काठमाडौं । भारतीय अभिनेत्री स्मिता पाटिलको फिल्मी यात्रा केवल १० वर्षको रह्यो । उनको काम यस्तो थियो कि आज पनि चर्चाको विषय बनिरहेको हुन्छ । स्मिता सिनेमाको अभिनयसँगै अभिनेता राज बब्बरसँगको सम्बन्धका कारण पनि चर्चामा रहिन् । ३१ वर्षको उमेरमा अचानक भएको स्मिताको मृत्यु आजपनि रहस्यमयी छ ।
‘‘मलाई याद छ, हामी फिल्म मन्थनको सुटिङ राजकोटबाट केही बाहिर गरिरहेका थियौं । सुटिङका दौरान स्मिता पाटिल गाउँले महिलाहरुसँग उनीहरुकै कपडा लगाएर बसेकी थिइन् । सुटिङ हेर्न क्याम्पसका केही विद्यार्थीहरु आएर हिरोइन खै भनेर सोध्न लागे । कसैले स्मितातर्फ इशारा गर्दै देखाएपछि तीन विद्यार्थीले गाउँकी युवतीले बम्बैको फिल्ममा कसरी हिरोइन हुन सक्छ भनेर प्रश्न गरे । यही खासियत थियो स्मिताको । उनी जे गर्थिन्, त्यही रोलमा डुब्थिन् । उनी क्यामेरा अगाडि जे गर्थिन्, त्यसको अंग भैदिन्थिन्,” केही यस्तै यस्तै घटना सुनाएर फिल्म निर्देशक श्याम बेनेगल स्मिता पाटिललाई स्मरण गर्छन् ।
सशक्त अभिनयबाट पहिचान बनाउन सफल स्मिताको जन्म सन् १९६५ अक्टोबर १७ मा भएको थियो । जन्मिदै गर्दा अनुहारमा देखिएको मुस्कानका कारण उनकी आमा विद्या ताई पाटिलले उनको नाम स्मिता राखेकी थिइन् । त्यही मुस्कान पछि गएर उनको व्यक्तित्वको सबैभन्दा आकर्षक वस्तु बन्यो । ‘रिल लाइफ’ मा एकदमै सहज र गम्भीर देखिएकी स्मिता ‘रियल लाइफ’ मा एकदमै चञ्चल थिइन् । स्मिताको जीवनी लेखिका मैथिली राव भन्छिन्, ‘‘उनी निजी जीन्दगीमा अत्यन्तै साधारण थिइन् । उनमा स्टार बन्ने कुनै भित्री चाहना थिएन । जीवनप्रति गम्भीर हुनुका साथै उनी एकदमै चञ्चल स्वाभावकी थिइन् । उनलाई एकदमै मोजमस्ती गर्नुपर्ने हुन्थ्यो । उनलाई गाडी चलाउने ठूलो सोख थियो । त्यसै कारण उनले १४–१५ वर्षकै उमेरमा ड्राईभिङ सिकिसकेकी थिइन् ।’’
स्मिता पाटिलले छाटो फिल्मी यात्राका दौरान अभिनय गरेका सिनेमाहरु भारतीय फिल्म इतिहासमा कोशेढुंगा सावित भएका छन् । जसमा सिनेमाहरु ‘भूमिका’, ‘मन्थन’, ‘मिर्च मसाला’, ‘अर्थ’, ‘मंडी और निशान्त’ जस्ता कलात्मक फिल्म छन् भने अर्कोतर्फ ‘नमक हलाल’ र ‘शक्ति’ जस्ता व्यावसायिक फिल्महरु छन् ।
फिल्मी दुनियाँमा आउनु अघि स्मिता पाटिल बम्बे दूरदर्शनमा मराठी समाचार वाचन गर्थिन् । समाचार वाचन गर्दा साडी लगाउनु पर्ने अनिवार्य थियो । तर उनलाई जीन्स लगाउन मन पथ्र्यो । त्यस कारण उनी समाचार वाचन गर्नुअघि जीन्सकै माथि साडी लगाइसक्थिन् । स्मिताले अरुण खोपकरको ‘डिप्लोमा’ बाट फिल्मी यात्रा सुरु गरेको भएपनि निर्देशक श्याम बेनेगलको ‘चरणदाश चोर’ नामक सिनेमाबाट मुलधारको सिनेमामा प्रवेश गरेकी हुन् ।
सन् १९७७ मा उनलाई सोही वर्ष प्रदर्शनमा आएको ‘भूमिका’ नामक सिनेमा गरेको जोडदार अभिनयका कारण राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित गरिएको थियो । ‘भस्मिका’ बाट सुरु भएको स्मिता पाटिलको फिल्मी यात्रा चक्र, निशान्त, आक्रोश गिद्ध, मिर्च मसाला जस्ता सिनेमासम्म जारी रह्यो । सन् १९८१ मा फिल्म चक्रका लागि उनलाई फेरी नेशनल अवार्ड मिल्यो ।
स्मिता पाटिलको अभियनको चर्चासँगै अर्कोतिर उनलाई अभिनेता तथा राजनीतिज्ञ राज बब्बरसँग गाँसिएको सम्बन्धलाई लिएर आलोचना पनि भयो । अभिनेता राज बब्बर र नादिरा बब्बरको वैवाहिक सम्बन्ध टुटाएको उनीमाथि आरोप पनि लगाइयो । मैथिली राव भन्छिन्, ‘‘स्मिताकी आमा स्मिता र राज बब्बरको सम्बन्धको विरुद्धमा थिइन् । महिला अधिकारका लागि लड्ने स्मिता कसरी अर्काको घर तोड्न सक्ने भनेर उनी बताउँथिन् । स्मिताका लागि उनकी आमा रोल मोडल थिइन् । उनको जीन्दगीमा आमोको फैशला सदैव स्वीकार्य रह्यो । तर राज बब्बरसँगको सम्बन्धलाई लिएर स्मिताले आमाको भनेको मानिनन् । पछि आमा छोरीको सम्बन्ध चिसिएको थियो ।’’
स्मिता पाटिलको एउटा अन्तिम इच्छा थियो । ‘स्मिता मसँग समय समयमा भन्थिन्, म मरेपछि मलाईलाई दुलही झै सिंगार्नु है,’’ उनका मेकअप म्यान दीपक सावन्त भन्छन्, ‘‘एक पल्ट उनले राजकुमारलाई एक सिनेमामा सुतेर मेकअप गराइरहेको देखिन् र मलाई भनिन् दीपक मलाई पनि यसै गरी मेकअप गर । तर मैले यस्तो काम आफूबाट हुन नसक्ने बताएँ ।’’ उनले थपे, ‘‘एक दिन मैले उनको यसै गरी मेकअप गरे जुन एकदमै दुःखद थियो । संसारमै सायद कुनै मेकअप आर्टिष्ट होला, जसले यस्तो तरिकाले मेकअप गरेको होस् ।’’
मृत्युपछि उनको अन्तिम इच्छा अनुसार स्मिता पाटिलको शवलाई दुलहीझै सिंगारिएको थियो ।
बीबीसी हिन्दीबाट