ad

अन्तर्वार्ता

हामी नेपालीसँगै झुक्न जान्यौं भने दिल्ली र बेइजिङसँग झुक्नुुपर्दैन 

विश्वप्रकाश शर्मा, उमेदवार– झापा १ (नेपाली कांग्रेस)

विश्वप्रकाश शर्मा झापा–१ मा कांग्रेस उमेदवार बनेका हुन् । र, उनलाई चुनौती दिँदैछन्– एमाले–माओवादी– राप्रपा गठबन्धनका साझा उमेदवार पूर्व सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ।
 

बौद्धिक, युवा र सरल व्यक्तित्वका धनी शर्मा ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका हुन् र यसपटक जित्ने तयारीका साथ मैदानमा उत्रिएका छन् ।
 

स्थलगत रिपोर्टिङका लागि झापा–१ पुगेका बाह्रखरीकर्मी अक्षर काका शिवनारायण गिरीले शर्मासँग घरदैलोको दौडधूपमै गरेको संक्षिप्त कुराकानी–


चुनावी घर दैलोमा हुनुहुन्छ, मतदाताको अपेक्षा के पाउनुभयो ?

गणतन्त्र स्थापनापछिको पहिलो राष्ट्रिय चुनावमा छौँ हामी । स्थानीय निर्वाचनमार्फत चयन गरिसकेको नेतृत्वसँग सहकार्य गर्नेगरी चुनावको पूर्णता दिने प्रक्रिया हो यो । त्यसो हुँदा मतदाता उत्साहित छन् । हामी उमेदवारहरूमा पनि एकखालको जागरूकता छ ।

मतदाताको अपेक्षा छ– शक्तिशाली स्थानीय तह बनिसकेपछि त्यसलाई समन्वय गर्नेगरी माथिल्लो नेतृत्व आओस् । हाम्रा अपेक्षा धेरै छन् । देशले बाटो लिएको छ ।

हिंसाबाट शान्ति, संविधानविहीनताबाट संविधान । अब मुलुक समृद्धितर्फ जाँदैगर्दा हाम्रा अपेक्षा पूरा होऊन् । र, त्यही दिशामा कामगर्ने इमान्दार प्रतिनिधि आऊन् भन्ने मतदाताको अपेक्षा देखिएको छ ।

हामीले घरदैलो, चुनाव प्रचार–प्रसारका क्रममा रहेका धेरै उमेदवारहरूसँग कुराकानी ग¥यौँ । त्यसमध्ये तपाईंको भिन्न प्रचारशैली रहेछ– कसैलाई गालीगलौज नगर्ने, बरु अरूले गरेका राम्रा कामको प्रशंसा गर्ने । किन ?

म अहिले तपाईंसँग गफ गर्दैगर्दा एउटा नदीको किनारमा छु । गाडी रोकिएको छ । यो गाली, गाली र गालीको बाटो देशले हिँडेपछि यहाँ पुल बनेन । बाटो बनेन ।

हामीले एकले अर्कालाई धारे हात लगाएर देश बनाउन सक्दैनौँ । हामीले एउटाले अर्कोलाई हात र साथ दिएर, सबैका शक्तिलाई गाँसेर र आफूभित्रको शक्तिलाई वृद्धि गरेरमात्रै देश बनाउन सक्छौँ ।

त्यसैले मेरो अपेक्षा र आग्रह के छ भने, हामी एउटाको झन्डा बोक्नेले अर्काको झण्डाको सम्मान गर्नुपर्छ । सबै झन्डा बोक्नेहरूले राष्ट्रिय झन्डा बोकेर सिंगो नेपाल राष्ट्रलाई उचाल्नुपर्छ भनेर मैले कसैलाई गाली नगरी मत माग्ने गरेको छु ।

 

सबैको मन जितेर मत बटुल्ने केवल चुनावी रणनीति हो भनेर बुझ्नेहरू पनि छन् नि ?

कसैले गाली गरेर हिँड्छ र त्यसैबाट उसलाई लाभ हुन्छ भनेर सोच्छ भने त्यो उसको कुरा हो । गाली गरेर बोल्दैगर्दा मतदाता अलि बढी जागरुक हुन्छन् । चुनाव जितिन्छ भनेर कसैले भन्छन् भने मलाई त्यस्तो खालको जित चाहिएकै छैन ।  म अहिले होइन, धेरै अगाडि ०४५ सालमा अनेरास्ववियु तत्कालिन पाँचौँले मेची क्याम्पसमा सेटै जित्दा, त्यतिबेला म १८ वर्षको मात्रै थिएँ । नेविसंघले चुनाव हा¥यो तथापि मैले पराजयको एक हप्तापछाडि विजयी सबै उमेदवारलाई माला लगाएर बधाई दिएँ । गत संविधानसभाको निर्वाचनमा पनि मसँग प्रतिस्पर्धामा रहनुभएका मित्रले चुनाव जितिसकेपछि माला लगाइदिएर अँगालो मारेर बधाई दिएको मानिस हुँ म ।

१८ वर्षको उमेरमा मैले त्यो सोच्दै गर्दा कुन भोट पाउँला अलि प्रशंसा गरूँला, अंकमाल गरूँला हारलाई स्वीकार गरूँला भनेर सोचेँ होला । यो त हाम्रो राजनीतिक संस्कार हो । हामीले राजनीतिलाई कस्तो बनायौँ भने– एउटाले अर्कोलाई अस्वीकार गर्ने । 

त्यसैले मेरो एउटा भनाइ छ– नेपालीले नेपालीसँग झुक्न जान्यो भने दिल्ली या बेइजिङसँग झुक्न जानुपर्दैन । नेपालीले नेपालीसँग सिक्न जान्यो भने नेपालभित्रकै मानिसका ज्ञानले समृद्धिको बाटो तय गर्न सकिन्छ । गालीको बाटो हिँडेर देश बन्दैन । त्यसैले हामीले स्नेह, प्रेम, क्षमा, एकता, शान्ति, सद्भाव, समृद्धि, समुन्नती र भाइचारको बाटो रोजेको हो, रोज्नुपर्छ ।


एमाले–माओवादी केन्द्र र झापा जिल्लामा त राप्रपासमेत एक भएर चुनावी मैदानमा छन् । उनीहरूले राजनीतिक स्थायीत्वको नारा दिएका छन् । ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्थाबाट जनता दिक्किएकाले एमाले– माओवादीले मत पाउने सम्भावना कत्तिको देख्नुहुन्छ ?

 

स्थिरता नभइसकेपछि स्थिरताको खोजी हुने कुरा स्वभाविकै हो । तर, संविधान पढेका, जानेका मानिसले के बुझ्नुपर्छ भने, स्थिर सरकारको प्रावधान संविधानमै गरिसकिएको छ । अहिले जुनसुकै पार्टीले बहुमत प्राप्त गरोस्, या बहुमत प्राप्त नभएर सहमतीय सरकार बनोस्, त्यो प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविस्वासको प्रस्ताव नै ल्याउन पाइँदैन । एकचोटी प्रधानमन्त्री बनिसकेपछि निश्चित कालखण्डसम्म काम गर्न दिइन्छ । त्यसकारण अमुक दल ठूलो हुँदैगर्दा स्थिरता हुन्छ भन्ने सोच्नु भ्रम हो । बहुमतको दल त पहिलो पनि थियो नि ?

बहुमतमात्रै भएर स्थिरता नहुनेरहेछ भनेर संविधानमै व्यवस्था गरिएको हो । अझ त्यसलाई संस्कारगतरूपमा व्यवस्थापन गर्न जरुरी छ । अझ हामी सबै दल एकै थलोमा उभिएर जान सक्यौँ र साझा दृष्टिकोण बनायौँ भने पो देश बन्ने हो । सरकार बनाउँदैमा देश नबन्दो रहेछ । संस्कार बनाउनुपर्दो रहेछ । संस्कार भइदिएको भए संविधानको धारामै लेख्नुपर्ने थिएन ।

अतः स्थिरता सरकारमा होइन, संस्कारमाचाहिँ खोज्न जरुरी छ ।

हिजो जसरी सबैदल एकमना एकताका साथ संविधान बनाउन जुट्न सके । ठिक त्यसैगरी नेपाल राष्ट्रको पुनःनिर्माण गर्ने दश वर्षे खाका अबको संसदले  पारित गर्नुपर्छ । स्थिरताको प्याकेज त्योचाहिँ हुन्छ । 

योगठबन्धन र त्यो गठबन्धन होइन आम गठबन्धन राजनीतिक स्थायीत्वसँगै आर्थिक स्थायीत्व खोज्नुपर्छ ।

भनेपछि गठबन्धनको औचित्य छैन भन्न खोज्नुभएको हो ?
 

के छ र के छैन भन्ने शब्द मैले प्रयोग गर्न खोजेको होइन । मैले उज्यालोको कुरा गरिरहेको छु, अँध्यारो मुर्दावाद भनेको होइन नि !

कांग्रेसले मुलुकमा पटक–पटक बहुमत नपाएको पनि होइन मुलुकमा राजनीतिक स्थायीत्व त भएन भएन, विकास पनि अघि बढ्न सकेन नि ?

अघि बोल्दैगर्दा हामी पुल नबनेका ठाउँमा थियौँ । अहिले ज्यामिरगढीबाट चन्द्रगढीतिर जाने बाटोमा छौँ हामी । बनेको बाटोमा छौँ । बहुदलपूर्व यी गाउँमा बत्ती बल्दैनथे । हिजो कल्भर्ट थिएन, आज बनेको छ । हिजो यी ठाउँमा उद्योग थिएन, निजी क्षेत्रको विकास थिएन । गोरखापत्र मात्रै थियो, आज बाह्रखरीलगायत थुप्रैपत्रपत्रिका आएका छन् । जनताले सूचना पाएका छन् । यो कांग्रेसको नीतिका कारणले होइन ।

यो ग्लोबलाइजेसनको कारणले मात्रै होइन । यदि त्यसो हुन्थ्यो भने उत्तर कोरियालाई किन छुन सकेन त ? ग्लोबलाइजेसनसँग प्रजातान्त्रिकीकरण पनि चाहिन्छ । हिजो कर्णाली अञ्चलमा पैदलै हिँडनुपथ्र्यो, मै हिँडेँ । आज गाडी पुगेको छ ।

राजनीतिक सुव्यवस्थापन निर्माण गर्ने सन्दर्भमा नेपाली कांग्रेस बेलाबखत चुकेको छ ।

सँगै अरू राजनीतिक दलहरूमा पनि त्यही प्रवृत्ति देखिएको छ । नेपाली कांग्रेस पनि विभाजित भयो, एमाले माओवादी दुवै विभाजित भए । हुँदाहुँदै राप्रपा र दुईवटा, एउटा संसद सदस्य भएका चुरे भावरसम्मका पार्टी फुटे । यो विसंगतीको समग्रताबाट हामी कोही अछुतो छैनौँ । त्यसैले दलहरूको भरोसा भएन, झगडा गर्लान्, विभाजित होलान् भनेर संवैधानिक व्यवस्था गरिएको हो ।

जहाँसम्म तपाईंको प्रश्न छ– दलहरूको कमजोरीले नै देशले दुःख पाएको हो । 

दलहरूबीच सहमति हुँदा देशमा शान्ति स्थापना भयो । दलहरूकै द्वन्द्वले एउटा संविधानसभा असफल भयो । एकता हुँदा अर्को संविधानसभाले संविधान जारी गर्न सक्यो । त्यसले गर्दा विगतका अनुभवबाट सिकेर आफूलाई राम्रोसँग सम्हाल्ने र अरूले पनि त्यसै गर्नुपर्छ ।

त्यसैले मैले मतमाग्ने क्रममा परिवर्तनका पाँच एजेन्डा जनतालाई भन्ने गरेको छु । भन्नेमात्रै होइन गर्छु । त्यसमा पहिलो हो आफ्नो दलमा रूपान्तरको कुरा । कांग्रेसलाई राम्रो बनाउने कुरा । त्यो भन्दै गर्दा अरू दल पनि राम्रो हुने बाटोतिर अघि बढ्नुपर्छ ।


अहिले कांग्रेस नेतृत्वले वामपन्थीहरूको सरकार बन्यो भने  कम्युनिस्ट अधिनायकवाद आउँछ भनिरहनु भएको छ, यहाँलाई के लाग्छ ?

एमाले–माओवादी केन्द्र मिल्दै गर्दा उहाँहरूले सिद्धान्तको बाटोलाई मात्रै समात्नुभयो भने उत्तर कोरिया पुगिन्छ । जीवनको बाटो समात्नुभयो भने देशलाई समृद्ध बनाउन हामीलाई बल पुग्छ । उहाँहरू कुन बाटो हिँड्ने हो भन्ने कोणबाट चर्चा हुँदा प्रश्न उठ्नेकुरा स्वभाविकै हो ।

लोकतान्त्रिक सिद्धान्त हो, संसदीय व्यवस्था । पहिला संसदीय व्यवस्था ढालौँ भनेर कम्युनिस्ट आन्दोलनको सुरूआत भएको हो । 

आज संसदीय व्यवस्थाभित्रैबाट सत्ता लिऔँ भनेर भनिरहनुभएको छ । उहाँहरू त्यसरी हिजोको बाटो, अधिनायकवादको बाटो जानुहुन्छ मलाई लाग्दैन । उहाँहरूले त्यो सिद्धान्त, जड्ताको बाटो होइन जीवनको बाटो रोज्नुपर्नेछ, रोज्नुहुनेछ । लोकतान्त्रिक मूल्यमान्यताको बाटोबाट मुलुकलाई समृद्ध बनाउन सबैको भूमिका रहनुपर्छ ।

 

झापा–१ मा तपाईंको उमेदवारी किन ?

नेपाली कांग्रेसले विगतमा गरेका राम्रा कामको निरन्तरताका लागि मेरो उमेदवारी गाँसिन्छ । नेपाली कांग्रेसले गरेका कतिपय कमीकमजोरी अन्त्यका लागि खबरदारी गर्न मेरो उमेदवारी गाँसिन्छ ।  

विश्वप्रकाश शर्मा अघिल्लोपटक उपविजेता भएर यो क्षेत्रमा जनताकाबीचमा निरन्तर रहिरह्यो । उपविजेता हुँदा पनि केही राम्रा कामको थाली गरेको छु । चाहे क्षेत्र पूरै चक्रपथ निर्माण गर्ने, बाहुनडाँगी, दुवागढी, शान्तिनगर, चन्द्रगढी, धाइजन गाँस्ने रिङरोड परियोजना । त्यसलाई पूरा गर्ने लक्ष्य छ । ४८ करोडको लगानिमा सिद्धि खोलाको सिञ्चाइ आयोजना आएको छ । इज्रायलमा पढेर आएका युवाहरू छन्, म र गगन थापा आफैँ इज्रायल कृषिको अध्ययन गर्न गएका थियौँ । त्यही अध्ययनका जगमा टेकेर हामी बाहुनडाँगी, शान्तिनगरको क्षेत्रमा कृषिको आधुनिकीकरण लाग्न चाहन्छौँ ।

सिद्धिखोलबाट सिञ्चाइमात्र होइन, विजुली निकाल्न सकिन्छ भनेर हामीले अघिल्लो चुनावमा भनेका थियौँ । म उपविजेता भएँ, तथापि एक अर्ब ६० करोड रुपैयाँको बराबर लगानीको प्रक्रिया अघि बढेर सिद्धि खोलाबाट दश मेघावाटको विद्युत् निकाल्ने परियोजनाले साकार रूप लिँदैछ ।

त्यो सँगै हरेक राजनीतिक दलको केन्द्रीय कमिटीमा पुगेको व्यक्तिले एक व्यक्ति एक मेघावाट विजुली निकाल्ने लगानीकर्ता खोज्नतिर लाग्यो भने देश आफैँ समृद्ध बन्छ ।
जुन मैले सुरू नै गरिसकेँ । बाहुनडाँगीभन्दा माथि इलामको रोङ गाउँपालिकाको सिद्धि खोलाबाट विजुली निकाल्ने परियोजना हो यो । त्यो भुगोलका नागरिकले २५ हजारदेखि १ लाख सम्म शेयर पाउने छन् ।

यीसँगै मेरो राजनीतिमा परिवर्तनको एजेन्डा छ । राजनीति सप्रियो देश सप्रन्छ, राजनीतिक बिग्रियो देश बिग्रन्छ । 

सारमा भन्नुपर्दा परिवर्तनको पाँच एजेन्डा, समाज बदल्ने सात शुत्र, देश बदल्ने दश कदमका साथ हामी अहिले अठोटको अभियानमा छौँ ।

 

देशका ७६ वटा जिल्लामा कांग्रेस–राप्रपा गठबन्धन छ, यहाँचाहिँ राप्रपा वामपन्थीसँग तालमेल गरिरहेका छन्, चुनौती छ नि ?

चुनौती छ । यसलाई हामीले स्वभाविक रूपमा लिएका छौँ । यस्ता किसिमका एलायन्स पहिला पनि नभएका होइनन् । हाम्रो क्षेत्रका दलविशेषका गठबन्धन होइन, आम गठबन्धनको भावना छ । जो जुन दलको भए पनि त्यसमा गाँसिने भन्ने छ । मलाई मतदाताको विश्वास छ ।

 

चुनाव जित्नेमा निश्चिन्त हुनुहुन्छ ?

निश्चिन्त भन्ने शब्द पनि नराखौँ । कसलाई मत दिने भनेर मतदाता स्वतन्त्र हुनुहुन्छ । हामीले ल्याएको दर्शन यही हो । त्यो दर्शन भन्दा बाहिर रहेका पनि चुनावी प्रतिस्पर्धामा छन् । 

यसर्थ हाम्रो सैद्धान्तिक जित त भइ नै सकेको छ  । गणितीय जित मतदाताको हातमा छ । मतदाताले मत राम्रोसँग दिएर यो पटक क्षेत्रको कमाण्ड जिम्मा लगाउनुहुनेछ भन्नेमा म आशावादी होइन विश्वस्त छु ।

मतदातालाई यहाँले गर्ने अपील के हो ?

मतदिने उहाँहरूको अधिकारको कुरा हो । मंसिर २१ गतेको दिन रूख चिह्नमा  मतदान गर्न तपाईंहरू गइदिनूहोस् । जसले रूख चिह्नमा मतदान गर्नुहुन्न उहाँहरूले पनि आफूले रोजेको चिह्नमा मतदान गर्न गइदिनूहोस् । यो बेलामा गम्भीर भएर सोच्नूहोस्– कुन दललाई होइन, कुन व्यक्तिलाई र ऊ सम्वद्ध पार्टीलाई पनि ।

उमेदवारको दिल र दल दुवै खोजिनुपर्छ । 

उसको वैयक्तिक पाटोमा पनि जानुपर्छ । उमेदवारले आफ्नो पारिवारिक जीवनलाई ख्याल गरेको छ कि छैन, आमाबाबुलाई श्रद्धा, छोराछोरी हुर्काउने, बढाउने गरेको छ कि छैन । चारीत्रिक रूपमा ऊ कुन अवस्थामा छ । छिमेकीसँग मिलेर बस्छ कि बस्दैन । आर्थिक हिसाबले कत्तिको पारदर्शी छ । तीनदिन पार्टीका लागि चारदिन रोटीका लागि भनेर आफूलाई स्वालम्वी बनाएको छ कि छैन । उसको सम्भावनाका कुरा, भोलिका कुरा, हिजोको कुरा सबै कुरा हेर्नुपर्छ ।
 

तपाईंको मत