– रब केन
डेढ वर्षअघि मैले शाहरुख खानलाई अनेक प्रमाणसहित बलिउडको ‘आइकन’का रूपमा प्रस्तुत गर्दै एउटा लेख लेखेको थिएँ । किङ खानका रूपमा शाहरुख हामीमाझ अझै पनि प्रसिद्ध सुपरस्टारका रूपमा परिचित छन् । तर, अहिले लाग्छ– मैले लेखेको त्यो लेख त्यति बलशाली थिएन र मैले पेस गरेका प्रमाणहरू पनि खासै बलिया थिएनन् ।
त्यो लेख त्यतिबेला लेखिएको थियो, जतिबेला शाहरुखको पछिल्लो फिल्म ‘फ्यान’ प्रदर्शनमा आएर फ्लप भएको थियो । त्यसले सात वर्षदेखिको ब्लकबस्टर रेकर्ड र चर्चालाई तोडिदियो । शाहरुखले वर्षौसम्म बलिउडमा राज गरे । उनले आफ्नो स्थानमा आउन कसैलाई दिएनन् । उनको इमानदार काम र प्रयासलाई सम्मान गर्दै मैले त्यो लेख लेखेको थिएँ, जसले पक्कै पनि उनका फ्यानलाई खुसी तुल्यायो ।
तर, हरेक शासनको अन्त्य हुन्छ । अब नयाँ राजाको गद्दीआरोहण गर्ने समय आएको छ । ती नयाँ राजा हुन्– अर्का खान अर्थात् आमिर खान ।
मैले शाहरुखबारे लेख्दा फिल्मका विभिन्न परिणामहरू (जस्तैः बक्स अफिस रेकर्ड, चर्चा, धन र बडीगार्डको सङ्ख्या आदिलाई नापेर हेरें । तर, अहिले मलाई अवस्था सहज लाग्छ र म यसलाई सामान्य ढङ्गले वर्णन गर्न सक्छु । त्यस्ता कैयौं परिणामहरूको तुलना गरेर हेर्दा आमिर खान अहिलेको समयमा नयाँ राजा हुन् ।
पूर्वसम्राट शाहरुख खानबारे मेरो धारणा निर्माण हुनुको एउटै कारण हो– उनका फिल्महरू अहिले बक्सअफिसमा सेलाउँदै गइरहेका छन् । २०१६ अप्रिलमा रिलिज भएको ‘फ्यान’ले बक्स अफिसमा निराशाजनक परिणाम दियो । त्यो फिल्मले जम्मा १८८ करोड भारु (२९ मिलियन डलर)को व्यापार गर्यो । मध्यमस्तरको कलाकारका लागि हो भने यो ठीकै हो तर मेगास्टारहरूका लागि भने यो नगन्य हो । यो फिल्मको बजेट ८५ करोड भएर आर्थिक रूपमा नाफा भए पनि शाहरुखको स्टारडमका लागि यो निराशाजनक हो ।
त्यसपछि नोभेम्बरमा रिलिज भएको ‘डियर जिन्दगी’ले १३९ करोड (२१ मिलियन डलर)को व्यापार गर्यो । खानले अन्त्यमा २०१७ जनवरीमा ‘रइस’ बाट सम्मानजनक सफलता हात पारे, जसले २८१ करोड (४५ मिलियन डलर)को व्यापार गर्यो । ‘रइस’को बजेट पनि ८५ करोड भारु थियो ।
त्यसपछि अगस्ट २०१७ मा रिलिज भएको रोमान्टिक कमेडी ‘जब ह्यारी मेट सेजल’ले शाहरुख खानलाई झनै तल खस्काइदियो । यसले विश्वभर जम्मा ११७ करोड भारु कमायो ।
अब आमिरको चर्चा गर्नुभन्दा अगाडि उनका प्रतिद्वन्द्वी सलमान खानको कुरा गरौं । अप्रिल २०१६ मा मैले सलमानलाई संसारकै चर्चित स्टारको उपमा दिएको थिएँ । २०१६ मा रिलिज भएको ‘सुल्तान’ ब्लकबस्टर भयो, जसले ५८४ करोडको व्यापार गर्यो । त्यतिबेला यसले विश्वभर हिन्दी भाषाका फिल्ममा तेस्रो स्थान हासिल गरेको थियो । व्यापारिक दृष्टिले यो फिल्म ‘धूम ३’ (२०१३) र ‘पिके’ (२०१४) भन्दा तल रह्यो । यी दुवै फिल्मले ७९२ करोड (१३० मिलियन डलर)को व्यापार गरेका थिए ।
तर, उत्कृष्ट फिल्मको दौड सलमानका लागि सस्तो बल्बजस्तै भयो, जब २०१७ मा युद्धसम्बन्धी उनको ‘ट्युबलाइट’ नराम्रोसँग पड्कियो । यो फिल्मले जम्मा १३५ करोडको बजेटमा २३७ करोड हात पार्यो । निर्माण युनिट र वितरकको अपेक्षा धूलिसात भयो । सलमानले आफ्नै लगानी र आफ्नै अभिनयलाई सही मूल्यांकन गर्न सक्दैनन भन्ने ‘गसिप’ सही प्रमाणित भयो । सन् १९९० को दशकमा सलमान खानका लगातार १० वटा फिल्म फ्लप भएका थिए । सन् २००० दशकको मध्यतिर पनि उनले यही नियति भोगे । तर, जस्तोसुकै अवस्था आइपरे पनि सलमानले आफूलाई सम्हालिरहेका थिए । तर, ‘ट्यूबलाइट’ले सलमानको ‘सुल्तान’लाई बिर्साउने काममात्र गरेन, बलिउडका दुई प्रतिस्पर्धीको वरीयताबाट तेस्रोमा झारिदियो ।
आमिर खानले अरू खानले झैं धेरै फिल्म बनाएनन् तर उनले जति बनाए, दर्शकले अत्यन्त रुचाए । यसले बक्सअफिसमा जादू नै गर्यो । १० वटामध्ये उनका ९ वटा फिल्म अत्यन्त चर्चित भए । ‘धूम ३’, ‘पिके’ र ‘दंगल’ धेरै नै चर्चित भए । ती फिल्म मानवतावाद, विचारशील र सामाजिक कथामा आधारित छन्, जुन साहै्र रमाइला थिए । शाहरुख र सलमान झैैं उनले पनि फिल्म निर्माण गरे, तर उनले अरूले भन्दा राम्रो ढङ्गले गरे । उनको बक्सअफिस हेर्दा एउटै नाम काफी छ, त्यो हो ‘दंगल’ ।
डिसेम्बर २०१६ मा आमिरको ‘दंगल’ले कसरी अरु दुवै खानको संयुक्त कमाइलाई एक्लै पछारे, हेर्नुस् तालिका:
आमिरको अर्को फिल्म ‘सेक्रेट सुपरस्टार’ पनि त्यत्तिकै हिट हुने अनुमान लगाइएको छ । यदि कसैलाई आमिरको पछिल्लो फिल्म हिट हुँदैन जस्तो लाग्छ भने मलाई लेख्न सक्नुहुन्छ । म तपार्इंलाई कसरी समालोचना गर्ने भन्नेबारे बताउनेछु ।
तपाईलाई लागेको हुन सक्छ– मैले आमिरलाई किन विश्वकै नम्बर एकको पगरी दिएँ ? तपाईंले सोच्नुभएको होला– हलिउडमा त्यत्रा कलाकार छन् त !
त्यतिबेला मैले पनि तपाईंको कुरामा सहमति जनाउनेछु । हो– हलिउडका कलाकारले बलिउडका भन्दा धेरै कमाउँछन् । यो भारतीय फिल्म उद्योगको अकाट्य सत्य हो ।
भारत आफैंमा ठूलो जनसंख्या भएको मुलुक हो तर हलहरूमा निम्न आर्थिक अवस्थाका दर्शकको संख्या उल्लेख्य छ । र, सँगै प्रशस्त हल छैनन् । त्यसमाथि वितरणमा उस्तै समस्या छ । यी अवस्थाले फिल्म व्यापारलाई प्रतिकूल प्रभाव पारिरहेका छन् । त्यसैले स्टारहरूको बारेमा कुरा गर्नु आवश्यक छ ।
अर्को आयाम
माथि हामीले आमिरको असाधारण बक्सअफिस रेर्कडलाई हे¥यौं र कसरी त्यसले आमिरलाई विश्वकै ‘उत्कृष्ट फिल्म स्टार’ बनाएको छ भनेर चर्चा गर्यौं । अब उनका फिल्मको मुख्य तत्त्व, सांसारिक चर्चा र उनको तुलनात्मक लोकप्रियताको परीक्षण गरौं । यो कुरा पनि कतै न कतै बक्सअफिस रेकर्डसँग गएर ठोकिन्छ नै ।
टिकट किन्ने दर्शकमा कसरी आमिरको फिल्म हेर्नै पर्ने आकर्षण पैदा भएको होला ? उनमा त्यस्तो के क्षमता छ, जसले दर्शकलाई महिनौंसम्म उनको फिल्मको प्रतीक्षा भइरहन्छ ! यहाँ हामी आमिर किन विश्वकै १ नम्बर स्टार हुन् भन्ने तथ्य र उनको योग्यताबारे चर्चा गर्छौं ।
कतिपयलाई लाग्ला– नम्बर १ स्टारका रूपमा टम क्रुज, विल स्मिथ, ज्याकी च्यान, जेनिफर लरेन्स आदि हलिउड र चिनियाँ कलाकार छन् । प्रतिस्पर्धामा उनीहरू अब्बल छन् । तर, यथार्थ के हो भने यी सबै कलाकारका पछिल्ला फिल्म फ्लप भएका छन् । र, उनीहरूमा एक्लै फिल्मलाई हिट बनाउने जादुमयी शक्ति र सामथ्र्य छैन । आमिरले दशकौंदेखि यो क्षमता देखाउँदै आएका छन् । पछिल्लो दशकमा त उनका कुनै पनि फिल्म फ्लप भएका छैनन् । योभन्दा ठूलो प्रमाण अरु के चाहिन्छ ?
उत्तरी भारतको हिन्दीभाषी फिल्मी बजारमा आमिरले दशकौंदेखि आफ्नो प्रभाव पार्दै आएका छन् । उनको अभिनय अझ परिस्कृत त शिष्ट हुँदै गएका छन् । चरित्र छनोटमा पनि उनी परिपक्व हुँदै गएका छन् । यही कारण हो– भारतमा मात्रै नभई विश्वभर उनका फ्यानको संख्या बढेको बढ्यै छ । सन् २००९ ‘थ्री इडियट्स’ नआउँदासम्म आमिरका समर्थकहरू भारत र डायस्पोरामा सीमित मात्रामा थिए । विश्वका धेरैजसो स्थानमा उनी अपरिचित थिए, विशेषगरी चीनमा, जहाँ हिन्दी फिल्महरू कमैमात्र प्रदर्शनीमा आउने गर्छन् ।
‘थ्री इडियट्स’ हिटमात्र भएन, यसले हिन्दी फिल्मको बक्सअफिस रेकर्डसमेत तोड्यो । विषयवस्तुका रूपमा यो फिल्म आफैंमा सर्वव्यापी थियो, जसले विश्वभरिका दर्शकलाई प्रभाव पार्यो । यो फिल्म जताजता प्रदर्शन भयो, त्यहाँ यसले समर्थकहरूको साथ र माया पायो । चीनका कुनै पनि हलमा अहिलेसम्म प्रदर्शन नभए पनि यो फिल्म अहिलेसम्म ‘डउबान डट कम’मा १२ औं स्थानमा पर्न सफल भएको छ । योभन्दा माथि एकमात्र चिनियाँ फिल्म ‘फेरवेल माई कन्कुबाइन’ छ । कलाप्रतिको झुकाव र चरित्र आत्मीकरणको क्षमताका कारण त्यतिबेला ४४ वर्षीय आमिर ‘थ्री इडियट्स’मा १८ वर्षे ठिटोको भूमिकामा पनि ‘फिट’ देखिए र संसारभर नाम कमाए ।
‘थ्री इडियट्स’ आमिरका भावी फिल्महरूको नमुनाजस्तै बन्यो । सामाजिक चेत, मावनीय दृष्टिकोणमा धावा बोल्न सक्ने यो फिल्म धेरैका लागि प्रेरणादायी सावित भयो । त्यसपछिका ‘पिके’ र ‘दंगल’ले पनि यही दर्शन र सूत्र आत्मसात गरेर अरु ठूला रेकर्ड कायम गरे । उनले कुनै पनि फिल्ममा दर्शकलाई निराश पारेनन् । त्यसैले उनीजत्तिका सुपरस्टार विश्वमै कोही छैनन् ।
खान संसारकै सुपरस्टारका रूपमा परिचित हुनु भनेको सम्पूर्ण भारतीयका लागि प्रतिष्ठाको विषय हो, त्यो पनि संसारकै दोस्रो बढी जनसंख्या भएको मुलुकमा । उनका प्रशंसक भारतमात्रै होइन, विश्वभर छरिएका छन् । उनलाई शीर्ष स्थानमा राख्न प्रमुख भूमिका भने विश्वकै ठूलो मुलुक चीनका दर्शकले खेलेका छन् । त्यहाँ आमिरका जति कुनै पनि कलाकारका प्रशंसक छैनन् भन्दा अतियुक्ति नहोला ।
‘थ्री इडियट्स’लाई चीनमा यति धेरै मन पराइनुमा आफ्नै मौलिक कारण छन् । यो फिल्म मूलतः इन्जिनियरिङका विद्यार्थीको पीडा र संघर्षमा केन्द्रित छ । दिनहुँ विश्वविद्यालयमा अनेकानेक परीक्षण गर्दै बाँच्न बिर्सिएको पीा चिनियाँले पनि राम्ररी भोगेका छन् । यो कथाको मुख्य विषयवस्तु मित्रता, शैक्षिक चुनौती र घरको दबाबलाई चिनियाँ दर्शकले राम्रोसँग बुझेका छन् । आमिर खानले निर्वाह गरेको पात्र ‘र्यान्चो’ले साहसी र आफ्नो जीवन आफ्नै ढङ्गले बाँच्ने बिन्दास व्यक्तिको भूमिका निभाएको छ, जसलाई चिनियाँहरूले राम्रोसँग बुझेका थिए ।
त्यसपछिको उनको फिल्म ‘पिके’ले चीनलाई धेरै नै पछ्यायो । विशेषगरी फिल्ममा प्रश्न उठेको धर्म, अधिकार, अध्यात्म र भौतिकवादका कारणले गर्दा पनि चीनमा उनका प्रशंसक बढ्दै गएका थिए । त्यसपछि प्रदर्शनमा आएको ‘दंगल’ले त झन् चीनमा तहल्का नै मच्चाएको थियो । यसमा पारिवारिक सर्वोच्चता, आमा–बुवाको त्याग र माया, धैर्य र दृढताबिना गाउँको सामान्य व्यक्तिले संसार बदल्न सक्दैन भनेर देखाइएको छ । चीनबाट मात्रै १८५ मिलियन डलर (११ अर्ब ९९ करोड भारु) बक्सअफिस कलेक्सन गरेको ‘दंगल’ चीनमा अहिलेसम्म प्रदर्शन भएकामध्ये सबैभन्दा ठूलो गैरअंग्रेजी भाषाको फिल्म हो । अधिकांश चिनियाँले कुनै पनि हिन्दी भाषाको फिल्म पहिलो पटक हेरेका थिए । ‘दंगल’का बहुसंख्यक दर्शकले त आमिरलाई ‘थ्री इडियट्स’बाटै चिन्थे ।
आमिरको लोकप्रियतालाई कायम राख्ने र उनलाई फिल्मी जगत्को ‘राजा’ बनाइराख्ने पक्ष हो– उनको विनम्रता र समाजलाई प्रभाव पार्ने फिल्मप्रतिको लगाव । एकजनाले उनलाई ‘सामान्य मानिस, जैविक व्यक्ति’को उपनाम दिएका थिए । यदि उनीसँग सुपरस्टार हुनुको अहम् हुन्थ्यो भने पक्कै कतै न कतै प्रदर्शन गरिहाल्थे । तर, उनी त्यसो गर्दैनन् । यसले उनलाई अरुबाट फरक बनाउँछ । जबकि उनका प्रतिद्वन्द्वी सलमान सधैं कुनै न कुनै विवाद र चर्चामा आइरहन्छन् । र, उनमा अहम् पनि प्रशस्तै छ । आध्यात्मिक र संघर्षशील हुँदाहुँदै पनि शाहरुख आत्मकेन्द्रित बढी छन् । बिनाअर्थका धेरै फिल्म बनाएर आफ्ना प्रशंसकको अपेक्षालाई सधैं धूलिसात बनाइरहेका छन् ।
केही दिनअघि मेरा एक साथी भन्दै थिए, “म दुबईमा हुँदा ‘डन’मा काम गरेका एकजना साथीसँग कुरा गर्दै घुम्दै थिएँ । बलिउडको झल्को आउने मनोरञ्जन पार्कमा तीनै खानको सुटिङ रहेछ । दुई आठ घण्टा ढिलो आए अनि झर्र्किएर काम गर्न थाले । अर्का खान भने समयमै आए र सबै काम सके । निर्देशकले ‘र्याप अप’ भने पनि उनी चासोपूर्वक केही काम छ कि भनेर सोध्दै थिए । ती को होलान् ?”
मैले भनें, “पक्कै पनि आमिर खान हुन् ।”
म सही थिएँ ।
र, यदि तपाईं मलाई ‘विश्वकै ठूला फिल्म स्टार को हुन् ?’ भनेर सोध्नुहुन्छ भने मेरो उत्तर हुनेछ– आमिर खान ।
प्रस्तुति: रुमु न्यौपाने
(साभार: फोब्र्स.कम)