site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उजाड स्वर्गको क्यानभास
Ghorahi CementGhorahi Cement

– वसन्त विवश आचार्य 


मरेपछि जाने स्वर्ग कस्तो छ ? त्यहाँको फूलको सुवास, झरनाको बहाव अनि हिमालको दाँत कस्तो हुन्छ होला ? हामी कल्पनामात्र गर्न सक्छौं । स्वर्गको अनुभव कोसँग पो हुन्छ र ? तर, बाँचेरै जान सकिने स्वर्गहरू पनि छन् नेपालमा । प्रकृतिको सुन्दर कुचीले कोरिएका मन बहलाउने धेरै ठाउँ छन् यहाँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै कहाँ भनेका हुन् र “नेपाल सानो छ तर आँखी छ ।”

हराभरा र ओसिलो नेपालमा मरूभूमिझैं बाँचेर पनि सुन्दर क्यानभास हो मुस्ताङ । आँखा र मन अडिएपछि हट्नै नमान्ने मुस्ताङको सौन्दर्यलाई क्यामेरामा कैद गरेर मात्रै पूरा हुँदैन । मनमा पनि कैद गर्नुपर्छ । मान्छेहरू उजाडलाई दुःखसँग जोड्छन् तर मुस्ताङका लागि त्यही उजाड क्यानभास सुखको कारण बनेको छ, समृद्धि र विकासको द्योतक बनेको छ । हिमाललाई वरै छाडेको मुस्ताङ कुनै शृङ्गारबिना नै ‘ग्ल्यामरस’ देखिन्छ ।

Agni Group

वारिदेखि पारिसम्म चारैतिर हिमालको पर्खाल लागेको मुस्ताङ पुगेपछि हरेक मान्छेले मनमनै गम्छ, “प्रकृति जति सुन्दर चित्रकार यो संसारमा कोही पनि छैन ।”

दसैंको बिदालाई मनोरञ्जक र उपलब्धिपूर्ण बनाउने धेरै मनका चाहनाहरू एकाकार भएपछि दाङ तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजबाट हामीले मुस्ताङलाई गन्तव्य बनाएर पाइला बढायौं । मुस्ताङ छोएर फर्किएकाहरू हरदम मन लोभ्याउने गरी भनिरहन्थे, “जसरी नि जानै पर्छ मुस्ताङमा ।” मुस्ताङतिर पाइला बढाउँदै गर्दा मनमा कौतूहलको आयतन बढ्दै गएको थियो ।

Global Ime bank

\"\"

तुलसीपुरबाट स्कुल बस लिएर पोखरा हुँदै बेनी पुगेपछि बल्ल मुस्ताङको हावा म्याग्दीलाई छोएर मुटुसम्म पुग्यो । बेनीबाट स्कार्पियो रिजर्भ गरेर हामी बेनी मुक्तिनाथतिर हान्नियौं । बेनीमा केही दिनयता लगातार पानी परेकाले बाटो निकै चिप्लो र भत्केको थियो । एकातिर म्याराथुन धावकझैं सास नफेरेर दौडिरहेको वेगवान् कालीगण्डकी, अर्कातिर हिलाम्ये साँघुरो बाटो । यात्रा निकै डरलाग्दो थियो तर पनि मुस्ताङको सौन्दर्यले मनलाई तानेपछि सबथोक सामान्य लागेको थियो ।

\"\"

बाटोमा अत्यधिक हिलोका कारण यात्रुवाहक ठूला गाडीलाई उकालो काट्न हम्मेहम्मे पथ्र्यो । हामीले लगेका गाडी पनि निकै कठिन मान्दै असी वर्षको बूढो उकालोमा हिँडेभन्दा पनि सुस्त गतिमा हिँडिरहेका थिए ।

तातोपानी पुगेपछि गाडीको मन्द गति पनि बिसायो । “अगाडि पहिरो गएर जानै नमिल्ने भएको छ,” गाइँगुइँ आवाजले तातोपानीको चिसो बतासमा हामीलाई सेक्न थाल्यो ।

बिहानै पहिरो गएको ठाउँसम्म गाडी पुग्यो । निकै सुन्दर रुप्से झरनालाई साक्षी राखेर गाडीले हामीसँग बिदा माग्यो । रुप्से झरनालाई छोएर निकैबेर सेल्फी खिच्यौँ । आधा घण्टासम्म झरनामा मन डुलाएपछि बल्ल सबैको मन शान्त भयो । हाम्रा मोबाइलहरू बन्द भए ।

गाडी फिर्ता भएसँगै हाम्रा लागि दुइटा विकल्पमात्रै बाँकी थिए– कि हिँडेर जाने कि फर्कने ! अघिल्लो वर्ष पनि पहिरोका कारण बेनीबाट टुङ्गिएको मुक्तिनाथको सपना यसपटक भने जसरी पनि पूरा गर्नु थियो । हामी सबैले टे«किङ मार्ग समातेर हिँड्ने निधो गर्‍यौं ।

यसपटक टे«किङ मार्गमा खैरो छाला भएका मात्रै थिएनन्, दशैं मनाउन घर जान थालेका तर बाटो जामले गर्दा हिँड्न बाध्य धेरै भेटिए । उकालो बाटो त्यति नहिँडेका हाम्रा लागि कठिन त पक्कै थियो, तैपनि टे«किङको नयाँ अनुभूतिले थोरै भए पनि थकानमा ‘रिफ्रेस’को अनुभूति भएको थियो ।

स्थानीय र राम्रोसँग हिँड्नेका लागि एक घण्टा जति लाग्ने बाटो हामीले साढे दुई घण्टामा पूरा गर्‍यौं र आँखै तिर्मिराउने झोलुङ्गे पुललाई पछि पार्दै घाँसा पुग्यौं । घाँसामा हाम्रा लागि स्थानीय रूटमा चल्ने गाडी तयार थियो ।

घाँसाबाट नाङ्गो पहाड र टल्किएका हिमाल हेर्दै हाम्रो यात्रा अगाडि बढिरहेको थियो । हामी लेतेलगायतका रमाइला ठाउँ छिचोल्दै मार्फा पुग्यौं । मार्फामा सरकारी स्वामित्वमा रहेको आँखैले नभ्याउने स्याउको बगैंचा थियो ।

\"\"बोटबाटै स्याउ टिपेर खानु हाम्रा लागि निकै दुर्लभ अवसर थियो । मुस्ताङको स्याउभन्दा पनि हाम्रा लागि रूखमा फलेका स्याउसँगै फोटो खिच्नु बढी अर्थपूर्ण थियो । स्याउलाई ‘फोकस’मा राखेर १० मिनेट जति फोटो खिचेपछि आधा धीत मर्‍यो । स्याउ प्रशस्त हुने र समयमै बिक्री हुन नसक्दा त्यसको मार्फा (स्याउको रक्सी¬) बनाइँदो रहेछ ।

स्याउका बोटहरू मोबाइलमा लटरम्म राखेर हामी साँझले घुम्टो ओढ्ने बेला नेपथ्य ब्यान्डको ‘जोमसोमै बजारमा’ पुग्यौं ।

जोमसोममा हिमाललाई स्पर्श गरेर आउने बतासले मुटुसम्म चिसो पुर्‍याउँथ्यो । हाम्रा लागि आँखै अगाडि टल्कने हिमाल ‘भर्जिन’ दृश्य थियो । पहिलो पटक मुस्ताङ पुगेका हामीलाई निकै बेरसम्म हिमालले भर्खरै ब्रस गरेका दाँत देखाउँदै मुस्कानले स्वागत गरिरह्यो ।

मुस्ताङको मुख्य बजार रहेछ जोमसोम । सबै सुविधा भएको । पर्यटकहरू पनि जहाँतहाँ घुमेर जोमसोमलाई केन्द्र बनाउन आइपुग्दा रहेछन् । आमाको न्यानो काखजस्तो थियो जोमसोम, जहाँ पुगे पनि जता पुगे पनि साँझ परेपछि टुप्लुक्क आइपुग्ने ।

कोठाको झ्यालबाट सिधै कानमा आएर ठोक्किने जहाजको आवाजले निद्रालाई नमीठोसँग चिमोट्यो । आवाज आएकै झ्यालबाट देखिने हिमालको सुन्दर दृश्यलाई साक्षी राखेर सुरू भयो हाम्रो कागबेनी हुँदै मुक्तिनाथसम्मको यात्रा ।

\"\"जोमसोममा बाइक भाडामा लिएर मुस्ताङलाई मन अघाउन्जेल हेर्ने हामी सबैको चाहना एकाकार भयो । दिनभरिको (तेलसहित) बाइकको भाडा ४ हजार दिने सर्तमा मौखिक हस्ताक्षर गरेर सुरू भयो समुद्र सतहदेखि ३७१० मिटरको उचाइँमा रहेको मुक्तिनाथसम्मको यात्रा । खोलाको बगरबगरै लुगा लगाउन भुलेका डाँडापाखा हेर्दै हामी कागबेनी पुग्यौं ।

कागबेनी विशेषतः धार्मिक हिसाबले चर्चित ठाउँ रहेछ । मातापिता गुमाएकाहरूले कागबेनीमा श्राद्ध गर्दा रहेछन् । कागबेनीमा श्राद्ध गरेपछि हरेक वर्ष श्राद्ध गर्नु पर्दैन भन्ने धार्मिक विश्वास रहेछ । निरन्तर चलिरहने बतासले कागबेनी किनारको बालुवा हाम्रो आँखा ताकेर सिधै आउँथ्यो । त्यसै कहाँ भनेका हुन् र अमृत गुरुङले ‘बाह्र बजे हावा सरर’ ।

कागबेनीलाई पछि पार्दै हाम्रो यात्रा अन्तिम गन्तव्य मुक्तिनाथतर्फ अगाडि बढ्यो । बाटो कालोपत्रे हुने क्रममा थियो । तर, कागबेनीबाट मुक्तिनाथसम्मै बाटो कालोपत्रे भइसकेको रहेछ । बेनीबाटै हामीसँग बिच्छेद भएको कालोपत्रे बाटो भेटिँदा ठूलै कुरा भेटिएजस्तो मनमा खुसी परेड खेल्न थाल्यो ।

\"\"कागबेनीबाट मुक्तिनाथसम्मको यात्रा झनै रोमाञ्चक हुँदो रहेछ । वरपर देखिने दृश्यको सौन्दर्यले मनको धून ‘प्रेमगीत’ बनेर गुन्जिन्थ्यो ।

मुक्तिनाथ मन्दिरको आँगनमै बाइक लैजान पाइँदो रहेछ । मुस्ताङको सबैभन्दा सुन्दर ठाउँमा हामी पुगेका थियौं । मुक्तिनाथमा मनको कुरा चिताएपछि पाउने विश्वास छ । आफैंमा फ्रिजमा राखिएको मुक्तिनाथ, त्यसमा पनि हिमाल फोड्दै बगेका १०८ धाराको स्नान । कल्पनाभन्दा पनि बाहिरको चिसो भएको थियो हामीलाई । गएका सबैले मुटुमा साहस थपेर धारामा नुहाउँदै मन्दिरअगाडिको पोखरीमा रीतअनुसार डुबेर डलर पैसा तान्यौं ।

मुक्तिनाथमा भीमकाय बुद्धको मन्दिर निर्माण भएर अन्तिम शृङ्गार मात्र बाँकी थियो, जुन त्यहाँको सौन्दर्यको अर्को गहना थियो । बौद्ध धर्मावलम्बीका लागि पनि मुख्य आस्थाको केन्द्रका रूपमा छ मुक्तिनाथ ।

मुक्तिनाथमा पूजा गरेर त्यहीँको बजारमा ‘जिम्मु’ले झानेको दालमा भातलाई रङरोगन गरेर भोक शान्त पारिसकेपछि हाम्रो मुस्ताङ यात्राको गन्तव्य पूरा भएको थियो ।

मोटरसाइकलको समय साँझ ५ बजेसम्म बाँकी रहेकाले अन्य सहायक ठाउँहरू पनि हेरेर जोमसोममै बास बस्न आइपुग्यौं ।

\"\"फुटनोट

मुस्ताङ सुन्दरमात्रै होइन, सम्भावना पनि हो । तर, धेरै पर्यटक घुम्ने जिल्लामा बाटोको विकास राम्रोसँग नहुुन दुःखद कुरा हो ।

मुस्ताङ नपुग्दै धेरैले यो ठाउँ निकै महँगो भनेर प्रचार गर्थे । तर, हाम्रा स्थानीय होटलभन्दा पनि सस्ता र गुणस्तरीय रहेछन् यहाँका होटल । जोखिमै भए पनि गाडीबाट यात्रा गर्नुजत्तिको आनन्द पक्कै पनि जहाजले दिँदैन । मुस्ताङ मरूभूमि भएर पनि खुसी र आनन्द फल्ने ठाउँ रहेछ । ‘उपल्लो मुस्ताङ झनै सुन्दर छ’ भन्दै स्थानीयहरु हौस्याउँथे । हामीलाई जोस पनि चल्थ्यो तर दसैंले सप्तमी भेट्नै आँटेको थियो ।

फर्किंदा पनि बाटोको पहिरो नहटेपछि कार्टुनभरि मार्फा र स्याउ ल्याउने रहर– रहरमात्रै भयो । आजभोलि मुस्ताङको फोटो फेसबुकमा पोस्टिनै हुँदैन, म्यासेन्जर टुङटुङ बजिहाल्छ “मुस्ताङको पाहुर केही छैन ?”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २८, २०७४  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC