– विजेता चौधरी/रुमु न्यौपाने
हालैमात्र हास्यकलाकार मदनकृष्ण श्रेष्ठको जीवनी ‘महको म’को विमोचन भव्य रूपमा भयो । कवि विप्लव प्रतीकको उपन्यास ‘अविजित’को विमोचन कार्यक्रममा त ककटेल डिनरै राखियो । कुनै कर्पोरेट इभेन्टभन्दा कम थिएन दरबारमार्गको क्लब डेजाभूमा ‘अविजित’को विमोचन कार्यक्रम । ‘महको म’ याक एन्ड यतीको भव्य हलमा लोकार्पण भयो, ‘हाई–टी’सहित ।
पुस्तकको ‘कन्टेन्ट’मात्रै नभएर यसको विमोचन र ‘पब्लिसिटी’मा पनि प्रकाशकले निकै खर्च गर्न थालेका दृष्टान्त हुन् यी । गाडी, मोबाइल, चाउचाउझैं पुस्तकको पनि विज्ञापन दैनिक पत्रिकाहरूमा देखिन थालेका छन् । आफ्ना मन पर्ने लेखकको कृति पर्खिरहेका पाठकका लागि यस्तो ‘पब्लिसिटी’ले सहज पनि बनाएको छ ।
केही वर्षअघिसम्म लेखक—प्रकाशक राजधानीमा पुस्तक विमोचन गरेर ढुक्कले बस्थे । पुस्तकहरू कुरियर गरेर मोफसलमा पठाइन्थ्यो । तर, अहिले लेखकलाई लिएर देश दौडाहामा निस्किन थालेका छन् प्रकाशकहरू । हालैमात्र फाइन प्रिन्टले हरिवंश आचार्यको पुस्तक ‘हरिबहादुर’को प्रवद्र्धन गर्न पुस्तक यात्रा नै आयोजना गर्यो । आचार्यले ११ सहरमा पुगेर लेखकसँग अन्तक्र्रिया गर्नुका साथै पुस्तकमा हस्ताक्षर गरे । अहिले यज्ञशको ‘भुइयाँ’ देश दौडाहामा छ । त्यसअघि बुद्धिसागरको ‘फिरफिरे’ र ब्रजेशको ‘जुनेली’ पनि देशदौडाहामा निस्किएका थिए । यसले पाठकलाई लेखकसँग साक्षात्कार गर्न सहज भएको छ । पुस्तकको व्यापार त हुने नै भयो ।
लेखकहरूका लागि आफ्नो कृति पाठकको हात–हातमा हेर्न पाउनु सम्भवतः सबैभन्दा सुखको क्षण हो । त्यसको व्यापक र सकारात्क चर्चा सुन्न पाउनु र देशैभरका पाठकहरूसँग साक्षात्कार गर्न पाउनु पनि अधिकांशको चाहना हुन्छ । तर, व्यक्तिगत रूपमा त्यो सम्भव छैन । चाहना र वास्तविकताबीचको यो खाडल अहिले प्रकाशनगृहहरूले पुरिदिएका छन् ।
‘महको म’का लेखक मदनकृष्ण भन्छन्, “लोकार्पण वा प्रचारप्रसार जसले जसरी सक्छ, त्यसरी गर्ने हो । भव्य रूपमा पुस्तक लोकार्पण गर्नु पनि पुस्तक बजारमा ल्याउनु नै हो । त्यसरी नगरे धेरै पाठकले थाहा नपाउन सक्छन् ।”
उनलाई पुस्तकको चर्चा हुनु जरुरी छ जस्तो लाग्छ । त्यसका लागि प्रकाशकहरू पनि व्यापारिक रूपमा अघि बढ्न जरुरी रहेको उनी औंल्याउँछन् । भन्छन्, “कला क्षेत्रमा आम्दानी हुने भएरै हामी यसमा लागिरहने हो । सबैभन्दा ठूलो नियम–कानुन र त्योभन्दा माथि धर्म हुन्छ । धर्मभन्दा माथि अध्यात्मिकता र त्यसभन्दा पनि माथि हुन्छ भोको पेट । त्यसैले व्यापारिक नभई अघि बढ्न सकिन्न । भव्य लोकार्पण र व्यापक प्रचार लेखन क्षेत्रका लागि गौरवकै विषय हो ।”
फाइन प्रिन्टका अजित बराल भने पुस्तक लोकार्पणको शैली नै परिवर्तन भएर भव्य हुन थाल्यो भन्ने कुरा मान्दैनन् । “प्रकाशन गृहहरूले फरक–फरक शैलीले गर्न खोजेको चाहिँ हो । अलिकति टे«डिसनलभन्दा फरक चाहिँ भएको हो । हामीले सामान्य किसिमले पनि लोकार्पण गरेका छौं । प्रज्ञा प्रतिष्ठानको डबलीमा समेत गर्छौं,” उनले भने ।
विमोचनको उद्देश्य पुस्तक प्रबद्र्धन र व्यापार भएको अजित बताउँछन् । “तीन–चार हजार किताबमध्ये चार–पाँचवटाको मात्रै भव्य लोकार्पण र व्यापक प्रचार हुन्छ । किताब बिक्ने स्थिति छ र लेखक पनि राम्रा छन्, साथै बजारमा सम्भावना छ भनेमात्रै भव्य किसिमले लोकार्पण गरिन्छ,” उनी भन्छन्, “लेखक र त्यसका पाठक तथा बजारको अवस्था हेरेर लोकार्पण कार्यक्रम तय हुन्छ ।”
यति हुँदाहुँदै पनि विमोचनले किताब बिक्रीमा खासै फरक नल्याउने उनको अनुभव छ । “किताब बिक्ने त्यसको गुणवत्ताले हो, किताबको राम्रो पक्षले हो,” उनी थप्छन्, “प्रचारको भरमा एकपटक बिक्ला तर त्यस्तो प्रवृत्तिले बिस्तारै बिक्रीमा ह्रास आउँछ ।”
किताब लेखेर वा बिक्री भएर लेखकले नेपालमा राम्रो जीवनयापन गर्न सक्ने अवस्था नआइसकेको अजित ठोकुवा गर्छन् । पुस्तक प्रकाशन र बिक्रीले प्रकाशकहरूको अवस्था भने ठिकै रहेको उनी बताउँछन् ।
खर्च नि ?
अजितका अनुसार यस्ता ‘इभेन्ट’को खर्च स्वयं प्रकाशकले बेहोर्नुपर्छ । विमोचन र पुस्तक यात्रामा प्रायोजक पाउनै गाह्रो छ ।
लेखकलाई पनि यस्तो प्रबद्र्धन र विमोचनले ‘माइलेज’ दिएको जस्तो लाग्छ । ‘सेतो धरती’, ‘पानीको घाम’ र ‘करोडौं कस्तूरी’का लेखक अमर न्यौपानेलाई भव्य विमोचन राम्रो लाग्छ । उनको विचारमा यसले पाठक र लेखकको सम्बन्ध मजबुत बनाउँछ । भन्छन्, “अन्य क्षेत्रका व्यक्तिहरूलाई पनि पुस्तकमा आकर्षित गर्नुपर्छ । व्यापार नगरी समाजसेवाले मात्र टिक्न सकिँदैन । प्रकाशकहरू व्यावसायिक हुनैपर्छ । त्यसो भएमात्र लेखकको आम्दानी बढ्छ ।”
‘अविजित’का लेखक विप्लव प्रतीकलाई विमोचन र बजारीकरणले अन्ततः साहित्यलाई नै फाइदा पुर्याउने बताउँछन् । भन्छन्, “मैले त्यस्तो भव्य विमोचन देखेको छैन । हामी सबै कुरामा धेरै अगाडि आइसक्यौं । अब पुस्तक विमोचनदेखि बजार प्रवद्र्धनजस्ता कुराहरूमा पनि अघि आउन जरुरी छ । भव्य लोकार्पण आजको आवश्यकता हो । मैले आफ्नो पुस्तक निकाल्दा प्रकाशकहरूले क्लबमा गरौं भने, मैले त्यसै गरें । तर त्यसो गर्दैमा मैले ठूलै गर्वचाहिँ महसुस गरेको छैन । तडकभडक गर्दैमा पुस्तक राम्रो हुन्छ भन्ने म मान्दिनँ । पुस्तक राम्रो भयो भने विमोचन भव्य रूपमा नभए पनि पुस्तक बिक्छ तर बृहत रूपमा गर्दा राम्रै हुन्छ ।”
तडकभडकका साथ हुने विमोचनकै कारण कमजोर लेखक ‘लाइमलाइट’मा आउने सम्भावना रहन्छ । तर, विप्लव त्यसलाई सामान्य मान्छन् । कमजोर आए पनि, बलियो आए पनि लेखक आउने कुराले नै उनलाई सन्तुष्टि मिल्छ ।
हालै बजारमा आएको ‘भूइयाँ’बाट फरक धारको लेखकमा दरिएका पत्रकार यज्ञशलाई किताबको विमोचन भव्य या सामान्यले खासै फरक पार्दैन । “किताब राम्रो छ वा छैन भन्ने कुरा सबैलाई थाहा भइहाल्छ, ‘दबंग शैली’मै विमोचन गरिए पनि, सामान्य रूपमा गरिए पनि मलाई त्यसले खासै अर्थ राख्दैन,” उनी भन्छन्, “ग्ल्यामर दिन खोजिएको हुन सक्छ तर शानदार तवरले विमोचन गर्दैमा लेखक माथि पुग्दैन । विमोचनले सुरुको जानकारी राम्रो देला तर किताब कस्तो छ भन्ने कुरा सबै पाठकले जज गर्छन् ।”
यसलाई उनले प्रकाशकको व्यापारसँग जोड्न रुचाउँछन् । “बेच्न भनेर बजारमा ल्याइसकेपछि राम्रोसँग बेच्नुपर्छ । प्रकाशकले लगानी गरेपछि बेच्ने नै हो नि त,” उनी भन्छन्, “तर, विज्ञापन हुँदैमा किताब राम्रो हुन्छ भन्ने छैन । बिक्री प्रवद्र्धन एउटा भाग हो, किताब अर्को भाग ।”
नेपालय प्रकाशनका अर्पण शर्मा धेरै खर्च गरी भव्य लोकार्पण गरेर वा विज्ञापन गरेर धेरै पुस्तक नबिक्ने बताउँछन् । “किताब राम्रो भएर मात्रै बिक्री हुने हो । विज्ञापन नगरी पाठकलाई किताबबारे कसरी जानकारी दिने भन्ने कुराचाहिँ चुनौती छ,” उनी भन्छन्, “हाम्रो काम त राम्रो गाता, आकर्षक डिजाइन र कागजको क्वालिटी दिनेमात्रै हो ।”
नेपालयले आफ्नै हलमा सामान्य विमोचन कार्यक्रम गर्ने गरेको उनले सुनाए, “फिल्मजस्तै बग्रेल्ती किताब आउन थाले तर उत्कृष्ट कृति एकदमै कम छन् । यसले स्वाभाविक रूपमा पाठक ठगिने अवस्था आयो । हल्लाले नराम्रो किताब एकपटक त बिक्ला तर यसले प्रकाशन हाउसहरूको विश्वास हराउँदै जान्छ । त्यसैले हामी सचेत हुनैपर्छ ।”
प्रकाशकसँगै पाठक पनि सचेत हुनुपर्नेमा उनी जोड दिन्छन् । “पाठक धेरै हदसम्म सचेत भइसकेका पनि छन् । राम्रा लेखकका लागि प्रचार अन्तिम अस्त्र हुँदै होइन । यसले बरु आकर्षण थपिदिने मात्रै हो,” उनी भन्छन् ।
किताब नयाँ चिज हो र त्यसलाई पाठकको घेरासम्म पुर्याउन हल्ला कति गर्नुपर्छ त्यसैअनुसार गरिने उनी बताउँछन् । भन्छन्, “तर हाम्रोमा किताबहरू धेरै आउन थाले । व्यापारका लागि बजार अभाव छ । काठमाडौंमा किताबको बजार सानो छ । जिल्लातिर त स्टेसनरी पसलमात्रै छन्, पुस्तक पसल नै छैनन् । यही कारणले पनि उतातिर पाठक बढाउन गाह्रो भएको छ ।”
लेखकका लागि राम्रो ‘प्लेटफर्म’ निर्माण हुनुपर्नेमा प्रकाशकहरू एकमत छन् । लेखकको आर्थिक सबलता बढाउनु उनीहरूको सम्मान पनि हो । आर्थिक रूपमा सक्षम भएपछि नै लेखकले आफूलाई ‘कन्टेन्ट’मा केन्द्रित गर्न सक्छ । विदेश र हाम्रै छिमेकी राष्ट्र भारतमा पनि लेखकको ठूलो रवाफ हुने गर्छ । रवाफ जीवनयापनको लागिमात्रै नभएर लेख्न र लेख्ने परिवेश निर्माणको सन्दर्भमा समेत आवश्यक छ । तर, शर्त फेरि पनि राम्रो लेखक र उत्कृष्ट कृति नै हो ।