एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब वायर्न म्युनिख र फ्रान्सको पेरीस सेन्ट जर्मेन (पिएसजी) ले जित हासिल गरेको छ । समूह बि अन्तर्गत बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा वायर्नले सेल्टिक र पिएसजीले एन्डरलेक्टलाई पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा वायर्नले स्पेनिस क्लब सेल्टिकलाई ३ – ० ले पराजित गरेको हो । वायर्नको जितमा थोमस मुलरले खेलको १७ औं, जोशुवा किमिचले खेलको २९ औं र माट्स हुमेल्सले खेलको ५१ औं मिनेटमा गोल गरे । सेल्टिकले केहि गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन ।
यो जितपछि समूहको दोस्रो स्थानको वायर्नले ३ खेलबाट ६ अंक जोडेको छ । सेल्टिक ३ अंक जोडेर तेस्रो स्थानमा छ । समूहको शिर्ष स्थानमा अपराजित रहेको पिएसजी रहेको छ ।
पिएसजीले बुधबार राति बेल्जियमको एन्डरलेक्टलाई ४ – ० ले पराजित गरेको थियो । एन्डरलेक्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, एडिनसन काभानी, नेयमार र एन्जल डी मारियाले समान एक एक गोल गरेका थिए ।
यो पिएसजीको ३ खेलबाट ९ अंक रहेको छ । लगातार तीन खेलमा पराजित एन्डरलेक्ट अंक बिहिन रहेर लिगको पुछारमा रहेको छ ।