site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रेमका अन्वेषक
Ghorahi CementGhorahi Cement

– अक्षर काका


‘अश्विनीकुमार’ मिथमा देव चिकित्सक हुन् । ऋग्वेदानुसार आयुर्वेदका आदि आचार्य पनि । सूर्यपुत्र हुनुका नाताले उनका अनेकानेक यशश्वीको चर्चा पुराणमा नभएका होइनन् ।

तर, उनी ‘अश्विनीकुमार’का अनेक मिथलाई माथ दिँदै ‘प्रेमका अन्वेषक’ बन्न पुगे ।

Agni Group

प्रेम ‘अपरिभाषित’ अनुभूति हो । त्यसो त यो अपनत्वभाव हो भनेर व्याख्या नगरिएका पनि होइनन् । मजबुत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो भनेर अथ्र्याउनेहरू पनि बग्रेल्ती भेटिन्छन् ।

दर्शनशास्त्र भन्छ– प्रेम एक जीवात्माप्रतिको दया, करुणा र स्नेहआदि सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो । र, त्यसबाहेक यो विशिष्ट ऊर्जा पनि हो ।

Global Ime bank

यी त प्रेमका सामान्य धारणा भए । त्यसबाहेक प्रेमका अरू आयामहरू छन्, जुन आदिकालदेखि खोजिँदै आएको हो । र, अद्यापि जारी छ । भनौँ न, प्रेम गंगा हो– मानव सभ्यता सुरु हुनुपूर्व पनि यसकोे अस्तित्व थियो । र, आजपर्यन्त पनि यो बगिरहेकै छ ।

त्यसैमा मिसिन आइपुगेका छन्– लेखक अश्विनी कोइराला । र, पहिल्याउँदैछन् प्रेमका विविध शिराहरू ।

० ० ०

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टबाट केही पूर्वपट्टिको भित्री गल्लीमा रहेछ उनको डेरा ।

“घर बनाउन सकेको छैन अझै !” उनको अनुहारमा सर्वकालिक हाँसो उदांगियो ।

उनको जीवन पनि पेप्सीकोलाका गल्लीजस्तै छन्, वक्ररेखायुक्त । मनमनै सम्झिएँ– सपाट हुँदो हो त, उनी शायदै अश्विनी बन्थे ।

तीनवटा मोडयुक्त गल्ली छिचोलेपछि आफू बस्ने कोठामा पुर्‍याए उनले । “आजपर्यन्त ‘सुकुम्बासी’ छ मेरो जीवनशैली ! २५ वर्षदेखि डेरामै बसेको छु,” शब्दमा क्रमशः जीवनका पाटा पोखिन थाले उनका ।

‘सुकुम्बासी’ जीवनको ‘प्रारब्ध’ जस्तै बनेको रहेछ !

भोजपुरमा जन्मिएका हुन् उनी । तर, बालखैमा विराटनगर झरे । बाबु पेशाले शिक्षक थिए, मंगलरबारेमा । आफ्नै बलबुतामा महेन्द्र प्राथमिक विद्यालय सञ्चालन गरेका थिए । अलिअलि जग्गाजमिन थियो । ‘यही विद्यालयमा पढाएर घरगृहस्थी चलेकै छ, केलाई पो चाहियो जग्गाजमिन ?’ भएजति जग्गनजमिन विद्यालयलाई नै सुम्पिएछन् । मास्टरले समेत जग्गा दिएपछि अरूले किन नदिनू, गाउँका अरूले पनि विद्यालयलाई जग्गा जमिन दिए । र, आफू विद्यालयको अधीनमा रहे ।

उनी ‘भूमिहीन’ बन्नुको खास कारण यस्तो रहेछ !

“अहिले पनि त्यहाँका मानिस विद्यालयको मोही बनेका छन् । र, तल्सिङलाई झैँ कुत बुझाउँछन्,” ओठको हाँसो परपर उछिट्टियो उनको ।

बाबुका अनेक किस्सा छन् उनका । तिनै किस्सा उनको बाल्यकालका हिस्सा बने । शिक्षक भएकाले पनि होला, बाबु असाध्यै पढ्न लेख्न रुचाउने । के–के लेखिरहन्थे । घरभरि किताबका ठेली हुन्थे । धूमिल सम्झनामात्रै छ– अश्विनीलाई ।

“तिनताका बाबु कम्युनिस्ट विचारधारासँग निकट हुनुहुँदो रहेछ,” उनी अहिले सम्झन्छन् ।

पञ्चायतकाल । खुल्लमखुला राजनीति गर्न कहाँ पाउनू ? त्यसमाथि कम्युनिस्ट भन्नेबित्तिकै तत्कालीन शासकको शरीरमा ज्वरो चढिहाल्थ्यो । पक्राउ परिने भयले उनका बाबुले घरमा भएका किताबका ठेली बारीमा गाडेका रहेछन् । त्यसैबाट पत्ता लगाएका हुन् उनले– पिताजीको झुकाव त कम्युनिस्टतिर पो रहेछ ! अश्विनीचाहिँ कांग्रेस कम्युनिस्ट दुवै भएनन्, विशुद्ध लेखक भए । र, पितासँगको सान्निध्यता लामो समय रहन पाएन ।

घर नजिकै भलुवा खोला थियो । तराईको ठाउँ, भैँसी आहाल बसाउन खोलातिर नै त हो लाने । वर्षायाम, खोला उर्लिएर आएको थियो । अचानक भैँसीले नदी किनारमा रहेको धानको बीउमा मुख गाडेछ । धपाउँछु भनेर के खोलामा पसेका थिए भूमरीमा परिहाले । बाबुलाई सदाका लागि खोस्यो भलुवाले !

“भोजपुरमा हुँदा कोसी (अरुण) पार गर्ने, पौडीबाजै हुनुहुन्थ्यो उहाँ । नाम चलेको । तर, भलुवाले निल्यो,” अचानक उनको अनुहारमा विष्मयभाव देखापर्‍यो ।

७ वर्षकै उमेरमा निधन भएकाले बाबुको आलिङ्गन त पाएनन् तर पढ्ने–लेख्ने बानीचाहिँ सर्‍यो उनमा । “किताब गाडेको ठाउँमा गएर बाबुले लुकाएको किताब के रहेछ भनेर उधिनेको पनि थिएँ तर माटोमात्रै हात लाग्यो,” उनी अहिले सम्झन्छन् ।

आमाले सुनाएअनुसार उनका पिताजीले लेखेका पनि थिए– दुई–तीन ठेली । तर, प्रकाशित भएनन् । ‘कम्युनिस्ट किताब’सँगै खाल्डोमा गाड्दा माटो भए ती ।

० ० ०

चारजना छोराछोरी । आमाले पाखुरा बजारेपछि मात्रै घरको चुल्हो बल्थ्यो । बाबुको निधनपछि निकै गाह्रो भयो उनीहरूलाई । दुईभाइ छोरा, दुई छोरीमध्ये जेठा थिए अश्विनी ।

सर्वोदय माविबाट माध्यामिक शिक्षा पूरा गरेका हुन् उनले । विराटनगरमै आईए सके ।


कान्तिपुरमा ‘नाटकीय’ प्रवेश

बताइरहनुपरेन, उनी लेखपढ गर्न रुचाउने मानिस हुन् । विराटनगरमा छँदा भारतबाट प्रकाशित हुने ‘पञ्जाब केशरी’ आउँथ्यो । त्यसको अघिल्लो पृष्ठमा विशेष सम्पादकीय हुन्थ्यो । र, पुछारमा लेखिएको हुन्थ्यो– अश्विनीकुमार !

विराटनगरमा हिन्दी साहित्य, लेख, आलेख तिनताका खुबै पढिन्थ्यो । नेपाली पत्रपत्रिका कमै भेटिन्थ्यो भन्दा हुन्छ । त्यही प्रभाव पर्‍यो उनमा । हिन्दी पत्रपत्रिका खोजीखोजी पढ्थे उनी ।

पछि बुझ्दा अश्विनीकुमार त ‘पञ्जाब केशरी’का प्रधान सम्पादक पो रहेछन् । मन कल्पन थाल्यो उनको– लेख्ने हो भने त पत्रिकाको अघिल्लो पृष्ठमा अश्विनीकुमार भनेर पो नाम आउने रहेछ !

यसैले लेखनमा हुटहुटी जगाएको हो उनलाई ।

भर्खरै ‘कान्तिपुर’को सहप्रकाशन ‘साप्ताहिक’ सुरू भएको थियो । गीत, कथा, कविता असाध्यै कोर्थे । हुलाकमार्फत रचना पठाउन थाले । ०५१ सालतिरको कुरा हो यो ।

पठाएका रचना कति छापिन्थे, छापिँदैनथे– ख्यालै हुँदैनथ्यो उनलाई । ‘साप्ताहिक’प्रति तीक्ष्ण लगाव देखेर कसैकसैले त भन्थे पनि, “यो केटो साप्ताहिक खुबै पढ्छ, जागिर लगाइदिनुपर्छ कि क्या हो ?”

अनुवादक/पत्रकार अच्युत कोइराला उनका सहोदर भाइ हुन् । अच्युतको कामना प्रकाशनमा जागिर मिलेको थियो । भाइलाई काठमाडौँ लिएर आउँदा उनीमात्रै आएका थिएनन्, साथमा गीत र लघुकथा पनि लिएर आएका थिए । र, पुर्‍याउन ‘साप्ताहिक’को अफिस गए ।

सम्पादक विराटनगरका सुवास ढकाल थिए । उनले रचना देख्नेबित्तिकै भने, “भाइको राम्रो छ । हामीले छापिरहेका छौँ । यो पनि छापिन्छ ।”

त्यतिमात्रै होइन उनले ‘नियमित लेख्ने हो भने लेख’ भन्दै ढाडससमेत दिए– त्यही भेटमा ।

नियमित लेख्न त विराटनगरबाट सम्भव थिएन । काठमाडौंमै बस्नुपथ्र्यो । उनले शर्त तेस्र्याए, “काठमाडौंमा बसेर बाँच्न सकिन्छ भने नियमित लेख्छु ।”

‘स्ट्रिन्जर’बाट ‘साप्ताहिक’मा जागिर सुरू गरे उनले । ‘साप्ताहिक’ छिरेको केही समयपछि ‘साताकी गृहिणी’ सुरू भयो । उनैले लेख्थे त्यो स्तम्भ । “सुरूसुरूमा अरू एक–दुईवटा पत्रिकामा पनि लेख्थेँ, पछि सम्पादकले थाहा पाएपछि ‘साप्ताहिक’मै लेख भन्नुभयो र केही समयपछि जागिर स्थायी भइहाल्यो,” पत्रकारिताको सुरूआति दिन सम्झिए उनले ।

अस्ति दशैैंबाट ‘साप्ताहिक’सँगको २० वर्षे यात्रामा पूर्णविराम लगाए उनले । र, पूर्णकालीन लेखनमा हाम फाले ।

० ० ०

उनको लेखनमा प्रेमको ठूलो प्रभाव छ । 

“जीवनमा कहिल्यै प्रेम गर्नुभयो ?” प्रश्नलाई सहज लिए उनले । र, किस्सा सुनाउन थाले ।

बाबु सानैमा स्वर्गबास भएकाले उनको परिवार चरम गरिबीमा रुमलियो । गाउँघरमा गरिब हुनु त अभिशापै भइहाल्यो । चुल्हो बाल्ने, पेट पाल्ने यावत समस्याले हरबखत पिरोलिरहन्थ्यो । तथापि उनी पढाइमा अब्बल थिए । आफूभन्दा मुनिका विद्यार्थीलाई ट्युसन पढाउँथे पनि ।

धनी परिवारकी छोरी पनि उनकी विद्यार्थी थिइन् । पढाउँदा पढाउँदै कतिबेला माया बस्यो, पत्तै भएन । तर, त्यो प्रेम व्यक्त थिएन– मनमै टुसायो, मनमै बसायो ।

किशोरकालको प्रेम न पर्‍यो, मनमा गुम्फित भावहरू कविता, गीत र प्रेमपत्रको रूपमा उत्सर्जन हुन्थे र नबुझाई बिसर्जन हुन्थे । 
“लेखनमा प्रेमले नै घिच्याएको हो मलाई,” अट्टहास छायो कोठामा ।

० ० ०

‘दुःख नै जिन्दगी हो, जिन्दगी नै दुःख हो,” अतिशय गरिबी भोगेकाले होला– दुःख जीवनको परिभाषा बनेको थियो । भनौँ न, दुःखभित्र नै जीजिविषा र जिगीषा खोज्नुपर्ने नियति थियो उनको ।

तर, काठमाडौँ आएपछि परिभाषा बदलियो । अभाव र पीडाको मात्रै परिचय पाएका अश्विनीले सुखी मानिसहरूसँग पनि साक्षात्कार गर्ने र चिनापर्ची गर्ने मौका पाए । ‘साताकी गृहिणी’त ‘सुख’ चिहाउने सोपान पो बन्यो !

साहित्यदेखि घरको सँघारसम्म दुःख, दरिद्रीबाहेक केही अनभूत गरेका थिएनन् । दुःखको एक पाटो पढेका उनले सुखको अर्को पाटो बुझ्ने मौका पाए । लेखनको पृष्ठपोषण यिनले पनि गरेका हुन् ।

 

युवती ठानेर बिहेको प्रस्ताव

उनको लेखनमा स्त्रीणः गुण छ । युवती ठानेर कतिपयले उनलाई पत्रै पठाउँथे, “धेरै राम्रो लेख्नुहुन्छ बहिनी !”

“दिदी ! म तपाईंको लेखनशैलीको फ्यान हुँ !” आदि ।

अझै कतिले भन्दा हुन्– अश्विनी त महिला नै हो ।

“फेसबुक आएपछि त त्यो भ्रमको पर्दा पनि च्यातियो होला,” भित्तातिर फर्किए उनी । 

एकपटक अनौठो घटना भयो । मिति ठ्याक्कै याद छैन । यत्ति सम्झना छ– मोबाइल भर्खर आएको थियो । ‘कान्तिपुर पब्लिकेसन्स’को समाचार कक्षमा फोन बज्यो । रिसिभर उचाल्नेबित्तिकै फोन गर्नेले सोध्यो, “अश्विनी बहिनी हुनुहुन्छ ?”

फोन उठाउने मुकुन्द बोगटीको ओठबाट हाँसोको पर्रा छुटिहाल्यो । तैपनि सम्हालिएर भने, “अँ छिन्, छिन् !”

अश्विनीले पनि नम्र बोलेर फोन गर्नुको तात्पर्य बुझे ।

उताबाट जवाफ आयो, “पर्सी बर्थ डे सेलिब्रेसन राखेको छु । हजुरलाई निम्त्याउन खोजेको ! खासै ठूलो सेलिब्रेसन त होइन । उमेर पनि घर्किइसक्यो । यसो पारिवारिक जमघटजस्तो ।”

चिन्नु न जान्नु हेर फसाद ! 

लैजाने र बेलुका छाड्न आउनेसमेत वाचा कबोल गरेपछि उनले नाइँ भन्नै सकेनन् । र, बर्थ डे सेलिब्रेसनमा सरिक हुने निधो गरे ।

भनेकै समयमा ‘कान्तिपुर पब्लिकेसन्स’को प्राङ्गणमै गाडी आयो । जाने कि नजाने भन्ने द्विविधा थियो । तर, त्यत्रो आग्रह अटेर कसरी गर्ने ? फोटोग्राफर नवराज वाग्ले लिएर उनी गाडीमा चढे ।

“कहाँ आइपुग्नुभयो ? अश्विनी राम्रोसँग त आउँदै हुनुहुन्छ ?” सोल्टीमोडसम्म पुगुन्जेल दशपटक फोन आयो होला चालकलाई ।

चालक पनि बेलाबखत भन्थे, “आउँदै हुनुहुन्छ, आउँदै हुनुहुन्छ !”

होटलको गेटमा रहेकी युवतीले राम्रो आतिथ्य–सत्कार गरिन् । र, माथि लगिन् उनलाई ।

गोरो वर्ण । चक्किलो चेहरा । खाइलाग्दो । अन्दाजी २८–२९ वर्षको युवक उनको प्रतीक्षामा रहेछन् । 

“खै त अश्विनी ?” लिफ्टतिर पो हेर्छन् युवक ।

“उहाँ नै हो अश्विनी !” चालकले यसो भनेपछि ती युवकको अनुहार कागती निचोरिएझैँ भयो । र, लल्याकलुलुक भए ।

उनले ठानेका रहेछन्– अश्विनी त युवती हुन् ! युवती भन्ठानेको मानिस युवक परेपछि नओइलाऊन् कसरी ?

श्रेष्ठ थरका ती युवक काठमाडौंका रैथाने रहेछन् । लामो समय जापान बसेर आएका पनि । नेपाल आएका बेला बर्थडेको बहानामा युवतीलाई भेट्ने र बिहेको प्रस्ताव राख्ने योजना रहेछ उनको । तर, अश्विनी युवक हो भन्ने थाहा पाएपछि छाँगाबाट खसे उनी !

त्यस दिन सामान्य खानपिन गरे । होटलबाट बाहिरिने बेलामा भने, “हेर्नुस् अश्विीनीजी, विदेशमा बस्ने अधिकांश कोही हिरोइन, कोही मोडलसँग बिहे गर्छन् । तर, मेरो रहर पत्रकारसँग बिहे गर्ने थियो र तपाईंलाई प्रस्ताव गर्ने निधो गरेको थिएँ । पत्यार नलागे भोलि घरमा आउनुहोला ।”

भोलिपल्टै घरमा पनि गए अश्विनी । उनले लेखेका अधिकांश लेख काटेर एल्बम नै बनाएका रहेछन् ती युवकले । एक–एक गरी देखाइन् आमाले । र, भनिन्, “यी हेर त, तिमीसँग बिहे गर्ने भनेर तिम्रा सबै लेख काटेर राखेको थियो । अन्तिममा केटा पो पर्नुभएछ !” अट्टहास छायो ।

पछि तिनै युवकले जापानबाट एउटा घडी उपहार ल्याएका थिए । पछि यही घटनालाई बुने र ‘जुकरबर्ग क्याफे’मा ‘युवकको प्रेममा’ कथानुभूति रचना गरे ।

० ० ०

सन्तोष पन्तका छोरा लिङ्ग परिवर्तन गरी केट्लिन पन्त बनिन् । मिडियामा पहिलोपटक अन्तर्वाता लिने उनै हुन् । लिङ्ग प्रत्यारोपण गर्नुपूर्व र लिङ्ग प्रत्यारोपणपश्चात् पनि अन्तर्वार्ता लिएर घटनाको उत्सर्जन र विसर्जन दुवै गरे अश्विनीले ।

पूर्वयुवराज पारस शाहसँग पनि उनले अन्तर्वार्ता गरे । भलै त्यो एकोहोरो संवाद थियो । तिनताका पारससँग मिडियाले संवाद गर्नु दुर्लभप्रायः नै थियो । तथापि उनले गरे ।

राजतन्त्र समाप्त भइसकेको अवस्था थियो । राजतन्त्रनिकट सेनाका पूर्वअधिकारीका छोराहरूमार्फत पारससँग भेट भएको थियो उनको ।

“बन्दुक किन प्यारो ?” उनले पारसलाई प्रश्न गरेका थिए ।

तर, पारस खुलेर नबोल्ने । एकतर्फी संवाद भयो । सहयोगीमार्फत उनले भने, “हामीलाई जन्मँदै बन्दुकसँग उठबस गराइन्छ । राजपरिवारका छोराछोरीले सेनाकै तलब खान्छन् । मानपदवी नै दिइन्छ । बन्दुक हाम्रा लागि नौलो कुरा होइन ।”

कहिलेकाहीँ गलत गरेको भए पनि बन्दुकले सधैँ खराबी मात्रै नगर्ने भन्दै प्रतिवाद गरेका थिए त्यतिबेला पारसले । उनी र रुवेल चौधरीबीच चितवनको टाइगर टप्स होटलमा भएको झगडा र गोली चलेको विषयलाई सन्दर्भ बनाएका थिए उनले ।

अन्तर्वार्ता नै गरेको हो तर त्यसलाई समाचार बनाएर प्रस्तुत गरियो । केही दिनपछि सहयोगीमार्फत पारसले भने, “समाचार त लेख्नुभएछ । तर त्यहाँ किन ‘तिमी’ सम्बोधन गरेको ?”

० ० ०

उनले चर्चित बलिउड अभिनेतृ मनीषा कोइरालासँग पनि अन्तर्वार्ता गरे– उनको करिअर उत्कर्षमा पुगेका बेला । ‘मन’, ‘अग्निसाक्षी’, ‘बम्बे’, ‘दिल से’, ‘१९७४ अ लब स्टोरी’ आदि उनी अभिनीत ‘हिट’ चलचित्र थिए । सन् १९९८ को कुरा हो, ‘दिल से’ भर्खर रिलिज भएको थियो ।

विराटनगर आएका बेला कोइराला नाता समात्दै अश्विनी मनीषाकहाँ पुगे र कुराकानी गरे । तिनताका मनीषासँग कुरा गर्नु निकै दुरुह मानिन्थ्यो । तर, उनले दुई–तीन पटक कुराकानी गरे ।

उनले लेखेका ठमेलका यौनकर्मीका विषय साप्ताहिकका ‘हटकेक’ बन्थे । “त्यहाँका विकृति, विसंगतिबारे लगातार लेख्दा ठमेललाई अर्कै हिसाबले चिनाउने कामसमेत मबाट भयो,” मच्चिएर हाँसे उनी ।

० ० ०

‘साताकी गृहिणी’ स्तम्भका लागि सम्भ्रान्त परिवाकार भान्छादेखि गिट्टी कुटेर चुल्हो तताइरहेका परिवारको रछ्यानसम्म पुगे । हतियार बन्द आन्दोलनको मोहोरीमा होमिएका माओवादी र सशस्त्र द्वन्द्वको भूमरीमा फसेका सुरक्षाकर्मीका परिवार उनका अन्तर्वार्ताका पात्र बने । साग बेचेर छाक टार्ने र शरीर बेचेर मोजमस्ती गर्ने पात्रसँगको संवाद ‘साप्ताहिकका विकाउ’ स्तम्भ बने, एकताका ।

नेपाली साहित्यमा एमए गरेपछि उनलाई अनुभूत भयो– निबन्ध विधाअन्तर्गत नियात्रामात्र होइन, निवार्ता पनि पर्दो रहेछ ।

त्यतिबेलासम्म ‘साप्ताहिक’मा उनका सयभन्दा बढी अन्तर्वार्ता छापिइसकेका थिए । कतिपय साहित्यरसमा समेत थिए । त्यसैको ‘कलेक्सन’लाई पुस्तकाकार दिने इच्छा जाग्यो । र, जन्मियो– ‘उनी’ ।

पत्रकारिता कर्म । हतारको साहित्य पनि हो यो । देखियो, लेखियो । कति छोटैमा भन्नुपर्ने, चाहेर लम्ब्याउन पनि नसकिने । कतिपय विषय छुट्दै जाने । छुटेका र थप्नुपर्ने विषय समेटेर उनले दोस्रो कृति र पहिलो कथा संग्रह जन्माए– ‘जुकरबर्ग क्याफे’ !

अधिक रुचाइयो त्यो । ०७२ वैशाखमा प्रकाशन भएको र २३ वटा कथा समेटिएको ‘जुकरबर्ग क्याफे’को तेस्रो संस्कण पनि आइसकेको छ ।


र, ‘प्रेमालय’

पछिल्लो समय उनी प्रेमका अन्वेषक बनेका छन् । र, साहित्यकर्ममार्फत ‘विद्यावारिधि’ गरिरहेका छन् भन्दा अतिशयोक्ति हुँदैन ।

एकाएक उनलाई खड्कियो– दुनियाँमा सबै विषय पठाइ हुन्छन्, संसारभर गरी १३२८ विषय अध्ययन/अध्यापन हुन्छन् तर त्यसमा प्रेम किन पर्दैन, पढाइ हुँदैन ?

विषयले चिमोट्न थालेपछि उनले उपन्यास नलेखी धरै पाएनन् ।

खोज्दै जाँदा उनले पत्ता लगाए, ‘बर्लिन इन्स्टिच्युट अफ लव’ भन्ने संस्थाले प्रेमदर्शनबारे पढाउँछ, सन् १९९५ देखि । तर, त्यसले कलेजको मान्यता पाएको छैन । शिक्षालयको आधिकारिकता पाउन पापड बेलिरहेको छ ।

त्यस्तै ‘एकेडेमी फर द लव अफ् लर्निङ’ भन्ने अर्को संस्था छ । उसले चाहिँ बाइबलमा भएको प्रेमका आयाम पहिल्याएर पढाउँदो रहेछ र विवादित पनि भयो । त्यसबाहेक अरू कुनै संस्था उनले भेटेनन्, जहाँ प्रेमका विषयमा पढाइ होस् ।

“प्रेमको स्थूल वर्णन र त्यसैको परिपूर्ति हो ‘प्रेमालय’ !” अनुहारमा पुनः हाँसो छरपस्टियो ।

कतिपयको तर्क छ– प्रेम त मनोविज्ञान, अर्थशास्त्र, समाजशास्त्रमा आइहाल्छ नि, अतिरिक्त विषय किन चाहियो  ?

तर, अश्विनी भन्छन्, “ती विषयभित्रका भावले प्रेमको व्यापकतालाई न्याय गर्दैन । छुट्टै विषय नै चाहिन्छ । र, ‘प्रेमालय’को केन्द्रीय विषय त्यही हो ।”

बुकहिलले प्रकाशन गरेको ‘प्रेमलाय’ शनिबार काठमाडौंमा विमोचन हुँदैछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २८, २०७४  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC