site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
प्रधानमन्त्रीको अब आउनुपर्ने वक्तव्य

आदरणीय जनसमुदाय,
नमस्कार

आजको दिन, सर्वप्रथम त म सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छु । प्रजातन्त्र बहालीका लागि उहाँहरुको बलिदान र नेपाली जनताको संघर्षपूर्ण सहभागिताका कारण नेपालले आज 'संघीय गणतान्त्रिक संविधान'को अनुमोदन सफलतापूर्वक गरेको छ । आजको घडीमा कसैको हारजितले त्यति अर्थ राख्दैन जति हामी सबै मिलेर संक्रमणकालको अन्त्य शान्तिपूर्ण ढङ्गले गर्नुको हुन्छ । ऐतिहासिक कदमअन्तर्गत मतदान शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ, त्यो पनि कुनै छलकपट या बलमिच्याइँबिना ।

तसर्थ, यो सिङ्गो नेपाल र नेपालीको जित हो । जनमतमा हारजित प्राविधिक पक्ष हुन् । जनमतको कदर हुनु प्रजातन्त्रको सुन्दर पक्ष हो । जनमतले नै अभिभावकत्वको ऐतिहासिक जिम्मेवारीको अवसर सुम्पन्छ, जनमतले नै हामीलाई हाम्रा कमी कमजोरी सच्याउने मौका दिन्छ र जनमतले आत्मालोचना गर्ने मौका जुराउँछ । जुन आज मैले पाएँ ।
आजको दिन भोलिको लागि हो । अर्थात् हाम्रा सन्ततिका लागि, समृद्ध नेपालको लागि । अबको हाम्रा पुस्ताले आफूलाई विश्वस्तरमा प्रतिष्पर्धा गर्नेछन् र सफलता हासिल गर्नेछन् -  आर्थिक हिसाबले होस् या भौतिक विकासमा । त्यो दिन नेपालले फेरि एकपटक आफूलाई गर्व गर्ने दिन हुनेछ जुन इतिहासकालका लडाईँमा गर्ने गरेका छौं । हाम्रा पुर्खाले हामीलाई 'झुक्दै नझुक्ने नेपाली छोराछोरी' भनी विश्वमा चिनाए । अब हाम्रा पुस्ताले ‘हार्दै नहार्ने नेपाली छोराछोरी’ भनी चिनाउनेछन् ।

Agni Group

यी दुई पुस्ताबीचका हाम्रो काल संक्रमणको रह्यो जसको अन्त्य अब भयो उल्लासपूर्ण जनसहभागितासहित । छिटफुट असन्तुष्ट पक्षलाई म आग्रह गर्न चाहन्छु - अब पनि ‘गणतन्त्र कार्यान्वयनका लागि जनमतसंग्रह’ भन्न छोडौँ । किनभने ‘संघीय गणतान्त्रिक संविधान’को अनुमोदन सत्तरी प्रतिशतभन्दा बढी जनसहभागिताबाट तीनतीन पटक भएको छ । हामीले त छिमेकी मुलुकलाई पनि आश्चर्यमा पार्‍यौँ । तीनको संविधान ७३ प्रतिशत जनप्रतिनिधिले ल्याएका हुन् भने हाम्रोमा ९० प्रतिशत जनप्रतिनिधिले सही गरेका छन् । त्यसकारण आउनुस्, सँगै मिलेर अगाडि बढौँ ! हामी मिलेरै लडाइँ लडौँ । अबको लडाईँ आर्थिक र प्रविधिको विकासको लडाइँ हुनेछ । हामी मिले भोलिको दिन नेपालले पनि नेपाली भिसामा कडिकडाउ गर्ने दिन आउनेछ, अर्थात् समृद्ध नेपालको दूरी लामो छैन ।

किनभने जातीय, भौगोलिक र सांस्कृतिक विविधता रहेको हामीमा सद्भाव छ, सहयोगको भाव छ, उन्नतिका लागि ऐक्यबद्धता छ । हालैको महाभूकम्पले हामीलाई परीक्षण गर्‍यो । हामीले 'डिस्टिङ्सन' ल्याएर विश्वलाई देखायौँ । यो विश्वले देखेर लेखेको कुरा हो । पुनर्निर्माणमा भएको हाम्रा महागल्ती राजनीतिक प्रशासनिक कमजोरी हो, भ्रष्टाचार हो । तर, नेपाली जनताको कमी कमजोरी होइन । बरु जनताले देखाएको क्षमाशीलता र धैर्य विश्वमै उदाहरणीय पक्ष हो ।
भ्रष्टाचार मौलाएको सत्य हो । मलाई विश्वास छ, नेपाली सञ्चार जगत्ले भ्रष्टाचारको जरैदेखि उजागर गर्नेछ । गर्दैआएको पनि छ । भ्रष्टाचार उन्मूलनका लागि राजनीतिक प्रतिबद्धता र न्यायिक कार्यक्षमताको आवश्यकता हुन्छ । अब, त्यो पनि हुनेछ । गलत परास्त हुनेछन् । चाहे मैले नै गरेका किन नहुन् । गलत टिक्दैन, समय तलमाथि होला ।

Global Ime bank

आदरणीय जनसमुदाय, प्रकृतिले हामीलाई संसारकै सुन्दर देश दिएको छ- भौगोलिक रूपमा पनि, संस्कृतिक रूपमा पनि। संस्कृतिक विविधतामा धनी हाम्रो सामाजिक सद्‍भाव/ सामञ्जस्यबाट विश्वले सिकोस् । यस्तो विविधताबीच हामीले सुन्दर संविधान निर्माण गर्‍यौँ जसले हरसम्भव क्षेत्रलाई समेटेको छ । र, यो संविधानमा समयानुसार हेरफेर गर्न मार्गप्रशस्त छन् आगामी पुस्तालाई । यसकारण पनि यो सुन्दर छ । यो हाम्रोमात्रै दाबी होइन, विदेशीले पनि पढेका, बोलेका हुन् ।

दाजुभाइ दिदीबहिनीहरू, 'नेपालमा केही हुनेवाला छैन' भन्ने निराशात्मक सोच त्यागौँ । एकछिन फर्केर विगत हेरौँ । आफूलाई नदेखे पुर्खालाई हेरौँ । अनि आजको दिन आफू उभिएको धरतीलाई सुम्मसुम्याऔं, भिजेको माटो सुँघौं, त्यहाँ आफ्नै अनि पुर्खाको पसिनाको वासना छ- इन्द्रकमल झैँ, अर्थात् स्वर्गको । नेपाल पृथ्वीको स्वर्ग हो । पसिनाको मुहान यो स्वर्गलाई स्थिर राख्न गरिएको संघर्ष हो । बुझ्ने संघर्षमा लाग्यौँ, नबुझ्नेले बुझ्यौँ, अझै नबुझ्ने नबुझी नबुझीकनै निर्माणक्रममा सहभागी भयौँ । त्यसकारण यसमा सबै नेपालीको पसिना मिसिएको छ ।

मानवअधिकारमा हामी सुध्रिने क्रममा छौँ भने वाकस्वतन्त्रतामा हामी एसियामै तुलनात्मकरूपमा स्वतन्त्रताको अभ्यासमा छौँ । छोटो समयमा फस्टाएको सञ्चार जगत र शक्तिको त्रुटिमाथि हुने व्यंग्यवाणलाई यसको उदाहरण मान्नुपर्छ । दण्डहीनताको अन्त्यतर्फ लम्कने कोसिस जारी छ । पछिल्ला केही कानुनी क्रियाशीलताबाट आशा गर्ने ठाउँ पलाएको छ । यो सत्य हो सामाजिक सद्भाव र अमनचयन राख्न पनि कतिपय कानुनी कार्वाहीमा विलम्ब हुनगएका छन् । नबिर्सौं, हामी हिंसात्मक लडाईँमा अल्झिएका कतिपय आफ्नै दाजुभाइ दिदीबहिनीलाई विस्तृत् शान्ति सम्झौताउन्मुख बनायौँ । आपसी झगडा निको हुन समय लाग्ने घाउ हो । तर, दण्डहीनता मौलाउन नदिन सरकार र हाम्रा सुरक्षाकर्मी अहोरात्र खटिएका छन् । प्रजातन्त्र बहालीको संघर्षका दौरान हाम्रा सबै सुरक्षा निकायले दर्शाएको व्यावसायिक व्यवहारले पनि यति हामीले छिट्टो ‘नयाँ नेपाल’ प्राप्त गरेको इतिहासले भुल्नेछैन । जनचाहनालाई आत्मसात गर्ने हाम्रा सुरक्षा संगठनलाई पनि सलाम छ ।

अबका दिन नेपाल र नेपाली लोडसेडिङको अँध्यारो र 'बन्द'को चपेटामा पर्नेछैनन् । यो हाम्रो दृढसंकल्प हो । अब बन्ने केन्द्रीय तथा प्रादेशिक सरकारले नेपाललाई समृद्धिको बाटोमा डोर्‍याउने छ । त्यो बाटो अन्तर्राष्ट्रिय मापदण्डको कालोपत्रे बाटो हुनेछ । प्रदेश प्रदेशबीच शान्ति, विकास र समृद्धिको होड चल्नेछ । यही होडले नेपालको द्रूत गतिमा विकास हुनेछ ।
अन्त्यमा, म र मेरो पार्टीको तर्फबाट आदरणीय केपी ओलीजीलगायत सबै नेतागणलाई एकआपसमा सद्‍भाव र सहयोगको भाव राखी, दलगत स्वार्थबाट माथि उठी, देशलाई अगाडि बढाउनुहुन्छ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गर्न चाहन्छु । यसपाली जनमतले तपाईँलाई नेतृत्व दिने निर्णय गरेको छ । जनअपेक्षाको उपेक्षा नहोस् भन्नेमा हामी सदैव सतर्क रहनुपर्छ । यसमा प्रतिपक्षको हैसियतले म र मेरो पार्टीको पूर्ण सहयोग रहनेछ ।
हाम्रो संघर्ष हाम्रा पुस्ताको लागि थियो । तिनको भविष्यको लागि थियो । तिनले शान्त वातावरणमा मीठो निन्द्रामा सुन्दर सपना देख्नका लागि थियो । समयको पाइलासँगै हाम्रो पुस्ता र नयाँ पुस्ताबीचको सपना देख्ने तौरतरिका फरक हुन्छ । नयाँ भविष्यको सपना देख्ने अधिकार नयाँ पुस्तालाई हुन्छ । यसकारण पनि नयाँ पुस्तालाई आफ्नै सपना साकार पार्न, आफ्नो भविष्य आफैं कोर्ने मार्ग प्रशस्त गर्न म आजैका मितिबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसकाे पार्टी सभापति पदबाट राजीनामा दिँदैछु । मबाट भएका गल्ती कमीकमजोरीका लागि क्षमा गरिदिनहुन म मेरा सहयोद्धा  तथा सम्पूर्ण नेपाली जनतासँग विनम्र निवेदन गर्छु । साथै, कुनैपनि गम्भीर त्रुटीको छानबिन या समीक्षाका लागि भाविष्यमा मेरो सदैव सहयोग रहने प्रण गर्छु ।

धन्यवाद
जय नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४  २१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC