ad

ब्लग

मैले चिनेका गगन थापा

अनिलप्रताप अधिकारी

मैले पहिलो पटक गगन थापालाई भेटेको लगभग साढे तीन वर्ष भयो ।  म त्यतिखेर काठमाडौँ युनिभर्सिटीमा ब्याचलर चौथो वर्षमा पढ्दै थिएँ । गगन थापा भर्खरभर्खरै काठमाडौँ क्षेत्र नम्बर चारबाट संविधन सभाका लागि प्रत्यक्ष निर्वाचित सभासद हुनुभएको थियो ।  पहिलोपटक उहाँलाई भेट्न जाँदा मैले कुनै उच्च आकांक्षा राखेर वा गगन थापा नामको राजनीतिकर्मीको तिलस्मी व्यक्तित्वबाट प्रभावित भएर गएको थिइनँ ।

त्यो पहिलो भेटभन्दा अघिका चार वर्ष मैले अहिले स्थापित रहेका पार्टी र शीर्ष नेताहरूको सडकबाट विरोध गर्दै बिताएको थिएँ ।  पहिलो संविधान सभाले तीन वर्षसम्म संविधान बनाउन नसकेर म्याद थप्ने तयारी हुँदै गर्दा त्यो अकर्मण्यताको विरोध गर्दै म पहिलोपटक सडक आन्दोलनमा आएको थिएँ । त्यसपछिका वर्षहरूमा म निरन्तर हाम्रो राजनीतिक संस्कारमा आमूल परिवर्तन हुनुपर्छ भनेर एकपछि अर्को आन्दोलनमा सहभागी भएँ ।

तिनै आन्दोलनबाट एउटा समूहले वैकल्पिक राजनीतिक दल स्थापित गर्नुपर्छ भनेर सुरू गर्दा पनि म त्यहाँ उपस्थित थिएँ । तर, वैकल्पिक नेतृत्व दिन्छु भन्ने व्यक्तिहरू (जसमध्ये अधिकांश अहिले चुनाव लड्दै हुनुहुन्छ) प्रति विश्वस्त हुन नसकेर बसिरहेको थिएँ । त्यही मौकामा गगन थापासँग पहिलो भेट भएको थियो । वैकल्पिक राजनीति गर्छौं भन्नेहरूसँग नै चित्त बुझाउन नसकेको मलाई मूलधारको राजनीतिक दलसँग खासै ठूलो आशा थिएन ।

भेट्नुअघि मेरा लागि गगन थापा मूलधारका एक लोकप्रिय राजनीतिज्ञमात्र थिए । म सानैदेखि इतिहासको विद्यार्थी थिएँ । त्यसैले बुझेको थिएँ ‘पपुलर इमेज’ भएको राजनीतिकर्मी हुनु र वास्तवमै सक्षम राजनीतिक नेता हुनुमा ठूलो फरक हुन्छ । पहिलोपटक भेट्न जाँदा म उहाँको क्षेत्रमा रहेको कार्यालयमा गएको थिएँ । त्यहाँ केही इन्जिनियर साथीहरू क्षेत्रको पूर्वाधारका आवश्यकता अध्ययन गर्दै हुनुहुन्थ्यो ।

मलाई अझै याद छ, कहाँकहाँ खुला स्थान छन् र पार्क निर्माण गर्न सकिन्छ भन्ने त्यो दिन छलफल चलिरहेको थियो । उहाँहरू सबैले स्वयंसेवकका रूपमा त्यहाँ समय दिनुभएको रहेछ । त्यस्तै एकजना मेरा पुराना साथीसंग पनि त्यहीँ भेट भयो, उनी दायित्व फेलोको रूपमा आएका रहेछन् । उनी सो क्षेत्रमा रहेका सरकारी स्कुलहरूको शिक्षाको गुणस्तर कसरी सुधार्न सकिन्छ भनेर अध्ययन गर्दै रहेछन् । वास्तवमा कुनै पनि क्षेत्रका मतदाताले आफ्नो सांसदबाट यस्तै कामको अपेक्षा गर्नु सामान्य हो । तर, आजसम्म यसरी विज्ञहरूको टिम बनाएर अध्ययन गर्दै व्यवस्थित ढंगले कुनै सांसदले आफ्नो क्षेत्रको विकासमा लागेको मलाई थाहा छैन ।

ती इन्जिनियर स्वयंसेवकहरूको प्रयास स्वरूप क्षेत्र नम्बर चारमा नारायणचौरलगायतका स्थानमा अहिले रमणीय पार्क बनेका छन् भने दुर्गन्धित कमलपोखरी अहिले पुन: सुन्दर भएको छ । त्यस्तै ती दायित्व फेलोले पछिसम्म तत्कालीन सांसद थापासँग जोडिएर अहिले चुनिखेलस्थित जनउद्धार स्कुलमा सम्पूर्ण देशभर लागु गर्न सकिने सार्वजनिक शिक्षाको मोडल तयार गरेका छन् । एकातर्फ देश र समाजको लागि केही गर्छु भन्ने हुटहुटी भएका युवालाई योजना बनाउने स्थान दिने अनि अर्कोतर्फ ती योजनाको कार्यान्वयनको लागि सरकारी निकाय देखि स्थानीय संस्थाहरूसँग समन्वय गर्ने गगन थापाको कार्यशैलीबाट त्यही पहिलो दिन नै म प्रभावित भएको थिएँ ।

तर, एकदिनमै म पूर्ण विश्वस्त भएको थिइन । म फुर्सदमा देश र विदेशको राजनीतिमा उठीरहेका मूल मुद्दाहरूको अध्ययन गर्थेँ । त्यस्ता विषयमा अन्तर्राष्ट्रिय अनुभव र सिकाइ समेटिएका किताब र रिसर्च पेपरहरू खोजेर पढ्ने बानी थियो र अझै पनि छ । ती पेपरहरू पढेर आफ्नै दृष्टिकोण बनाउने बानी छ मेरो । संविधान लेखनका पेचिला विषयहमा त्यस्तै धारणाहरू लेखेर संविधान निर्माताहरूसम्म कुनै दिन पुर्‍याउन सकुँला भन्ने आशासहित संग्रहित गरेर राखेको थिएँ ।

त्यसमध्ये निर्वाचन प्रणालीसम्बन्धी मेरो अध्ययनको निष्कर्ष र सुझावको फाइल मैले केही दिनपछि थापालाई ईमेल गरेँ । त्यो फाइल पढी सकेपछि उहाँले तत्काल भेट्नु पर्‍यो भनेर बोलाउनु भयो र त्यही दिन भन्नुभयो मेरो टिममा तिमीजस्तो मान्छेको खाँचो छ, तिमीले मलाई सहयोग गर्नुपर्‍यो ।

म त्यतिबेला बाइस वर्षको थिएँ । वैकल्पिक राजनीति गर्छु भन्नेले सुन्न नचाहेका मेरा सुझाव मूलधारबाट देशको उदाउँदो राजनीतिज्ञले ‘सिरियस्ली’ लिन्छ र एकैपटकमा मलाई आफ्नो टिममा बसेर काम गर्न प्रस्ताव गर्छ भन्ने मैले कल्पना पनि गरेको थिइनँ । नेपालको राजनीतिमा देखाउने अनुहारको रूपमा त नयाँपुराना सबै पार्टीले युवालाई अघि सार्ने गरेका छन् तर नीति र रणनीति निर्माण गर्ने ठाउँमा अरू कसैले २०-२५ वर्षका युवालाई विश्वास गरेको मैले देखेको छैन । 

त्यसपछिका केही महिना हामीले निर्वाचन प्रणाली, शासकीय स्वरूप आदिजस्ता संविधानका पेचिला विषयमा थप अध्ययन गर्यौं, लेखहरू प्रकाशित गर्यौं, संविधान सभामा नौलो कोणबाट अघि सारिएका प्रस्तावमा छलफल चलायौँ । उहाँसँग नजिक भएर काम गरेका दुईतीन महिनापछि बल्ल उहाँलाई युग बदल्ने सम्भावना भएको राजनेताको रूपमा चिने ।

राजनीति गरिरहेका र नौलो राजनीति गर्ने आकांक्षा बोकेका थुप्रैको संगत गरिसकेपछि हाम्रो पुस्ताले नेपालमा तीव्र आर्थिक विकास र राजनीतिक स्थायित्व देख्न पाउँछ भन्ने आशा लगभग मरिसकेको थियो । गगन थापासँग नजिक भएर काम गर्न थालेपछि त्यो आशा फेरि ब्युँतेको हो ।

मैले देखेका गगन निकै अध्ययनशील छन् । धेरैलाई अचम्म लाग्ला तर अत्यधिक व्यस्तताबीच पनि इतिहास, अर्थशास्त्र, राजनीतिसँग सम्बन्धित किताब पढ्न दिनमा एकदुई घन्टा छुट्टाएकै हुन्छन् । चाहे संसदीय समितिको सभापति हुँदा होस् वा मन्त्री हुँदा वा संविधान लेखनको क्रममा होस् कुनै पनि जटिल विषयमा कसले जानेको छ, को विज्ञ छ वा कोसँग अनुभव छ भनेर खोज्दै घरसम्मै पुगेर प्रश्न सोध्ने बानी छ । संविधान लेखनको क्रममा निर्वाचन प्रणालीकै विषयमा पनि पूर्व निर्वाचन आयुक्तदेखि अन्तर्राष्ट्रिय विज्ञसम्म खोज्दै रातको दस बजेसम्म छलफल गरेको मलाई याद छ ।

त्यस्तै कृषि समितिको सभापतिको रूपमा मलमा सरकारले दिने अनुदानमा कसरी सुधार गर्न सकिन्छ भनेर विज्ञहरू खोज्दै हप्तौं अध्ययन गरेको पनि मैले प्रत्यक्ष देखेको छु । स्वास्थ्य मन्त्री हुँदा त डा. भगवान कोइराला, डा. रामेश कोइराला आदि सम्मिलित विज्ञहरूको सल्लाहकार समूह नै बनाएर काम गरिएको हो । यसरी कुनै पनि विषयमा लहडी हिसाबले होइन मज्जाले अध्ययन गरेर, विज्ञ वा अनुभवीसआग छलफल गरेरमात्र निर्णय लिन्छन् । त्यसरी लिएको निर्णय डटेर अगाडि बढाउँछन् ।

गगनको अर्को पाटो मेहेनत हो । सायद उनी दैनिक सत्रअठार घन्टा काम गर्छन्  । म बिहान सात बजे उठेर इमेल खोल्दै गर्दा राति १२ बजे उनको एउटा इमेल आएर बिहान ५ बजे दोस्रो इमेल आएको पनि थुप्रै अनुभव छ । मन्त्रालयमा हुँदा त हामीलाई समेत १२-१ बजेसम्म राखेर धेरै पटक काम गराएका छन् । त्यस्तै दिउँसो २-३ बजे हामीले खाजा खाँदै गर्दा उनले दिनको पहिलो खाना खाएको धेरैपटक देखेको छु ।

त्यसैले दिउँसो ३-४ बजे भेट्दा पनि ‘खाना त खानुभयो नि’ भनेर सोध्ने गरेको छु । स्वास्थ्य कै हिसाबले उनको जस्तो कडा मेहेनत अरूले पछ्याउन राम्रो उदाहरण होइन । तर, आफ्नो कर्तव्यप्रति यति प्रतिबद्ध भएर काम गर्न सक्ने मानिस मैले कमै देखेको छु । म उनीभन्दा निकै कान्छो भएर पनि उनको जोससँग दाँजिने क्षमता छैन जस्तो लाग्छ ।

उनले देशभित्रै केही गर्छु भन्ने हुटहुटी भएका युवाहरूलाई आफ्नो क्षमता, विज्ञता र रूचीअनुसार काम गर्ने मौका र स्थान दिने गर्रेका छन् । संगत गर्दैजाँदा मैले देखेँ पार्टीभित्र पनि उनले अरूभन्दा बढी आफूपछिको पुस्तालाई नै साथ लिएका छन् । देशभरमा क्षेत्र र जिल्ला तहमा युवा नेतृत्व आओस् भनेर आफूभन्दा कम उमेरको नेतृत्वलाई प्रवर्धन गरेका  छन् ।
मैले यी साढे तीन वर्षमा देखेको के हो भने गगन थापा केन्द्रीय नेतृत्वमा एकजना होलान् तर आफूपछिको उमेर समूहबाट देशभर नेपाली कांग्रेस नेतृत्व गर्नसक्ने पुस्ता उनले तयार गर्दैछन् । अहिले पनि उनीहरूमध्ये केही आआफ्नो ठाउँमा नेतृत्वदायी क्षमतामा छन् र अबका केही वर्षमा नेपाली कांग्रेस स्थानीय, क्षेत्रीय र जिल्ला तहमा अधिकांश ठाउँमा (अहिले २५-३५ वर्षको) यही पुस्ताको नेतृत्वमा पुग्नेछ ।

म आफैँलाई देशको नीतिनिर्माण तहमा सक्रिय भूमिका खेल्न उनले दिएको स्थान र प्रोत्साहनको लागि म सधैँ आभारी छु ।  थापा मन्त्री हुने सम्भावना देखिँदै गर्दा उनले भन्नेका थिए “अनिल, म मन्त्री भएँ भने तिमीले अरू सब छोडेर मलाई मन्त्रालयमा सहयोग गर्नुपर्छ । हामीसँग आफूलाई प्रमाणित गर्ने समय धेरै छैन । उस्तै परे खाने सुत्ने नै मन्त्रालयमा गर्नुपर्ने हुनसक्छ ।” थापा शपथ लिएर मन्त्रालय जाँदै गर्दा हामी निकै सानो टोली त्यहाँ थियौं ।

हामी कसैलाई त्यसअघि कहिल्यै स्वास्थ्य क्षेत्रको ज्ञान र अनुभव थिएन । लगभग नौ महिना म्याद तोकिएको सरकारमा थियौँ । नौ महिनामा स्वास्थ्य क्षेत्र बुझ्ने सिक्ने अनि केही गरेर देखाउनुपर्ने दवाब थियो । बिस्तारै थुप्रै सहयोगी कर्मचारी र विज्ञहरू आएर सहयोग गरिदिनुभयो – उहाँहरू सबैप्रति मेरो उच्च सम्मान छ ।

मन्त्री भएकै दिन औषधि व्यवस्था विभाग (औषधि क्षेत्रको नियामक निकाय)मा वार्षिक समीक्षाका लागि पुगेका थियौं । त्यही दिनबाट औषधि क्षेत्रको नियमनमा कसरी सुधार गर्न सकिन्छ त्यो अध्ययन गर्ने र काम अघि बढाउने मेरो जिम्मेवारी भयो । विसं २०२२ सालमा बनेको औषधि ऐनलाई संशोधन गरेर विभागको क्षेत्रको दायरा र कारवाहीको अधिकार फराकिलो पार्ने मस्यौदा तयार गरेर मन्त्रालयबाट अगाडि बढायौँ ।

त्यस्तै स्वदेशी औषधि उद्योगलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरी मन्त्रिपरिषद्सम्म पुर्याउन भ्यायौँ । अर्कोतर्फ बिरामीलाई कसरी सस्तोमा औषधि उपलब्ध गराउन सकिन्छ भनेर पनि अध्ययन गर्यौं र यस विषयमा नेपाल सरकारले विभिन्न मन्त्रालयको बीचमा समन्वयमा काम हुनुपर्छ भनेर मन्त्रिपरिषद्मा प्रस्ताव पठायौँ र । त्यही प्रस्तावमा आधारित उच्चस्तरीय समितिले भर्खर प्रतिवेदन बुझाएको छ । अब त्यस प्रतिवेदनअनुसार काम हुने हो भने ७-८ महिनाभित्र नेपालभर बिरामीले स्वदेशी विदेशी औषधि सस्तो मूल्यमा अस्पतालको फार्मेसीबाट पाउन सक्नेछन् ।

स्वास्थ्य मन्त्रालयमा मैले पाएको अर्को जिम्मेवारी थियो स्वास्थ्य बीमा । स्वास्थ्य बीमा मेरो रूचिको विषय थियो । अर्थशास्त्रमा पहिलेदेखि गहिरो रूचि भएकोले पनि मलाई त्यो जिम्मेवारी दिइएको होला । डा. गुणराज लोहनीको नेतृत्वमा स्वास्थ्य बीमा कार्यक्रमले भर्खरै केही गति लिँदै थियो । तर, कानुन नै बनाएर स्वास्थ्य बिमालाई मेरै कार्यकालमा संस्थागत गर्नुपर्छ भन्ने मन्त्री थापाको दृढता थियो । मलाई पहिलो साता नै भन्नेका थिए - “अनिल, स्वास्थ्य बिमा ऐन मेरो कार्यकालको सबैभन्दा महत्वपूर्ण काम हुनेछ । मैले गर्ने अरू कामको तुलनामा यसमा तात्कालिक फाइदा नहोला तर स्वास्थ्य बीमा पुस्तौँको लागि हो । तिमीले जसरी पनि मेरो कार्यकालभित्र यसलाई निष्कर्षमा पुर्याउनुपर्छ ।”

फेरि पनि भन्दैछु म त्यतिबेला चौबीस वर्षको ठिटोलाई देशको दूरगामी निर्णय गर्ने ठाउँमा यसले केही सकारात्मक भूमिका खेल्न सक्छ भनेर विश्वास गर्ने अरू कुन नेता होलान् ? खै मैले त देखेको छैन । युवा या त पाम्प्लेट बोक्ने साधन भएका छन् या त चुनावको बेला हार्ने स्थानमा देखाउने अनुहार ।

स्वास्थ्य मन्त्रालयमा मैले देखेँ गगन थापाले थुप्रै भूमिकामा सक्षम युवालाई जिम्मेवारी दिए । ती युवाले अध्ययन गरे, विज्ञसँग छलफल गरे, मन्त्रीलाई त्यहीअनुसार सुझाव दिए । अनि प्रक्रिया ढिलो हुँदा आफैँ फाइल बोकेर अड्डाअड्डा धाए । मन्त्रालयभित्र केही महत्त्वपूर्ण पदाधिकारीबाट असहयोग हुँदाहुँदै पनि यिनै युवा सहयोगीको जोस र धैर्य अनि अरू थुप्रै कर्मचारी र विज्ञको सद्भावबाट उहाँ सफल हुनुभएको हो । स्वास्थ्य मन्त्रालयमा हामी पहिलोपटक जाँदै गर्दा ‘बच्चै-बच्चा छन्, के गर्छन यिनले?’ भनेर कुरा काटेको सुनेका थियौँ ।

मलाई लाग्छ गगन थापाले हामीमाथि गरेको विश्वासमाथि धोखा भएन । हामीले नौ महिनाको अवधिमा धेरै काम सम्पन्न गर्न सफल भयौँ ।

मैले मन्त्रीको रूपमा गगन थापाले विभिन्न क्षेत्रका व्यापारी, आफ्नै दलभित्रका केही नेताकार्यकर्ता, मन्त्रालयकै केही महत्त्वपूर्ण पदमा बसेका पदाधिकारी आदिको दवाब र असहयोग खपेर पनि छोटो समयमै सुधारका अजेन्डा स्थापित गरेको देखेको छु । चाहे अस्पताल फार्मेसीमार्फत सस्तोमा औषधि पुर्याउने प्रयास होस् वा विशिष्ट व्यक्तिलाई उपचार खर्च व्यवस्थित गर्ने निर्देशिका जारी गर्न वा डा. केसीका माग सम्बोधन गर्न उनले सामना गरेको दवाब ठूलै थियो । सांसदको रूपमा विभिन्न निकायमा कर्मचारी मन्त्रीलाई फकाएर होस् वा बार्गेन गरेर आफ्नो क्षेत्रको लागि उल्लेखनीय मात्रामा बजेट लगेको देखेको छु ।

एउटा असल नेता बन्नको लागि असल नियत आवश्यक हुन्छ । तर, असल नियतमात्रले कुनै व्यक्ति कुशल नेता बन्न सक्तैन । कुनै पनि व्यक्ति वा दलले एक्लै शासन गर्दैन । कुशल नेतृत्वको लागि समाजमा उपस्थित विभिन्न प्रभावशाली व्यक्ति र समूह (जस्तो कर्मचारीतन्त्र, दलसँग जोडिएका समूहहरू, उद्योगी, पेसागत संस्था आदि)को स्वार्थ र दबाब झेल्न, व्यवस्थापन गर्न अनि नियन्त्रण गर्नसक्ने व्यक्ति चाहिन्छ । गगनमा असल नियत त छ नै उनीभित्र मैले त्यो कुशल व्यवस्थापक पनि देखेको छु ।

मलाई गगन थापाप्रति जुन भरोसा छ त्यो मैले पत्रिकामा उनको अन्तर्वार्ता पढेर वा भाषण सुनेर आएको होइन । म कुनै राजनीतिक पृष्ठभूमिको परिवारबाट पनि आएको होइन । म सडकमा पाम्फ्लेट बोकेर सबै स्थापित दल र राजनीतिकर्मीलाई समुच्चा विरोध गर्ने पृष्ठभूमिबाट आएको हुँ ।

वैकल्पिक राजनीतिक दलको पनि सम्भावना कति छ भनेर खोतल्ने प्रयास हिजो गरेको हुँ । ती सबैबाट निराश भएको मैले गगन थापा नामको एउटा चर्चित राजनीतिकर्मीलाई भेट्न गएको थिएँ । तर, समयक्रममा काम गर्दै जाँदा मैले एउटा उदाउँदो राजनेता भेटेँ । मैले गगन थापामात्र भेटिन उनले तयार गर्दै गरेका एउटा राजनीतिक पुस्ता नै भेटें जसले अबका केही वर्षमा कांग्रेस हाँक्ने छ । यिनै कारणले नेपालको भविष्यप्रति र त्यो भविष्यतर्फ डोर्याउन नेपाली कांग्रेसभित्रको यो पुस्ताप्रति मलाई विश्वास जागेको छ ।

तपाईंको मत