दुई महिना अगाडि काठमाडौंमा बरामद भएको ८८ किलो सुन सहितको एउटा गाडी केरुङ नाकाबाट पुलिसलेनै चलाएर ल्याएको तथ्य प्रहरीले फेला पारेको छ । प्रहरीको ड्राइभर तथा असोज ३० गते गिरफ्तारीमा परेका मान बहादुर तामाङको समाचारलाई आजका नयाँ पत्रिका, नागरिक तथा अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन् ।
नयाँ पत्रिकाका नवराज मैनालीले तयार पारेको समाचारका अनुसार रसुवा भन्सार नाकाबाट सीमा क्षेत्र कटाउने कामका लागि सशस्त्र प्रहरीका एक हवल्दारलाई प्रयोग गरिएको थियो । सशस्त्र प्रहरीका हवल्दारले चलाएको गाडी कसैले पनि चेक नगर्ने भएको कारणले सुन तस्करीमा साँठगाँठ भएकाहरूले हवल्दारको प्रयोग गरेका थिए । अझ उक्त सुनले भरिएको गाडीमा भिआईपी चढेको चिन्ह समेत तस्करले प्रयोग गरेको समाचारमा जनाइएको छ । सो गाडी चालक सशस्त्र प्रहरीका हवल्दार भएको रसुवामा पक्राउ परेका दुई चालकले बताएको पनि नयाँ पत्रिका लेख्दछ ।
नागरिक दैनिक पत्रिकाले पनि ८८ किलो सुन तस्करीको विषयमा समाचार बनाउँदै ‘समानुपातिक सिफारिसमा परेका कांग्रेस नेता समातिए’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । सो समाचारका अनुसार नेपाली कांग्रेसको रसुवाको प्रादेशिक क्षेत्र नंबर २ बाट समानुपातिक निर्वाचनमा नाम सिफारिसमा परेका तामाङले चिनियाँ नागरिकका लागि सुन ओसार पसार गर्ने जिम्मा लिएका थिए । मुख्य अभियुक्त मानिएका चिनियाँ नागरिक भने अझै फरार छन् ।
अन्नपूर्ण पोस्टले मान बहादुर तामाङ र चिनियाँ मी वाङको तस्विर प्रकाशित गर्दै चीन देखि रसुवाको नाका कटाउन तामाङले भुमिका निभाउने समाचार प्रकाशित गरेको छ ।
एनआरएनएमा भवन भट्ट विजयी
विदेशमा बस्ने नेपालीहरूको विश्वव्यापी संस्था गैर आवासीय नेपाली संघको हिजो भएको कार्यकारी समितिको निर्वाचनमा भवन भट्ट विजयी भएको समाचार आजको कान्तिपुरले प्रथम पृष्ठमा प्रकाशित गरेको छ । भट्टले प्रतिस्पर्धी जमुना गुरुङ घलेलाई पराजित गर्दै विदेशमा बस्ने नेपालीहरूको अध्यक्षको रुपमा आफूलाई स्थापित गरेका छन् । मूल रुपमा जापानमा व्यवसाय गरेर बसेका भट्टको जापानमा मात्रै ३०० भन्दा बढी रेस्टुरेन्ट छन् । उनले नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । हालै मात्र नेपाल वायुसेवा निगमले विक्रीमा राखेको बोइङ ७५७, कर्णाली जहाज पनि भट्टलेनै खरिद गरेका छन् ।
गच्छदार मातृ पार्टीमा फिर्ता
नेपाली कांग्रेसबाट राजनीति गरेर हालसम्म पाँच पल्ट सांसदको रुपमा विजयी भएका विजय कुमार गच्छदार दश वर्ष पछि माऊ पार्टीमा पुनः प्रवेश गरेका छन् । गच्छेदारको नेपाली कांग्रेस प्रवेशको समाचारलाई सबैजसो दैनिकले आज मुख्य समाचार बनाएका छन् । कान्तिपुरले यो समाचारको तस्विर सहित प्रकाशित गरेर ‘रोए गच्छदार’ शीर्षकमा समाचार प्रकाशित गरेको छ भने नागरिकले ‘कम्युनिस्ट अधिनायकवाद रोक्न एकीकरण’ शीर्षकमा यो समाचारलाई चार कोलमको मुख्य समाचार बनाएको छ । गोरखापत्रले ‘लोकतान्त्रिक फोरम काँग्रेसमा’ भन्ने शीर्षक दिएको छ भने अन्नपूर्ण पोस्टले ‘१० वर्षपछि फर्किए गच्छदार’ शीर्षक दिएको छ । पोस्टले ‘किन फर्किए’ भन्ने बक्स बनाएर उनलाई कम जोखिम मोल्ने र अवसरवादी नेता भएको हुनाले फर्किएको भनेको छ ।
राजधानी दैनिकले भने कांग्रेस–लोकतान्त्रिक फोरमबीच एकताको घोषणाको समाचार सँगै बक्समा लोकतान्त्रिक फोरमले गच्छदारलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको समाचार प्रकाशित गरेको छ । लोकतान्त्रिक फोरमका सह अध्यक्ष भानुराम थारुको अध्यक्षतामा बसेको उक्त दलको बैठकले विधान एवं पार्टी निर्णयविपरित कार्य गरेको आरोप लगाउँदै साधारण सदस्य समेतबाट निष्कासित गरेको समाचार राजधानीले प्रकाशित गरेको छ । नयाँ पत्रिकाले पनि ‘हाँस्दै गएका गच्छदार रुँदै फर्किए’ शीर्षकमा एन्कर प्रकाशित गरको छ ।
डा. केसीसँग सरकारले सम्झौता गर्ने
चिकित्सा शिक्षा सुधार र भ्रष्टाचारीलाई कारवाही गरिनुपर्ने माग राख्दै १३ औं पल्ट सत्याग्रहमा बसेका डा. गोविन्द केसीसँग सरकारले एकपल्ट पुनः सम्झौता गर्ने तयारी गरेको समाचार आजका दैनिकले प्रकाशित गरेका छन् । नयाँ पत्रिकाले डा. केसीका मागमा सरकारको के जवाफ रहेको छ सो समेत प्रकाशित गरेको छ । मुख्यतः चिकित्सा शिक्षा विधेयक अहिलेलाई संसद नभएको हुनाले रोकिएको र अध्यादेशबाट ल्याउन पनि समय लाग्ने भनेर सरकारले डा. केसीलाई उत्तर दिएको छ । त्यस्तै शिक्षा ऐन झुक्याएर खारेज गरेको सम्बन्धमा पनि सरकारले संशोधन गर्ने बताएको छ । मुख्यतः नेपाल आयल निगमका कार्यकारी निर्देशक रहेका गोपाल खड्काको विषयमा सरकारले आफूले केही गर्न नमिल्ने र यो विषय अख्तियार तथा अदालतमा रहेको जानकारी डा. केसीलाई गराएको छ ।
अन्नपूर्ण पोस्टले पनि डा. केसी पक्षले माग पुरा गर्ने ग्यारेन्टी खोजेको र सरकारले वार्ता अघि बढदै गएको कुरा लेखेको छ । कान्तिपुरले भने वार्ताको बुँदामा डा. केसी असहमत भन्दै पहिलो पृष्ठमा प्वाइन्टर मात्र राखेर समाचारलाई १२ औं पृष्ठमा प्रकाशित गरेको छ । गोरखापत्रले भने प्रथम पृष्ठमा रंगीन बक्स बनाएर डा. केसीसँग आज सम्झौता हुने समाचार प्रकाशित गरेको छ ।
अन्य समाचार
आजको नयाँ पत्रिकाले गत चार वर्षको संसदमा को को प्रधानमन्त्री भए र कसको मन्त्रिपरिषदमा कति सदस्य थिए भन्ने खोजी गरेर राम्रो समाचार तयार गरेको छ । त्यस्तै राजधानी दैनिकले संघ–प्रदेश निर्वाचनको असरका रुपमा दर्जनौं दल बिलाएको खोजमूलक समाचारलाई एन्कर बनाएको छ । नागरिकले मनसुन २३ दिन ढिला गरी बाहिरिएको समाचार एन्करमा प्रकाशित गरेको छ ।
सम्पादकीय
चिकित्सा शिक्षा र सेवालाई गुणस्तरीय एवं तल्लो वर्गको पहुँचमा पु¥याउने विधेयक ल्याउनुपर्ने माग राखेर डा. गोविन्द केसी तेह्रौ सत्याग्रहमा बसेको आज तेह्रौ दिन भयो भन्दै कान्तिपुरले तत्काल अध्यादेशबाट भएपनि चिकित्सा शिक्षा विधेयक ल्याउनका लागि सशक्त माग गर्दै सम्पादकीय लेखेको छ । डा. केसीले विगत पाँच वर्षदेखि अनेक तवरले माग राख्दै आउँदा पनि जननिर्वाचित सरकारले जनताको हित हुने ऐन बनाएर पास गर्न नसकेकोमा कान्तिपुरले गैर जिम्मेवार संसद भनेको छ । अब तुरुन्त माथेमा आयोगको प्रतिवेदन र डा. केसीसँग सरकारले गरेका सम्झौता अनुरुप अध्यादेश आओस भन्ने कान्तिपुरको स्पष्ट माग रहेको छ ।
मंगलवार प्रकाशित नागरिक, अन्नपूर्ण पोस्ट तथा नयाँ पत्रिकाले बन्द सूचीमा दलहरूले देखाएको भद्रगोलका सन्दर्भमा सम्पादकीय लेख्दै यस्तो गल्ती नदोहो¥याउन आव्हान गरेका छन् ।
गोरखापत्रले अब मुलुक निर्वाचन उन्मुख भएको समाचार प्रकाशित गरेको छ भने राजधानीले संसद भवन अझै पनि अन्तर्राष्ट्रिय सभागृहमा भाडामै बस्नु परेको विषयमा असन्तोष व्यक्त गरेको छ ।