काठमाडौं । दोस्रो चरणअन्तर्गत कञ्चनपुरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा झण्डै ६८ प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बेलुकी ५ बजेसम्म झण्डै ६८ प्रतिशत मत खसेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले मतदानको प्रारम्भिक जानकारीअनुसार ६५ देखि ६८ प्रतिशत मतदान भएको बताए । उनले मतपेटिकाहरु संकलन गरेपछि शुक्रबारबाट मतगणना गरिने सुरु गरिने जानकारी दिए । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई लाख ६४ हजार ९७३ मतदाता रहेका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनबाट नेकपा माओवादीका बिना मगर र नेपाली कांग्रेसका दिवानसिंह विष्ट, क्षेत्र नम्बर २ बाट कम्युनिष्ट गठबन्धनका नरबहादुर धामी र कांग्रेसका एनपी सावद तथा क्षेत्र नम्बर ३ मा कम्युनिष्ट गठबन्धनका डा. दीपकप्रकाश भट्ट र कांग्रेसका रमेश लेखकबीच प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा भइरहेको छ ।