मुलुकभरबाट २३ वटा क्षेत्रमा मात्रै विजयी हासिल गरेको नेपाली कांग्रेसभित्र अहिले नेतृत्वको खुबै आलोचना भएको छ । नेतृत्वको कमजोरीले नै कांग्रेसले हार खानुपरेको भन्दै कांग्रेसभित्र दह्रोगरी आवाज उठ्न थालेको छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले अब केन्द्रीय समितिको बैठक, त्यसले महासमिति अनि विशेष महाधिवेशनमा जानुपर्ने तर्क गर्छन् । त्यसको मतलव अहिले नै पार्टी आफ्नो नेतृत्वमा आउनुपर्ने भन्नै हुँदै नभएको उनको भनाई छ ।
उनले आफूहरुजस्ता युवा अबको ५ वर्ष प्रत्येक जिल्लामा पुगेर संगठन निर्माण गर्ने र अर्को निर्वाचनमा एमाले र माओवादीको एकतापछि बन्ने पार्टीलाई नै धक्का दिन सक्ने कांग्रेस बनाउन सकिने उनको दाबी छ ।
चुनावी अभियानका क्रममा काठमाडौंको बुढानिलकण्ठमा बम आक्रमणमा परेका थापा चोटले भन्दा पनि विपक्षी पार्टीका नेताले दिएको अभिव्यक्तिले बढी दुखित देखिन्थे । विस्फोटको चोटका कारण कानमा पट्टी बाँधेका थापाले बाह्रखरीसँगको कुराकानीमा यो विषय पटक पटक सम्झिए पनि ।
बम आक्रमणपछिको अवस्था, निर्वाचनमा कांग्रेसले बेहोरेको हार, आगामी रणनीति लगायतका विषयमा कांग्रेस नेता थापासँग बाह्रखरीका लागि बलराम पाण्डेले गरेको कुुराकानीः
चुनावी दौरानका क्रममा बम विस्फोटमा पर्नुभयो । अहिले तपाईँको स्वास्थ्य अवस्था कस्तो छ ?
म अहिले ठिक छु । सामान्य घाउहरु लगातारको जुलुस र व्यस्तताले गर्दा जति छिटो निको हुनुपर्थ्यो भएको छैन । अहिले सामान्य अवस्थामै छु ।
मेरो चोटपटक सामान्य नै थियो र अहिले पनि सामान्य रुपमा नै लिएको छु । तर मेरो साथीहरुमध्ये एकजना अहिले पनि अस्पतालमै हुनुहुन्छ । करिब १ महिना अझै अस्पतालमै रहनुपर्ने अवस्था छ । उहाँको घाउ अलि गम्भीर नै छ । त्यहाँ ठिक हुन सकेन भने अन्य विकल्प खोज्नेछौं ।
बम विस्फोटपछि विभिन्न टीकाटिप्पणी पनि सुनियो । त्यसलाई यहाँले कसरी लिनुभएको छ ?
यसलाई दुई तरिकाले हेरेको छु । नेपाली राजनीतिमा यो तहसम्मको निकृष्टता होला भन्ने अनुमानसम्म गरेको थिइनँ । निर्वाचनमा प्रतिस्पर्धा, आरोप प्रत्यारोप हुन्छ । तर केही आधारभुत कुराहरु हुन्छन् जसले हामी सबैलाई एकै ठाउँमा उभिन मद्दत गर्छ ।
तर त्यो घटनालाई निर्वाचनसँग जोडेर प्रचार गरियो । त्यो मेरो अनुमानभन्दा बाहिरको कुरा थियो ।
एमालेकै अध्यक्षले पनि त्यो कुराको संकेत गर्नुभयो । यसलाई ममाथिको व्यक्तिगत तारो बनाएर गरिरहेको श्रृङखलासँग जोडेर हेरेको छु । यो रोकिँदैन भन्ने मलाई लागेको छ ।
निर्वाचनपछि पनि ३ वटा त्यस्ता कुराहरु फेस गरिसकेँ । यसको सार के हुन्छ भने मेरो चरित्रमा प्रहार गर्ने कोशिस गर्छ । प्रायोजित समाचारले मलाई झुट प्रमाणित गर्ने कोशिस गर्छ ।
पहिले मैले यसलाई अलग अलग रुपमा हेर्थेँ । तर अहिले भने यो एकदमै संगठित छ भन्ने पुष्टि भएको छ । यो क्रम जारी रहन्छ । मेरो चरित्र हत्या गरेर ढाल्न सकिन्छ भन्ने नै उनीहरुलाई लागेको छ । एउटै संगठित अभियानको पाटो कै रुपमा हेरेको छु । यसलाई फेस गर्दै अघि बढ्नेछु ।
त्यो कसले गरिरहेको होला त ? कुनै पार्टी, व्यक्ति या कुनै निकाय ?
मेरो विचारमा प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरुसँग जोडिएका व्यक्ति नै छन् ।
म अगाडिको घटना सम्झन्छु । मैले पहिले पनि प्रहरीमा उजुरी नै गरेर सामना गरिसकेको छु । निर्वाचनको बेला पनि र पछि पनि त्यही कुराहरु भैरहेका छन् ।
यो राजनीतिक हिसावले प्रतिशोध लिन चाहनेहरु नै छन् । त्यो खुल्दै पनि जानेछ । को–को छन् भन्ने खुल्दै जाला । भोलि गएर देश हाँक्छु भनेका नेताहरु नै संलग्न रहेछन् भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।
राजनीतिक रुपमा सिध्याउनपर्छ भनेर लाग्नेहरु नै हुन् भन्ने तपाइँको निष्कर्ष हो ?
मेरो अस्तित्व भनेकै आम रुपमा नेपाली जनताले गरेको विश्वास र तागत हो । म कुनै राजनीतिक परिवारको मान्छे होइन । आफ्नै संघर्ष र कामबाट जनताको बीचमा ठाउँ निर्माण गरेर अघि बढेको मान्छे हुँ ।
मलाई मात्रै किन तारो बनाइएको छ ? जताबाट घुमाएर पनि मलाई नै तारो बनाउनुको कारण के हो ? त्यसबाट निष्कर्ष के निकालेको छु भने यो प्रायोजित संगठित अभियान हो ।
जसले मेरो चरित्र हत्या गरेर मलाई निमिट्यान्न पार्न चाहन्छ । मलाई निमिट्यान्न पार्दा उसको के मक्सद पुरा हुन्छ त ? सम्भवतः उसले मलाई कुनै व्यक्तिका रुपमा मात्र नहेरेर कांग्रेसको एउटा पुस्ताको प्रतिनिधिको रुपमा हेरेको छ ।
यसलाई ढाल्दै गर्दा त्यो पुस्तालाई निमिट्यान्न पार्न सकिन्छ भन्ने नै उसलाई लागेको हुनुपर्छ । नभए यति धेरै तारो बनाउनुपर्ने आवश्यकता देख्दिनँ ।
त्यो बाहेक अरु थ्रेट पनि महसुस भएको छ ?
त्यो बाहेक अरु थ्रेट यसअघि कहिले पनि महसुस गरेको थिइनँ । अहिलेको बम आक्रमणपछि भने केही लागेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो बीचमा बम आक्रमणले पहिले तर्साउन गरेको देखिन्छ । तर हामीसँग भएको घटना त्योसँग मात्रै सीमित थिएन । हामी सबै संयोगले बाँचेका हौं । हामी त्यहाँ परेकालाई मात्रै सबै कुरा थाहा छ । अहिले हामी कुरा गर्छौं– हामीलाई बच्चाले नरोकेको भए..., अलि छिटो हिँडेको भए..., भन्ने कुरा हुन्छ ।
त्यो आक्रमणको उद्देश्य के देखिन्छ भने सकेसम्म सक्ने, नभए अंगभंग बनाउने भन्ने नै देखिन्छ । त्यो भएको हुनाले मलाई मनमा चिसो पसेको किन त ? भन्ने नै हो । अन्त तर्साउने तर मलाई सक्ने वा अंगभंग गर्ने नियतले किन बम विस्फोट गराइयो ? यो प्रहरी प्रशासनले अनुसन्धान जारी राखेको विषय छ । उसले सबै सत्य तथ्य बाहिर ल्याउनैपर्छ भन्ने हाम्रो माग पनि छ । यो विषय जनताले थाहा पाउनुपर्ने विषय पनि हो ।
पहिलोपटक मनमा चिसो पसेकै छ । तर यसअघि कहिले पनि त्यस्तो महसुस भएको थिएन । सधैंभर सहजतापुवर्क नै लिइयो ।
प्रसंग बदलौं
अहिलेको मत परिणामलाई कसरी विष्लेषण गरिरहनुभएको छ ?
हामीले सूर्य चिन्हमा मत हाल्नेले हँसिया हथौडामा हाल्दैन । हँसिया हथौडामा मत हाल्नले सूर्य चिन्हमा हाल्दैन भन्ने सोचेका थियौं । हाम्रो आकलन गलत सावित भयो ।
एकछिनलाई मानौं, सबै पार्टी आ–आफ्नै चुनाव चिन्ह लिएर गठबन्धन नभई प्रतिस्पर्धामा गएको भए हाम्रो अवस्था ७० सालको निर्वाचन भन्दा नराम्रो हुँदैनथ्यो ।
त्यसैले निर्वाचनको यो परिणाम दुईवटाको गठबन्धन बनेकाले स्वभाविक नै मान्नुपर्छ । तर हामी र माओवादी मिलेको भए यो हुने थिएन । तर अनपेक्षित के भयो भने सबै भोट खप्टिँदैन भन्ने थियो ।
२० हजार पछि परेका ठाउँमा पनि नेताहरु उत्साहित हुनुहुन्थ्यो । त्यो सोचेको भन्दा फरक भयो ।
नेपाली कांग्रेसको मत परिणाम हेर्दा पार्टीको अधोगति देखिन्छ । कहाँबाट सुरु भयो अधोगतिको पाइला ?
हाम्रो संगठन, त्यसको तागतमा निर्माण गर्ने जनमत, त्यसलाई मतमा परिणत गर्ने कार्य कौशलतामा कमी आएको धेरै वर्ष भैसक्यो ।
भ्रातृसंस्था, संगठनको तरिका हेर्दा आजको मात्रै कुरा गरेर हुँदैन । कसैलाई मात्रै दोष दिएर हुँदैन । म मेरो निर्वाचन क्षेत्रमा जाँदा पार्टीको क्रियाशिल सदस्यलाई भोट हाल्न आइदेउ न भनेर हात जोड्नुपर्ने अवस्था छ । पार्टीको पछिल्लो समयको काम हेर्दा संविधान जारी भएपछिको अवस्थामा हेर्नुपर्छ ।
प्रधानमन्त्रीको उमेदवार सुशील कोइरालालाई बनाउँदा आम धारणा जे बन्यो त्यो हामीले चिर्न सकेनौं । त्यो उमेदवारी सही थियो कि गलत भन्ने फरक कुरा होला तर त्यो उमेदवारी हामी आफ्नै इच्छाले भन्दा पनि कसैका लागि दिएका हौं या क्यारेमबोर्डको गोटी बनेका हौं भन्ने धेरैलाई लाग्यो । त्यहाँबाट हाम्रो डाउनफल सुरु भएको हो । त्यसपछि घटनाहरु जोडिँदै जान थाले ।
अब चुनावसम्म आइपुग्दा नेकपा एमालेले हाम्रो बारेमा बनाइदिएको परिचय बोकेर जानुपर्ने भयो । हाम्रा सबै भोट हामीसँग रहेर एमाले र माओवादीबीचको तालमेलपछिका भोट जो हामीले हाम्रो आकर्षणले तानेर ल्याउनुपर्थ्यो त्यो गर्न पनि सकेनौं । पहिलोपटक मत हालेका मतदातालाई आकर्षण गरेको भए पनि अर्कै हुन्थ्यो । हामीले आकर्षण सिर्जना गर्न चुक्यौं । पटक पटकका निर्णयबाट ।
कांग्रेसको अधोगति कहाँबाट सुरु भयो त भनेर केही विश्लेषकलाई सोध्दा उनीहरुको जवाफ फरक फरक पायौं । कसैले २०६२/६३ को आन्दोलन गलत भने, कतिले गिरिजा प्रसाद कोइरालाको लाइन, कतिले सुशील कोइरालाको उमेदवारी, कतिले संविधान जारी गर्ने अवस्था, कतिले देउवाको उदय, उनका क्रियाकलाप, देउवा नेतृत्वको सरकारले गरेको निर्णयसँग जोडेर हेरे । यसमा तपाईँको बुझाई के हो ?
राजनीतिक लाइनका हिसावले गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा राजासँग लड्ने र माओवादीलाई संसदीय राजनीतिमा ल्याउने भनेर राजनीतिक लाइन बोकेर लडेका हौं । सफल पनि भयौं । त्यो राजनीतिक लाइन नै गलत थियो भन्ने कसैको बुझाइ हो भने नेपाल आज कस्तो अवस्थामा हुन्थ्यो भन्ने पनि सोच्न सक्नुपर्छ । म त्यो लाइन ठिक थियो भनेरै हिँडको हो । अहिले पनि त्यो लाइन ठिक थियो नै ।
त्यो लाइन लिइसकेपछि गरेका कामहरु हेर्दा को कता जोडियो, को कता । तर हाम्रो परिचय बन्ने सन्दर्भमा कमजोरी भएको सुशील दाईले उमेदवारी दिएपछि नै हो ।
त्यो भन्दा अघिको कुरा सम्झिउँ त । भारतले नाकाबन्दी गर्ने बेला र भारतको कठोर व्यवहारका बाबजुद सुशील कोइरालाकै नेतृत्वमा संविधान जारी भएको होइन ? त्यसको केहीदिनपछि हाम्रो पहिचान कता गयो भने कसैले अह्राएका कारण उमेदवारी दिएको भन्ने बन्यो । चुनावमा पनि त्यही कुरा लिएर जानुपर्यो ।
अर्को कुरा त्यो बीचमा निर्वाचन गराउनका लागि माओवादीसँग एउटा समझदारी गरेर सरकार बनायौं । अघि तपाइँले गरेका संकेतमध्ये हाम्रा केही निर्णयले पार्टीलाई नै छायामा पार्यो ।
कांग्रेसले ४ वर्षमा राष्ट्रका लागि जे कुरा गर्यो त्यो कुरा नगरेको भए के हुन्थ्यो ? एमालेले जे गर्यो त्यही गरेका भए कांग्रेस पार्टी आज त एकदम बलियो हुन्थ्यो होला तर नेपालमा न संविधान बन्थ्यो न निर्वाचन हुन्थ्यो ।
सबैलाई मिलाउन खोज्दा सबैको प्रहार कांग्रेसले नै खानुपर्यो । यो ४ वर्षलाई दिएको म्यान्डेट भनेको संविधान जारी गर, सबैलाई मिलाउ, संघीयताको व्यवस्थापन गर भनेर होइन ? त्यो त कांग्रेसले नै पुरा गरेको हो ।
अब काम पूरा गरेर आयौं भन्ने बेलामा विरोध र उत्तेजनाको राजनीति गरेको एमालेले कांग्रेसको बारेमा जे पायो त्यही भनेका बेला चिरेर जान हामी सकेनौं ।
किन त ?
किन भन्दा पार्टीले गरेका कामले । प्रहरी प्रमुख, महाभियोग लगायतका सबै कुराले मुल कुरा नै छाया परेको हो । त्यस्तो बेलामा चिर्ने भनेको संगठनले हो । माथिबाट नेताले भनेपछि तल कार्यकर्ता तहसम्म पुग्नुपर्ने हो । देशैभर एउटै कुरा बोल्न सक्ने बनाउन सकेनौं । त्यसैले हाम्रो परिचय एमालेले बनाइदियो ।
कांग्रेस भनेको त यस्तो हो भनेर एमालेले प्रचार गर्दै हिँड्यो ।
तपाईँहरु एकातिर राजनीतिक लाइनको कुरा गर्नुहुन्छ तर फरक लाइन भएका दलसँग तालमेल गरेर चुनावमा जानुभयो, किन ? यसले मतदाता अलमलमा परेनन् ?
हाम्रो यहाँनेर मतदाता अलमलमा परेजस्तो लाग्छ मलाई । हामीले माओवादीसँग सरकार बनायौं । माओवादी उमेदवारलाई जिताउन लागिपर्यौं । त्यसपछि मिलेर सरकार बनायौं ।
माओवादी एमालेसँग तालमेल गर्न गयो । हामीले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग तालमेल गर्यौं । राप्रपाको महामन्त्री हाम्रो वरिष्ठ नेतासँग चुनावी प्रतिष्पर्धामा रहनुभयो । बाबुरामजीलाई चुनाव जिताउन गयौं ।
मेरो क्षेत्रमा बाहेक सबै क्षेत्रमा बाबुरामजीका उमेदवार छन् । महन्थ ठाकुर र उपेन्द्र यादवलाई सिट छाडेका छौं अन्य क्षेत्रमा उनीहरुकै उमेदवारसँग प्रतिस्पर्धा गर्नुपर्यो । यो के गरेको भन्ने न हामी प्रष्ट थियौं न उमेदवार न मतदाता । किन हो भन्ने नै हामीलाई पनि थाहा थिएन ।
वाम गठबन्धनले नेतृत्व गर्दा भय र आशंकाले हामीलाई एकठाउँ ल्याएको हो भन्न पनि राम्रोसँग पाएनौं । त्यसैले वाम गठबन्धनलाई रोक्नुपर्नेछ भनेर मात्रै भन्यौं । तर गठबन्धन पनि राम्रोसँग चिनाउन सकेनौं । एकातिर ५० वर्ष शासन चलाउँछौं भनेर आएको गठबन्धन छ, प्रपोगन्डाको भन्डार छ । जुन हदसम्म जान पनि तयार छ, जे पनि गर्छ, जे पनि बोल्छ, भोलि जवाफ दिनुपर्छ भन्ने चिन्ता पनि छैन त्यस्तो शक्तिसँग हामी चुनाव लड्दै गर्दा पनि कुनै तयारी गरेनौं ।
त्यसका बाबजुद पनि गठबन्धन नभएको भए हामी चुनाव जितेर आउथ्यौं ।
भनेपछि अब कांग्रेस उठ्नै नसक्ने गरी ढलेको हो ?
हामी यस्तै गरिरह्यौं भने, हामी आफैं भित्र आरोप प्रत्यारोपमा उत्रियौं भने यो भन्दा तल जाने कुरामा कसैले बचाउन सक्दैन ।
तर नेपाली कांग्रेसको अवस्था के भैसकेको हैन भने काम गर्ने तरिका फेर्दा, पार्टीभित्र पुनर्जागरण गर्न सके कांग्रेसलाई कसैले रोक्न सक्दैन । मैले अझै पनि भन्छु कांग्रेसका देशभरका साथीहरु कसैले पनि चिन्ता नगरौं, पीडामा नबसौं । हिनताबोधले ग्रसित नहोऔं । भित्रैबाट जागेर आउँ, पुनर्जागरणका लागि संकल्प गरौं । गल्ती कमजोरी सबैबाट भएका छन् । कसको कति मात्रै हो ।
म पार्टीको केन्द्रीय सदस्य हुँ । दुईपटक सांसद भएको व्यक्ति हुँ । मन्त्री भएँ, म बाट पनि सयौं गल्ती भएका छन् । मैले त्यसलाई स्वीकार गर्नुपर्छ ।
म भन्दा तल्लो कमिटीको पनि होला । मुल जिम्मेवारको अझै बढी होला । यसलाई हामी मानेरै जानुपर्छ । त्यसरी जाने हो भने पार्टीको पुनर्जागरणको अवस्था सहजै देख्छु ।
संकल्प गरौं अर्को चुनावमा जाँदै गर्दा देशभरका मतदातालाई कतिबेला चुनाव आउला र वाम गठबन्धनको सरकारलाई ढालेर कांग्रेसलाई सरकारको नेतृत्वको जिम्मा दिन पाइयोस् भन्ने आतुरता सिर्जना गर्न सक्छौं । यो ५ वर्षमा सरकार बनाउन खोज्ने, ढाल्ने केही कतै लाग्नुहुँदैन । हामीलाई आएको जनमत प्रतिपक्षमै बस भन्ने हो ।
प्रतिपक्षको बेन्चबाट लगातार काम गरेर अब हुने चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउँछौं । त्यो पनि एमाले र माओवादीसँग लडेर होइन, एकीकृत कम्युनिष्ट पार्टीसँग लडेर बनाउँछौं ।
तपाइँले विशेष महाधिवेशनको माग गर्नुभएको छ । यो अहिले सम्भव छ ? अनि पार्टी नेतृत्वको यति धेरै कमजोरी देखिएपछि राजीनामा दिनुपर्दैन ?
राजीनामा समस्याको समाधान मात्रै होइन भन्ने देख्छु । तर जिम्मेवारी कसैले लिनुपर्दैन भन्ने होइन । कांग्रेसमा सानोतिनो सुधारले हुँदैन । यसको पुनर्संरचना गर्नैपर्छ । यसको श्रृङखला कहाँबाट सुरु हुन्छ भने केन्द्रीय समितिको बैठक बोलाएर त्यसले महासमितिमा जानुपर्छ ।
पर्यो भने अर्लि महाधिवेशन या विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ । मेरो धारणा के हो भने पार्टीको पहिलो पुस्ताका नेताहरुले स्वेच्छाले नयाँ भूमिकाको खोजी गर्नुपर्छ । त्यो भनेको संरक्षक हो ।
उहाँहरुलाई हामीले अपमान गर्नुपनि हुँदैन । शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताहरुले अभिभावक भएर बस्छौं भनेर उहाँहरुले भन्दा राम्रो हुन्छ । त्यो भयो भने ठाउँ क्रिएट हुन्छ । त्यो ठाउँमा हामी जाने होइन । मेरो पुस्ताको साथी अब तल्लो तहमा गएर काम गर्ने हो । जिल्ला जिल्लामा गएर काम गर्ने हो । त्यतिले मात्रै पुग्दैन । जसले जिम्मा लिन्छ उसले पार्टीका एजेण्डालाई स्पष्ट पार्नुपर्छ । हामी को हौं भन्ने स्पष्ट हुनुपर्छ । हामीले कसैको बारेमा चिन्ता नगरी स्पष्ट ढंगले अघि जानैपर्छ । जनतासँग फेरि जोडिनुपर्छ ।
वनले नचिनको बाघ र बाघले नचिनेको वन होइन । गठबन्धनका नेताहरु सरकार चलाउन तयार भएर बस्नुभएको छ । उहाँहरुलाई पनि हामी राम्रोसँग चिनेका छौं । अहिले नै अनुमान लगाउन सकिन्छ । एकपछि अर्को स्क्यान्डल गर्दै हुनुुहुन्छ । जुझारु संगठन हामीसँग हुँदै गर्दा जनताले मेरो कुरा बोलिदिने भनेको कांग्रेसले नै हो भन्ने दिन आउँछ । अरुले होइन भनेर भन्ने अवस्था बनाउन सकिन्छ सकिन्छ ।
पार्टीका नेताहरु संरक्षक भएर बस्नुहोला त ? कि तपाइँहरु जबर्जस्त अघि बढ्नुहुन्छ ?
अहिले जे अवस्था आएको छ । त्यसले हाम्रो भन्दा मन बढी उहाँहरुकै दुखेको छ । सारा जिवन पार्टी भनेर लाग्नुभएको छ । हामी भन्दा धेरै लड्नुभएको छ । उहाँहरु जिवन नै पार्टी र प्रजातन्त्रका निम्ति समर्पण गर्नुभएको छ ।
पार्टीको यो अवस्था देखेर उहाँहरुको पनि चित्त दुखेकै होला । हाम्रो अपील उहाँहरुले पक्कै पनि सुन्नुहुनेछ । नसुनेको अवस्थामा कसैले चाहेर मात्रै हुँदैन । एउटा शक्ति निर्माण हुन्छ । त्यसले कांग्रेसलाई कहीँ न कहीँ पुर्याउँछ नै । म सम्भवतः कान्छो केन्द्रीय सदस्य हुँ । म मेरो जिम्मेवारी पुरा गर्छु । सबैले आ आफ्नो ठाउँबाट गरौँ त ? हुन्छ कि हुँदैन ।
यो ५ वर्ष सरकार बनाउनेतिर लाग्नुहुन्छ कि हुँदैन ?
आजको दिनमा जनताबाट आएको जनादेश प्रतिपक्षको भूमिका निर्वाह नै गर्ने हो । प्रतिपक्षको ठाउँबाट आशंका जुन व्यक्त गर्यौं । वाम गठबन्धनले प्रजातन्त्रका आधारभूत कुराहरु चलाउन सक्छ भन्ने आशंका गरेका छौं । त्यसको पहरेदार गर्छौं ।
अब आउने सरकारले क्रोनी क्यापिटलिज्मको विकृत रुप देखाउँछ । स्थिरता र विकास दिँदैन भन्ने अनुमान लगाएका छौं । हाम्रो अर्थतन्त्रले गति लिने सम्भावनालाई रोक्छ भन्ने लागेको छ । घृणा र उत्तेजनताको राजनीतिबाट आएको शक्ति हो । यो पार्टी यस्तो र उस्तो भन्थ्यो हिजोसम्म । कहिले मधेसलाई, कहिले पहाडलाई उचाल्ने, लडाउने, भिडाउने यसको नेचर हुन्छ ।
यो शक्ति सरकारमा बसेर पनि आगो बाल्छ । त्यसबेला आगो निभाउने शक्ति कांग्रेस नै हो । प्रतिपक्षमा बस्नु भनेको गल्तीमा प्रश्न उठाउने मात्रै होइन । आफैं पनि अग्रसर हुनुपर्ने अवस्था पनि आउन सक्छ ।
आगै बाल्लान् र ?
यिनीहरुको नेचर हेर्दै गर्दा त्यो देखिन्छ । तपाइँले जहाँबाट कुरा सुरु गर्नुभयो त्यहाँ फर्किउँ त । काठमाडौंको निर्वाचन क्षेत्रमा भएको बम आक्रमणको घटनालाई समेत यस्तो बनाइयो । त्यसलाई सामान्य रुपमा पनि लिन सकिन्थ्यो । त्यो घटनापछि चावहिलको सभामा मेरो पार्टीका एकजना साथीले हामीलाई प्रतिपक्षतिर शंका छ भनेर बोलिहाल्नुभयो । मैले तत्काल सभातिर गएर त्यसलाई सच्याइहालेँ ।
मैले त्यसको खण्डन गरेँ । बम वाम गठबन्धनलाई पनि हानेको छ । हामी एकठाउँ भएर यसको प्रतिवाद गर्नुपर्छ भनेँ ।
मैले पनि नेतृत्वको हिसावले त्यसबेला हो प्रतिपक्षतिर शंका छ हामीले त्यसको प्रतिवाद गर्नुपर्छ, मसँग नै चुनाव लडेका व्यक्तिले गरेका हुन् भनेर मैले आगो लगाइदिन सक्छु नि त ! तर मेरो जिम्मेवारी त्यो होइन ।
यो उदाहरण मात्रै हो । यस्तो सानो कुरामा खेलेर शक्ति आर्जन गर्न खोज्नेले भोलि के गर्लान् ? एमालेको प्रवृत्ति भनेकै द्वन्द्व चर्काएर त्यसबाट शक्ति आर्जन गर्नु हो । तर कांग्रेसको नेचर सबैलाई मिलाएर समन्वय गरेर शक्ति आर्जन गर्नु हो ।
तस्बिर / भिडियो, सरिता खड्का