site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्यापुचिनो
Ghorahi CementGhorahi Cement

– अभिषेक के भट्टराई



मेन्यु मेरो टेबलमा आइपुग्याथ्यो ।

मैले मेन्यु हेर्न सुरुमात्र गर्दा पछाडिबाट आवाज आयो, "मोका ।"

Agni Group

कफीको लिस्टमा एकटक थिएँ, एक्कासि पछाडि फर्किएँ–– सुलभ्या !

 

Global Ime bank

० ० ०

 

हामी एउटै क्लासमेट तर आजसम्म बोलचाल भने भएको थिएन । बोलचाल र औपचारिक कुराकानी नभए पनि सुलभ्यासँग म राम्ररी परिचित थिएँ । कक्षामा पनि सरले मलाई कुनै प्रश्न सोध्दा सुलभ्या हरेक पटक ओभरटेक गर्थिन् र सरको गाली खान्थिन् ।

सरले गाली गरेपछि 'सिटडाउन' भन्दा उनी मुस्कानका साथ बस्थिन् । मनमनै सरले शायद सोच्नुहुन्थ्यो– गाली गर्दा पनि विचलित नहुने कस्ती केटी हो !" 

कलेजको कफीसपको टेबल नं. ३ मा बसेर यति कुरा सोच्दासोच्दै सुलभ्याको अर्डर मेरो टेबलमा आइपुग्यो । ए साँच्चि ! सुलभ्याको अर्डर हैन, अर्डर मेरो थियो तर सजेसन सुलभ्याको !

"मोचा !"

त्यो छनोट सुलभ्याको थियो तर मैले समर्थन गरेकाले त्यो अर्डर मेरो टेबुलमा आइपुग्यो ।

सुलभ्या र उनका साथीहरु भने 'टुडेज स्पेसल'मा रहेको आलु परौठाको स्वादमा रमाउँदै, हास्दै गफिँदै थिए । कफी आधा भइसकेको थियो । सुलभ्याको ग्रुप टेबलबाट उठ्ने तर्खरमा थियो । मैले रिसेप्सनको भाइलाई इसारा गरेर समय सोधें ।

"८:३० । फाइभ मिनट्स मोर टु रिंग द बेल," सुलभ्याले फेरि ओभरटेक गरिन् । तर, यो बेला भने उनी मतिर हेरेर मुसुक्क हाँस्दै बाहिर निस्किइन् । म पनि मुसुक्क हाँसिदिएँ  ।

क्लास पुग्दा अंग्रेजीको कक्षा सुरु भइसकेको थियो । ब्रेक टाइम सकेर सबै जना क्लास पुगिसकेका थिए । ढोकामा मलाई देखेर सरले सोध्नुभयो, "रोमन, क्लास सुरु भएको १० मिनेट भइसक्यो, तिमी कहाँ थियौ ?"

"क्यान्टिनमा कफी खाँदै ।"

उत्तर अरु कतैबाट आयो, सरको ध्यान पनि उतै मोडियो ।

"मैले रोमनलाई सोधिरहेको छु," सरले अलि साह्रो स्वरमा भन्नुभयो । 

मैले जवाफ दिन नपाउँदै सरले "भित्र आऊ" भन्ने इशारा गर्नुभयो ।

कोर्स अलिकति पढाएपछि सरले प्रोजेक्ट वर्कका लागि ग्रुप विभाजन गरिएको कुरा जानकारी गराउन थाल्नुभयो, "ग्रुप सी, रोमन क्षेत्री, सुलभ्या सापकोटा !"

ग्रुप 'ए' र 'बी'को बारेमा जानकारी गराउँदा शान्त रहेको कक्षा एकाएक एउटै ध्वनिले भरियो, "वाउ !!!"

प्रोजेक्ट वर्कअन्तर्गत हामीले कुनै एक विपन्न वस्ती पुगेर त्यहाँका वासिन्दाको बारेमा रिपोर्ट तयार गर्नुपर्ने हुन्छ । क्लास सकिएपछि म बाहिर निस्किनुअघि नै सुलभ्या बाहिर निस्किसकेकी थिइन् ।

म बाहिर निस्किँदै गर्दा सुलभ्या मुस्कुराउँदै गेटमा बसिरहेकी थिइन्, "हाई, म सुलभ्या ।"

"हेल्लो ! म रोमन एन्ड योर फ्रेन्ड फर प्रोजेक्ट वर्क ।" म हासें । सुलभ्या मुस्कुराइन् ।

बसको हर्न बज्यो ।

"सरी, बस हिँड्न लाग्यो ! टक टु इयु लेटर है, बाई," सुलभ्या बसतर्फ दौडिन् ।

मेरो आँखा पनि सुलभ्या सँगसँगै बसतर्फ दौडिए । 

घर गएर फ्रेस भएपछि एकछिन फेसबुकको भित्तातिर भौतारिनु मेरो दैनिकी जस्तै भइसकेको थियो ।

मोबाइलमा वाइफाइ कनेक्ट हुनेबित्तिकै नोटिफिकेसन आयो । 'स्विट सुलभ्या'ले फ्रेन्ड रिक्वेस्ट पठाइछन् ।

नोटिफिकेसन अरु पनि थिए तर यो नोटिफिकेसनले मेरो ध्यान भंग गरिदियो । साँच्चै- फेसबुकको नामजस्तै उनी स्विट थिइन् । मिलेको अनुहार, गहुँगोरो वर्ण अनि परेवाका जस्ता आँखा ! निर्दोष हेराइ । 

केही नसोची मैले त्यो रिक्वेस्ट एसेप्ट गरें । उनी अनलाइनै थिइन् । म्यासेज बक्स खोलें र 'हाइ' टाइप गरे । फेरि इरेज गरेर च्याट हेड बन्द गरें ।

फेसबुकको न्युज फिड स्क्रोल गरिरहँदा म्यासेन्जरको च्याट हेड अचानक एक्टिभ भयो । म्यासेज सुलभ्याको थियो––

"हाई रोमन ।"

"हाई ।"

"खाना खाएउ ?"

"उम् खाएँ, अनि तिम्ले ?"

"तिम्ले रिक्वेस्ट एसेप्ट गरेउ, यही खुसीमा भोक नि हरायो !" 

"हा...हा..हा ।"

औपचारिकता, पढाइको कुरा अनि प्रोजेक्ट वर्क प्लान । यिनैमा हरायौं ।

बिहान ५ बजे उठेर फेसबुक खोलें, फ्रेन्डलिस्टको टपमा सबै नामलाई उछिन्दै 'स्विट सुलभ्या' पुगेकी थिइन् । मुसुक्क हाँसें । एकदिनमै उनी फ्रेन्ड लिस्टको टपमा पुगेकी थिइन् । कता-कता मनको कुनामा ठाउँ पनि पाइसकेकी थिइन् ।

परीक्षाको अन्तिम घण्टीजस्तै गरी मोबाइलको रिङटोन बज्यो । नम्बर सेभ थिएन तर ट्रु कलरले चिन्यो- सुलभ्या सापकोटा ।

"गुड मर्निङ, उठिसकेउ ?"

"हैन म निदाइरहेको छु !" 

"ए ए, हिजो ढिलो सुत्या थिएउ, कलेज जान ढिलो हुन्छ कि भनेर सम्झाइदिएको ।" 

"थ्यान्क यु ।"

"सि यु सुन ।" 

म तयार भएर कलेज पुगें । सुलभ्या गेटअगाडि नै थिइन् ।

"गुड मर्निङ," सुलभ्या मुस्कुराइन् ।

"क्लास किन नगएको ?" मैले अलि गम्भीर भएर सोधें ।
मुस्कुराउँदै भनिन्, "आज प्रोजेक्ट वर्क ।"

"ओ सरी, मैले बिर्सिएछु ।" 

"सबै जना बसमा गइसके, म तिमीलाई पर्खेर बसिरहेकी थिएँ," अलि गम्भीर हुँदै सुलभ्या मुस्कुराइन् ।

"ए हो र ? जाऊँ जाऊँ," हतारिँदै मैले जवाफ दिएँ । 

छोटो समयमा हामी निकट भइसकेका थियौ । सुलभ्याले मलाई हरेक कुरामा ख्याल गर्थिन् । शायद त्यसैले होला– मेरो धड्कनमा पनि कता-कता सुलभ्यालाई पाउन थालिसकेको थिएँ ।

बसमा हामी सँगै थियौं । सुलभ्या घरिघरी झ्याल बाहिर देखाउँदै ती ठाउँ र वस्तुहरुसँग मलाई परिचित गराउन व्यस्त रहिन् । बेला-बेला म ती वस्तुबारे जिज्ञासा राख्थें । उनी ती जिज्ञासाको जवाफ दिन्थिन् ।

त्यो दिनभर सुलभ्या र म सँगै थियौं । सुलभ्यासँग रहेकाले होला- मलाई दिन बित्तेको पत्तै भएन ।

 

० ० ०

 

सुलभ्याको चाहना +२ सकिएपछि अस्ट्रेलिया जाने थियो तर मेरो इच्छा नेपालमै ब्याचलर इन डेभलपमेन्ट स्टडिज गर्ने थियो ।

प्रोजेक्ट सकिएपछि सुलभ्याले बिहानै म्यासेज गरिन् । म्यासेजमा उनले दिउँसो सस्क्याचीमा भेट्ने कुरा गरेकी थिइन् ।

+२ पनि सकिनै लाग्या थियो, किन-किन मलाई सुलभ्यासँग डर लागिरहेको थियो । सुलभ्यासँग भन्दा पनि उनको सपनासँग । हाम्रो मन एउटै थियो तर सपना फरक ।

अनि फेरि सोच्थें- एक भएर बसेको मनलाई जाबो सपनाले कसरी छुट्याउन सक्छ र ! केही हदसम्म भए पनि मन सन्तुष्ट हुन्थ्यो ।

म ससक्याची पुगेको १० मिनेटमै सुलभ्या आइपुगिन् ।

"हाई, मलाई धेरै पर्खेउ होला है ? के गर्छौ, म यस्तै छु ।"

मनमनै भन्दै थिएँ, "जस्तोसुकै भए पनि दामी छ्यौ ।"

वातावरण एकछिन मौन रहयो । 

"आज किन मुड अफ ?" उनैले भनिन् !

"तिमी मलाई जहिले पनि मुड अफ नै देख्छ्यौ ।" 

"ह्या, जहिले निहु मात्र खोज्छ," उनी झर्किइन् ।

"उम्… २ मोका," मैले अर्डर गरें । उनी मख्ख परिन् ।

"सुलभ्या ! तिम्रो भिसा आयो ?" सोधें ।

"अँ, एम्बेसीमा तिमी छौ नि, एक्जामै नदिई भिसा आउनलाई !" 

"हाहाहा, सही हो !"

"अस्ट्रेलिया गएपछि हामीलाई बिर्सिने होला," कफी पिउँदै मैले भनें ।

"म जहाँ पुगे पनि मन तिमीसँगै हुन्छ, यस्तो कुरा नगर न," सुलभ्याले अलि गम्भीर भएर जवाफ दिइन् ।

कफी सकेर हामी ससक्याचीबाट निस्कियौं ।

सुलभ्या आफ्नो भिसा प्रोसेसमा व्यस्त थिइन् । म पनि प्रवेश परीक्षाको तयारीमा थिएँ । हामीबीच पहिलेजस्तो गफ गाफ हुन छाडिसकेको थियो । एकदिन बिहानै सुलभ्याले फोन गरिन्, "ह्याप्पी बर्थ डे !" 

मेरो जन्मदिन थियो त्यो दिन । बर्थ डे विस र हालखबर सोधेपछि दिउँसो भेट्ने बताइन् । क्याफेमा मोकाको स्वाद र सुलभ्याको सामीप्यताले समय गएको पत्तै भएन ।

"रोमन, मेरो सेप्टेम्बर १० को फ्लाइट छ । म अस्ट्रेलिया जाँदै छु ।" 

"बधाई छ ! यस्तो खुसीको कुरा गर्दा किन यस्तो सेन्टी भाको तिमी ?" 

"खुसी एउटा ठाउँमा छ रोमन !! तिम्लाई छोडेर जानुको पीडा धेरै छ ।" 

"पढाइ सकेपछि म पनि आउँछु नि । किन टेन्सन लिइरा ?" 

सुलभ्या मौन रहिन् । मैले नै भनें, "लेट्स सेलिब्रेट, स्माइल ! स्माइल !!" 

सुलभ्या मुस्कुराइन् । उनी मुस्कुराउँदा मेरो खुसीले सीमा नाघ्थ्यो ।

सुल्भ्याले अस्ट्रेलिया जाने कुरा गरिरहँदा मेरो मनमा जस्तो ठूलो पीडा कसलाई भयो होला र ! त्यही पनि म उनको खुसीमा रमाएजस्तो नाटक गरिरहेको थिएँ । सुलभ्याको फ्लाइट डेट नजिक आउँदै थियो । हाम्रो भेट पनि निकै बाक्लिएको थियो । प्राय: हामी दैनिकजस्तै भेट गर्थ्यौं ।

प्रत्येक भेटमा म सुलभ्यालाई एउटै प्रश्न तेर्स्याइरहन्थें, "अस्ट्रेलिया गएपछि मलाई बिर्सिदैनौ नि ?" 

उनको जवाफ पनि सधैं एउटै हुन्थ्यो, "ती चराहरु देख्छौ नि ! ती चराहरुले आफ्नो परिवारलाई गुँडमै छाडेर आएका छन् । यी चराहरु दिनभरि चारोको खोजीमा धेरै परपरसम्म पुग्छन् तर चारो पाए पनि नपाए पनि बेलुका आफ्नै घर फर्किन्छन् । हो- चारोको खोजीमा हिँडेका यी चराहरु जस्तै हुँ म । जहाँ पुगे पनि मनमा तिमी नै हुन्छौ र फर्किएर तिमीसामु नै आउनेछु ।"

यी कुराहरु भनिरहँदा सुलभ्या एकदमै भावुक हुन्थिन् ।

मेरो प्रवेश परीक्षा भएकोले सुलभ्याको फ्लाइट टाइममा एयरपोर्ट पुग्न सकिनँ तर उड्ने बेला सुलभ्याले आफैं फोन गरेकी थिइन् । अस्ट्रेलिया पुगेर सुल्भ्याले फेसबुकमा म्यासेज गरिन् । हामी सधैं जसो भिडियो च्याटमा कुरा गर्थ्यौं । सुलभ्या अस्ट्रेलिया पुगेको एक वर्षसम्म हामी पहिलाको जस्तै थियौं । अचानक सुलभ्याको बानीमा परिवर्तन आउन थाल्यो । उनी अनलाइन हुन्थिन्, मेरो म्यासेज डेलिभर पनि हुन्थ्यो तर म्यासेज पठाएको घण्टौंपछि मात्र उनी म्यासेज रिप्लाई गर्थिन् । भिडियो च्याट रिजेक्ट गर्थिन् र 'आई एम बिजी' भनेर टेक्स्ट गर्थिन् ।

बिस्तारै उनी मबाट टाढा जान थालेकी थिइन् । यता म भने उनको यादमा हरेक पल तड्पिरहेको हुन्थें । बिहान पठाएको म्यासेजको रिप्लाई राति आउँथ्यो, मनको दूरी पनि बढ्दै थियो ।

एकदिन अचानक मेरो म्यासेज बक्समा सुलभ्याको म्यासेज आयो, "सरी रोमन, मैले हाम्रो मायाको लागि मेरो सपनाको बलिदान दिन सकिनँ । मलाई थाहा छ- मैले अपराध गरिरहेकी छु । यसको सजाय मैले निश्चय नै पाउनेछु तर मैले मेरो मनलाई मार्न सकिनँ रोमन । म बुझ्छु तिम्रो पीडा । प्लिज तिमी मलाई बिस्तारै बिर्सिदेऊ । आफ्नो नयाँ जीवन सुरु गरेर मजस्तो निष्ठुरीलाई भुलिदेऊ । आई एम सो सरी रोमन । शायद तिमीले मलाई र मेरो सपनाप्रतिको लगाव बुझ्छौ । आई एम सो सरी । सक्छौ भने माफ गर्देऊ । गुड बाई, ह्याभ अ वन्डरफुल लाइफ अहेड ।" 

सँगसँगै एक नवविवाहित जोडीको तस्बिर पनि थियो ।

मेरो आँखाभरि आँसु भरिसकेका थिए । बिस्तारै किबोर्डमा झरिरहेका थिए । मैले 'बधाई छ' लेखेर रिप्लाई गर्न खोजें तर उनी र मबीचको च्याट बक्समा म्यासेज टाइप गर्ने ठाउँ थिएन । उनले मलाई ब्लक गरिसकेकी थिइन् ।

 

० ० ०

 

कलम बन्द गर्नै लाग्दा क्याफेको भाइ तेस्रो पटक अर्डर टिप्न आइपुग्यो । अघिल्लो दुई पटक त्यसै फर्किएको त्यो भाइलाई यसपटक निराश बनाउन चाहिनँ ।

"कफी ।" 

"सर, मोका ?" उसले हाम्रो सधैंको अर्डर थाहा पाएर सोध्यो ।

आँखाबाट चस्मा झिकेर आँखा पुछ्दै मैले जवाफ दिएँ, "नो ! नो !! ... क्यापुचिनो प्लिज ।"
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC