ad

सम्पादकीय

अब त राजनीतिक छुद्रताको अन्त्य होस् ! 

दम्भ, कपट र छुद्रता राजनीतिको मूल प्रवृत्ति हुँदासम्म समाजको लोकतन्त्रीकरण हुँदैन  

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको दोस्रो चरण अपेक्षाकृत हिंसात्मक भयो । हिंसात्मक घटनामा एक जना सुरक्षाकर्मीको ज्यानै गयो भने कतिपय घाइते घए । प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उमेदवारहरू उदयपुरका नारायणबहादुर  कार्की र काठमाडौंका गगनकुमार थापामाथि त सांघातिक आक्रमण नै भयो । अन्यत्र पनि निर्वाचन बिथोल्ने उद्देश्यले बम पड्काउने काम गरियो । तैपनि, नेपाली जनता डराएनन् र दोस्रो चरणको मतदान पनि प्रायः शान्तिपूर्णरूपमा भयो । केही जिल्लमा ‘दबंग‘ उमेदवारहरू भएका निर्वाचन क्षेत्रमा झडप भएका छन् । तर, खासै अप्रिय घटना भएको समाचार छैन । मतदान पनि पहिलो चरणकै हाराहारीमा हुनसक्छ । यसैले नेपालको संविधान, २०७२ अनुसार गर्नुपर्ने निर्वाचनमा राष्ट्रिय सभाबाहेक अरू सम्पन्न भएको छ । माघ ७ भन्दा पहिले नै राष्ट्रिय सभाको पनि निर्वाचन गर्नु उचित हुनेछ । राष्ट्रिय सभाको चुनाव निर्वाचक मण्डलको मतदानबाट हुने भएकाले खासै कठिन हुँदैन । विपक्षी नेताहरूले चर्को शंका गर्दागर्दै पनि चुनाव सम्पन्न गराएकोमा मूलतः निर्वाचन आयोग र नेपाल सरकार धन्यवादका पात्र भएका छन् । 
निर्वाचनपछि अस्थिरताको अन्त्य हुन्छ र विकास एवं समृद्धिको युग आरम्भ हुन्छ भन्ने झुटो सपना चुनावी अभियानका क्रममा जनतालाई देखाइएको छ । निर्वाचनको परिणाम जस्तो भए पनि पात्र र प्रवृत्तिमा परिवर्तन नहुँदासम्म समृद्धिको सपना देख्नु मूर्खता हुन्छ । निर्वाचनको नेतृत्व गर्ने दुवै गठबन्धनमा पात्रहरू उनै छन् । पात्रै पुराना भएपछि प्रवृत्ति नयाँ कसरी हुन्छ र ? नत्र, शासन पद्धतिले त अहिले पनि जनताका पक्षमा काम गर्न रोकेको थिएन । र, यीमध्ये लगभग सबैले मौका पनि पाएकै हुन् । जनताले यस्ता पात्रलाई तह लगाउन सक्थे तर मौका नै पाएनन् । यसैले समयले नै यी विकृत प्रवृत्तिका प्रतिनिधि पात्रहरूलाई तह नलगाउँदासम्म प्रगतिका सपना देख्नुको अर्थ छैन ।  यसैले निर्वाचनबाट धेरै अपेक्षा नगरौँ । पछि निराश हुनुभन्दा यथार्थको स्वीकार गरौँ । स्थिरताको पहिलो सर्त विधिको शासन हो । भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । विपक्षीप्रति सहिष्णुता र सद्भाव नराखीकन जीवन्त राजनीतिक स्थिरता सम्भव हुँदैन । तर, घाइते भएर अस्पताल पुगेका व्यक्तिमाथि समेत छुद्र वचन र कटाक्ष गर्नेहरूको बाहुल्य भएको राजनीतिमा सहिष्णुता र सद्भाव सायद असम्भव अपेक्षा हुन्छ ।
मतगणना बिहीबार साँझदेखि नै सुरु गरिने जानकारी निर्वाचन आयोगले दिइसकेको छ । त्यसको तयारी पनि भइसकेको समाचार विभिन्न जिल्लाबाट पनि आएका छन्््् । नेपालका केही राजनीतिकर्मी आफू वा आफ्नो पार्टीले चुनाव हारेमा निर्वाचन परिणाम नै अस्वीकार गर्न तम्सन्छन् । तिनले यसपटक पनि हार्नेबित्तिकै धाँधली भयो भनेर वितण्डा मच्चाउन सक्छन् । यसैगरी चुनावमा सफल हुनेबित्तिकै प्रतिद्वन्द्वीको अस्तित्व नै नभएजस्तो अहंकार देखाउने प्रवृत्ति पनि नेपालको राजनीतिको पुरानै रोग हो । अब त्यस्तो नहुने अपेक्ष ागर्ने ठाउँ कम्तीमा चुनाव अभियानले त दिएको छैन । यस्तै, निर्वाचनमा भएको हिंसाको जिम्मा नेत्रविक्रम चन्दको नेतृत्वको माओवादीको एउटा समूहले लिएको छ । त्यस समूहका कार्यकर्ता हतियारसमेत समातिएका पनि छन् । शंकाका भरमा पनि प्रहरीले ठूलो संख्यामा पक्राउ गरेको समाचार सार्वजनिक भएको छ । हतियारसमेत पक्राउ परेका र हिंसात्मक घटनामा संलग्न भएकाहरूमाथि सम्बिन्धित कानुनअनुसार मुद्दा चाउने र शंकाका भरमा वा शान्तिपूर्ण विरोधका क्रममा समातिएकालाई तत्काल रिहा गर्ने कार्य पनि हुनुपर्छ । केही पत्रकार पनि पक्राउ परेका छन् । तिनलाई चुनावको विरोध कलमबाट गरेकै भरमा पक्रेर कारबाही चलाउनु असंवैधानिक हुन्छ । संविधान कार्यान्वयको मुहानमै खडेरी नपार्ने हो भने विधिको शासनको सम्मान गरियोस् ।
लोकतन्त्रको रक्षाका लागि सुरक्षा संयन्त्रले पनि अहिलेका कमजोरीको समीक्षा गरेर सुधार गर्नु आवश्यक देखिन्छ । अपराधीको मर्जीमा मात्र शान्ति कायम हुने अवस्था लोकतान्त्रिक पद्धतिका लागि सबैभन्दा ठूलो चुनौती हो । नयाँ युगमा प्रवेश गर्ने हो राजनीतिक संस्कारको पनि लोकतन्त्रीकरण हुनुपर्छ । लोकतान्त्रिक संस्कारमा दम्भ, कपट र छुद्रता हुँदैन । 

तपाईंको मत