाई थाहा पनि थिएन । एउटा क्यारेक्टरमा बसिरहेको बेला एउटाले आएर एक थोक, अर्कोले अर्को थोक भन्ने टफ काम रहेछ प्रोडुसर हुन । पहिलो गाँसमै ढुङ्गा भने जस्तो काम गर्न गाह्रो भयो तर यसलाई मैले स्कुलिङका रूपमा लिएको छु । यो चलचित्र दर्शकले मन पराइदिनुभयो भने मलाई अरु चलचित्र बनाउन सजिलो हुन्छ । 

Agni Group

कलाकार मान्छे अचानक निर्माणमा हात हाल्नुभयो, कारण के थियो ?
हामीले सँधैं अग्रज र अनुभवीहरुबाट सिक्ने हो । हलिउड, बलिउडमा सँधै कलाकारले चलचित्र निर्माणमा हात हालेका छन् । जब कलाकार आएर चलचित्रमा हात हाल्नु भएको छ चलचित्रले उद्योगको रूप लिँदै फड्को मारेको छ । 

१९ वर्षको उमेरदेखि चलचित्रमा काम गरेँ । अब अझै यही क्षेत्रमा रहिरहन निर्माणमा पनि हात हालौँ भन्ने लाग्यो र निर्माण गरेको हुँ । आफैंले निर्माण गर्दा उमेर अनुसार, सोचे अनुसारको चलचित्र बनाउन सकिन्छ । आफूले सोचे अनुसारको चलचित्र निर्माण गर्न आफैंले बनाउनु पर्छ । फरक निर्माता, फरक कन्सेप्ट र फरक कलाकारसँग काम गर्दा मलाई त्यती धेरै उपयुक्त लागेर र मैले चलचित्र बनाएँ । 

Global Ime bank

निर्माता, निर्देशकको अनावश्यक दबाबका कारण राम्रो चलचित्र बन्न सक्तैन भन्ने संकेत हो ?
एउटा स्टोरी लेखिन्छ । त्यसमा कलाकार को भनेर सरूमै छानिँदैन । एउटा नभएको अर्को, त्यो पनि नभए अर्को विकल्प खोजेर अभिनय गराइन्छ । चलचित्र मेकरले सुरूमै म यसका लागि चलचित्र बनाउँदैछु भनेर अन्तिमसम्म त्यसमै फोकस भयो भने मात्रै न्याय गर्न सकिन्छ । 

नेपालमा पनि व्यक्ति हेरेर स्टोरी चयन र स्क्रिप्ट लेखिनुपर्छ भन्न खोज्दैहुनुहुन्छ ?
हो । मैले भन्न खोजेको त्यही हो । व्यक्ति हेरेर स्क्रिप्ट लेखिनुपर्छ । यस्तो अवस्थामा मात्रै कलाकारले कथालाई न्याय गर्न सक्छ । कलाकरको बडी ल्याङवेज उसको हाउभाउ, बानी व्यवहारलाई फलो गरेर स्क्रिप्ट तयार गरेको खण्डमा राम्रो चलचित्र बन्छ । 

यही कारण हो भारतमा पनि सलमान, सारुख, आमिर लगायतका कलाकार चलचित्र मेकिङमा आएका । उनीहरू चलचित्र खेल्न नपाएर मेकिङमा आएका होइनन् । आफ्नो कन्सेप्ट अनुसारको राम्रो चलचित्र बनाउन आएका हुन् । उनीहरू सफल पनि देखिएका छन् । त्यो अभ्यास हाम्रोमा पनि हुनुपर्छ । 

चलचित्र ‘ऐश्वर्य’ लाई चलचित्रमा तपाईँको कमब्याकको रुपमा लिनु भएको हो ?
यो त मलाई पनि थाहा छैन । अहिले नै भन्दा ठूलो कुरा गरे जस्तो हुन्छ त्यसैले कात्तिक ९ नै कुर्नुपर्छ । चलचित्र राम्रो भए पुग्छ । कोही एउटा व्यक्तिलाई राम्रो हुँदा भन्दा पनि राम्रो विषयबस्तु दर्शकलाई लिन सकियो भने त्यो उत्तम हो । चलचित्रमा व्यक्ति भन्दा पनि विषय प्रमुख कुरा हो । सलमानको ‘ट्युबलाईट’फ्लप भयो । सारुखका फिल्म पनि फ्लप भएका छन् । त्यसैले चलचित्रमा एउटा व्यक्ति गौण हुन्छ । कथा नै मुख्य पक्ष हो । 

नेपालमा बक्स अफिसमा राम्रो व्यापार गर्‍यो भने चलचित्र हिट भयो भन्ने चलन छ । चलचित्र मूल्यांकनको यो सही मापदण्ड हो ?
होइन । यो गलत हो । राम्रा फिल्म नचलेका पनि छन् । झुर चलचित्रले राम्रो व्यापार पनि गरेका छन् । कहिले काहिँ मासले गाइड गर्छ व्यक्तिलाई । लहलहैमा लागेर पनि कुनै चलचित्र चलेका छन् भने कुनै राम्रा चलचित्र ओजेलमा पनि परेका छन् । त्यसैले ब्यापारले चलचित्रको समग्र मूल्यांकन गर्दैन । तर, एउटा पक्षका रुपमा भने बक्सअफिसलाई पनि लिन सकिन्छ । 

अहिले डार्क कमेडी चलचित्रले राम्रो व्यापार गरिरहेका बेला तपाइँले लभस्टोरी जानराको चलचित्र निर्माण गर्नु भयो नि !
हो अहिले ‘छक्का पञ्जा–२’ ले राम्रो चलिरहेको छ । तर यसको मतलब अरु चलचित्रले राम्रो व्यापार गरिरहेका छैनन् भन्ने होइन । ‘ए मेरो हजुर–२’, प्रेम गीत–२’, र ‘म यस्तो गीत गाउँछु’ ले पनि राम्रो व्यापार गरेकै हुन् । चलचित्र जुन जानरामा बनेको हो त्यो जानरामा राम्रो बन्यो भने दर्शकले मन पराउनुहुन्छ । कलर फुल चलचित्र चलिरहेका छन् भन्छु म । 

तपाईं अघिल्लो पुस्ताको कलाकार, अहिलेका दर्शकको चाहना अनुसार चलचित्र बनाउन गाह्रो भएन ?
त्यती धेरै फरक छैन । पहिला अलि लाउड एक्टिङ हुन्थ्यो अहिले अलि सफ्ट हुन्छ । स्क्रिप्ट त्यही हो, मौलिकता उही हो । फरक भनेको प्रविधि मात्रै हो । दर्शक अलि चुजी हुनुभएको छ । हिजोकै जानरा कै चलचित्र अहिले पनि चलिरहेका छन् । समय अनुसार आफूलाई अपडेट गर्दै लैजाने हो । परिवर्तनलाई आत्म्सात गर्दै जाने हो । त्यसबाट म अनविज्ञ छु जस्तो लाग्दैन । दर्शकको चहना अनुसार नै म हिँड्ने प्रयास गरेको छु । 

त्यही भएर यहाँले नयाँ/पुराना कलाकार तथा प्राविधिकलाईलिनु भएको हो ?
पुरानो पुस्ताको अनुभब र नयाँ पुस्ताको सैद्धान्तिक ज्ञान र ऊर्जालाई मिलाउन सकियो भने राम्रो उत्पादन आउँछ भनेर हो । पुरानो पुस्तालाई हामीले सम्मान गर्दै उहाँहरूबाट हामीले सिक्नुपर्छ भनेर पनि हो । पुरानो पुस्ताले गर्दा नै आज चलचित्र उद्योग छ । यो तथ्यलाई पनि हामीले भुल्नु हुँदैन । सबै सिर्जनशील हुनुहुन्छ । सबैले राम्रो काम गर्नु भएको छ । व्यवसायिकतामा तेरो मेरो हुँदैन, चिनेको/नचिनेको भन्ने हुँदैन । 

‘ऐश्वर्य’ कस्तो खालको चलचित्र हो ?
यो एउटा कलरफुल चलचित्र हो । मुख्य कुरा त मनोरञ्जन नै हो । आँखालाई रमाइलो हुनेगरी प्रस्तुत गरेका छौँ । धेरै कहानी र टुइस्ट छ चलचित्रमा । इमोशन छ, ड्रामा छ, कहिले हसाउँछ, कहिले रुवाउँछ समग्रमा भन्दा एउटा पूर्ण व्यवसायिक चलचित्र हो । 

आधा शताब्दी लामो इतिहास बोकेको नेपाली चलचित्रमा अपेक्षित विकास भएको जस्तो लाग्छ कि लाग्दैन यहाँलाई ?
अपेक्षित विकास भएको छैन । तर पनि आफ्नै घर, आफ्नै परिवार नै सबैलाई प्यारो लाग्छ । धेरै महत्त्वाकांक्षी पनि हुनु हुँदैन । समयसँगै विकास हुँदै जान्छ । कोही आएर रातारात करोडौं फाइदा गर्छु भनेर सोच्छ भने त्यो गलत हो । तर म सानै देखी यही क्षेत्रमा रहेकाले मलाई थाहा छ । मैले धेरै महत्त्वाकांक्षा पनि राखेको छैन । 

रमेश उप्रेतीले व्यापारमा पनि हात हाल्यो भनेर बुझ्दा के हुन्छ ?
मैले २ करोड रुपैयाँ लगानी गरेर ९९.९ प्रतिशत डुब्छ भनेर जान्दा जान्दै चलचित्रमा आउनु भनेको यो क्षेत्रप्रति मेरो लगाव हो । यसलाई व्यवसायका रूपमा नलिउँ, मैले जानेको गरेको यही काम हो । त्यसैले म यही क्षेत्रमा रहन मात्रै चाहेको हो । दर्शकको मनमा रहिरहन चाहेको हो । दर्शकले निर्माणमा मेरो प्रवेशलाई रुचाइदिनुभयो भने म निरन्नतर चलचित्रमा रहिरहने छु । चलचित्र ‘लार्जर देन लाईफ’ हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले यो मान्यता स्थापित गर्न पनि मैले ‘ऐश्वर्य’ बनाएँ । 

भनेपछि अब दर्शकले यहाँलाई चलचित्र निर्माताको रूपमा देख्न पाउने भए ?
म अहिले यसै भन्न सक्तिन । ‘यो कात्तिक ९ गतेपछि थाहा हुन्छ । ‘ऐश्वर्य’ चल्छ या चल्दैन त्यसैमा निर्भर हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २२, २०७४  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC