ad

विचार

चिसो चुनाव

चुनाव प्रचार लगभग सकियो । हुनत, मौन अवधिको चुनाव प्रचार झन् प्रभावकारी हुने विश्वास गर्नेहरू पनि धेरै नै छन् । यही विश्वासमा मौन अवधि सुरु भएपछि चलखेल गर्नेहरू टाठा हुनेछन् । तिनको प्रयास भने व्यर्थ हुनेछ । अब बाँडिने पैसा र गरिने परिश्रम पनि खेर जानेछ । कारण, अहिलेका मतदाता सचेत भइसकेका छन् । तिनले मतपत्रमा छाप लगाउन बरु मेसो नपाउलान् तर आफूले भोट दिने उमेदवार छानिसकेका छन् । भोज खाएर भोट दिने जमाना गइसकेको थाहा नपाउनेहरू मौन अवधिमा पैसा खर्च गर्नपट्टि लाग्लान् । तर, मतदाताले भोट दिने उमेदवार र चिह्नको निधो गरिसकेकाले अब फरक पर्दैन ।

चुनाव प्रचार हेर्दा र नेताहरूको भाषण पढ्दा (सुन्न त चुनावी सभामा जानुपर्‍यो नि ! ) तिनले केही नसिकेका र जनमानसको भेउ नै नपाएजस्तो पो देखियो । संसदीय निर्वाचनमात्र हैन संविधान सभाको निर्वाचनमा समेत नेपाली जनताले चर्को तडकभडक नरुचाएको देखिन्छ । तर, नेताले चाहिँ जनताले नरुचाएकै शैली अपनाए । धेरै परको कुरा नगरौँ । संविधान सभाको दोस्रो निर्वाचन (२०७०) मा एनेकपा (माओवादी)ले चुनावी चमकदमक र गालीगलौजमा सबै पार्टीलाई उछिनेको थियो । तर जनताले कांग्रेस र एमालेभन्दा माओवादीलाई धेरै नै कम मत दिए । कांग्रेस र एमालेको नेतृत्व अपेक्षाकृत भलाद्मी सुशील कोइराला र झलनाथ खनालले गरेका थिए । तर, त्यसबाट पाठ केही सिकेको देखिएन । तडकभडकमा पो होडबाजी भयो । जनतासँग विकल्प नभएकाले तडकभडक गर्नेहरूले पनि मत पाउन सक्छन् । तर, त्यो अहिलेको शैलीको अनुमोदन हैन । 

यसपटक चुनाव झन् महँगो भएको गुनासो उमेदवार र कार्यकर्ताले गरेका छन् । ती गुनासो गर्नेहरूले नै चुनाव खर्चिलो बनाएका हुन् । नेता र कार्यकर्ताबीच पनि चुनावमा मात्र सम्पर्क हुने भएकाले पनि चुनावमा खेताला खोज्नु परेको हो । जमिनमा जरा भएका उमेदवारलाई भन्दा यसपटक आकाशेबेलीहरूलाई बढी संकट परेको हुनुपर्छ । ठूला कुरा गर्ने ठालु नेताहरूले जनताको कुरा सुन्न छाडिसकेका छन् भने जनताले पनि तिनका कुरा बुझ्न छाडेका छन् । नेताका लागि जनता र जनताका लागि नेता बिराना भएका छन् । झन् ठूला ठानिएका नेताको त जमिनका जनतासँग मात्र हैन आफ्नै पार्टीका कार्यकर्तासँग समेत संवाद र सम्पर्क टुटेको छ । जनताको सुखदुःखमा निस्पृह रहेका नेताको माया मतदाताले गरेनन् भने आश्चर्य मान्नु पर्दैन । तिनलाई जनताले माया नगर्ने सम्भावना धेरै नै बढेको छ । यसैले यसपटक चुनावमा जनताले ठूला नेतामध्ये धेरैलाई थान्को लगाउने निर्णय पनि गर्न सक्छन् ।

उराठलाग्दो प्रचार र रिसउठ्दो नारा

मतदातालाई आकर्षण गर्न अलि आक्रामक र चर्का नारा दिनु अस्वाभाविक हैन । त्यसमाथि कम्युनिस्टहरूको राजनीतिक प्रभाव बढी नै भएको नेपालमा चर्का नारा नसुने त चुनावजस्तै नलाग्ने भइसकेको थियो । तर, यसपटक माओवादीको २०७० को नाराभन्दा पनि बढी छुचो र आक्रामक नारा सुनियो । यसपटकको कम्युनिस्ट गठबन्धनका नेताहरूको नारामा पञ्चायतको गन्ध सुनिन्छ । यद्यपि, पञ्चहरूको दुईवटा पार्टीलाई नेपाली कांग्रेसले बोकेको छ । 

पञ्चायतकालमा एकपट भन्न थालिएको थियो — ’सबै नेपाली पञ्च सबै पञ्च नेपाली ।’ अर्थात्, विपक्षीको अस्तित्व छैन । अहिले कम्युनिस्ट गठबन्धनका मुखिया कहिले बीपी गणेशमानहरू पनि एमालेमा प्रवेश गराउँछन् त कहिले कांग्रेस ५० वर्ष सत्तामा नआउने वा शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री हुने हुँकार गर्दैछन् । यस्तो अतिवादी कथनबाट विपक्षको मनोबल कमजोर हुनेभन्दा वक्ताको चरमपन्थी मानसिकताको उजागर हुन्छ । अमेरिकी चिन्तक नोम चोम्स्कीअनुसार बोलीमा व्यक्तिको मानसिकता प्रतिविम्बित हुन्छ । 

कम्युनिस्टहरू पञ्चायतका मानस सन्तानका रूपमा प्रकट भए पनि कांग्रेसहरू ’तर्बुजा कांग्रेस’ देखिन पुगे । (तर्बुजा कांग्रेस शब्द भारतको बंगालकी नेता ममता बनर्जीले त्यहाँका कांग्रेस नेताको चरित्र बुझाउन प्रयोग गरेकी हुन् । तर्बुजा बाहिर हरियो र भित्र रातो भएजस्तै बंगालका कांग्रेस पनि लामो कम्युनिस्ट शासनमा शिथिल भएर चरित्रका दृष्टिले कम्युनिस्टजस्तै हुन पुगेका थिए । कम्युनिस्टहरू अधिनायकवादी हुनु अस्वाभाविक हैन । तर, बंगालका जस्तै नेपालका कांग्रेसहरूले पनि तिनकै शैली अनुकरण गरेर मौकिल प्रवृत्ति गुमाएका छन् । नामबाहेक सायद नेपाली कांग्रेसको मौलिक चरित्र अहिलेका नेतामा केही देखिएन । कम्युनिस्टहरूले जे जे गर्छन् त्यसैको ढंग नपुर्‍याएर नक्कल गर्नुबाहेक कांग्रेसका नेताले कल्पनाशीलता देखाउन सकेनन् । हुँदाहुँदा लालबुझक्कडहरूकै शैली तर्बुजा बुझक्कडहरू पनि चुनावको मैदान उतारिए । कांग्रेसको अहिले जति अधोपतन सायद पहिले कहिल्यै भएको थिएन । कम्युनिस्टहरूसँग छुद्रतामा त कम्तीमा प्रतिस्पर्धा नगरेको भए हुन्थ्यो नि !

सिद्धान्तहीन गठबन्धन

चुनाव प्रचार अभियान सकिने बेलासम्म पनि पार्टी प्रवेशका समाचार आइरहेका छन् । सञ्चार माध्यमले यस्ता नौटंकीलाई किन ठाउँ दिन्छन् बुझ्न सकेको छैन । मेची अञ्चलबाहेक देशका अरू भागमा राप्रपा र कांग्रेसको गठबन्धन छ रे ! यस्तै अर्को राप्रपाले कुनै एउटा जिल्लाबाहेक अरू ठाउँमा कांग्रेसलाई समर्थन गर्ने रे ! कुनै जिल्ललामा पञ्चहरूको पार्टी सिंगै कमिटी अर्को पार्टीमा प्रवेश गरेको समाचार आएको छ । कांग्रेसले पञ्चहरूसँग गरेको चुनावी गठबन्धन कति काम लाग्छ हेर्नै बाँकी छ तर कांग्रेसलाई भोट हाल्न पर्छ भनेर पुराना पञ्चहरू एमाले वा माओवादीमा प्रवेश गरेका उदाहरण थुप्रै छन् । यो कांग्रेसको रणनीतिक गल्तीको परिणाम हो । एमालेले राप्रपासँग गठबन्धन गरेको भए यति धेरै विद्रोह हुने थिएन । पञ्चहरूसँग कम्युनिस्टको साँठगाँठ मालेको जन्मभन्दा पनि पुरानो हो । जनमत संग्रहमा त माले, मसाले र मण्डले मिलेका र कसैले बहिष्कारको नारा लगाएर र कसैले नलगाईकन निर्दलको पक्षमा मत दिएको देखिएकै हो । हुनत, चुनावका बेलमा पार्टी प्रवेश गराउनु दुर्योधनले शल्यलाई अन्तिम सेनापति बनाएजस्तै आशाखेती होला तर यसले मतमा खासै फरक पार्लाजस्तो त लाग्दैन । 

हावादारी योजना र घोषणा

देशको मूल समस्या भ्रष्टाचार र दण्डहीनता हो । तर, कुनै नेताले पनि यी दुई मूल समस्या समाधानमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरेनन् । विकासका जति नै ठूला कुरा गरे पनि जादू कसैले गर्न सक्ने हैन र अहिले यिनले भनेजस्तै विकासे जादू भइहाल्यो भने पनि जनताको जीवनस्तरमा फरक पर्ने हैन । न समाजमा सुरु भएको नयाँ वर्ग विभाजन रोकिने हो । आर्थिक, सामाजिक तथा राजनीतिक असमानता बढ्न थालेपछि भेदभाव पनि हुन्छ । विनोद चौधरी मार्काको विकासले आर्थिक असमानता बढाउँछ कम गर्दैन । असमानतासँगै स्वाभाविकरूपमा भेदभाव बढ्छ । समाजमा असमानता र भेदभाव बढ्ने तर देशमा राजनीतिकरूपमा स्थिरता हुने अवस्था त सर्वसत्तावादी शासनमा मात्र सम्भव छ । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा कम्तीमा आधादर्जन उमेदवारले प्रस्तुत गरेका छन् । तिनका महत्त्वाकांक्षा मौका पाउनेबित्तिकै पक्कै पनि जाग्ने नै छन् । यसैले बहुमत जतिसुकै होस् एउटै प्रधानमन्त्रीलाई ५ वर्ष सरकार चलाउन दिन लोकतान्त्रिक संस्कार चाहिन्छ ।  ठूला भनिएका नेतामा सबैभन्दा कमी यही लोकतान्त्रिक संस्कारको छ ।
यसैले यो चुनाव चिसो छ । शरीरमा मात्र हैन मनमा पनि न्यानो अनुभव भएको छैन ।

र, अन्त्यमा 

निर्वाचन आचार संहिता सायद यस चुनावी नौटंकीको सबैभन्दा हास्यास्पद ’आइटम’ हो । सबैले आचार संहिताको सकेको उल्लंघन गरेका छन् । प्रमुख निर्वाचन आयुक्तले समेत पालना नगरेको आचार संहिता पार्टीका नेता र उमेदवारले उल्लंघन गरे भनेर दिक्क र छक्क मान्नुको अर्थ पो के रह्यो र ?  


 

तपाईंको मत