site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पल्ला
Sarbottam CementSarbottam Cement

– रिविन


 

“ओ हो ! तपाईंं आउनुभयो ? स्वागत छ तपाईंंलाई मेरो बगैंचामा,” उसले थोरै मुन्टो निहुर्‍याएर अभिवादन गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

“के भन्नुभो ? तपाईंंलाई यो कुनै पार्कजस्तो लाग्यो रे ?”

उसले तपाईंंलाई सोधेको हो । तपाईं देख्न सक्नुहुन्छ निकै फराकिलो बगैंचा र बगैंचामा फुलिरहेका फरकफरक फूलहरू । तपाईंंलाई यी सब देख्दा कुनै पार्कजस्तो लागेको हुनुपर्छ । फेरि बस्नलाई केही कुर्सीहरू पनि त छन्, जुन काठले बनेका हुन् । र, ती कुर्सीहरूलाई सेतो इनामेलले रङ्गाइएको छ । तपार्इं ती कुर्सीहरूलाई सेता कुर्सीहरू भन्न सक्नुहुन्छ ।

Global Ime bank

“तपार्इं मलाई मेजर दिबुछा भनेर बोलाउन सक्नुहुन्छ । पूरा नाम रितुमर्दन दिबुछा । अब भन्नुहोस्— म तपाईंंलाई के भनेर बोलाऊँ ? वास्तवमा आफ्नो नाम अति नै प्यारो हुन्छ हकि ?”

उसले आफ्नो परिचय दिएर तपाईंंको परिचय मागिरहेछ । तपाईंं सम्झन खोज्नुहुन्छ । कतै तपाईंंले पढ्नुभएको हो– ‘नामजतिको व्यङ्ग्य संसारमा अरू हुँदैन’ भन्ने मान्छेको नाम ठ्याक्क सम्झन सक्नुहुन्न । तर, तपाईं आफ्नो परिचय दिन बिल्कुल ढिलाइ गर्नुहुन्न ।

“यात्री रे ? झेन फकिरजस्तो त देखिनु हुन्न, के तपाईं यायावर हो ?”

उसले तपाईंको थोरै अध्ययन गरी सिध्याएको छ ।

“के रे ? तपाईंलाई यो पार्कको बारेमा जान्न मन लागेको छ रे ? के तपाईंसँग त्यति धेरै समय छ कि तपाईं यो बगैंचा, होइन–होइन पार्क नै सही, जान्न सक्नुहोस् । ठीक छ उसो भए आउनुहोस्, बस्नलाई यी कुर्सीहरू निकै आरामदायी छन् ।”

उसले तपाईंलाई सेता कुर्सीहरूतिर इसारा गर्दै बस्नलाई आग्रह गर्दै छ ।

अब तपाईं सेता कुर्सीमा बसिसक्नुभएको छ । र, अब ऊ पार्कको बारेमा बताउन थालेको छ । के तपाईंले सुनिरहनुभएको छैन र ? ऊ भनिरहेछ, “अन्तमा हामीले निर्णय गरेका थियौं, हामी हाम्रो बुढेसकाल हामी जन्मिएको ठाउँमा बिताउनेछौं । आखिर हामी गाउँमा जन्मिएकोलाई सहरले हाम्रो बुढेसकाल थेग्न पनि त सक्दैन थियो । हामी गाउँ आयौं । मेरो दाइ आफ्नो पैंतीस वर्षे कानुनी सेवावाट निवृत्त थिए । म ब्रिटिसको निवृत्तप्राप्त एक मेजर । हाम्रो कहिलेकाहीँ विचार जुझ्ने गथ्र्यो । मेरो दाइ फौजीलाई खाली बारुद भरिएको खोका भन्ने गर्थे, कि चाल गति लिनलाई अरू दोस्रो शक्तिको जरुरत पर्ने र आफैं भष्म हुने । तर, मलाई आफ्नो फौजी पेसाप्रति गर्व थियो । र, म चुप लागेर बस्न सक्दिनथें । म देख्छु, वास्तवमा कानुन अपराधको खेती गर्छ । र, वकिल अपराधका प्रतिनिधि पात्रहरू हुन्, जो आफ्नो तर्कहरू अघि ल्याउन प्रतिद्वन्द्वीलाई सम्मान गर्न भुल्छन् । वास्तवमा शत्रुलाई सम्मान गर्न नसक्नु पराजयको बोध गर्नु हो । के तपाईं हल्ला सुनिरहनुभएको छ ? घडी हेर्नुहोस् त, पक्कै पनि ४ बजेको हुनुपर्छ । त्यो स्कुले बच्चाहरूको आवाज हो ।”

तपाईंले आफ्नो हातको घडी हेर्न नपाउँदै स–साना बच्चाहरू बगैंचामा प्रवेश गरेको देख्नुहुन्छ । के तपाईंलाई रमाइलो लागिरहेको छैन ? ऊ भन्दै छ तपाईंलाई, “जब मेरो बगैंचामा स–साना बच्चाहरू आउँछन्, तब मलाई निकै आनन्द लागेर आउँछ । के रे ? के सोध्नु भो ? ए हो त, म भन्दै थिएँ ।”

अगाडि सुनाइरहेको कुरामा जोड्दै ऊ तपाईंलाई सुनाइरहेछ, “अँ, एकदिन हाम्रो विवादले निकै ठूलो रूप लियो । कतिसम्म भने हाम्रो बोलचाल नै बन्द भयो । अहिले आएर लाग्छ, मैले दाइसँग माफी नमागेर जीवनमा ठूलो गल्ती गरेँ । वास्तवमा उनी मलाई निकै माया गर्थे । हामीले लगभग दुई वर्ष एक–अर्कासँग नबोली बितायौं । साँच्चै नै ती दुई वर्ष निकै कष्टकर दिनहरू थिए ।”

उसले यति भन्दा निकै दुःखित भएको महसुस तपाईंले उसको उदास र मलिन अनुहार हेरेर गर्न सक्नुहुन्छ । उसले सबै भनेर त भनिसकेको छैन र भन्दै छ— “मेरो छोराबुहारी सानी नातिनीसँग बिदा मनाउन आएका थिए । बच्चाहरू तपाईंलाई थाहै छ, स्वभावैले स्वतन्त्रता चाहन्छन् । मेरो सानी नातिनी अक्सर गरेर दाइको बगैंचामा फूल टिप्न जाने गर्थी । मलाई डर थियो, मेरो दाइ अझ अरू मसँग रिसाउँछन् कि ? म दाइसँग माफी माग्ने सही समय खोजिरहेको थिएँ । तर त्यस्तो समय मिलिरहेको थिएन ।  मेरो दाइ फूलको खासै सौखिन थिएनन् । अनि फूलको हेरचाहमा त्यस्तो खासै समय खर्चिएको पनि थाहा थिएन । तर, जब मेरी नातिनी उनको बगैंचामा फूल टिप्न जान थाली, दाइमा मैले निकै परिवर्तन देखेँ । परिवर्तन केमा भने, उनी धेरै समय बगैंचामा फूल गोड्न र पानी लगाउनमा खर्चिन थाले । अझ अचम्म त के भने मेरो नातिनीसँग मेरो दाइको थोरै समयमै राम्रो दोस्ती बस्यो । नातिनी सधैं बगैंचामा दाइसँग समय बिताउन मन पराउन थालेकी थिई । एकदिन मैले देखेँ, दाइ निकै जाँगरका साथ फूलका बिरुवाहरू रोपिरहेका छन् । र, छेउमा बसेर नातिनी फूलको थुँगा च्यातिरहेकी छे । मैले परैबाट दाइले सुन्ने गरी भनेँ, “प्यारी सानी नातिनी ! असल बच्चाहरू त्यसरी फूल च्यात्दैनन् ।”

“तपाईंलाई के लाग्छ ? तपाईं अड्कल काट्न सक्नुहुन्छ ? मेरो दाइले नातिनीको कपाल सुमसुमाउँदै के भन्नुभयो ? उहाँ भन्दै हुनुहुन्थ्यो, “हुन्दे, बच्चाहरूलाई फूल च्यात्न दिनुपर्छ । उनीहरू स्वभावैले कोमलता छाम्न चाहान्छन् । मेरो नातिनी फूलभित्रको कोमलता छाम्न खोजिरहेकी छे ।”

“दाइको कुराले एकछिन त छक्क परेँ । यस्तो बेलामा तपाईं दाइलाई के भन्नुहुन्थ्यो । मसँग त्यस्तो शब्द थिएन, मैले भनेँ, “बगैंचाको काम अब छाडिदिनुहोस् । म हेर्छु, तपाईं निकै बूढो भइसक्नुभयो ।”

“अनि त्यसपछि । अँ, सुन्दै जानुहोस् । किन हतार ? अँ एकदिन बिहानै छोराबुहारी र नातिनी दाइँसग बिदा माग्न गए । उनीहरूको बिदा सकिएको थियो । र, चाँडै सहर फर्किन चाहन्थे ।”

यति भनिसक्दा मेजर दिबुछाको मुहार अलि दुःखित भएजस्तो तपाईंले देख्न सक्नुहुन्छ । हैन ? फेरि बाँकी कुरा तपाईंलाई सुनाइरहेछ, “नातिनी गएको तेस्रो दिन दाइ निकै अधैर्य भएर बगैंचामा डुलिरहेको देखेँ । दाइको स्वास बढको थियो र पसिनाले पूरै शरीर भिजेको थियो । मैले दाइको नजिक गएर सोधेँ, “के हरायो र खोज्नुभएको ?” लाग्यो, उहाँले केही हराउनुभएको छ र त्यसलाई चाँडो भेट्न चाहनुहुन्छ ।”

“अँ, हरायो बेपत्तासँग,” उहाँले त्यतिमात्र भन्नुभयो । तपाईंलाई उहाँले त्यस्तो के कुरा हराउनुभयो जस्तो लाग्छ ? मैले कहिले पनि थाहा पाइनँ । उहाँले के हराएर खोजिरहनुभएको थियो, सोध्नलाई धेरै समय पनि भएन । भोलिपल्टै उहाँ बित्नुभयो । तर, बगैंचाका फूलहरू सदाझैं फुलिरहेका थिए । ऊः त्यो चिहान देखिरहनुभएको छ ?” उसले तपाईंलाई बगैंचाबीचको चिहान देखाइरहेछ । तपाईं देख्नुहुन्छ, त्यहाँ घर आकारको एउटा चिहान छ । र, त्यो चिहान सेतो चुनले पोतिएको छ । तपाईंलाई चिनाइरहेछ ।

“हो त्यो मेरो दाइको चिहान हो,” चिहानमा केही स–साना अक्षरले लेखिएको छ । तर, तपाईं त्यहाँबाट स्पष्ट देख्न सक्नुहुन्छ । मेजर दिबुछा भनिरहेछ, “मेरो दाइको आत्माको शान्तिका लागि मैले ठूलो बगैंचा बनाउने निधो गरेँ । र, यो बगैंचा बनाएँ । जुन तपाईंलाई पार्कजस्तो लाग्यो । फेरि मैले दाइसँग माफी पनि त मागेको थिइनँ । तपाईंलाई के लाग्छ ? के मलाई मेरो दाइले माफी दिए होलान् ?”

उसले कुर्सीबाट उठ्दै तपाईंलाई भन्दै छ, “अब तपाईंले बाँकी यात्राको लागि हिँड्नुपर्छ । शुभयात्रा ! फेरि आउनुभयो भने म के आशा गर्न सक्छु, तपाईंसँग साथमा सानासाना बच्चाबच्चीहरू हुनेछन् ?”

केही वर्षपछि तपाईं फेरि त्यो बगैंचामा पुग्नुभएको छ । लगभग चार वर्ष हो क्यार होइन ? त्यो तपाईंलाई थाहा छ । तपाईं केही वर्षअगाडिको कुरा सम्झिरहनुभएको छ । सेता कुर्सीहरू खाली छन्, जहाँ मेजर दिबुछा आफ्नो कथा भन्न बस्ने गर्थे । तपाईंले पनि त्यही कुर्सीमा बसेर उनका कथा सुन्नुभएको थियो । उसले तपाईं फेरि आउँदा तपाईंसँग बच्चा होस् भनेर अव्यक्त कामना गरेको थियो । त्यही भएर तपाईंले आफ्नो चारवर्षे बच्चा लिएर आएको हुनुपर्छ । केही फरक छैन । सबै पहिलेको जस्तै छ । तर, बगैंचामा अर्को चिहान थपिएको छ । के तपाईं नजिक गएर हेर्न चाहनु हुन्न ? किन नचाहनु, तपाईं चिहानको कितापका अक्षरहरू पढ्नुहुन्छ— अतिमर्दन दिबुछा (सन् १९२५—२००७) ...
रिपुमर्दन दिबुछा (सन् १९२७—२०१५)... ।

दुवै चिहानको किताबको सवैभन्दा माथी लेखिएको छ, “कृपया बच्चाहरूलाई फूल च्यात्न दिनुहोस्, उनीहरू कोमलता छाम्न चाहान्छन्...।”


(इन्डिगो इन्कबाट प्रकाशित कथासंग्रह ‘पफ्र्युम’बाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC