कहिले कहीँ कर्मचारीहरू अलि बढी नै सक्रिय हुन्छन् । सधैँ नै निवेदन पर्खेर बस्ने अर्थात् प्रतिक्रियामा मात्र काम गर्ने नेपालका प्रशासनिक अधिकारीहरू एकाएक पूर्वक्रियाशील हुन पुग्छन् । जनहितकारी काममा पूर्वक्रियाशील हुनु नराम्रो पनि हैन । तर, कर्मचारीले राज्यको प्रतिनिधित्व गर्ने हुनाले उनीहरूले गर्ने व्यवहारमा कानुन, नियम र कार्यविधिको पालना भएको छ कि छैन भनेर पनि हेरिन्छ । रामै्र नियत भए पनि नियम मिचे कर्मचारी सजायको भागी हुन्छ । अति उत्साह सम्बन्धित कर्मचारीका लागि मात्र हैन सरकारकै लागिसमेत प्रत्युत्पादक बन्न पुगेको अनेकौं उदाहरण पाइन्छ । कर्मचारीको यस्तो अतिउत्साह यदाकदा दुस्साहसपूर्ण मूर्खतामा परिणत हुनेगरेको छ । वायुसेवा सञ्चालकहरूको कार्यालयमा छापा मार्न पुगेका सरकारी कर्मचारी आपैmँ उपहासका पात्र बनेको घटना यसको उदाहरण हो ।
चुनाव भएर अर्को सरकार आउने निश्चित् भइसकेका बेलामा नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको भाउ बढायो । यति नै बेला नबढाएकै भए पनि निगमलाई ठूलै घाटा भने हुनेथिएन । निगमले इन्धनको भाउ बढाएपछि हवाई सेवा सञ्चालकहरूले पनि ‘फ्युल सरचार्ज‘ भन्दै हवाई भाडा बढाउने निर्णय गरे । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका केही कर्मचारी हवाई भाडा बढाउने निर्णयको वैधता खोज्दै वायुसेवा सञ्चालक संघको कार्यालयमा छापामार्न पुगे । विभागले उपभोक्ताको हित रक्षा गर्न सोधखोज गर्नु अनुचित हैन तर कुहिएको मिठाइ बेच्ने पसलमा निरीक्षण गर्न गएकै शैलीमा वायुसेवा कार्यालयमा छापा मार्न जानु भने उचित थिएन । संघ र सरकारकै अर्को निकाय नागरिक उड्डयन प्राधिकरणबीच भएको सहमतिका आधारमा भाडा बढाउने निर्णय गरेको जानकारी संघले दिएपछि कर्मचारीहरू जिल्ल पर्नुपरेको थियो ।
विभागका कर्मचारीहरू छापामार शैलीमा कार्यालयमा जानुभन्दा संघका पदाधिकारीलाई विभागमा बोलाएर जानकारी माग गरेको भए हुन्थ्यो । अझ, त्यसभन्दा पनि एउटा इमेल गरेर जानकारी मागेको भए छापा मार्न जानु पर्ने नपर्ने वा अरू नै कारबाही गर्नुपर्ने हो सजिलै निर्णय गर्न सकिने थियो । तर, कर्मचारी त संघको कार्यालय सोधखोज गर्दै पुगे । उनीहरूको यो सन्देहास्पद हतारले आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीलाई कारबाहीभन्दा पनि संघलाई ‘देखाइदिने‘ रहर बढेको देखियो । यसरी कुनै व्यक्तिका संस्थाविरुद्ध सरकारी कर्मचारीले यस्तो रवैया देखाउँदा राज्यप्रति शंका र अविश्वास बढ्छ । त्यस प्रकारको अभ्यासबाट विभागको उपभोक्ताका हितमा हुने गरिने प्रयत्नमा पनि असर पर्नसक्छ । यस्तै, विधि र प्रक्रियाको उपेक्षा गर्ने शैली अपनाउन थाले आउने दिनमा विभागको कमर्चारी बनेर ठग्नेहरूको बिगबिगी हुनसक्छ । धन्न ! संघका कर्मचारी सहयोगी र सहिष्णु रहेछन् र अप्रिय घटना हुनपाएन नत्र विभागको साखमा पनि दाग लाग्ने थियो । विभागको नेतृत्वले यस विषयलाई गम्भीररूपमा लिएर यस्ता मूर्खतापूर्ण घटना नहोरिने व्यवस्था मिलाउनुपर्छ ।