– अक्षर काका
विक्रम सम्वत् ०५८ सालताका राम ठाकुरले बाटामा एउटा ठूलो फिल्मको पोस्टर देखे– एक अभिनेताले सात तलाबाट हाम फाल्दै गरेको ! आङ् जिरिंग बनाउने तस्बिर थियो त्यो । बाटामा हिँड्ने मानिस पनि उभिएरै फोटो नियाल्थे र शरीर कमाउँदै बाटो लाग्थे ।
तिनताका त्यसप्रकारका खतरनाक ‘स्टन्ट’युक्त अभिनयहरू नेपाली चलचित्रमा विरलै प्रयोग हुन्थे । त्यो पोस्टरले उनको मन पनि तान्यो । उनले गहिरो गरी नियाले, झनै अचम्मित भए ।
कारण थियो– ‘स्टन्टबाज’ निखिल उप्रेती थिए, उनकै गाउँका ।
गाउँघरमा दिनेश उप्रेतीका नामले परिचित निखिल मुम्बईतिर छन् भनेर ठाकुरले सुनेका थिए । त्यसो त उनको परिचय अर्को पनि थियो– कराँते मास्टर ।
कराँते गुरु बनेर गाउँमा चम्किएर मुम्बईतिर लम्मिएका दिनेश एकाएक नेपाली रजतपटमा ‘निखिल’ नामबाट उदाउलान् भनेर उनले कसरी सोच्नू ? तिनछकमात्रै परेनन्, त्यसै दिनदेखि निद हराम भयो ।
निखिललाई कहिले भेट्ने होला ?–– मनमा हुटुहुटी पैदा भयो ।
तिनताका राम कैँची चलाउन पारङ्गत भइसकेका थिए । युवा उमेर न हो, फिल्मका पोस्टरमा नायकले मुठ्ठी उचालेको देखियो भने मन कल्पिइहाल्थ्यो– चलचित्रमा अभिनय गर्न पाए पनि हुने । कति वायुवेगमा कैँची चलाएर जिन्दगीको पाङ्ग्रा धकेल्नु ?
उनले देखेको पोस्टर थियो, चलचित्र ‘पिँजडा’को । ‘पिँजडा’मा खतरनाक ‘स्टन्ट’ देखाएर जोखिम उठाएपछि निखिल बेफुर्सदिलो बनेका थिए । बिहान उदायचलदेखि साँझ अस्तायचलसम्म सुटिङमा व्यस्त हुन्थे उनी । इच्छा भएपछि उपाय पहिल्याउन आइतबार के कुर्नुपथ्र्यो ! निखिल चलचित्र सुटिङमा धुलिखेलमा रहेको कुरा रामले पत्ता लगाए, अनेक यत्न गरेर । धुलिखेल नै पुगे उनी । घण्टौँ कुरेर निखिललाई भेटे । र भने, “म तपाईंकै गाउँको राम ठाकुर, कपाल काट्छु । अहिलेचाहिँ तपाईंलाई भेट्न आएको ।”
गाउँकै नाई आफूलाई भेट्न धाएर आएको देखेर निखिल पनि नतमस्तक भए । भेटमा फिल्ममा खेलाउने आश्वासनमात्रै दिएनन्, ठाकुरसँगै कपाल कटाउने वचनसमेत दिए ।
त्यो रामका लागि सामान्य घटना थिएन, जीवनकै ‘टर्निङ प्वाइन्ट’ थियो । र, नाईबाट सेलिब्रिटी नाई बन्ने ‘माइलस्टोन’ पनि ।
० ० ०
सर्लाही जमुनियाका ठाकुर हुन् उनी । ठाकुर भएकाले पुख्र्यौली पेसा कपाल काट्ने (हजाम) भइहाल्यो । कुराकानीका क्रममा उनले मिथ सुनाए– मिथिला क्षेत्रमा विवाहको कुरो छिन्न सबैभन्दा पहिला नाई नै पुग्छन् । त्यसपछि मात्रै केटा या केटी पक्षबीच भेटघाट भएर बिहे पक्कापक्की गरिन्छ ।
यसबाट प्रष्ट हुन्छ– नाई सौन्दर्यका क्षेत्रमा आदिकालदेखि नै सेवारत छन् । हजुरबाले कपाल काटेर गुजारा चलाएको उनले देखेका हुन् । तर, बाबुले भने सधैँभरि कैँची समाएनन् । कुटो, कोदालोमै रमाए । र, खेती किसानी गरेर गृहस्थी धाने ।
चार दाजुभाइमध्ये माइला हुन् उनी । दाजु बेलैमा काठमाडौँ छिरेर कैँची चलाउन थालेपछि परिवारले कसरत गर्यो– माइलालाई चाहिँ पढाउनुपर्छ । आजकालको जमानामा कैँची चलाएर ‘गरिबी’ किन निम्त्याउनु ?
“खेतीकिसानी गरे पनि परिवारमा खान, लगाउन दुःखै थियो । छोराले पढिदियो भने दुःख पाउँदैन भने पढाउन निकै जोड गर्नुभयो,” उनी अहिले सम्झन्छन् ।
स्कुल पठाउन परिवारले अनेक यत्न गर्यो तर ती सबै निस्काम भए । सावाँ अक्षर के चिन्न थालेका थिए, पढाइमा पूर्णविराम लगाएर उनी काठमाडौं हानिए ।
“भागेर आएको हुँ नि त्यतिबेला । दाइले काठमाडौंको सैलुनमा कपाल काट्न थालेको सुनेपछि गाउँमा बस्नै मन लागेन, मन यतै हुत्तियो,” सम्झिए उनले ।
हजुरबाले कपाल काटेको देखेकाले होला– उनलाई पनि कपाल काट्ने पेसाले तान्यो । र, वायु वेगमा कैँची चलाउन मन लाग्यो । “यही चाहनाले घर गरेपछि कपाल काट्ने पेसा रोजेको हुँ,” अनुहारमा अनौठो आभा छायो उनको ।
भक्तपुरको ठिमीमा दाइको सैलुन थियो । कपाल काट्न त्यहीँ सिकेका हुन् उनले ।
० ० ०
“अब तिमीले सधैँ मेरो कपाल काट्नुपर्छ,” धुलिखेल भेटमै निखिलले यसो भनेपछि त्यस दिनदेखि नै राम निखिलका ‘हेयरकटर’ भए । र, आफ्नो शिल्प देखाउन थाले । उनको कैँची चलाइदेखि निखिल कृतघ्न भए ।
नेपाली रजतपटमा दुई स्टार थिए तिनताका, राजेश हमाल र निखिल उप्रेती । यी दुई अभिनेता नभएका फिल्म देख्नै मुश्किल थियो । सुटिङमा निखिल र राजेश सँगै हुन्थे ।
“यी राम ठाकुर, असाध्यै राम्रो कपाल काट्छन्,” निखिलले राजेश हमालसँग चिनापर्चीसमेत गराइदिए ।
प्रायः मुस्कुराइरहने स्वभावका राजेशले पनि हाँसो फिँजार्दै भने, “ए हो ? अब मेरो पनि कपाल काटिदिनुस् !”
राजेशले त भने तर कसरी कपाल काट्ने ? चिसो भयो रामको मुुटु । चलचित्रको पर्दामा देखिरहने राजेश हमाल उनको ‘आइडल’ थिए । राजेश हमालसँग भेट होला र दोहोरो कुराकानी होला भनेर सपनामा पनि चिताएका थिएनन् उनले । राजेशले कपाल नै काट्न आग्रह गरेपछि राम छाँगाबाट खसेझैं भए ।
‘मेरो पनि कपाल काटिदिनुस्’ भनेपछि राजेश हमालको कपाल कहिले काटूँ भयो रामलाई । त्यसको हप्तादिनपछि राजेशको घरमा गए उनी ।
“राजेशदा’ले कपाल काट्न भनेपछि मेरो मनमा खुसी र डर दुवैले डेरा जमाएको थियो, कतिखेर पुगेर कपाल काटूँ पो भयो,” हर्षित मुद्रामा सुनाए उनले ।
कपाल काट्न भनेर कैंची अघि बढाए, थररर्र हात काम्यो । निधारमा चिटचिट पसिना पो आयो ! “पहिलोपल्ट राजेशदा’को कपाल काट्दा हात काम्यो । कपाल काट्न त आँटे तर बिग्रियो र उहाँलाई मन परेन भने के गर्ने होला ?” अत्तालिए उनी ।
तर, त्यसो भएन । कपाल काटिसकेपछि राजेशले मुस्कुराउँदै भने, “गुड ! राम्रो काट्नुभयो । अब मेरो कपाल तपाईंले नै काट्नुपर्छ ।”
त्यसपछि उनको आत्मविश्वास झ्यांगियो । ‘हेयर स्टाइलिस’ नै बने उनी । र, आजपर्यन्त राजेशका व्यक्तिगत ‘हेयर डिजाइनर’ हुन् उनी । पर्दामा मात्र होइन, पार्टी, अन्य शुभकर्म पर्दा पनि राजेशको कपाल उनैले मिलाउँछन् ।
“सबै कलाकारको कपाल काट्न थालिहाल्नुभयो, अब सेलिब्रिटीको कपाल काट्ने छुट्टै सैलुन खोल्नुस्,” राजेशले यसो भनेर प्रेरणा दिएपछि उनले कोटेश्वरमा सलुन खोलेका छन् । तर, उनी बालकुमारीमै भेटिन्छन् ।
राजेशकै हातबाट टीका थाप्छन्
प्रत्येक दशैँमा रामले राजेशको हातबाट टीका थाप्छन्, परिवारसहित । सुटिङ पर्दामात्रै होइन, अरू बेलामा पनि राजेशसँगै घुमफिरमा निस्किन्छन् उनी । भन्छन्, “राजेशदा’ले परिवारको सदस्यझैँ ठान्नुहुन्छ, सुख–दुःखमा सँगै छौँ हामी ।”
त्यसबाहेक बेलाबखत समाजसेवामा पनि सक्रिय छन् उनी । गत वर्षामा सर्लाही डुबानमा पर्दा राजेश र राम मिलेर २ सय घर–परिवारलाई राहत वितरण गरे । छठ सकिएपछि सर्लाहीकै दलित परिवारलाई केही सहयोग वितरण गरे ।
० ० ०
“राम एकदिन तिमीले सबै नेपाली हिरोहरूको कपाल काट्ने हुनेछौ,” निखिले ठाकुरलाई दिएको उत्प्रेरणा हो यो । नभन्दै राजेश, निखिलका अतिरिक्त नेपालका ९० प्रतिशत सेलिब्रिटीका कपाल काट्छन् उनी । नायकको मात्रै होइन, नायिकाहरूको हेयर डिजाइन पनि गरिदिन्छन् ।
भन्छन्, “सेटमा नायकको कपाल काट्दाकाट्दै नायिकाको पनि कपाल काट्न थालेको हुँ ।”
धेरैले भन्छन्– पुरुष सेलिब्रिटीको तुलनामा महिला सेलिब्रिटीसँग काम गर्न गाह्रो छ । तर, उनलाई त्यस्तो कहिल्यै लागेन । “नायक, नायिका दुवैले सीपको सम्मान गरेको पाएको छु,” प्रष्ट्ष्याए उनले ।
० ० ०
सुरूमा उनले पुरुषकै कपाल काटे । महिलाको कपाल त नायकहरूको कपाल काट्न थालेपछि मात्रै सुरू गरेका हुन् । महिलाको कपाल काट्न सुरू गर्दाको एउटा प्रसंग पनि उधिने उनले ।
पहिलोपटक बालिकाको कपाल काटेका थिए उनले, त्यस्तै १० वर्ष जतिकी ।
अभिभावकले भने, “राम्रोसँग काट है, बिग्रेला फेरि !”
हस् त भने । तर, कहिल्यै महिलाको कपाल काटेका थिएनन् । काट्दाकाट्दै कपाल बिग्रियो । अत्ताल्लिए ।
बालिकाको बुबाले ‘बरबाद भयो नि ! फेरिफेरि काट्दा यस्तो नहोस् है’ बाहेक केही भनेनन् रे !
“के गर्ने, कसो गर्ने भनेर अत्ताल्लिएको थिएँ तर बच्चाको बाबुले केही भन्नुभएन,” उनी अहिले सम्झन्छन् ।
पुरुषकै कपाल काट्दा पनि त्यस्तो भएको छ । कपाल काट्दाकाट्दै कैँचीले बाटो बिराएको मात्रै होइन, सट्किएर कानै काटेका घटना छन् । दाह्री काट्दा गाला चिरिएको पनि छ ।
“एकपटक घाउ लगाइदिएपछि फेरि ती मानिसले कहिल्यै मसँग दाह्री, कपाल काटेनन्, सैलुनमा चाहिँ आउँथे तर अरूसँगै काट्थे,” मच्चिएरै हाँसे उनी ।
० ० ०
कपाल काट्ने पेसा सौन्दर्यसँग जोडिन्छ । बढ्दो आधुनिकताले कपाल काट्ने शैली र शिल्पमा पनि नयाँ–नयाँ प्रविधि भित्रिएका छन् । दिनहुँ शैली फेरिन्छ । तथापि उनी अद्यावधिक छन् । यसका लागि उनले तालिमलाई सहारा बनाएका छैनन् ।
“कपाल काट्दाकाट्दै आफैं नयाँ डिजाइन ल्याउँछु । कतिपय इन्टरनेटको माध्यमबाट पनि सिक्छु । चलचित्र लाइनमा भएकाले अपडेट भइएन भने त पछि परिहालिन्छ नि !” खुलस्त पारे ।
चलचित्रको ‘मेकअप आर्टिस्ट’ समेत भएकाले हेयर डिजाइनमा पनि नयाँ शैली प्रयोग गर्न पारङ्गत छन् राम ।
सेलिब्रिटीको दर
कोटेश्वर र बालकुमारीमा उनको सैलुन छ । त्यहाँ उनले सेलिब्रिटीको मात्रै कपाल काट्दैनन्, सबैको काट्छन् । “कतिपय सेलिब्रिटीको कपाल काट्ने हजाम भनेर पस्न गाह्रो मान्छन्,” सेवाग्राहीको कपालमा कैँची चलाउँदै उनले सुनाए, “सेलिब्रिटी, सर्वसाधारण सबैको नाई हुँ म ।”
अन्य सेवाग्राहीसँग साधारण शुल्क लिन्छन् । सेलिब्रिटीले भने ५ सयदेखि १ हजार रुपैयाँसम्म दिन्छन् । “हिजोमात्रै निखिल उप्रेती आउनुभएको थियो, उहाँले ११ सय दिनुभयो,” उनले सुनाए ।
अभिनेतृ निता ढुंगाना, मोडल अनु शाह उनका गाहकी हुन् । र, सबैले ‘दिल खुश’ हुनेगरी पैसा दिन्छन् ।
० ० ०
उनले चलचित्रमा शृंगारक, हेयर डिजाइनर भएर मात्रै काम गरेका छैनन् । ‘राम बलराम’, ‘दशगजा’, ‘मायाको बारी’, ‘भीमदत्त’, ‘दबाब’ लगायत १० भन्दा बढी चलचित्रमा अभिनयसमेत गरेका छन् । “निखिल दाइकै कारणले ‘दशगजा’मा चित्तबुझ्दो अभिनय गर्न पाएँ,” पुलकित देखिए उनी । ‘दशगजा’मा उनले कट्टर नेपालीको भूमिका निभाएका छन् भने अधिकांश चलचित्रमा खलपात्र बनेका छन् ।
चलचित्रमा अभिनय गर्ने क्रममा धेरै सुख–दुःखका घटना घटे । ‘दशजगा’मा दुःखद् घटना आइलाग्यो । चलचित्र छायाङ्कनका लागि टोली नेपाल–भारत सीमा क्षेत्र सुस्ता पुगेको थियो, डुङ्गा चढेर । तर, भारतीय सीमा सुरक्षा बलले घेराबन्दी ग¥यो । बन्धक बनाउन लागेको सुइँको पाएपछि राजेश हमाल, निखिल उप्रेती, नवल खड्का, दयाराम दाहालसहितको टोली त्यहाँबाट भागेर सौराहा आएर बस्यो ।
सुस्ता छाड्ने बेलामा त्यहाँका नेपालीहरूले गरेको विलौना सम्झिँदा उनको मन अहिले पनि भक्कानिन्छ, “तपाईंहरूले त आज यस्तो बेहोर्नुभयो । हामीहरू नकुटिएको र हाम्रा छोरीचेलीले दुव्र्यहार नभोगेको दिन छैन । सामान किन्न भारत नै जानुपर्छ । नेपाल जाने बाटो छैन, दिनकै मरेर बाँचेका छौँ ।”
धरधरी रोए गाउँले ।
चलचित्रको अभिनयसँग समेत जोडिए पनि अधिकांशले उनलाई ‘हेयर डिजाइनर’कै रूपमा चिन्छन् । र, उनी यसैमा सन्तुष्ट छन् ।
हेयर डिजाइनिङमा राम्रो कमाइ छ । दिनहुँ ४ देखि ५ हजार रुपैयाँ कमाउँछन् उनी । मासिक लाख रुपैयाँमाथि नै आम्दानी हुन्छ । तथापि चुनौती पनि छ । “एउटा चलचित्रको सुटिङ सिध्याउन कम्तीमा तीन महिना लाग्छ । त्यो अवधिभरि नायक, नायिकाको हेयर डिजाइनिङको जिम्मा लिनुपर्छ । चरित्रअनुसारको कपाल तयार पार्नुपर्छ,” पेसाको चुनौती पनि औँल्याए उनले ।
० ० ०
विगतमा कपाल काट्ने नाई भनेपछि हेयभावले हेरिन्थ्यो । कपाल काट्ने हजाम भनेपछि सबैले नाकमुख खुम्च्याउँथे । कतिपयले पैसा नै नदिई हिँडेको तीतो अनुभवसमेत उनीसँग छ । तर, अहिले समय फेरिएको छ । कपाल काट्ने पेसामा ठाकुर समुदायमात्रै छैन, अन्य समुदायको पनि आकर्षण बढेको छ ।
त्यसो त कपाल काटेर पनि सेलिब्रिटी बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन् राम ।
“कपाल काट्न जान्ने हो भने नेपालमै बसेर मासिक ५० हजार कमाउन सकिन्छ । विशिष्ट शैलीले जीवनयापन गर्न सकिन्छ,” कुराकानीको पोयो गाँठो पारे उनले ।