काठमाडौं । सरकारले बुधबार ७ वटा एनालग टेलिभिजन बन्द गरिदिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले एनालग टेलिभिजन बन्द गर्ने नीति अन्तरगत बुधबार ७ वटा एनालग केवल टेलिभिजन बन्द गरेको हो ।
सुविसु, स्पेस्टाइम नेटवर्क, स्काई केवल नेटवर्क, सीईसी, टिभी लिंक, काठमाडौं केवल र जावलाखेल नेटवर्कको स्वीचअफ गरेको सूचना तथा सञ्चा मन्त्रालयकी उपसचिव विष्णुकुमारी भट्टराईले जानकारी दिइन् ।
“आजबाट हाम्रो सूचना अवज्ञा गर्नेहरुको स्वीच अफ गर्न सुरु गर्यौं,” भट्टराईले भनिन्, “अब विस्तारै सबै एनालग टेलिभिजन बन्द गर्दै जाने हो ।” भट्टराई र विष्णु नेपालको नेतृत्वमा गएको सञ्चार मत्तालयको समूहले एनालग टेलिभिजन बन्द गरेको हो ।
स्काई केवल नेटवर्कमा बन्द गर्न पुगेको मन्त्रालयको टोलीलाई अवरोध सिर्जना गर्न खाजिएको थियो । काठमाडौंमा २८ वटा एनालग केवल टेलिभिजन नेटवर्क रहेका छन् । “बाँकीमा पनि हामी भोलीबाट जाँदैछौं” भट्टराईले भनिन्, “काठमाडौं उपत्यकापछि बाहिरका पनि सबै महानगर, उपमहानगर र नगरपालिकामा जाँदैछौं ।”
एक हप्ता अगाडि सूचना निकालेर सञ्चार मन्त्रालयले मंगलबारबाट अनिवार्य डिजिटल टेलिभिजनमा जान आग्रह गरेको थियो ।
मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग टेलिभिजन बन्द गर्ने सूचना निकालेर पनि पछि हटेको थियो । यता, केवल टेलिभिजन एसोसिएसन भने अहिले काठमाडौं उपत्यका तीन जिल्ला बाहेक अन्य ठाउँमा डिजिटलमा जान सकिने अवस्था नरहेको बताउँछ । “हामी तत्काल काठमाडौं उपत्यकामा डिजिटलमा जान सक्ने भए पनि बाहिर भने जान सक्ने अवस्था छैन,” एसोसिएसनका अध्यक्ष सुधीर पराजुलीले भने, “सरकारले सूचना निकाले मात्रै हुँदैन । हामीसँग भएको सम्झौता र नियमावलीअनुसार पनि होइन आजबाट एनालग बन्द गर्ने भन्ने । सरकार स्वयम्ले काठमाडौं बाहिर तत्काल डिजिटलमा जान सकिन्छ कि सकिँदैन भनेर सामान्य अध्ययन तथा अनुगमन समेत गरेको छैन ।”
एनालग टेलिभिजन फेजआउट निश्चित मिति तोकेर गर्ने भन्दा पनि विस्तारै चरण चरणमा गर्नुपर्ने उनको भनाइ छ । “काठमाडौंमा फेजआउट भएपटि ग्राहकले विस्तारै अन्य ठाउँमा पनि डिजिटल टेलिभिजन जोड्दै जान्छन् र यो आँफै हट्दै जान्छ र त्यस्तो अवस्थामा भने मिति तोकर पनि हटाउन सकिन्छ,” अध्यक्ष पराजुलीले भने, “अहिले प्रत्यक ग्राहक सेटअप बक्स राखेर टेलिभिजन हेर्न सक्ने अवस्थामा छन् कि छैनन् त्यो पनि सरकारले बुझ्नुपर्छ ।”
उनले आफूहरु डिजिटलमा जान तयार रहेको र गैरहेको पनि बताउँदै हठात महानगरदेखि नगरपालिकासम्म एकै पठक भने जान नसकिनेमा जोड दिए ।
“७५ बाट हामी ३५ वटा च्यानलमा झरिसक्यौं, मंसिर १ गतेबाट ३० मा झर्दैर्छौ, मंसिर ७ मा २५ मा र मंसिर १५ मा २० वटा च्यानलमा झार्दैछौं,” उनले भने, “सुरुमा नेपाल टेलिकमको सिम लिन लाइनमा बस्दा प्रहरीले लाठी हान्नुपर्ने अवस्था नआओस भनेर मन्त्रालयसँग भएको सहमतिअनुसार नै हामी काम गरिरहेका छौं । यो तथ्यलाई पनि सरकारले बुझ्नुपर्छ । हातमा तालाचावी छ भन्दैमा स्वीच अफ गर्ने हैन सहमति र सम्झौताअनुसार अगाडि बढ्नुपर्छ ।”
एसोसिएसनमा अहिले ३६५ सदस्य केवल नेटवर्क छन् । अहिले नेपालमा १२ वटा कम्पनीले डिजिटल केवल टेलिभिजन बाँड्न सक्ने अनुमति पाएका छन् । जसले आँफै र अहिले एनालग टेलिभिजन वितरण गरिरहेका कम्पनीलाई पनि यो अनुमति दिन सक्छन् । एनालग टेलिभिजन वितरण गरिरहेका ३६५ मध्ये ३ वटा कम्पनीले डिजिटजलमा जाने लाइसेन्स लिएको अध्यक्ष पराजुली बताउँछन् ।
सरकारले ०७१ मंसिर २१ गतेदेखि नै एनालग प्रविधिबाट सञ्चालित केवल नेटवर्कहरुलाई इजाजत दिने कार्य भने बन्द गरिसकेको छ ।
अहिले नेपालमा करिब ७० लाख टेलिभिजन रहेको अनुमान छ । तर, केवल अपरेटरले भने २० लाख पनि टेलिभिजन ग्राहक देखाएका छैनन् । कर तिर्नबाट बच्नका लागि केवल अपरेटरले प्रयोगकर्ताको संख्या घटाउने गरेका हुन् ।
डिजिटलमा गएपछि सरकारको करमा उल्लेख्य वृद्धि हुने सञ्चार मन्त्रालयको अपेक्षा छ ।
डिजिटलमा गएपछि अहिलेजस्तो ग्राहक लुकाएर कर छल्ने अवस्था नरहने र मन्त्रालयमा बसेर कति ग्राहक छन् हेर्न सकिने उनले बताए ।
एसोसिएसनका अध्यक्ष सुधीर पराजुली भन्छन्, “डिजिटल प्रविधिमा एनालगमा जस्तो केवल तारबाट टेलिभिजनको सिग्नल नआउने हुँदा अहिले ‘सेटअप बक्स’ को माग भइरहेको छ । यसका लागि ग्राहकले ‘सेटअप बक्स’ राख्नुपर्छ ।”
एनालग प्रविधिमा सेवा सञ्चालन गरिरहेका केवल टेलिभिजनहरुलाई डिजिटलमा जान निकै खर्चिलो पर्ने बताइएको छ । दुईवटा च्यानल सञ्चालन गर्ने एउटा केवल टेलिभिजनका लागि कम्तिमा एक अर्ब र राम्रो सामान राखेर गुणस्तरीय सेवा दिने हो भने ५ अर्बसम्म खर्च लाग्ने गरेको सम्बद्ध व्यवसायीहरू बताउँछन् ।
डिजिटलमा जाँदा ग्राहकका लागि आवश्यक पर्ने सेटअप बक्स, एन्टेनालगायत आवश्यक सामग्री ३ हजार देखि ४५ सयसम्ममा पाइन्छ । एनालग टेलिभिजन बन्द भएपछि अब ग्राहकले आफ्नो घरमा अनिवार्य रुपमा सेट अप बक्स राख्नैपर्छ ।
टेलिकम्युनिकेसन क्षेत्रको प्रवद्र्धन तथा नियमन गर्ने संस्था इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले सन् २०१७ को डिसेम्बरबाट एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केवल टेलिभिजन सञ्चालनमा ल्याउनैपर्ने बाध्यता छ । नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो ।
के हो एनालग प्रविधि ?
एनालग टेलिभिजन पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाइन्छ । यो एकतर्फी हुन्छ भने तस्बिर र साउन्डको गुणस्तर कम हुन्छ । एनालग केबलमा एउटै केबलबाट धेरैजनाले टिभि हेर्न सकिने हुँदा गुणस्तर कम हुन्छ । यो प्रविधि गुणस्तरहीन भएकाले सन् १९५० को दशकदेखि नै विकसित देशहरुले हटाइसकेका छन् ।
के छ डिजिटल प्रविधिमा ?
डिजिटल टिभीमा तस्बिर र ध्वनी उच्च गुणस्तरीय हुन्छ । यसमा आफूले हेरिरहेको च्यानलमा दुई वा सोभन्दा बढी कार्यक्रम हेर्न सकिन्छ । समान्य टेलिभिजनमा समेत डिजिटल टेलिभिजनमा गुणस्तरीय दृष्य हेर्न र अडियो सुन्न सकिन्छ ।
यसमा टेलिभिजनबाटै म्यासेज पठाउन र पाउन, युट्यूव च्यानल हेर्न, अनलाइन गेम खेल्न पनि सकिन्छ । यसमा आफूले चाहेको कार्यक्रम रेकर्ड गरेर पनि हेर्न वा सुन्न सकिन्छ ।
डिजिटल सेवा महँगो कि सस्तो ?
एनालग टेलिभिजन भन्दा डिजिटल टेलिभिजन महँगो छैन । अहिले केबल अपरेटर र डिजिटल सेवा दिएका कम्पनीहरूको मूल्यमा ठूलो अन्तर छैन । केबल अपरेटरहरूले मासिक न्यूनतम ३ सय रूपैयाँसम्म लिने गरेका छन् । डिजिटल सेवा दिइरहेका कम्पनीले पनि यसकै हाराहारीमा मूल्य लिइरहेको बताउँछन् । डिजिटल सेवा ग्राहकले मासिक तीन सय रूपैयाँमा सेवा दिइरहेका छन् । तर यसमा एचडी तथा अन्य मुभी प्याकेज लगाायतका सुिवधा लिँदा भने मासिक मूल्य बढ्छ ।
अहिले एउटै केवलबाट ५–७ वटा टेलिभिजन सेटमा टेलिभिजन हेर्न पाइरहेकोमा अब यो अस्वस्था रहँदैन । अब प्रत्येक टेलिभिजन सेटका लागि अलग अलग सेटअप बक्स राख्नुपर्छ ।
अहिले डिस मिडिया नेटवर्कको डिसहोम, सुविसु केवल नेटवर्कको क्लियर टिभी, सिम्पल मिडिया नेटवर्कको सिमटिभी लगायत करिब एक दर्जन कम्पनीले डिजिटल टेलिभिजन सेवा प्रदान गरिरहेका छन् ।