site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मान्ठा जगाउने मान्ठा
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


मोहन मैनालीका लागि वि.सं. २०३७ साल तेह्रथुम छाड्ने वर्ष बनेर आयो । जन्मिएको भूमि, जन्म दिने आमा–बुवा र सँगै हुर्के खेलेका बालसखीलाई छोडेर मोहन तेह्रथुमबाट झापा झरे ।

अक्सर गाउँबाट शहर छिर्नेहरू सपनाको ठेलीसँगै छिर्छन् । मनको एउटा कुनामा डर अनि अर्को कुनामा नयाँ परिवेशसँगै सपनाको रोमाञ्चक अनुभूति लिएर नयाँ गन्तव्यतर्फ गोडाहरू चाले । तर, मोहन सपनाले किचिएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गाउँ छोड्दा उनको मनभरि पीडा थियो । एसएलसी दिएका ८ मध्ये कक्षाका पहिलो, दोस्रो र तेस्रो (मोहन)को रिजल्ट नै गएन । न पास भए, न फेल ।

आकाश सधैं नीलो र सधैं कालो पनि हुँदैन । मोहनको जिन्दगीमा पनि त्यस्ता दिन आए । गाउँकै हेम पाठक नामक शिक्षक पढाउन छोडेर पढ्न काठमाडौं आएका थिए । उनले मोहनसहितका विद्यार्थी फेल भएको थाहा पाएपछि परीक्षा नियन्त्रण कार्यालय पुगेर रिजल्ट बुझे । उनीहरूको हाजिर थियो तर कापी थिएन । पाठकले खोज्न लगाए । कापी तीनै जनाको भेटियो । काट्न लगाए । तीनै जना पास भए । पास त भए तर उनीहरूमा पढ्ने उत्साह मरिसकेको थियो । उनीहरूले अर्को वर्षका लागि एसएलसीको फर्म भरिसकेका थिए । तर, पनि मोहनले पढ्नका लागि कलेज खोजे । फर्म बन्द भइसकेको थियो । उनले एक वर्ष पढ्न पाएनन् ।

Global Ime bank

मोहनका बुवा भन्थे, “किसान र गड्यौला सधैं माटैमा बस्नुपर्छ । त्यहाँबाट बाहिर निस्किएपछि चराले पनि खान्छ, मुसाले पनि खान्छ ।”

तर, मोहनको पुस्ता माटोबाट पहिलोचोटि बाहिर निष्कियो । र, तेह्रथुमबाट पखेँटा लगायो ।

घरबाट यही पढ्नु र बन्नुपर्छ भन्ने दबाब थिएन । गाउँमा भने विज्ञान पढ्नेको अर्कै इज्जत हुन्थ्यो । कसैले शिक्षा पढ्यो भने ‘फलानोको छोरो त नसकेर शिक्षा पढ्दैछ’ भनेर कुरा काट्थे । बलियो दरिन पनि विज्ञानै पढ्नुपर्ने बाध्यता थियो । गाउँले नै माहोल तयार पाथ्र्यो । मोहनले पनि अब्बल दरिन ९ र १० कक्षामा ऐच्छिक गणित लिएर पढे ।

म्याथ लिएर पढेका उनको मनमा म डाक्टर वा इन्जिनियर मध्ये यही हुन्छु भन्ने कंक्रिट उदेश्य त थिएन तर कुनै टेक्निकल विषय नै पढ्छु भन्ने थियो ।

एक वर्षपछि उनी पढ्न भनेर तेह्रथुमबाट काठमाडौं लागे । झापाको बाटो हुँदै काठमाडौं आउनुपथ्र्यो । झापामा काका, ठूलोबुवाका छोराछोरी पढ्थे । उनीहरूले यहीँ बसेर पढ भने । संगती, दौंतरीहरूले मेची क्याम्पस पढ्नुपर्छ भने । उनले पनि हार्न सकेनन् । विज्ञान पढ्ने अभिलाषा बोकेर हिँडेका मोहन मानविकी लिएर झापामै पढ्न थाले । नेपाली, अर्थशास्त्र र इतिहास उनले रोजेका विषय थिए ।

२०४२ भदौमा मोहन काठमाडौं छिरे । गाउँबाट आएकाहरू आरआर क्याम्पस ठोक्किन आइपुग्थे । मोहन पनि आरआरमै भर्ना भए ।

काठमाडौं आउँदासम्म गाउँमा शान बनेको विज्ञान उनले छोडिसकेका थिए । समयसँगै सपना फेरिन थालेका थिए । उनले सरकारी कर्मचारी बन्ने सोच पाल्न थालेका थिए । काठमाडौं आएर उनले जागिर खाने चक्करमा वाणिज्य बैंक, कर्मचारी सञ्चयकोषलगायतमा फर्म भरेर पढ्न थालेका थिए । सञ्चयकोषमा उनले पाचौँ तहमा लिखित पास गरे । तर, मौखिकमा उनको ल्याकतले भ्याएन । सोचे– सरकारी जागिर पास गर्ने कुरा मेरो बलबुताभन्दा बाहिरको कुरा हो । त्यसैले रोजे– शिक्षण । उनका लागि अध्यापन काठमाडौंमा जीवन धान्ने दैनिकी बन्न थाल्यो । भक्तपुर बालकोटमा पढाउन थाले ।

झापा चन्द्रगढीमा हुँदा उनले पुरानो प्रविधिबाट ‘हिजोआज दैनिक’ पत्रिका छापेको देखेका थिए । त्यो देख्दा उनलाई अचम्म मात्रै लागेन, गजबले आकर्षित पनि गर्‍यो । त्यही कारण उनले आरआरमा आएर पत्रकारिता पढ्न पनि खोजेका थिए । तर, आईएमा पत्रकारिता नपढेको विद्यार्थीले बीएमा पत्रकारिता पढ्न नपाउने भएकाले उनले पाएनन् ।

“विश्वका कुनै पनि युनिभर्सिटीमा नभएको यो अक्कडोपन त्रिभुवन युनिभर्सिटीमा छ,” ३२ वर्षपछि पनि त्रिविको यो नियमका विषयमा कुरा गर्दा मोहनमा उत्तिकै आक्रोश देखिन्थ्यो ।

बिहान अरु विषयमा बीए पढ्ने मोहन दिउँसो आईएमा पत्रकारिता पढ्न थाले । उनले बीएमा पनि पत्रकारिता एक्लो विषय लिएर पढे ।

स्वयम्भूबाट हेर्दा काठमाडौं जति सुन्दर देखिन्छ, त्यति नै क्रूर पनि छ । इमान्दारहरूका लागि यो वास्तवमा कठिन संघर्षको शहर हो । यसले सोझासीधा अबोधहरूलाई ठगिरहन्छ । मोहन पनि धेरै पटक ठगिए ।

दैनिक जीवन गुजार्नु थियो । पढ्नु थियो । बाँच्नु थियो । त्योभन्दा पनि ठूलो कुरा त केही बनेर उभिनु थियो । त्यसकै इख लिएर मोहनले ०४३ सालमा डिल्लीबजारमा पत्रिका पसल खोले । ३० हजार लगानी रहेको पसलले उनलाई त्यो बेला हात मुख जोर्न त सहज बनायो नै, सँगै पत्रकारिताको ढोका पनि खोलिदियो ।

पसलअगाडि ‘दैनिक समाज’को कार्यालय थियो । उनी पाठकलाई ‘दैनिक समाज’ बेच्थे, ‘दैनिक समाज’लाई चाहिँ अरु पत्रिका । उनी फुर्सद भयो कि ‘दैनिक समाज’को कार्यालय पुग्थे, पत्रकारहरूसँग गफिन्थे ।

पत्रकारिता पढिरहेका मोहन इन्टर्नसिपका लागि समाजमै गए । समाचार टिप्पणी तथा लेख लेख्न थालेका मोहनलाई सम्पादक मणिराज उपाध्यायले काम गर्न भने । ०४७ देखि मोहनले त्यहीँ फुल टाइम काम गर्न थाले ।

त्यो बेला विमानस्थलबाट सुन तस्करी हुन्थ्यो । मोहन र जीवनाथ खनाल भएर महिनाभरिमा कति सुन समातियो भनेर ‘समाज दैनिक’को मुख्य पेजमा रिपोर्ट बनाउँथे । १२ महिनामा कति सुन समातियो, त्यो पनि उनीहरू वर्षको अन्तिममा समाचार लेख्थे ।

०४५ सालमा उनी सुर्खेत पुगेका थिए । त्यहाँ उनले एउटा अनौठो दृश्य देखे । महिलाहरू खेतमा र पुरुषहरू घरमा बसेर काम गर्थे । फर्किएर मोहनले समाचार लेखे । सम्पादकले ‘गज्जब छ’ भने । समाचार छापियो । मोहनको मन खुसीले ढक्क फुल्यो ।

‘सिन्ह्वा’ लगायतका समाचार समितिमा आएका समाचार तथा फिचरहरू पनि मोहन अनुवाद गर्थे । ०४९ मा उनले ‘समाज दैनिक’ छाडे । 

त्यहाँ काम गर्दा वातावरण पत्रकार समूह (नेफेज)मा आबद्ध भइसकेका मोहनले ०४९ देखि पूर्णकालीन रूपमा त्यहाँ काम गर्न थाले । यहीबीचमा उनले रेडियो नेपालमा पनि काम गरे ।

नेफेजले भिडियो म्यागेजिन ‘आँखीझ्याल’ चलाउन थाल्यो । उक्त कार्यक्रमको पहिलो अंकको स्क्रिप्ट नै मोहनले लेखेका थिए । त्यहाँ उनले निकै लामो समय काम गरे । “पहिलो अंकको स्क्रिप्ट लेखेको मैले ‘आँखीझ्याल’को हजार अंकको स्क्रिप्ट पनि लेखेँ,” मोहन भन्छन्, “तर बीचमा केही समय मैले यहाँ काम गरिनँ । कतै न कतै कुनै न कुनै जिम्मेवारीमा भने म रहिरहें ।” मोहन यसको कार्यकारी निर्मातासम्म भए ।

‘स्पोटलाइट’ अंग्रेजी पत्रिकामा पनि काम गरे । सुशील शर्मा सम्पादक रहेको पत्रिकामा विनोद भट्टराई सिनियर रिपोर्टर थिए । मोहन पनि त्यसमा सिनियर रिपोर्टर नै थिए ।

 

मेडिकल कलेज

चितवनमा मेडिकल कलेजका लागि सरकारले देवघाटको जंगल फाँड्न अनुमति दिएको थियो । मोहन र ध्रुव बस्नेतले त्यो स्टोरी तयार पारे ।

‘काठमाडौं विश्वविद्यालयले मेडिकल कलेज खोल्न किन अनुमति दिनुपर्‍यो ? जबकि उसको यो फ्याकल्टी छैन, धार्मिक तथा वातावरणीय दृष्टिकोणले महत्वपूर्ण रहेको र सालको घना जंगल रहेको त्यो क्षेत्रमा किन मेडिकल कलेज खोल्नुपर्‍यो ? मेडिकल कलेजलाई कुनै नियम नलाग्ने र उसले जे गरे पनि हुने जस्तो व्यवहार भइरहेको छ’ भनेर त्यो बेला मोहन र ध्रुवले प्रश्न उठाएका थिए । मोहनलाई अहिले डा. गोविन्द केसीले उठाएको माग त्यही बेला आफूहरूले ०४९ मा उठाए जस्तो लाग्छ ।

नेपाल टेलिभिजनमा त्यो कार्यक्रमको प्रोमो बज्यो । टेलिभिजनको सेन्सरबोर्डबाट पास भएर प्रोमो बजिसकेपछि त्यो कार्यक्रम टेलिभिजनले बजाउन मानेन । कारण थियो– तत्कालीन शिक्षामन्त्री गोविन्दराज जोशीको हस्तक्षेप । उनले उक्त कार्यक्रम रोक्न नेपाल टेलिभिजनलाई निर्देशन दिए । सरकारमातहतको टेलिभिजनले विभागीय मन्त्रीको निर्देशन अवज्ञा गर्ने आँट गर्न सक्दैनथ्यो । कार्यक्रम प्रसारण भएन ।

‘झापालीले पिरेका हात्ती र हात्तीले पिरेका झापाली’ शीर्षकमा ०४७ मा ‘गोरखापत्र’ दैनिकमा छापेको फिचरलाई मोहन आफ्नो करिअरको उत्तम रिपोर्टमध्येमा एक मान्छन् । ‘गोरखापत्र’को शनिबारे परिशिष्टाङ्कमा प्रकाशित यो फिचर झापामा जंगली हात्ती र मान्छेबीचको द्वन्द्वको कथा थियो, जुन समस्या अहिले पनि बीसको उन्नाइस भएको छैन ।

लन्डनबाट ‘जेमिनी न्युज सर्भिस’ सञ्चालित थियो । उनले यसमा फिचर पनि लेखे । महिनाको एउटा–दुइटा मात्रै फिचर पठाए हुन्थ्यो । एउटा फिचरको ६० पाउन्ड पाइन्थ्यो । त्यो पारिश्रमिक नेपालका लागि आकर्षक थियो । ‘समाज दैनिक’मा उनले १५ सय पारिश्रमिक पाउँथे । त्यो बेला यो अधिकृत स्तरको पारिश्रमिक थियो ।

‘जेमिनी’पछि भने मोहन केही समय स्वतन्त्र पत्रकारको रूपमा रहे । यहीबचीमा प्रशिक्षकको रूपमा हिँड्न थालेका मोहन खोज पत्रकारिता केन्द्र (खोपके)मा सम्पादक भएर पुगे । ०५७ सालमा खोपके पुगेका उनले त्यहाँ रिपोर्टरमार्फत स्टोरी तयार पार्नु पथ्र्यो । तर, उनले त्यहाँ आफैं पनि थुप्रै स्टोरी तयार पारे ।

खोपकेमा काम गर्दा उनले ‘हिमाल खबरपत्रिका’मा काम सुरू गरे । त्यहाँ भने उनले सवा वर्षमात्रै काम गरे । ‘हिमाल’मा उनले गरेको पहिलो स्टोरी थियो ‘एक सय वर्षका १०१ नेपाली ।’ नेपालको मुहार निर्धारण गर्ने राम्रा र नराम्रा व्यक्तिको सूची यसमा थियो । चार महिना लगाएर गरिएको यो स्टोरीमा मदन भण्डारी, बीपी कोइराला, चन्द्र शमशेर, महेन्द्र, चार शहीद, बाबुराम, प्रचण्ड आदि थिए ।

प्रचण्ड र बाबुरामलाई देशलाई द्वन्द्वमा होम्ने पात्र भनेर ‘इन्डिकेट’ गरिएको थियो । खेलकुद क्षेत्रको जग बसाउने भनेर नरशमशेरको नाम थियो । शहीदलाई झुन्ड्याउने मान्छेलाई सकारात्मक रूपमा चित्रित गरिएको भनेर मोहनको आलोचना भयो । मोहनले ‘उनी आदेश पालना गर्ने व्यक्ति मात्रै थिए’ भनेर खण्डन गरे ।

‘पेस्टिसाइट’ (कीटनाशक) मोहनले लामो समय फलो गरेको स्टोरी हो । उनले यो विषयलाई रेडियो, टेलिभिजन र पत्रिका तीनवटै मिडियामा उठाए । लामो समयपछि यो मुद्दालाई सरकारले सम्बोधन गर्‍यो । जसले नेपालमा पेस्टिसाइट सप्लाई गरेको थियो, उसैले जर्मनीमा लगेर नष्ट गर्‍यो ।

कालिकोको कोटवाडा विमानस्थलमा मारिएकाका परिवारलाई धादिङको जोगिमारामा भेटेर गरेको फिचर उनले लेखेको आफैंलाई मन पर्ने स्टोरी हो । यो स्टोरी ४२ सय शब्द लामो थियो । यही घटनामा उनले डकुमेन्ट्री पनि बनाए । यसले निकै ठूलो प्रभाव पनि पार्‍यो । संकटकालमा कसरी मानवअधिकार हनन् भएको थियो भन्ने एउटा राम्रो उदाहरण थियो ।

पछिल्लो समय दैनिक पत्रिकामा भने उनले काम गरेनन् । “अरु साथीले काम गरेको देखेको, यो त साह्रै हतारको काम रहेछ । ढुक्कसँगले खोजेर समाचार लेख्नै नपाइने रहेछ । राम्रा स्टोरी गर्न फुर्सद नपाउने गरी काम गर्नुपर्ने रहेछ,” मोहन भन्छन्, “हतारमा काम गर्दा राम्रो काम गर्न सकिँदैन भन्ने लाग्यो । फलानाले आज के काम गर्‍यो र के भन्यो मात्रै लेख्न समय दिने तर उसले बोलेको र भनेको कुराले के अर्थ राख्छ, त्यो खोज्नै पाइँदैन भने के काम गर्नु भन्ने लागेर त्यतातर्फ जाने रहरै गरिनँ ।”

उनलाई दैनिक पत्रिकामा काम नगरेर अहिले पछुतो छैन । आफूले बनाएको आफ्नै छवि दैनिक पत्रिकामा काम गरेको भए बन्दैन थियो कि भन्ने लाग्छ उनलाई ।

०६१ सालमा भने उनले ‘कान्तिपुर’मा ७–८ महिना साप्ताहिक स्तम्भ लेखे । 

समाचार खोज्दै जाँदा मोहन ६८ जिल्ला पुगे । गोरखामा २६ दिन लामो रिपोर्टिङमा निस्किए । गोरखाको माथिल्लो भाग पुगेका थिए । बेसीमा चौपाया झार्दै गरेका पासिङका ३५–३६ वर्षे जगतबहादुर गुरुङले बूढीगण्डकीको किनारमा पुगेपछि मोहनलाई रोकेर भने, “मेरो पनि अन्तर्वार्ता लिइदिनुपर्‍यो ।”

मोहन अचम्म परे । पासिङलाई उद्धृत गर्दै भने, “हाम्रा यति धेरै भेडा छन् । दिनहुँ मर्छन् तर सरकारले उपचारका लागि औषधि गरिदिँदैन । भीरमा हिँड्नुपर्छ । भीरबाट लड्ने व्यक्तिले ओछ्यानमै औषधि नपाई मर्नुपर्छ । मैले पढ्न पाइनँ तर स्कुल भए मेरा छोराछोरीले त पढ्न पाउँथे । जे काम गर्नका लागि सरकार बसेको छ, त्यहीमात्रै मागिरहेका छौं ।”

मोहनले धेरै त्यस्ता पात्र फेला पारे, जसलाई उनी बिर्सिनै सक्दैनन् । भेटेको दशक बिते पनि अझै ती व्यक्ति र घटनाले उनको मथिंगल लपेटिरहन्छ । पत्रकारिताका दौरान आफूले भेटेका केही अद्भूत पात्र सधैं उनको आँखामा घुमिरहन्छन् ।

 

मान्छेले मान्छे मार्छ ?

कोटवाडा विमानस्थल बनाउन जाँदा ज्यान गुमाएका परिवारका सदस्यलाई पहिलोपटक भेटेको पाँच वर्षपछि मोहनले फेरि भेटे । व्यक्ति थिए–शंखबहादुर गुरुङ । उनका दुई छोरा कोटवाडामा मारिएका थिए ।

शंखबहादुरले छोराहरूको किरिया गरिसकेका थिए । तर, उनी मोहनसँग भनिरहेका थिए, “मेरा छोरा मारिएका छैनन्, ज्युँदै छन् ।”

मोहनले सोधे, “तपाईंले त छोराहरूको किरिया पनि गरिसक्नुभयो । तर पनि किन यसो भनिरहनुभएको छ ?”

अबोध शंखबाहादुरको जवाफ थियो, “मान्छेले मान्छेलाई कसरी मार्न सक्छ ?”

मोहनलाई लाग्यो– शायद अन्य केही कारणले छोराहरू मारिए भनिएको भए शंखबहादुरले विश्वास गर्थे होला तर मान्छेले मारेको भनेपछि उनलाई लाग्यो– मान्छे त्यति क्रूर हुनै सक्दैन, ताकि मान्छे नै मारोस् ।

०४६ सालको संविधानले पत्रकारितालाई स्वतन्त्रता दियो । स्वतन्त्रतासँगै लगानी बढ्यो । यो क्षेत्रमा युवा पुस्ताको आकर्षण बढ्यो । पत्रकारितालाई पेशा बनाउन सकिन्छ भनेर धेरैले यतै हात हाले । तर, बेलाबेला शासकहरूले पत्रकारिता र वाकस्वतन्त्रताको घाँटी निमोठिरहे । संकटकालका बेला पत्रकार र मिडिया मालिकले यसको चरम रूप अनुभव गरे ।

कोटबाडा घटनालाई लिएर मोहनले प्रिन्टमा समाचार लेखे र डकुमेन्ट्री ‘द लिभिङ अफ जोगिमारा’ पनि बनाए । त्यो डकुमेन्ट्री उनले ०५९ पुसमा गरेका थिए । काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबलमा पहिलोपटक प्रदर्शनी हुने भयो ।

अन्तिम दिनको अन्तिम फिल्म मोहनको डकुमेन्ट्री थियो । तर, त्यो डकुमेन्ट्री नदेखाउन दबाब आयो । पुलिसले डकुमेन्ट्रीको कपी माग्यो । उनले पटक–पटक नदिने बताए । तर, संकटकालको प्रहरीसमक्ष उनको केही जोड चलेन । कमलपोखरीका प्रहरी अधिकृतलाई उनले एक कपी दिए । 

प्रहरीलाई बुझाए पनि डकुमेन्ट्री देखाउन नमिल्ने अवस्था आयो । सूचना प्रसार भइसकेको थियो । दर्शक डकुमेन्ट्री हेर्न तयार थिए । जसरी हुन्छ, स्क्रिनिङ गर्नैपर्ने थियो । मोहनले सम्झौता गरे– बीचको १७ सेकेन्ड न्यारेसन आएको समय अडियो अफ गर्ने । हलबाहिर सैनिक र प्रहरीको बाक्लो उपस्थिति थियो । प्रहरी अधिकृत हलभित्रै बसेर रेडियो सेट अन गरेर कतिबेला न्यारेसन अफ हुन्छ भनेर हेडक्वार्टरलाई जानकारी दिन बसेका थिए । मोहन आफैंले कन्ट्रोल रुममा बसेर प्राविधिकलाई १७ सेकेन्ड साउन्ड अफ गर्न भने ।

‘द लिभिङ अफ जोगिमारा’को स्क्रिनिङ सकियो । पत्रकारले जिज्ञासा राखे, “किन केही सेकेन्ड अडियो अफ भयो ?”

मोहनको जवाफ थियो, “हामीलाई हाम्रो सिस्टम ठिकै छ कि जस्तो लागेको थियो तर रहेनछ...” जवाफ सकिएकै थिएन, त्यहाँ बर्दीधारी सैनिक र प्रहरीको बाक्लो उपस्थिति देखेपछि मोहनको बोली बन्द भयो । बाँकी जवाफ भित्रै दबियो ।

उनले अहिले सुनाए, “मैले भन्ने सोचेको थिएँ– ... तर यो सिस्टम हलभित्रको साउन्ड सिस्टम हो कि हाम्रो देशभित्रको राजनीतिक सिस्टम हो– त्योचाहिँ नसोध्नुस् ।”

पत्रकारले फेरि सोधे, “तपाईंहरूलाई यो फिल्म नदेखाउन दबाब दिइएको थियो रे हो ?”

मोहनले ‘होइन’ भने । 

त्यो बेला झुट बोल्दाको पीडा मोहनको अनुहारमा अहिले कथा सुनाउँदा स्पष्टै झल्किरहेको थियो ।


दुई पुस्तक

मोहनले देशदेशावर घुमे । उज्यालो अनुहारका मान्छे भेटे, मलिन अनुहारका छायापात्र भेटे । तिनकै कथालाई अडियो, भिडियो र अक्षरमा रुपान्तरण गरे । उनले छायापात्रका पीडालाई पुस्तकमा छापे । जनताका व्यथालाई जनताले मन पराए । मोहनको प्रस्तुति शैली रुचाइयो, पुस्तकले पुस्कार नै पायो ।

उनले घुमेका ठाउँमा जे देखे, त्यसलाई लेखे । शायद उनी न्युजरुममा बन्द भएको भए दुई पुस्तक आउँदैनथे । ‘मान्ठा डराएको जुग’ र ‘उपल्लो थलो’ उनका पत्रकारिता जीवनका अमूल्य निधि हुन्, जसमा पहाडी र उच्च पहाडी जीवनशैली बोलेका छन् । ‘मान्ठा डराएको जुग’ ले ०७२ सालको पद्यमश्री साहित्य पुरस्कार पनि पायो ।

समाचार कक्षमा कुँजिएका भए यी गरिबका कथा न मोहनले देख्ने थिए न पाठकले तिनलाई केलाउन पाउने थिए । “मैले जे देखेँ, त्यो लेखेँ । त्यसले पुरस्कार पनि पाउँदा साँच्चै खुसी पनि लाग्दोरहेछ,” यसो भन्दा मोहनको मुहारमा खुसीका धर्सा देखिन्थे ।

जनताको दुःख उनिएका पुस्तकले मोहनलाई भने खुसी भरिदिएका छन् । आखिर पत्रकारिता भनेकै यही त हो । खुसी होस् या दुःख– त्यसलाई जनतासामु पुर्‍याउनु ।

सबै भूगोलका कथा सबैलाई थाहा हुँदैन । सामान्य जनता मात्रै होइन, केन्द्र सरकारका केन्द्रीय नेताहरू पनि अनविज्ञ हुन्छन् । यही काम गरे मोहनले । महिनौँ दिन लेक लाग्ने लेकमा पाइला घिसारेर घिस्रिरहने निरीह जनताको कथा लेखे । त्यसैले धेरैलाई अन्तरभूगोलको अवस्था अवगत गरायो ।

पुस्तकमा उनका पात्रहरू सहजै बोेलका छन् । लोभलाग्दो शैलीले पाठकको ध्यान खिच्छ । तर, तिनै पात्रलाई बोलाउन उनले भीमकाय मेहनत गरेका छन् । कति थाहा दिएर, कति लुकाएर कथा खिचेका छन् । कति त्यस्ता पात्रहरू पनि भेटे, जसले दिनभर पछ्याएर ‘मेरा कुरा सुन्नुस्’ भनेका छन् । ‘सरकारसामु मेरो दुःख पुर्‍याइदेऊ’ भनेका छन् । “जे होस मेहनतले जन्माएको पुस्तकले खुसी दिएका छन्,” मोहन खुसी सुनिए ।


अहिलेको पत्रकारिता

मोहनले केही त्यस्ता पत्रकार पनि देखेका छन्, जसमा पत्रकारिताका लागि चाहिने लडाकुपन आरिसलाग्दो छ । पढ्ने र आफ्नो प्रस्तुतिलाई सकेसम्म राम्रो बनाउने दक्ष र जुझारु पत्रकार पनि मोहनका नजरमा छन् ।

त्यससँगै पत्रकारमा लागेको रोग पनि उनले ठम्याएका छन् । मोहनकै शब्दमा, पढ्न मन नपराउने, लेख्न मेहनत नगर्ने र शक्तिको फेरो लगाएर पत्रकार हुँ भन्ने दरिद्र मानसिकताबाट किचिएका पत्रकार पनि छन् । “राजनीतिक र आर्थिक शक्तिको पछि लाग्दैमा पत्रकार भइन्छ भन्ने भ्रम पालेसम्म त्यो व्यक्ति पत्रकार होइन,” उनी भन्छन्, “मन्त्री, मेयरको सल्लाहकार हुने, उद्योग वाणिज्य महासंघको सल्लाहकार हुुने, हुँदाहुँदा पत्रकार महासंघको पदाधिकारी भएको व्यक्ति पनि मन्त्रीको सल्लाहकार भैरहेका छन् । यी दुई विपरीत ध्रुवका कुरा हुन् । कि मैले बुझेको पत्रकारिता गलत हो, कि यो अभ्यास गलत हो । यी दुईमध्ये एक त गलत पक्कै हो । आफू फलानो मेयर वा मन्त्रीको सल्लाहकार भएको भनेर गर्व गरिरहेका अनेक पात्र छन् । उनीहरूमा ठूलो पत्रकार हुँ भन्ने भ्रम छ ।”

सूचना र प्रविधिको विकाससँगै पत्रकारितालाई जति सहज भएको छ, त्यति नै चुनौती पनि थपिएको छ । सामाजिक सञ्जालमा सबैभन्दा पहिला सूचना आउँछ । “त्यसैले अहिलेको पत्रकारिता भनेको परिणाम यो आयो होइन, नतिजा किन यस्तो आयो र यसको संकेत के हो भन्नेमा केन्द्रित हुुनुपर्छ ।”

मोहन थप्छन्, “मैले कतै पढेको थिएँ, खोज पत्रकारिता नहुनुको कारण अरु जेसुकै होऊन्– पत्रकार अल्छी हुनु सबैभन्दा ठूलो बाधक हो । मिडिया हाउसले तलब दिएन भने त्यो पत्रकार र मालिकबीचको समस्या हो, यसको सजाय पाठकले किन पाउने ? मालिकले ठगेको छ भनेर पत्रकारले पाठकलाई ठग्न मिल्दैन ।”

मिडिया हाउसले पत्रकारलाई तालिम नदिए पनि तालिमको खाँचो नरहेको मोहनको दाबी छ । उनी भन्छन्, “मिडिया हाउसले ट्रेनिङ नदिए पनि ट्रेनिङको खाँचो छैन । सीप सिक्न नचाहने व्यक्तिलाई सीप सिकाउँदा निकै ठूलो यातना हुन्छ ।”

मोहनका अनुसार मिडिया राम्रो हुन अरु पक्ष पनि राम्रो हुनुपर्छ । अरु पक्ष लथालिंग भएको अवस्थामा मिडिया राम्रो हुनुपर्छ भनेर अपेक्षा राख्नु बेकार हो । “अरु क्षेत्रसँग तुलना गर्ने हो भने तुलनात्मक रूपमा पत्रकारिता क्षेत्र राम्रो छ,” उनी भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC