site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
निर्भीक किशोर
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


कायरहरू हराएर जान्छन्, अभिमान पाल्नेहरू ढिलोचाँडो पलायन हुन्छन् । अरुको मन जित्नेहरू सधैं मनमा बसिरहन्छन् । 

किशोर श्रेष्ठको जीवनलाई फर्केर हेर्ने हो भने एउटा कुरा प्रष्ट हुन्छ– उनी कायर छैनन्, उनमा अभिमान छैन र उनी सधैं अरुको मनमा बसेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बुढ्यौलीले अनुहारमा धर्सा कोरिरहँदा पनि किशोर अहिलेसम्म उत्तिकै किशोर अनुभूत हुन्छन् । कामप्रतिको लगाव र हरपल सूचनाको कुइरीमण्डलमा हराइरहने किशोरको स्वभावले उनलाई सधैं किशोरवयमा अँठ्याइरहेको हुन्छ ।

धम्की र त्रासबाट सधैं अविचलित किशोरमा आज पनि त्यही दृढता र साहस छ, जुन पत्रकारिता सुरु गर्दा थियो । त्यही धैर्य र लगाव आज पनि उस्तै छ, जुन तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेरले ‘गोली हान्छु’ भन्दा थियो ।

Global Ime bank

त्यो एकदिन ।


होटल र्‍याडिसनमा चाइनिज नेसनल डेको रिसेप्सन पार्टी थियो । सैनिक पोशाकमा रहेका प्रज्ज्वलले किशोरलाई भने, “आई विल शुट यु ।”

दुर्गानाथ शर्मा, हरिहर विरहीलगायतका पत्रकार सँगै थिए । किशोरले पनि खुट्टा कमाएनन्, भने, “तपाईं मरेका दिन खसी काटेर खान्छु ।”

एकातिर प्रज्ज्वललाई पाखुरामा तान्दै थिए, अर्कोतिर किशोरलाई । दुवै पाखुरा सुर्किरहेका थिए । वरपरका सबै उनीहरूलाई घेरेर झुम्मिए । कसो–कसो उनीहरूलाई छुट्टाएर लगे ।

प्रज्ज्वले किन त्यसो गरे ? त्यो एकछिनमा थाहा पाउनुहुनेछ । अहिले लागौं– किशोर कसरी किशोर भए !


० ० ० 

बुवा दमका बिरामी थिए । चिसो काठमाडौं उपत्यका फापेन । डेढ वर्षको किशोरलाई लिएर उनी धादिङको गजुरी पुगे । त्यहीँ उनको पढाइ सुरू भयो ।

०४२ साल १४ वर्षको उमेर थियो । उनले अखिलमा राजनीति गर्न थालेका थिए । राजेन्द्र पाण्डे शिक्षक थिए, जेल परे । गंगालाल तुलाधरलाई पनि प्रहरीले जेल हाल्यो । किशोर र ओम शर्मालाई पनि पुलिसले राजकाज मुद्दा लगाउने तयारी गर्‍यो । उनीहरू भागाभाग भए । भूमिगत भएका किशोर धादिङकै विभिन्न ठाउँ परिवर्तन गरेर साढे ४ महिना लुकेर बसे । धादिङमा बस्न सक्ने अवस्था नभएपछि उनी काठमाडौं आए । कक्षा ९ मा पढ्न थाले ।

काठमाडौं आउनेबित्तिकै किशोरलाई प्रहरीले पक्रियो । ९ कक्षाको परीक्षा उनले नख्खु जेलबाटै दिए । मोहन चन्द अधिकारी, घनेन्द्र बस्नेत, नरेश खरेल, भीम आचार्य, विष्णुबहादुर मानन्धरलगायत झापा संघर्षका अधिकांश नेता नख्खु जेलमै थिए । त्यहाँ जेल परेका मध्ये सबैभन्दा कान्छो उमेरका किशोर थिए– १५ वर्षका । ५५ राजबन्दी रहेको उक्त जेलमा बिहान खाना खाएपछि प्रत्येक दिन उनी सुकुलमा बसेर घाम ताप्दै सबैलाई पत्रिका पढेर सुनाउँथे । त्यो उनको दैनिकी बनेको थियो । उनी पत्रिका पढ्थे, सबै वरिपरि बसेर आनन्दले सुन्थे ।

साढे ३ महिना भएको थियो, बुवाको मृत्यु भयो । पञ्चायती व्यवस्थाले उदारता देखायो । काजकिरियाका लागि भनेर उनलाई जेलमुक्त गरिदियो ।

स्कुलमा उनी भित्ते पत्रिका ‘दियालो’ निकाल्थे । त्यसले पत्रिकारिताप्रति उनको मोह जगाएको थियो । नख्खु जेलमा राजबन्दीहरू पत्रिका पढ्थे, त्यसले पत्रिकाप्रति उनको विश्वास बढायो । जेलबाट निस्किएपछि केही पुण्यको काम त गर्नुपर्‍यो भन्ने लाग्यो । असन प्युखामा पुस्तक सदन थियो । ‘डेली डायरी’, ‘मातृभूमि’, ‘युगधारा’ जस्ता पत्रिका उनी काठमाडौं उपत्यकाका पाँच वटै जेलमा राजबन्दीहरूलाई पुर्‍याइदिन्थे । चाइनिज साइकल चढेर पाँच वटा जेलमा पत्रिका पुर्‍याइसक्दा ११ बज्थ्यो । त्यपछि खाना खाएर उनी राजनीति गर्न लाग्थे ।

भानुभक्त ढकाल, योगेश भट्टराई, राम गौतम, किशोर लगायतले एउटा जेल कमिटी गठन गरेका थिए । त्यो कमिटीले राजबन्दीहरूलाई आवश्यक पर्ने सेवा–सुविधाका लागि लड्थ्यो । वकिलको तर्फबाट सुवासचन्द्र नेम्वाङले सहयोग गर्थे ।

किशोर जेलमा थिए । बाहिर राजबन्दीहरू ‘प्रजातन्त्र र परिवर्तनका लागि साथीहरू जेलमा बस्नुभएको छ’ भनेर ठूला–ठूला भाषण गर्थे । तर, भेट्न भने कोही पनि जाँदैनथे । बूढी आमा रुँदै किशोरलाई भेट्न जान्थिन् । आमाका आँखामा आँसु देखेपछि उनलाई नरमाइलो लाग्थ्यो । केका लागि राजनीति गर्नु भन्ने प्रश्नले किशोरलाई घोचिरहन्थ्यो । प्रजातन्त्र पुनःस्थापित भयो । बहुदल आयो । एउटा मिसन पूरा भयो । किशोरले पनि राजनीति छोडिदिए ।

० ० ०

पद्यमरत्न तुलाधरको घरमै प्रेस थियो । नेवारी भाषामा ‘राजमती’ नामक पत्रिका निस्किन्थ्यो । त्यसमा समाचार लेख्न थाले । ‘प्रकाश’, ‘चित्रण’, ‘नवजागरण’ साप्ताहिक प्रकाशन हुन थालेका थिए । तिनीहरूमा किशोर अलिअलि समाचार लेख्थे । ०४५ सालदेखि तलबी भएर समाचार लेख्न थाले ।

०४७ सालमा उनलाई पत्रकारिताको तालिमका लागि उत्तर कोरिया जाने अवसर आयो । तर, आफू नगएर अग्रज गोपाल थपलियालाई पठाइदिए । गोपाल बिरामी पनि थिए । उनका लागि किशोर आफैंले कागजपत्र बनाइदिएका थिए । गोपाल त्यतैबाट रुस गए र उपचार गराएर साढे ३ महिनापछि नेपाल फर्किए । अर्को वर्ष किशोर सोही तालिमका लागि उत्तर कोरिया गए ।

सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री राजीव गान्धी पनि आउने कुरा थियो । विमल निभाले ‘प्रकाश’ साप्ताहिकको ‘देब्रे कुना’ भन्ने स्तम्भमा सार्क सम्मेलनलाई ‘सार्की सम्मेलन’ भनेर लेखे । काठमाडौं फोहोर भएकाले व्यंग्य गर्दै उनले त्यसो लेखेका थिए । तत्कालीन राजा वीरेन्द्रले ‘ड्रिम प्रोजेक्ट’ मानेको शिखर सम्मेलनलाई अवहेलना गरेको भन्दै प्रशासनले पत्रिका बन्द गरिदियो । किशोरले पहिलोपटक त्यसमा ‘फुलटाइम’ काम गरिरहेका थिए ।

नयाँ पत्रिका निकाल्नु पर्ने भयो । तर, पत्रिका आफ्नो नाममा दर्ता गर्न कोही पनि तयार भएनन् । योग्यता पनि चाहिन्थ्यो । त्योभन्दा पनि ठूलो त जेल जान तयार हुने ठूलो छाती चाहिन्थ्यो । पुलिस रिपोर्ट पनि चाहिन्थ्यो । भीम रावल, देवी ओझा, रघुजी पन्त पनि तयार भएनन् । उनीहरूले बल्लबल्ल नारायण ढकाललाई खोजे सम्पादक । त्यसपछि ‘दृष्टि’ साप्ताहिक (२०४७) प्रकाशन सुरु भयो । किशोर त्यसको कार्यकारी सम्पादक भए ।

हिरण्यलाल रेग्मी सहायक अञ्चलाधीश थिए । सेन्सर गराउन किशोर आफैं जान्थे । रेग्मी निकै कडा थिए । लाइन लाइन हेरेर सेन्सर गर्थे ।

प्रकाशन सुरु भयो । त्यसलाई बाहिर मालेको पत्रिका भन्न थालियो ।

कृष्णप्रसाद भट्टराईलाई हराउन बल पुग्ने, गणेशमान सिंहलाई आच्छुआच्छु पार्ने समाचार ‘दृष्टि’मा छापिन्थे । दरबारका समाचार ब्रेक गरिन्थ्यो । सेनापतीलाई हायलकायल बनाउने समाचार प्रकाशित हुन्थे ।

० ० ०

०५१ सालमा मध्यावधि निर्वाचन भयो । एमालेले अल्पमतको सरकार बनायो । एमालेको सरकार बनेपछि आन्तरिक लुछाचुँडी भएको किशोरलाई अझै याद छ । रेडियो नेपालको ‘घटना र विचार’मा को जाने ? गोरखापत्रको जीएम को हुने ? आकर्षक नियुक्ति क–कसले लिने भन्नेमा हानाथाप सुरु भयो ।

दासढुंगा घटानामा परेर मदन भण्डारी मारिएका थिए । माधव नेपाल पार्टीको महासचिव बनेका थिए । मदन भण्डारीले किशोरलाई खुब माया गर्थे । जहाँ जाँदा पनि उनलाई पत्रकारको हैसियतले लैजान्थे । किशोर मदनसँगै दिल्ली पनि गए । चीन जाने सूचीमा समेत थिए तर उनको नाम काटेर पार्टीकै वरिष्ठ नेताको नाम राखियो । ल्हासा कटेर चेन्दुक पुगेपछि किशोरको कोटामा गएका नेताले उनैलाई फोन गरेर समाचार टिपाए । किशोर पनि के कम ! उनले समाचारमा ‘फलानो नेताले ‘दृष्टि’लाई समाचार टिपाउँदै भने’ भनेर स्वाद फेरे ।

बहुदलीय व्यवस्था आएपछि जो पनि ‘दृष्टि’को सम्पादक बन्न लालायित देखिन थाले । पार्टीको विधानमा उल्लेख नभए पनि उपमहासचिव बनाइएका थिए वामदेव गौतम । ‘दृष्टि’को टोली नै गौतमलाई भेट्न गयो । उनीहरूले गौतमलाई भने, “जथाभावी सम्पादक आउँदा हाम्रो वृत्तिविकास रोकिन्छ, त्यसैले ‘दृष्टि’भित्रकै व्यक्ति सम्पादक हुनुपर्छ । व्यक्तिका नाममा रहेको ‘दृष्टि’ प्रालिमा रुपान्तरण हुनुपर्छ । निस्किएर जाँदा कामदारले सेवा–सुविधा पाउनुपर्छ । आलोचनाको स्वतन्त्रता कति ? ‘विमर्श’ हुने कि ‘गोरखापत्र’ हुने ?”

वामदेवले भने, “गोरखापत्र जस्तै हुने ।”

प्रकाशक शम्भु श्रेष्ठबाहेक किशोरसहित सबैले ‘दृष्टि’बाट राजीनामा दिए ।

० ० ०

पत्रिका छोडे पनि पत्रिकाको नशा उत्रिएको थिएन । पत्रकारिताप्रतिको आकर्षण घटेको थिएन । काठमाडौंका एमाले वडाध्यक्षहरू, राष्ट्र बैंकका केही कर्मचारी तथा साथीहरूसहित २५ जनासँग १०–१० हजार रुपैयाँ उठाएर २ लाख २५ हजार जम्मा गरे र ‘जनआस्था’ साप्ताहिक दर्ता गरे ।

०५१ सालको नारी दिवस (मार्च ८) । किशोरलाई कण्ठै छ मिति । त्यही दिन पहिलो अंक छापे ।

“पहिलो अंक हमीले २९ हजार कपी छाप्यौं । त्यति धेरै छापेर हामीले जुवा खेलेका थियौं । तर सबै कपी बिक्री भयो । १ रुपैयाँ जतिमा एउटा कपी तयार हुन्थ्यो, मूल्य ५ रुपैयाँ थियो,” किशोर भन्छन्, “हामीले कसैलाई छोडेनौं । वामदेव गौतम रुनुभयो । ‘नेपाली जनता ऋणमा, वामदेवका छोरा चीनमा’ भनेर हामीले त्यही बेला लेखेका हौं । शहीदका छोराको कोटामा उहाँले आफ्नो छोरा पठाउनुभएको थियो । एम्बेस्डर होटलमा सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम थियो, उहाँ त्यहीँ रुनुभयो ।”

अहिलेका अख्तियार प्रमुख दीप बस्नेत सूचना विभागका महानिर्देशक थिए । केशव स्थापितको घरमा पत्रिकाको कार्यालय थियो । स्थापितको घरसँगै सूचना विभागको कार्यालय थियो । सूचना विभागले ३ महिनामा ‘जनआस्था’लाई ‘क’ श्रेणीको पत्रिकामा वर्गीकरण गरिदियो ।

बुधबार छापिँदै गरेको ‘दृष्टि’ मंगलबार छापिन थाल्यो । ‘दृष्टि’ फुट्यो । ‘बुधबार’ सुरु भयो ।  किशोर भन्छन्, “जनआस्था ४९ हजारसम्म छापेका छौं हामीले । चल्लाले माउलाई निलेको पहिलो घटना होला नेपालको सन्दर्भमा ।”

० ० ०

राजसंस्था हुँदा दरबारका समाचार ब्रेक गरिरहने पत्रकार हुन् किशोर । दरबारका समाचारको स्रोतका लागि अझै पनि किशोरको नाम अग्रपंक्तिमा आउँछ ।

समाचारका स्रोत दरबारकै कमैचारी हुन्थे । दरबारकै निकटस्थ सम्बन्ध भएका र कतिपय दरबारियाहरू नै हुन्थे । दरबारभित्रका कर्मचारीहरू उकुसमुकुस भएर बसेका हुन्थे । को विश्वासिलो छ भनेर खोज्थे आफैं । त्यो विश्वास किशोरले दिलाएका थिए । 

०६३ सालसम्म पनि नेपाली सेनाको समाचार बाहिर आउँदैनथ्यो, झन् दरबारको कुरा चुहाउनु कहाँ सजिलो होला र ! सूचनासँगै आत्मबल र हिम्मतको कुरा थियो ।

“राजा वीरेन्द्रलाई बिहान ९ बजेभित्र ‘जनआस्था’ पत्रिका पढ्न नपाए छट्पटी हुन्थ्यो । उनीसमक्ष कसले पहिला ‘जनआस्था’ पुर्‍याउने भनेर कर्मचारीहरूबीच होडबाजी चल्थ्यो,” किशोर सम्झन्छन्, “त्यतिबेला सुधीर शर्मा, गुणराज लुइँटेल, विनोद ढुंगेल, अरुण बराल, राजाराम गौतम, टीकाराम राईलगायतका साथीहरूले ‘जनआस्था’मा नै काम गर्नुभएको हो ।” 

० ० ०

स्रोत गोप्य राख्दै थरीथरीका समाचार सम्प्रेषण गर्ने पत्रकार हुन् किशोर । मौलिक शैली भएन भने हराइन्छ र समर्थनमा लेखिने समाचार चाकडी हुन्छ भन्नेमा उनी पहिलेदेखि नै सचेत थिए । यही स्वभावले किशोरलाई पत्रकारिता सधैं फलामको च्युरा भयो । धम्कीको वर्षा लाग्थ्यो तर पनि उनले आफ्नो कलमको निव बन्द गरेनन्, झन् तिखो बनाए र लेख्दै गए ।

सेनापति प्रज्ज्वल शमशेर थिए । उनी सधैं किशोरसँग ठोक्किइरहे । एकपटक ‘दरबारको सुरक्षा हाम्रो जिम्मेवारी होइन’ भनेर विवादास्पद अभिव्यक्ति दिए ।

सेप्टेम्बर २७ तारिख । होटल ¥याडिसनमा चाइनिज नेसनल डेको रिसेप्सन पार्टी थियो । सैनिक पोशाकमा रहेका प्रज्ज्वलले किशोरलाई भने, “आई विल शुट यु ।”

दुर्गानाथ शर्मा, हरिहर विरहीलगायतका पत्रकार सँगै थिए । किशोरले पनि खुट्टा कमाएनन्, भने, “तपाईं मरेका दिन खसी काटेर खान्छु ।”

एकातिर प्रज्ज्वललाई पाखुरामा तान्दै थिए, अर्कोतिर किशोरलाई । दुवै पाखुरा सुर्किरहेका थिए । वरपरका सबै उनीहरूलाई घेरेर झुम्मिए । 

किन गरे आक्रमण ? 

“उनी दरबारका भक्त थिए । दरबारबारे कुरा केही पनि बाहिर नआओस् भन्ने चाहन्थे । एकदिन दुई जना सम्पादकले मलाई कमलादीको एक होटलमा जरुरी मिटिङ छ भनेर बोलाए । जाँदा त उनीहरूले प्रज्ज्वल शमशेरले पठाएको भन्दै ५० हजार रुपैयाँ लिन आग्रह गरे । मैले भनें, ‘किन लिनु ? म पैसा लिएर समाचार लेख्ने र नलेख्ने पत्रकार हैन । तिमीहरू लिन्छौ भने मेरो केही भन्नु केही छैन । तर म लिन्नँ ।’

प्रज्ज्वल मेरो मुखमा बुजो लगाउन चाहन्थे तर मैले कहिल्यै पनि मानिनँ । मैले उनको पैसा लिएर समाचार लेख्न छोडें भने मलाई विश्वास गरेर पढ्ने पाठकलाई ठगेको हुन्छ । ५० हजार सेनाको पसिना मारेर उनले मलाई पैसा पठाएका थिए । ती सेना झन् अन्यायमा पर्नेछन्, त्यसैले पनि मैले झन् लेख्नुपर्छ भन्ने लाग्यो । पैसा नलिएपछि उनले मलाई अपराधीजस्तै व्यवहार गरे । उनका छोरा प्रभास दुइटा पेस्तोल बोकेर हिँड्थे । उनी पनि मलाई मार्छु भन्दै हिँड्थे ।”

राजपरिवारका कतिपय नातदार भने किशोरले राम्रै काम गर्दैछ भन्थे । जनताले दरबारका कमजोरी थाहा पाउँदा अन्ततः दरबारलाई नै फाइदा पुग्छ भन्थे । पछि किशोरले थाहा पाए– मोहनबहादुर शाहीसँग राजा वीरेन्द्रले भनेछन्, “त्यो पत्रकारको कलमलाई निस्तेज पार्ने प्रयास नगर्नू, हाम्रा कमीकमजोरी थाहा पाउँदा हामीलाई नै सच्चिन अवसर मिल्छ ।”

सेनाले किशोरलाई मात्रै दुःख दिएन । उनको घरमा फोन गरेर परिवारलाई समेत मानसिक तनाव दिन्थ्यो । ‘तेरो छोरो आज थापाथली पुल नकट्दै मर्छ, दाउरा ठीक पारेर राखिराख्नू’ भन्थ्यो सेनाले । बेलुका घरमा पुग्दा कोलाहाल मच्चिएको देख्थे । किशोर भन्छन्, “रवीन्द्रप्रताप शाह त्यो बेला हनुमानढोकामा एसपी थिए । उनले कैयौंपटक असईको कमान्डमा मेरो अफिसमा सुरक्षार्थ पुलिस राखिदिएका थिए । त्यति हुँदा पनि मैले कहिल्यै खुट्टो कमाइनँ । सधैं सत्य–तथ्य समाचार प्रकाशन गरिरहेँ ।” 

लोकमानसिंह कार्कीको जगजगी थियो । राजतन्त्रका पक्षधरबाहेक हरेक अखबार तैं चुप मै चुप थिए । तर, किशोरले आफ्नो कलमलाई भुत्ते बनाएनन् ।

“राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि कति पत्रिकाले फ्रन्ट पेजमा गल्फको फोटो हालेर ३–४ महिना बिताए । तर, ‘जनआस्था’ कहिल्यै पनि चुप लागेन,” किशोर निर्भिक सुनिए, “मलाई मर्नदेखि डर लागेन । मैले लेखेको समाचारले कसैले यस्तो पनि पत्रकारिता हुँदो रहेछ भन्ने सोच्यो भने मेरो मरण सार्थक हुनेछ । मैले बेलैमा राजनीति छोडिदिएँ । पत्रकारितामा केन्द्रित भएँ । मैले पत्रकारितालाई भर्‍याङ बनाएर काम गरिनँ । पत्रकारितालाई साइड बिजनेस बनाएर जग्गा दलाली गरिनँ । पत्रकारितालाई स्वच्छ पेशाका रूपमा लिएँ । सत्य समाचार सम्प्रेषण गर्न कहिल्यै डराइनँ ।”

उनले यसका उदाहरण पनि दिए ।

“कृष्ण सेन इच्छुकलाई महेन्द्र पुलिस क्लबमा कुटेर मारियो भनेर समाचार ब्रेक हामीले गरेको हो । प्रदीप शमशेर प्रहरी प्रमुख थिए । उनका छोरा दीप शमशेरको घरबार कसरी बिग्रियो भनेर हामीले लेख्यौं । कृष्ण सेनको समाचार ब्रेक गरेपछि यो तीन महिनासम्म तन्कियो । दरबारमा पहिलोचोटि पारसले मान्छे किचेर मारेको भनेर हामीले समाचार लेखेका हौं । काग करायो भनेर दीपेन्द्रले सुत्न जानुअघि जथाभाथी गोली हानेर काग मार्थे अनि मात्रै सुत्थे । ‘रणबहादुर शाहका सन्तान कसरी राम्रा हुन्छन् ?’ भनेर ‘जनआस्था’ले समाचार लेख्यो, त्यही समाचार लेखेबापत हेलमेटमै समातेर बयान लिइयो, जबकि दौरासुरुवाल नलगाई दरबार प्रवेश गर्न पाइँदैनथ्यो । राजकाज मुद्दा लगाउने तयारी भयो । सुधीर शर्मालाई लिएर म सीडीओ कार्यालय पुगे । मलाई थुन्ने तयारीसम्म थियो । तर, पछि कसो–कसो गरी यो विषय साम्य भयो ।” 

० ० ०

मैले नायिका श्रृषा कार्कीको प्रसंग उप्काएँ ।

भने, “इतिहासको कुरा गरौं । श्रृषा कार्कीबारे चासो राख्नेहरू पनि प्रष्ट हुन्छन् र सत्यको खोजी गर्ने पत्रकारहरूलाई पनि केही आत्मबल बढ्छ जस्तो लाग्छ ।”

“असोजतिर छापिएको श्रृषा कार्कीको समाचारमा ४५ जनाको नाम थियो । उनलाई भोग्ने को–को थिए, सबैको नाम छ त्यसमा । मण्डले कलाकार विरोधमा उत्रिए,” किशोर सम्झन्छन्, “समाचार आएपछि शनिबारको दिन उनी आफ्ना बुवा दलबहादुर, भाइ राजेन्द्रसहित मेरो कार्यालयमा आएर मेरो परिवारलाई सम्झाइदिनु प¥यो भनिन् । फोटो प्रहरीको सईले ८ हजार तिरेर खिचेको थियो । पछि ऊ पलायन भएर लन्डन गयो । मैले श्रृषाका बुवालाई भनें, ‘हाम्रो गल्ती भयो । दसैंपछि म खण्डन छाप्छु ।’ त्यसपछि उनले मलाई लाजिम्पाटबाट आफैं कल पनि गरेकी थिइन् । त्यतिबेला पनि मैले उनलाई सम्झाएँ । यति हुँदा ६ दिन बितिसकको थियो । सातौं दिन उनले दिदीलाई फोन गरेर घर जान लागेको बताइन् । फोन गरेको १५ मिनेटमा उनले सलको पासो लगाएर आत्महत्या गरिछन् । उनका आफन्तले इमान्दारीसाथ भनून् । प्रविधि छ, कल डिटेल होला । उनलाई त्यही १५ मिनेटको बीचमा लन्डनबाट फोन आएको छ । उनलाई त्यही समयमा कसैले फोन गरेर ब्ल्याकमेल गरेको मेरो बुझाइ हो । त्यही कारण उनले आत्महत्या गरेकी हुन् । ‘जनआस्था’मा आएको फोटोको भरमा उनले आत्महत्या गरेकी होइनन् भन्नेमा म अझै ढुक्क छु । श्रृषा कार्की बारेमा आएको त्यो पहिलो समाचार थिएन । त्यस्तै समाचार लेखको भन्दै तत्कालीन कलाकार संघकी अध्यक्ष बसुन्धरा भुसालले पत्रकार डब्बु क्षेत्रीलाई उनकै अफिसमा गएर कुटेकी छन् ।” 


मदन भण्डारी 

मदन भण्डारी जति सहयोगी थिए, सरल पनि त्यत्तिकै । चकटीमा बसेर चना चिउरा खान पनि तयार हुन्थे । खुलामञ्चमा भाषण सकेर किशोरसँगै हिँड्दै बागबजारमा मःमः खान्थे । 

‘दृष्टि’मा एउटा समाचार छापियो । शीर्षक थियो, ‘रानी दिल्ली गइन् ।’ किशोर राति अबेरसम्म पत्रिकाको काम सकेर कार्यालयमै सुतेका थिए । मदन भण्डारीले बिहान साढे ६ बजे नै फोन गरेर भने, ‘रानी दिल्ली गइन्’ भन्ने समाचार कसले लेखेको ?

“समाचार त अग्निशिखाले लेख्नुभएको हो तर शीर्षक मैले राखेको हुँ,” किशोरले भने ।

“मिलेन । यो संस्कार राम्रो भएन । रानी भनेको रानी हो । जे भए पनि उमेर, दर्जा सबैले माथि हुन् । विदेश गएका बेला पनि अपमान गर्ने ? भएन । अर्को पटक सच्याउनू,” मदनले भने ।

०४९ भदौमा बाढी आयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । भारतीय सेनाले उद्धारका लागि भन्दै बिनाअनुमति दुइटा हेलिकप्टर पठाएको थियो । गिरिजाप्रसादले ती हेलिकप्टर उड्नै नदिई एयरपोर्टमै थन्काइदिए ।

प्राध्यापक तीर्थ शाक्य र त्रिरत्न मानन्धरलगायतले सम्पादन गरेको ‘नेपाली सेनाको इतिहास’ नामक पुस्तकको प्रस्तावनामा एउटा वाक्य छ, “नेपाली सेनाको स्थापना विस्तारवादको सघाउका लागि भएको थिएन ।” त्यही वाक्यलााई कोट गर्दै किशोरले समाचार लेखे । त्यसको मर्म थियो– सेनाले चाह्यो भने ठूला भनिएका राष्ट्रका सेनालाई रोकेर राख्न सक्ने थियो ।

मदन भण्डारीले बिहानै फोन गरेर सोधे, “यो समाचार कसले लेखेको ?”

किशोरले भने, “मैले ।”

“स्याबास ! हो यस्तै गर्ने हो । यसैगरी खोज्ने हो,” मदनले भने ।

 

अहिलेको पत्रकारिता

“फास्टफुडको जमाना छ । सबैलाई सबै कुरा छिटो चाहिएको छ । छिटो धनी हुनु छ, अहिलेको अहिल्यै शिखर चढ्नु छ । यस्तै हो अहिलेको पत्रकारिता– हतार छ सबैलाई, समाचार ब्रेक गर्नु छ । ब्रेकिङ न्युजका नाममा अराजकता छ । अपुष्ट समाचार आइरहेका छन् ।

नयाँ पुस्तामा मेहनत गर्ने संस्कार हराएको छ,” किशोर यसरी भन्छन् मानौं उनी यी कुरा सुनाउन धेरै पहिलेदेखि हतारिएका छन्, “हामीले जति मेहनत गथ्र्यौं, त्यो अहिले छैन । हामीले दुःख पायौं । हामी त गैंडाको काँधजस्तो भयौं । एउटा मेहनतले, अर्को धम्कीले । गोली पनि पचाउन सक्ने भयौं । आउने, जाने चौतारो जस्तो भयो अहिले त पत्रकारिता ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC